बुटवल निवासी  देबेन्द्र राज शाक्य त्रि.वि बुटवलका अवकाश प्राप्त कर्मचारी हुन् । अवकाश पछिका दिनहरूलाई  घरमै साहित्य साधनामा लगानी गरिरहेका छन् । सिर्जनामा रमाइरहेका छन् ।

बुटवल उपमहानगरपालिका २ नयाँ सडकमा बस्ने शाक्यले साहित्यलाई समाज सुधारको  रूपमा लिने गरेका छन् । उनले संसारमा साहित्यबाटै धेरै  परिवर्तन भएको अनुभव सुनाए ।

उनी भन्छन्, “एउटा राम्रो साहित्य सृजना हुन साहित्यकारले ठुलो साधना गर्नुपर्दछ ।”

साधनाले मात्र साहित्य सिर्जना सफल हुने उनको विश्वास छ ।

वि.सं २००६ साल माघ १ गते पाल्पा जिल्लाको तानसेनमा जन्मिएका साहित्यकार शाक्य निरन्तर मौलिक तथा चिन्तनशील  लेख, रचना मार्फत  समाज सुधारको पक्षमा आफू लागि परेको बताउँछन् ।  उनले  साहित्य भावावेशमा कोरिएका भावनाहरू नभई अन्तस्करणबाट निस्कने भएकाले सबैले सिर्जना गर्न नसक्ने बताए ।

उनले सधैँ आफूले देखेका भोगेका र समाजमा हुने गरेका  सत्य विषय समेट्ने  गरेको बताउँछन् । त्यसैले उनका सिर्जनामा पनि यथार्थता भेट्न सकिन्छ । शाक्यले  जीवनमा सुख दुख  दुवै अनुभूति आउने  बताउँदै  सधैँ सकारात्मक कुराहरूले जीवन सहज हुने बताउँछन् । उनले बी.ए एल एल वि  सम्मको अध्ययन गरेका छन् । जीवन चलाउनका लागि उनले बुटवल बहुमुखी क्याम्पसमा ३८ बर्से जागिरे जीवन बिताएका  छन् ।

उनका  वैशाख  पूर्णिमा २०६१,  यो बटौली हो  २०६१, विश्वशान्तिको सहर  लुम्बिनी २०६२, महामानव बुद्ध २०६५,   आमा २०६८ कविता  सङ्ग्रह, तथा  जीवनका अनुभूतिहरू भाग १  भाग २,  जीवनीपरक आत्मकथा २०७१, जीवनका अनुभूति भाग २  अत्यन्त रुचाइएका कृति  हुन् ।

साहित्यमा रमाएका  शाक्यले  दीर्घ सेवा पदक २०५७ त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय शिक्षा पुरस्कार २०५७, श्री जानकी देवी आध्यात्मिक साहित्यकार पुरस्कार २०७४ लगायतका दर्जनौँ पदक, पुरस्कार, सम्मान र प्रशंसा पाएका छन् ।

मृत्यु बोधले सिर्जनाका  मार्गहरू  अवरुद्ध बनाइनु हुन्न  भन्ने यथार्थतासँगै  ब्युँझिरहेका  उनका सकारात्मक सोच सबै वर्ग र  तहका लागि  राम्रो नमुना  बन्दछ ।  यसको साथै कुराहरू  उपदेश र  प्रेरणा  प्रभावका रूपमा  पनि स्वीकार गर्न सकिन्छ ।

उनी भन्छन्, “म भित्र रहेको सिर्जनालाई सदुपयोग गर्ने  प्रयत्न  गरेको  हुँ ।  प्रत्येक  व्यक्तिले  आदर्शमुखी  समाज निर्माणमा अनुकरणीय  बनुन् भन्ने मेरो कामना हो। राजनैतिक, आर्थिक, धार्मिक आदि कारणले व्यक्तिलाई छुटाउने  काम गर्दछ । जीवनलाई  एकै ठाउँमा जोड्ने काम गर्दछ । उनले जीवनलाई समाज सेवामा  समर्पित  मन, बचन र कर्मका एकाकार हुन आग्रह गरेँ।”

