विरहका भाका सुन्दा, मेरै गीत जस्तो लाग्छ
बेहोसीमा कोरिएका आफ्नै अतीत जस्तो लाग्छ ।

सम्झिँदा नि मन रुन्छ, रमाइला ती पलहरू
एकान्तमा बग्ने आँसु, प्रभातको शीत जस्तो लाग्छ ।

खै के थिए तिम्रा इच्छा ? पूरा गर्न सकिनँ मैले
विरक्तिँदै छटपटिनु, यहाँको रीत जस्तो लाग्छ ।

तिमीलाई पाइनँ मैले, जिन्दगीकै हार भयो
बिसिएर चुप बस्नु, आखिर जित जस्तो लाग्छ ।

मन–मन्दिरमा सजाएर, तिम्रो पूजा गरिरहेँ
कल्पनामै रमाउनु, सायद हित जस्तो लाग्छ ।

सारा खुसी दिएँ तिमीलाई, सपनाहरू सजाउँदै
साउनमा बग्ने भेल हो कि, प्रीत जस्तो लाग्छ ।