
कवितामाथिको पहिलो रियालिटी शो द पोएट आइडलको दोस्रो सिजनमा उत्कृष्ट १२ मा पुगेर रौतहटकी कवि सरला क्षेत्री बाहिरिनु भएको छ । “आशु कवि राउन्ड” मा कवि क्षेत्री दार्जिलिङका कवि गोर्खे चार्लीसँग ६ अङ्कले पराजित हुनु भएको थियो । कम भोट प्राप्त गरेको आधारमा कवि द्वय क्षेत्री र चार्ली सो हप्ता रेडजोनमा पर्नुभएको थियो । कवि क्षेत्री यसअघि पनि रेडजोनमा परिसक्नु भएको थियो । अन्तिम प्रतिस्पर्धामा ललितपुरकी कवि कृतिका कोइरालालाई पराजित गर्दै कवि क्षेत्रीले यसअघि पोएट आइडलमा आफ्नो स्थान सुरक्षित गर्नुभएको थियो ।
यो पटक रेडजोनमा परेपछि “तीतोपन” शीर्षकमा कविता लेख्नको लागि आधा घण्टाको समय दिइएको थियो । जसमा निर्णायकहरूले दिने २ सय पूर्णाङ्कमा कवि क्षेत्रीले १ सय ४९ र कवि चार्लीले १ सय ५५ अङ्क प्राप्त गर्नुभएको थियो । आइडलको मञ्चमा कवि क्षेत्रीले एक पटक “लाइन अफ द विक” को उपाधि समेत जित्नु भएको थियो । हरेक हप्ता प्रस्तुत कविताहरू मध्येबाट निर्णायकहरूको मूल्याङ्कनका आधारमा कविताको उत्कृष्ट एक पङ्क्तिलाई यो उपाधि दिने गरिएको छ ।
पोएट आइडलको मञ्च छोड्ने क्रममा कवि क्षेत्रीले आइडलको आफ्नो यात्रा अविस्मरणीय भएको बताउनु भयो । आफ्नो कविता लेखनमा केही हदसम्म चित्त बुझेको भए पनि मञ्चमा प्रस्तुति दिने सवालमा आफूलाई कमसल पाउने गरेको उहाँ स्वीकार गर्नुहुन्छ ।

सरला क्षेत्री
२०५७ साल माघ १० गते भारतको सिक्किमस्थित गेजिङमा कवि क्षेत्रीको जन्म भएको हो । माता तीलामाया क्षेत्री र पिता अर्जुन क्षेत्रीकी उहाँ कान्छी सन्तान हुनुहुन्छ । सानै उमेर अर्थात् ३/४ कक्षा पढ्दादेखि नै साहित्य लेखनको प्रारम्भ गर्नुभएकी कवि क्षेत्रीको हिमालय दर्पणमा पहिलो पटक कविता प्रकाशित भएको उहाँ जानकारी गराउनु हुन्छ । उहाँ कवितासँगै पाठकीय टिप्पणी, लेख र संस्मरण लेखनमा पनि कलम चलाउने गर्नुहुन्छ ।
हाल स्नातक तहमा अध्ययनरत कवि क्षेत्री रौतहटस्थित एक निजी विद्यालयमा शिक्षिका समेत हुनुहुन्छ । उहाँले केही कविता प्रतियोगिताहरूमा भाग लिएर विजेता समेत बन्नुभएको छ । सन् २०१३ मा सिक्किममा आयोजित अन्तर विद्यालय कविता प्रतियोगितामा प्रथम, सन् २०२० मा व्यञ्जन डटकमले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम र सन् २०२२ मा रोल्पामा आयोजित कविता महोत्सवमा उहाँले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो ।
पोएट आइडल हरेक हप्ता सोमबार र मङ्गलबार राती ९ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुँदै आको छ । पछि यसलाई “OSR Reality” युट्युब च्यानलमा पनि हेर्न सकिनेछ । गामबेसीका कवि क्षेत्र प्रताप अधिकारीप्रति समर्पित आइडललाई डन डिरेक्टर अमन प्रताप अधिकारीले निर्देशन गरिरहनु भएको छ । पोएट आइडलमा कवि द्वय उपेन्द्र सुब्बा र विप्लव प्रतीक, रङ्गकर्मी अनुप बराल र नायिका केकी अधिकारी निर्णायकको भूमिकामा हुनुहुन्छ । त्यसैगरी आइडलको उद्घोषकमा नायक दिव्यदेव हुनुहुन्छ ।
अब प्रस्तुत छ हाल रौतहटको चन्द्रपुर ५ निवासी कवि सरला क्षेत्रीसँग पोएट आइडलसँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादित अंश
पोएट आइडलको उत्कृष्ट १२ मा पुगेर आउट भइसकेपछि के कस्ता प्रतिक्रिया पाउनुभयो/पाइरहनु भएको छ ?
