१.
जिन्दगीमा कती पिडाँ आँसु सँगै पिएको छु
हजार चोट यो छातीभित्र सहेर जिएको छु

गल्तीहरू त भए होलान् मेरा पनि केही कतै?
जल्दै उनकै वियोगमा हरेक पल खिएकोछु

निर्दयीको यादले नै सताइरहन्छ दिन रात
भुल्न आफैँलाई नसाकै सहारा लिएको छु

टोलाइरहन्छ अनायासै यो मन एकान्तमा
धुजा धुजा फाटेको मन जसोतसो सिएको छु

बेहोशीमा बर्बराउँदै तिम्रै नाम लिन्छु अचेल
यस्तो लाग्छ अचेल मृत्यु सँग नजिकिएको छु।

२.
हेरी बस्छु उनकै तस्बिरलाई
धिकार्दै आफ्नै तक्दिरलाई
यस्तै नै रहेछ खटन दैवको
धिकार्छु हातका लकिरलाई

बाचा थिए सात जुनीसम्मका
के भन्नु र खेलाडी माहिरलाई?

कति तडपिनु सम्झेर अतित
व्यर्थ सुकाउनु किन शरीरलाई

कहिल्यै बसेनन् खाटा घाउहरूमा
तोड्न गाह्रो मायाको जञ्जिरलाई

३.
जुनी भरिलाई पुग्ने चोटहरू खाई
बाँचेकै छु पीडामा हाँसो मिसाई

छु रंगीन संसारभित्र अँध्यारोमा
जून छेक्यो कालो बादल छाई

जिन्दगी बित्ने भो यादमा तडपी
हरेक पल विरहका गीत गुन्गुनाई

चर्किएका ऐनाजस्ता मेरा सपना
रूने कति सम्झी अतितका पललाई ?

आशाको दियो जिन्दगीको ननिभ्ने रैछ
म डुबेको छु चोटमा तिमी बस रमाई ।

४.
ऐना सरी फुटेको तकदिर जोडिएन
पर्खिरहेँ निर्दयीको बाटो मोडिएन

सपना मात्र देखाई टाढा भइदियौ
तगारा ती बन्धनहरू अझ तोडिएन

बलेन जिन्दगीमा उज्यालो दिने कुनै दीप
बाँझै रह्यो तकदीर यो कहिल्यै गोडिएन

रंगीन छ जीवन तर बाँचेको छु आँशु पिई
विपत्तिमा पनि मौकाको हिरा फोडिएन

विश्वासको जगमा चाहनाको महल थियो
असम्भव भए पनि सपना देख्न छोडिएन ।।

५.
देखाउन नमिल्ने मनमा सायद खिल थियो
मनको कुरा नभन्ने कमजोर दिल थियो

मौरीहरू भरिन्छन नि सुन्दर फूल फुलेपछि
भित्रभित्रै ओइली झर्नु समस्या जटिल थियो

जिन्दगीका सारा खुशी तिमीलाई दिएकै थिएँ
नजरको भाव बोल्थे मनोवल शिथिल थियो

सपनामा विपनामा उन्कै झल्को मात्र आउँदा
उनी बिना जिन्दगी काट्न पनि मुस्किल थियो

मैले मात्र देखेछु सँगै बाँच्ने मर्ने सपना
नबोली बाटो मोड्दा आँखा टिलपिल थियो।

भरतपुर १९