साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता: आफ्नै अपराधको बयान

Chovar Blues Mobile Size
कृष्ण बाउसे

लुकेर आएँ
कन्चटतिर सोझ्याएर बन्दुक चलाएँ ।

बाटो ढुकेँर बसे
रोकेँ
र मट्टीतेल छर्केर गाडी जलाएँ ।

टावर ध्वस्त गरेँ
र पुलहरू भत्काएँ ।

बारुदे सुरुङमा पारेर
सिङ्गै बस पड्काएँ
र लाशहरूको बग्रेल्ती लगाएँ ।

तर मलाई थाहा छैन
त्यो गोली खाने व्यक्ति को थियो ?
त्यो जलेको गाडी कस्को थियो ?
अनि
टावर र पुलले अहित गरिरहेका थिए कसको ?

sagarmani mobile size

तर मलाई थाहा छैन
त्यो पड्किएको बसमा को चढेको थियो ?
अनि
क्षतविक्षत लाशमा को परिणत भएको थियो ?

के
त्यहाँ कुनै क्रूर शासकको शरीर रगतमा लत्पतिएको थियो ?
के त्यहाँ
मेरो प्रहारको शिकार हुने वास्तवमै मेरो शत्रु थियो ?

म बाँचिरहेको हुँदो हुँ त
आज
सायद दिने थिएँ म
यो र यस्ता सबै प्रश्नहरूको उत्तर
तर आफ्ना हरेक प्रहारहरूको सिकार
जब म आफैँ बनेको छुभने
कसरी गर्न सक्छु म
छलीहरूको खेलौना बन्दाबन्दै
आफैँ सिद्धिएको हृदयविदारक दृश्यको वर्णन !
कसरी गर्न सक्छु म
मेरो छातीमा अपराधीको बिल्ला भिराएर
ककसले अपराध गरेका थिए भन्ने
सत्यको रहस्योद्घाटन !!

प्रतिक्रिया
Loading...