साथी
तिमी त माग्ने पो भएछौ
कहिले चन्दा माग्ने, कहिले पसिना माग्ने
र कहिले रगत माग्ने
जोसँग जे छ त्यही माग्ने
र
मचाहिँ दाता पो भएछु
कहिले पसिना दिने
कहिले दक्षिणा दिने
परे ज्यानै दिन पनि पछि नहुने
साथी
बाल्यकालमा
बराबरी बाँडेर खान्थ्यौँ हामी
तिम्री आमाले पकाएको तिहुन
र मेरी आमाले मस्काएको ढिँडो
फेरि कसरी
हाम्रो यस्तो विपरीत चरित्र बन्यो
धेरै पछिको भेटमा
मैले त आफैँ बताएँ तिमीलाई मेरो कथाव्यथा
तर तिमी आफैँ बोलेनौ आफ्नो बारेमा
बरु
तिम्रा चुनाबी ढर्राले पो तिम्रो कथा भने
र
तिमीले आफैँ नभनेको त्यो कथामा
तिमीले पिउँदै गरेका
मदिराका घुट्कीले पो फूलबुट्टा भरे
अनि तिमीले गोप्य राखेको तिम्रो कथालाई
तिमीले नै गरेका
परस्पर विरोधी साउतीहरूले पो बेनकाब गरे
हाम्रो विछोडपछि
तिमी के के बन्दै अन्ततः नेता बनेका रहेछौ
र, कुन्नि किन हो
सम्पत्तिजति आफन्तको नाममा राखेर
तिमी आफैले आफूलाई
‘त्यागमूर्ती’ को उपाधि प्रदान गरेका रहेछौ
जे भए पनि
खुसी लाग्यो
आज सम्झेछौ मलाई मतदानका निम्ति
हुन त
हार्ने छनक पाउँदा
जादुगरको संगतबाट सिकेको हातको सफाई देखाउँदै
गन्दै गरेका मतपत्र च्यात्न खप्पिसै छौ अरे तिमी
तैपनि
फेरि किन तिमीलाई
म निर्धोको एक मतको दर्कार पर्यो
साथी भन न
के अब तिमीले साँच्चै नै
सिधै बाटो हिँडेर
गन्तव्यमा पुग्ने संकल्प गरेकै हो
कि
समय समयमा ज्यानको बाजि लगाउँदै
सामन्तीबाट मुक्त गराएर
तानाशाहबाट बिगो भराएर
मैले सुरक्षित राखेको मेरो एउटै चिज देख्दा पनि
तिम्रो आँखा बलेको हो ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।