~डिजिटल अडिसनको प्रक्रिया हुँदै त्यहाँसम्म पुग्नु नै एउटा जित थियो र छ । लेख्ने मान्छेले त कता हो कताको कुना कन्दरामा बसेर पनि लेखिरहेकै हुन्छ । तर त्यो एउटा ठुलो मञ्चमा पुगेर कविता प्रस्तुत गर्न पाउनु गजबको अनुभव थियो । मैले कहिल्यै नसोचेको कोणबाट जुन माया सद्भाव पाएँ, त्यो नेक्स्ट लेभलको खुसी थियो । अहिले सोच्छु त्यो मायाले लछप्पै भिजेको मेरो अनुहार नै सायद “खुसी” को अनुहार हो । यदि खुसीको पनि अनुहार हुँदो हो त सायद यस्तै यस्तै देखिन्थ्यो कि ?
तपाईं आउट हुँदै गर्दा निर्णायक केकी अधिकारीले “तपाईं यति चाँडै आउट हुनुहोला भन्ने लागेको थिएन” भन्नुभएको थियो । तपाईंलाई चाहिँ के लागेको थियो ? उत्कृष्ट १४ मा पर्दै गर्दा कहाँसम्म पुगिएला भन्ने सपना बुन्नु भएको थियो ?
~जीवन एक मानेमा अप्रत्याशित घटनाहरूको सँगालो पनि हो । मलाई त त्यो मञ्चमा पुग्छु भन्ने पनि त लागेको थिएन । तर पुगियो । हरेक रियालिटी शोका आ-आफ्नै नियमहरू हुन्छन् र रणनीति पनि । पोएट आइडलमा जाँदै गर्दा मैले आफ्नो “माइन्ड मेकअप” गरेरै गएको थिएँ । यहाँसम्म कि साथीहरूले पनि योबारे धेरै सहयोग गरिरहनु भयो । त्यसैले , पुँजीवादलाई चुनौती दिँदैदिँदै हिँडेको “म” लाई रेडजोनमा पर्छु भन्ने थाहा थियो । तर गजब कविता लेख्न सकेँ भने बाँचिहाल्छु नि भन्ने पनि थियो । अर्को साथीले “क्लासिक” कविता लेखिहाल्नु भयो र म बाहिरिएँ । त्यस्तो “ट्रफी” सम्मको सपना चाहिँ लिएर हिँडिन । तर त्यहाँ रहँदाको समयलाई स्याटिस तरिकाले प्रयोग गरेँ ।
तपाईं यसअघि पनि कम्ती भोट प्राप्त गरेको आधारमा रेडजोनमा पर्नुभएको थियो । कविताको बलले अर्को चरणमा प्रवेश गर्नुभयो । दोस्रो पटक रेडजोनमा पर्दै गर्दा यसपालि पनि म जोगिन्छु होला भन्ने चाहिँ लागेन ?
