कलकत्ता कुनै समय भारत वर्षकै राजधानी । अहिले पश्चिम बङ्गाल राज्यको राजधानी । त्यहाँ विभिन्न ठाउँबाट आएका मानिसहरु बसोबास गर्छन् । त्यसमध्ये नेपाली भाषीहरुको पनि उल्लेख्य मात्रामा बसोबास रहेको छ । समयक्रमसँगै कलकत्तामा नेपालीहरुको परिचयको दायरा पनि फराकिलो हुँदै गएको छ । कुनै समय चौकीदारको रुपमा मात्र हेरिने नेपालीले अहिले अन्य परिचय पनि बनाइरहेका छन् । पुस्तौँपुस्तादेखि कलकत्तामा सानै समूहमा भए पनि नेपाली भाषीको बसोबास रहँदै आएको पाइन्छ । त्यसमा पनि केही व्यक्ति र संस्थाहरु छन् जसले आफ्नो भाषा, कला र संस्कृतिको संरक्षण गर्दै आएका छन् लामो सयमदेखि नै । यसो गर्नेहरुको सङ्ख्या थोरै होला तर धेरै पहिलेदेखि सो कार्य हुँदै आएको पाइन्छ कलकत्तामा । यसकारण पनि कलकत्तालाई समग्र भारतीय नेपाली साहित्यमा साहित्यिक पत्रकारिताको उद्गमस्थल मानिन्छ ।

आजभन्दा १ सय १५ वर्ष पहिले अर्थात सन् १९०७ मा भारतीय नेपाली पत्रकारिताको सुरुवात कालेबुङबाट  भएको थियो, “गोर्खे खबर कागज” भनेर । यसलाई पादरी गङ्गा प्रसाद प्रधानको सम्पादनमा क्रिस्टेली समाजबाट नेपालीमा अनुवाद गरेर निकालिन्थ्यो । जसको मुख्य उदेश्य धर्म प्रचार गर्नु थियो । यसकारण भारतीय नेपाली साहित्यमा विशुद्ध रुपमा साहित्यको सेवाको निम्ति निस्किएको पहिलो पत्रिका भने “गोर्खा साथी”लाई मानिन्छ । जसको प्रकाशन हरिसिंह थापाले सन् १९१२ मा कलकत्ताबाट गरेका थिए । यसकारण कलकत्तालाई समग्र भारतीय नेपाली साहित्यमा साहित्यिक पत्रकारिताको उद्गम स्थल मानिन्छ ।यसलाई क्रिस्टेली समाजबाट नेपालीमा अनुवाद गरेर निकालिन्थ्यो । जसको मुख्य उद्देश्य धर्म प्रचार गर्नु थियो । यसकारण विशुद्ध रुपमा साहित्यको सेवाको निम्ति निस्किएको पहिलो पत्रिका भने “गोर्खा साथी”लाई मानिन्छ । जसको प्रकाशन हरिसिंह थापाले सन् १९१२ मा गरेका थिए ।

