एकैछिन पर्खे हुन्थ्यो, दुई–चार कुरा गर्नु थियो
तिम्रो गफमा हराई, केही पल लठ्ठ पर्नु थियो ।

हेरिरहूँ लाग्छ तिम्लाई, थाक्दैनन् यी आँखाहरू
ललाई–फलाई मन परेकी, परीको मन हर्नु थियो ।

युगौँयुग नमेटिने, तस्बिर छ तिम्रो दिलभित्र
मायाको आभास दिलाई, त्यो नजरमा पर्नु थियो ।

यस्तो लाग्छ मलाई तिमी, अरूभन्दा खास छौ
मन परेकी मायालुको, दिलमा प्रीत छर्नु थियो ।

मनका दुरी घटाउँदै, आऊ रमाऔँ हामी आज
तिमीलाई आफ्नो बनाएर, बसाइँ यतै सर्नु थियो ।

आहा कति राम्रो जोडी, भनोस् स्वार्थी दुनियाँले
एक–आपसमा रमाई हामी, सँगै बाँच्नु–मर्नु थियो ।