Chovar Blues Mobile Size

 

१.जीवन के हो ?

कृष्ण बाउसे

माझीको हातबाट उम्केर
पानीमा हेलिएको माछोलाई
`जीवन के हो ?´भनेर
एकपटक सोधीहेर!
तिमीलाई उसले
(पानीलाई साक्षी राखेरै )
मृत्युलाई छक्याएको
रोमाञ्चक कथा सुनाउनेछ ।

२.नयाँ पिशाच

सबैले
मानेकै छन् हजुरलाई
लाजघीन सबै पचिसकेको
हजुर हाम्रो घरको नयाँ पिशाच !
फिक्का छ हजुरको सामु
हामीमा संक्रमित भैरहेको
यो पाजी
नयाँ कोरोना भाइरस !

३. पीडाबोध

परिरहेकै छ
यो छोटोजीवनमा
मैले
धेरैसँग धेरै कुरा लिन
(जीवनभरको
पीडा
यही रह्यो मेरो)
आफूले आजसम्म
सकिरहेको छैन
आफैँ जन्मेको धर्तिलाई समेत
अँगालो मारेर रुन ।

४. तिमी र म

तिमी
कुर्सीको मान्छे

धर्तीको मान्छे
त्यसैले त तिमीलाई
केवल कुर्सीकै मोह छ
अनि मलाई
सधैंभरि
धर्तीकै मोह छ।

५. खुशी

तिम्रो ओठको हाँसो
नुनिलो आँसुसँग साटेको फूल होइन भने
म ठोकुवा गर्छु-
तिमीले
खुशीसँग परिचय साट्नै बाँकी छ।

६. अस्तित्वको संकट

तिमी वर्तमान पुस्ता

म पुरानो सिक्का !

हामी त
एकअर्काका प्रतिलिपि पो रहेछौँ
दुवै
प्रतिपल खिइरहेका
दुवै
सधैँ
अस्तित्वकै सङ्कटमा
जिइरहेका।