विरहका भाका सुन्दा, मेरै गीत जस्तो लाग्छ
बेहोसीमा कोरिएका आफ्नै अतीत जस्तो लाग्छ ।
सम्झिँदा नि मन रुन्छ, रमाइला ती पलहरू
एकान्तमा बग्ने आँसु, प्रभातको शीत जस्तो लाग्छ ।
खै के थिए तिम्रा इच्छा ? पूरा गर्न सकिनँ मैले
विरक्तिँदै छटपटिनु, यहाँको रीत जस्तो लाग्छ ।
तिमीलाई पाइनँ मैले, जिन्दगीकै हार भयो
बिसिएर चुप बस्नु, आखिर जित जस्तो लाग्छ ।
मन–मन्दिरमा सजाएर, तिम्रो पूजा गरिरहेँ
कल्पनामै रमाउनु, सायद हित जस्तो लाग्छ ।
सारा खुसी दिएँ तिमीलाई, सपनाहरू सजाउँदै
साउनमा बग्ने भेल हो कि, प्रीत जस्तो लाग्छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ जेष्ठ २०८३, बिहीबार 










