
१. जीवन के हो ?
माझीको हातबाट उम्केर
पानीमा हेलिएको माछालाई
`जीवन के हो ?´भनेर
एकपटक सोधिहेर !
तिमीलाई उसले
(पानीलाई साक्षी राखेरै )
मृत्युलाई छक्याएको रोमाञ्चक कथा सुनाउँनेछ ।
२. नयाँ पिशाच
सबैले
मानेकै छन् हजुरलाई
लाजघिन सबै पचिसकेको
हजुर हाम्रो घरको नयाँ पिशाच !
फिक्का छ हजुरका सामु
हामीमा सङ्क्रमित भइरहेको
यो पाजी
नयाँ कोरोना भाइरस !

कृष्ण बाउसे
३. पीडाबोध
परिरहेकै छ
यो छोटो जीवनमा
मैले
धेरैसँग धेरै कुरा लिन
( जीवनभरको
पीडा
यही रह्यो मेरो )
आफूले आजसम्म
सकिरहेको छैन
आफैँ जन्मेको धर्तीलाई समेत
अँगालो मारेर रुन ।
४. तिमी र म
तिमी
कुर्सीको मान्छे
म
धर्तीको मान्छे
त्यसैले त तिमीलाई
केवल कुर्सीकै मोह छ
अनि मलाई
सधैँभरि
धर्तीकै मोह छ।
५. खुसी
तिम्रो ओठको हाँसो
नुनिलो आँसुसँग साटेको फूल होइन भने
म ठोकुवा गर्छु-
तिमीले
खुसीसँग परिचय साट्नै बाँकी छ।
६. अस्तित्वको सङ्कट
तिमी वर्तमान पुस्ता
र
म पुरानो सिक्का !
हामी त
एकअर्काका प्रतिलिपि पो रहेछौँ
दुवै
प्रतिपल खिइरहेका
दुवै
सधैँ
अस्तित्वकै सङ्कटमा
जिइरहेका।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

