उसले
मानौँ म उसकी मात्र पेवा भएझैँ
जथाभावी गर्दै छ मलाई

उसले
जुवाको खालमा द्रौपदीलाई युधिष्ठरले हारेझैँ
जीवनको खेलमा हार्दै छ मलाई

म पृथ्वी हुँ
ऊ मान्छे हो

मलाई कराही बनाएर
आफ्नो स्वार्थको तेल तताउँदा तताउँदै
थाहै नपाई
उसले
त्यही तातो तेलमा सुकुटी बनाएर तार्दै छ आफैँलाई

मैले त अहिले नै पनि
भोगिरहेकै छु उसको दुर्व्यवहार

चिन्ता त के भने
अब कसरी सुन्नु
मैले नै
उसले उसैलाई यसरी भुटिरहँदा निस्कने
उसको पीडाको अन्तिम चित्कार ।