उमेरले  धेरै कुरा सिकाएको छ,  सबै कुरा पैसा नै हो भन्ने  सोचबाट माथि  उठेर  नै  पुस्तक  प्रकाशनमा लगानी गरेका उनले  कथाकार, निबन्धकार तथा  दार्शनिक  एवं  आध्यात्मिक  साहित्यकारको रूपमा  परिचित छन् ।  बाह्य गतिविधिपूर्ण रूपमा  ठप्प भएको  समयमा  आफ्नो कोठाको  चार किल्लाभित्र  सीमित  हुँदा पनि  हिम्मत नहारी  साहित्य लेखनमै समय बिताएका  थिए । अहिले केही सहज भएको छ ।  मुटु रोगले थलिएपछि अहिले  केही  हिँडडुल गर्न सक्ने भएका शाक्य  आगामी दिनमा पनि  निरन्तर साधनामा लागिरहने  र कृतिहरू प्रकाशित  गर्ने बताउँछन् । उनको यो यात्रामा उनकी श्रीमतीको पनि  पूर्ण  साथ र समर्थन छ । श्रीमती धर्मी शाक्यले पनि साहित्यलाई अँगाल्दै अगाडि बढेकी छन् ।

निरन्तर साहित्य साधनामा लाग्ने कर्मठ साहित्यकार शाक्य दम्पतीले समाजका लागि पनि धेरै राम्रा कामहरू गरिरहेका छन् । २०३५ सालमा जोडी बाँधिएका शाक्यका पाँच सन्तान रहेका छन् ।

अवकाश प्राप्त  शिक्षिका  धर्मको दिन काट्ने बाटो पनि  साहित्य बनेको  छ । उनका ८ वटा  कृति प्रकाशित  भइसकेका छन् ।  उनका आषाढ  पूर्णिमा  २०७५, भद्रा  कुण्डलकेशा २०७५, बुटवलमा बुद्ध धर्म  २०७५, षड्ऋतु लघु काव्य सङ्ग्रह २०७८ लगायतका  कृति  रहेका छन् ।

महावीर  साहित्य पुरस्कार २०७६ कदरपत्र, श्री ज्ञानोदय  मा .वि  २०६७  सम्मान पत्र,  नेपाल  राष्ट्रिय  शिक्षक सङ्गठनद्वारा सम्मान २०६३, शाक्य समाजद्वारा सम्मान  २०७५ प्राप्त गरेकी छन् ।

शाक्य  भन्छिन्, “शीत  साहित्यकार पुष्कर  अथक  रेग्मीले  परिकल्पना  गरेको   कविताको  लघुकाव्य  हो  शीत  लेख्न  धेरै  समय  खर्चिनु पर्दैन  जम्मा  आठ  अक्षर  लेखेपछि  शीत बन्ने भएकाले  लेख्न पढ्न  सजिलो  भएको कारण  छोटो  समयमै लोकप्रियता  हासिल  गर्‍यो ।”

साहित्यसँगै  बुटवल उपमहानगरपालिकाका बिभिन्न  सामुदायिक विद्यालयका  १४ जना गरिब तथा जेहेन्दार  बालबालिकालाई प्रत्येक वर्ष  छात्रवृत्ति  समेत शाक्य दम्पतीले  दिने गरेका छन्।

शिक्षा क्षेत्रमा समाजलाई अगाडि बढाउन  सके राज्यले ठुलो फड्को मार्छ । त्यसैले पठन सीपको  विकास गराउन आवश्यक छ ।  अहिलेको यो डिजिटल युगमा  मोबाइल, टी. भी. जस्ता कुराको अस्वाभाविक  प्रयोग हुँदा युवा पुस्ता तथा बालबालिकामा समेत  सृजनात्मक  सोचाई हराउँदै  गएको छ ।  यसप्रति समयमै सजग हुन आवश्यक रहेको बताउँछन् ।

बुटवलको पुरानो  महावीर पुस्तकालय  बनाउँदा हामी  ठुलो सोचका साथ बनाएका थियौ । अहिले पुस्तकालयको  किताबले पाठक पर्खिरहेको देख्दा मन अमिलो हुन्छ । आफ्नो घरमा नै ठुलो पुस्तकालय बनाएका  शाक्य दम्पती  अक्षरमा खेल्न पाउँदा  हर्षित छन् । अहिले यो घरका  भित्ता भित्तामा  पनि  शब्द कोरिएझैँ लाग्छ ।  जीवनका  निराशा  कुण्ठा  अभाव तनाव  सबैलाई  व्यवस्थापन  गर्ने  सीप  काल्पनिक  लेखन  शैलीले  दिँदाे रहेछ । साहित्य  लेखनमा  जमेका  दम्पतीले साहित्यमा भित्रिएका  नयाँनयाँ  विधामा खोज  गर्न  त्यसका बारेमा  सिक्न  सिकाउन  अझै बढी  उत्सुकता  हुने बताए ।

जीवनलाई विलासी साधनले रङ्गाउने भन्दा  आत्मिक दर्शन  खोजीमा साधना गर्न पाउँदा  आफ्ना भावना विचार बुझ्ने  छोराछोरी र असल पाठक सहयोगी वातावरण पाउँदा  नतमस्तक भएको शाक्य दम्पती बताउँछन्  ।