~रेडजोनमा पर्दाको अनुभव फेरि अर्कै गजब खालको हुने रहेछ । मैले त साथीहरूलाई पनि एकपल्ट चाहिँ तपाईंहरू पनि पर्नु ल ! भन्थेँ । पहिलोपल्ट पर्दा चाहिँ त्यो भन्छन् नि “मुटु ढुकढुक कलेजो भ्यातभ्यात” भएकै हो एकैछिन । भरे चाहिँ कुल भइरहें । भोट भन्ने एउटा रणनीति हो, तर कविले आफ्नो कवितामाथि विश्वास गर्ने र आफैँलाई निखार्दै लैजाने काम चाहिँ गर्नै पर्छ । तर, विश्वास भनेको “भुइँमा न भारमा” जस्तो हुनु भएन, जुन आजभोलि छ्यापछ्याप्ती छ । दोस्रो पटक रेडजोनमा पर्दा आफ्नै कविता देखेर सेफ हुन्छु कि लागेकै हो । तर भइनँ । फेरि खुसी पनि भएँ प्रतिस्पर्धी साथीसँग कमै अङ्कको ग्याप थाहा पाएर । त्यो बेलाको स्याटिस् कुरा चाहिँ निर्णायक अनुप बराल सरको कमेन्ट लागेको हो । त्यसलाई मैले औँठाछाप लाएर स्वीकारेकै हो । अरू निर्णायकका कमेन्ट पनि गजब नै थियो ।
दुई-दुई पटक रेडजोनमा परेर “आशु कवि राउन्ड” मा आधा घण्टाभित्र दिइएको विषयमा कविता लेखिसकेको अनुभव तपाईंसँग छ । कस्तो हुँदो रैछ त्यो समय ?
~दुई पल्ट बटममा परियो । पर्छु नै भन्ने थाहा पाएर हो कि खै त्यस्तो हडबडी चाहिँ थिएन ममा । आधा घण्टा बितिजाने रहेछ । त्यो बेला त लाग्थ्यो यो समय आफूले प्रेम गरेको मान्छे जानु अगाडिको पल हो, रोमान्टिक भइगएँ है ! विषय दिइसकेपछि धेरै कुरा गुटुङटुङ आउने । के लेख्ने के नलेख्ने होला भनेर अलि सुस्त चाहिँ भइयो । त्यो बेला झनै “क्रिएटिभ” भइने रहेछ । र दामी हुने त्यसरी लेख्न पनि ।
दोस्रो पटक त तीतो खुवाइदिएर झन्डैले प्रेसर लो नभाको हेहेहे…!
कविता हृदयबाट आउने/फुर्ने विषय हो भन्ने मान्यता राख्ने कविहरू थुप्रै हुनुहुन्छ । तर त्यो मान्यतालाई पोएट आइडलले भत्काइदिन्छ । किन भने हरेक हप्ता दिइएको विषयमा कविता लेखिँदै आइएको छ । तपाईंको लागि चाहिँ कविता “लेखिने” विषय हो ? कि “फुर्ने” विषय हो ?~मेरो लागि दुवै नै हो । पहिला विद्यार्थी कालमा कुनै निश्चित विषयमा कविता लेख्ने भएको भएर कोही बेला फुराएर लेखेको अनुभव पनि छ मसँग । अहिले पनि घटिरहेका सामाजिक इस्युहरूमा कविता “लेखिने” गरिन्छ । लेख्ने मान्छेलाई कुनबेला कुन कुराले हान्छ, पत्तै नहुने । त्यस्तो हुँदा चाहिँ फेरि कविता फुर्छ । मलाई चाहिँ दुईवटै पाटो सुन्दर लाग्छ । पोएट आइडलले हरेक हप्ता नयाँ विषय दिइरहँदा प्रतिस्पर्धीहरूले अझ क्रिएटिभ तरिकाले लेखिरहेकै छन् । हरेक विषय सबैजनालाई रिलेट गर्न गाह्रो त हुन्छ । तर कल्पनाशीलताले राम्रो क्राफ्ट दिन सक्दा सुन्दर भएकै पनि त छ । तर स्वाट्टै केही कुराले ट्रिगर भएर लेखेका कविताहरू चाहिँ “मुटु” कै नजिक भएर बग्ने रहेछन् ।
पोएट आइडलमा कविता लेख्नका लागि जसरी विषय दिइन्छ, त्यसरी नदिएर आफ्नै तरिकाले लेख्न छोडिदिने हो भने अझै राम्रो कविता लेखिन्थ्यो होला भन्ने लाग्छ ? कविताका लागि विषय दिने शैली कस्तो लाग्यो ?
~त्यहाँ विषय दिने शैली मलाई जीवन्त लाग्छ । कस्तो सुन्दरसँग देखाइन्छ, गजब लाग्छ । अब आफ्नै तरिकाले लेख्न छोडिदिने हो भने सबैले “कम्फर्ट जोन” लाई ध्यानमा राखेर लेख्छन् नै । तर यसरी विषय दिएपछि “च्यालेन्ज” बढ्छ । विषय एउटा छ, तर कविको दृष्टि त फरक छ नि त, हुनुपर्छ पनि । कसरी फरक लेख्ने ? भनेर सोच्दा अझ क्रिएटिभ क्रिएसन हुन्छ जस्तो मलाई लाग्छ । यसो हुँदा श्रोता/दर्शकलाई पनि कविको काबिलियत थाहा हुन्छ । विषय दिइरहँदा अड्कलेको भन्दा पनि फरक “एंगल” बाट कविता आए त भव्य भइगयो नि । अब कार्यक्रमको नियम पनि त्यही छ । जे छ गजब छ ।
पोएट आइडलमा सहभागिता जनाइसकेपछि तपाईंको लेखन र व्यक्तिगत जीवनमा विशेष केही फरक पर्यो ?
~यो चाहिँ बिनसित्ति त पात पनि हल्लिँदैन भनेजस्तो हो । मेरो एकजना साथीले भन्नुहुन्थ्यो ~ ख्यालख्यालमै कुराहरू गम्भीर बन्छन् । यो प्रश्नले मलाई ठ्याक्कै त्यहाँ पुर्यायो । त्यतिको मञ्चमा गइसकेपछि धेरै फरकपन त हुने नै भयो । आफ्नो लेखनलाई अझ नजिकबाट “झाँक्न” थालेँ । आफूले कहाँ-कहाँ काम गर्न बाँकी रहेछ त्यो पनि सम्झना आइरहन्थ्यो । अब व्यक्तिगत जीवनमा त कहिल्यै नदेखिएका अनुहारहरू देखा परे । परिवारको खुसी, गौरवको कुरा त छँदै छ । पोहोर साल धेरै बिमार भएकै कारण मलाई नकार्नेहरू नै पछि “मेरो मान्छे” भन्दै झुम्मिन थाले । यसरी हेर्दा यो मञ्चले लगभग “रियुनाइट” को काम पनि गर्यो ।
पोएट आइडल भनेको कविता लेखनसँगै वाचन र प्रस्तुतीकरणको पनि प्रतिस्पर्धा हो । यी तिनै कुरालाई एकसाथ मिलाएर लैजानु कत्तिको सहज रैछ ?
~पोएट आइडलले भनिरहेकै हो कि यो रिटन पोएट्रीको मात्रै प्रतिस्पर्धा होइन । त्यसैले यहाँ लेखनबाहेक पनि अरू थोकमा काम गर्नुपर्छ, गरिरहेकै पनि छन् । केही समय मैले पनि गरेँ ! तर मलाई आफ्नै वाचन खासै गजब लाग्दैन । प्रस्तुति त भो कुरा नगरुम् । साह्रो, सजिलो त त्यस्तै हो, तर कोसिस गर्दा सकिने कुरा हो । म चाहिँ यति भन्छु प्रस्तुतिको ओभरडोजकै कारण कुनै पनि कविता नमरोस् ।
निर्णायक उपेन्द्र सुब्बाले तपाईंलाई भनेको कुरा जोड्न मन लाग्यो, “पोएट आइडलका प्रतिस्पर्धी कविहरू मध्ये तपाईं नेपाली समाजलाई सबैभन्दा धेरै बुझेको कवि हो जस्तो लाग्छ ।” उहाँले भने जस्तै हो ? के भन्न चाहनुहुन्छ यसमा ?
~मैले फरक फरक पृष्ठभूमिमा रहेर कविता लेखिरहेँ । सायद त्यो कारणले उहाँलाई त्यस्तो लागेको हुनसक्छ । फेरि मसँग धेरै बसाइँ सराइको अनुभव पनि छ । यसको कारण विविध समुदायसँग घुलमिल भएर फरक फरक पृष्ठभूमि लेख्न सकेँ । तर हिँडिरहे पनि लेखिरहे पनि केही न केही त छुट्छ नै । म पोख्त छैन नि ! तर अब अध्ययनको दायरा अझ फराकिलो पार्नु पर्ने चाहिँ छ ।
समग्रमा पोइट आइडलको आफ्नो यात्रालाई कसरी हेर्नुहुन्छ ? अथवा कसरी सम्झिनु हुन्छ त्यो यात्रालाई ?
~यो एकदमै नयाँ अनुभव थियो । जीवनमा कहिल्यै होस्टेल बसिएन । पोएट आइडलमा गएर बसियो । स-साना कुराहरू कति धेरै नौलो लाग्ने । गजब लाग्ने नि ! कतिपय नयाँ कुराहरू सिकियो । नयाँ दृष्टिकोण पनि बन्यो केही कुरालाई लिएर । अनि बिर्सनै नहुने कुरा चाहिँ म चिया लभरलाई स्याटिस् जिग्री चिया पार्टनर भेटाइदियो पोएट आइडलले । हामी बेलाबेला कुरा निस्किँदा पोएट आइडललाई थ्याङ्क यु भन्ने कि ? भन्दै पनि जिस्किन्छौं ।
“पोएट आइडलको यात्रा टुङ्गिए पनि साधना जारी रहने छ । अझै बृहत् रूपमा अगाडि बढाउने छु यसलाई ।” भन्नुभएको थियो । के के गर्ने सोच बनाउनु भएको छ भोलिका दिनमा ?
~साना कदमले नै ठुलो नतिजासम्म हिँडाउँछ ! त्यस्तो ठुलो केही छैन । लेखिरहने/पढिरहने हो । आफूलाई प्रयोग गर्दै लैजाने हो । जीवन हो, गतिले कोही बेला विश्राम लिन्छ नै । तर फेरि आफ्नै ठाउँमा आएर आफैँलाई डोर्याउनेछु । सायद, साधना भनेको यस्तै यस्तै नै केही हुनुपर्छ ।
“कवि आफ्नो कवितामा बाँचिरहेको हुन्छ । प्रगतिशील विचार दिइरहेको हुन्छ कवितामा र जीवनमा पनि त्यसलाई अनुसरण गर्दछ भने त्यो चाहिँ वास्तविक कवि हो ।” यो पनि तपाईंकै भनाइ हो । उसो भए तपाईंको जीवन र तपाईंको कविता बिचको दुरी कति छ ?
~यस्तो हो, कविमाथि समाजको धेरै अपेक्षा रहेको हुन्छ । त्यसैले पनि कविमा दोगलापन हुनु हुँदैन नै भन्छु म । यहाँ अक्सर भुइँ मान्छेकै कविता लेखेर “हाइप” पाएर फेरि भुइँ मान्छेलाई नै कुल्चिनेहरू पनि प्रशस्तै छन् । यही कुरा दलित, मधेसी, जनजाति, महिला, अल्पसङ्ख्यक आदिका कुरामा पनि लागु हुन्छ । मान्छे सीमिततासहित कै हुन्छ । मैले सबैथोक सही नसिकेको हुनसक्छु वा नसिकाइएको हुनसक्छ । तर लामो समयको “प्रयाक्टिस” भए पनि आफूलाई अनलर्न/रिलर्न गर्ने साहस भनूँ या कदम यति चाहिँ गर्नैपर्छ । म सक्दो कविता र जीवनलाई सँगै लैजान खोजिरहेको छु । कतै केही भइगए फेरि घोत्लिएर आफैँमाथि काम गर्न चाहिँ छोडेको छैन । मलाई आफ्नो यही बानीसँग असाध्यै लगाव छ ।
पोएट आइडलले नेपाली कविताको क्षेत्रमा कस्तो प्रभाव पार्ला भन्ने यहाँलाई लाग्छ ?
~रियालिटी शोको “हाइप” केही क्षणिक पनि हो । हामीले पनि देखेकै हौँ, ट्रफी उचाल्नेहरू पछि गुमनाम भएको, साधना नगरेको । यसरी हेर्दा आफैँमाथि काम गर्नु अझ सुन्दर हुन्छ । बीउ भर्खरै रोपिएको छ । उग्न/फल्न बाँकी नै छ । त्यसैले अहिले नै मूल्याङ्कन नगर्ने कि ! एकदिन समयले देखाउँछ नै ।
पोएट आइडलको सबैभन्दा धेरै मन परेको पक्ष के हो ?
~ ठ्याक्कै यही भनेर भन्न सकिएला जस्तो छैन । तर पर्सनल्ली “म्युजिकल टिम” असाध्यै मन पर्ने मलाई ! अरूतिर कविता वाचन गरेको भन्दा बेग्लै स्वाद आउने जब पछाडि म्युजिक बज्थ्यो । उहाँहरूको डिसेन्सीले मलाई धेरै तानेछ सायद । छुट्टिने बेला न्यानो “आदर” गर्छु लागेकै हो, तर मिलेन । मनभरिको माया र सम्झना यहीँबाट पठाउँछु । केही त पक्कै छ यहाँ जसले यो कुरा उहाँहरूसम्म पुर्याउने छ नै ।
पोएट आइडलको सिङ्गो टिमलाई केही विशेष सुझाव दिन चाहनु हुन्छ ? ताकी भोलिका दिनमा यो अझै राम्रो भएर अगाडि बढ्न सकोस् ।
~सबै ठिक छ । कतिपय गुनासोहरू जनताबाट आइरहेछन् पनि र टिमले त्यसलाई जवाफ पनि दिइरहेछ । तर जहाँ पनि केही न केही खराब मान्छेहरू हुन्छन् नै । म लगायत केही फिमेल कन्टेस्टेन्टलाई केही केही अनुहारहरू “क्रिपी” लागेकै हो । मैले धेरै डिस्टेन्स बनाइरहेँ पनि । यदि यो कुरा टिमले फिल गरेर उनीहरूलाई हटाइदिए सेफ माहौल बन्थ्यो कि ? अरू कविता/प्रस्तुतिका कुराहरू त गजबै छन् ।
जाँदाजाँदै अन्त्यमा केही ?
~हार र जित भनेको जहाँ पनि छ । सबै साथीलाई भन्छु जहाँको कुनामा पुगे पनि लेख्न नछोड्नु । एउटा प्रतिस्पर्धाले सिङ्गो यात्रा तय गर्नै सक्दैन । सँगै रहँदाको मिठो समयका लागि मच लभ ! म धेरै बोल्ने मान्छे थिएँ/छु । कुनै समय बोलेर दुखाएको भए एक्सट्रिमली सरी ! मलाई प्रेम गर्ने सम्पूर्ण “मन” हरूलाई असीम प्रेमिल सम्झना !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