विकास कार्की

त्यसयता थुप्रै साहित्यिक पत्रिकाहरुको उदय भयो । त्यसको लामो सूची छ । यसरी नेपालीहरुले कलकत्तामा चौकीदारी मात्रै गरेनन् उनीहरु आफ्नो भाषा, साहित्य र कलाप्रति पहिलेदेखि नै सजग थिए भन्ने कुराको यो एउटा प्रमाण पनि हो । अहिले भने कलकत्ताबाट ६/७ ओटा साहित्यिक पत्रिकाहरु वार्षिक रुपमा नियमित प्रकाशित भइरहेका छन् । कलकत्ताबाट जति निरन्तर साहित्यिक पत्रिकाहरु निस्किरहेका छन्, दार्जीलिङ, कालिम्पोङ, आसाम लगायत नेपाली भाषीहरुको बसोबास रहेको अन्य ठाउँबाट त्यति निस्किएको पाइँदैन । निकै कम मात्रामा छन् । दार्जीलिङलाई भारतीय नेपाली भाषा साहित्यको निकट अथवा भारतीय गोर्खाहरुको केन्द्र मान्ने गरेको भए पनि यसले साहित्यिक पत्रकारिताको क्षेत्रमा त्यस्तो खास केही गर्न सकेको देखिँदैन । यसकारण भारतीय नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा कलकत्ताले जुन योगदान दिएको थियो त्यो अहिले पनि उत्तिकै दिइरहेको छ । विगत ३५ वर्षदेखि “मौलो”, २२ वर्षदेखि “बिहानी”, ६/७ वर्षदेखि “सम्झना” लगायत अन्य साहित्यिक पत्रिकाहरु कलकत्ताबाट प्रकाशित हुँदै आएका छन् । यसैमा कलकत्तालाई आफ्नो कर्मभूमि बनाएर साहित्य लेखन, साहित्यिक पत्रिकाको सम्पादन तथा अन्य साहित्यिक गतिविधिमा निक्कै सक्रिय रहँदै आएका एउटा नाम हो विकास कार्की । कार्कीले विगत २५ वर्ष (सन् १९९७) देखि “परदेशी” साहित्यिक पत्रिकाको सम्पादन गर्दै आउनु भएको छ । सन् १९९२ सालमा स्थपना भएको अगमसिंह गिरी संस्थान, सलुवा कलकत्ताले वार्षिक रुपमा प्रकाश गर्दै आएको भारतीय नेपाली साहित्यकै एक लोकप्रिय पत्रिका हो परदेशी । गिरी संस्थानले स्रष्टाको जीवनकालमै अथवा भनौँ स्रष्टा जीवित छँदै परदेशी पत्रिकाको “अभिनन्दन विशेषाङ्क” पनि प्रकाशित गर्दै आएको छ । जसलाई सम्बन्धित स्रष्टाकै घरमा लगेर विमोचन गराउने गरिएको छ । संस्थानले अहिले भारतको सिलगुडीस्थित सुकुना निवासी ८५ वर्षीय वरिष्ठ साहित्यकार नरबहादुर दाहालको अभिनन्दन विशेषाङ्क तयार पारेको छ । साहित्यकार दाहालको जन्मदिन पारेर आगामी सेप्टेम्बर ५ तारिख सो विशेषाङ्क विमोचन गर्ने तयारी भइरहेको सम्पादक कार्कीले जानकारी गराउनु भयो । साहित्यकार दाहालको सन् १९३७ मा कालेबुङमा जन्म भएको थियो । संस्थानले यसअघि साहित्यकार एम.एम (मार्टिन माइकल) गुरुङ, हायमनदास राई किराँत, महानन्द पौडेल र गुप्त प्रधानको अभिनन्दन विशेष अङ्क प्रकाशित गरिसकेको छ । यसको सम्पादनको जिम्मेवारी पनि कार्कीकै काँधमा छ । सम्पादक कार्की गिरी संस्थानको मूल सचिव हुनुहुन्छ ।

त्यसैगरी सम्पादक कार्की सन् २०१३ मा स्थापना भएको लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठानको संस्थापक सचिव र हाल संरक्षक हुनुहुन्छ । साहित्यकार बाङ्देलको नाममा प्रतिष्ठान स्थापना भएपछि सन् १९५० को दशकमा बाङ्देलद्वारा प्रकाशित “प्रभात” साहित्यिक पत्रिकाको प्रतिष्ठानले पुन: प्रकाशन सुरु गरेको छ । त्योबेला बाङ्देलले मासिक रुपमा प्रकाशित गर्ने गरेको प्रभातलाई अहिले प्रतिष्ठानले भने वार्षिक रुपमा निकाल्दै आएको छ । यसको सम्पादन पनि कार्कीले नै गर्दै आउनु भएको छ । त्यसैगरी सम्पादक कार्की लैनसिंह बाङ्देल स्मृति पुरस्कार गुठीको सदस्य पनि हुनुहुन्छ । गुठीले हरेक वर्ष नेपाली भाषा साहित्य, कलामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका सर्जकलाई नगदसहित सम्मान गर्दै आएको छ । यसले एक वर्ष भारतीय नेपाली साहित्यकार र अर्को वर्ष नेपालका सर्जकलाई सम्मान गर्दै आएको छ । त्यसैगरी कलकत्तामै रहेको श्री जानकी माता नेपाली धार्मिक संघको वार्षिक रुपमा प्रकाशित हुने मुखपत्र “सम्झना”को पनि कार्की सम्पादक हुनुहुन्छ । यसरी सम्पादक कार्कीले लामो समयदेखि साहित्यिक पत्रकारिता मार्फत नेपाली भाषा साहित्यको विकासमा महत्त्वपूर्ण योगदान दिँदै आउनु भएको छ । भारतीय नेपाली साहित्यमा सम्पादक कार्कीले पुर्याएको योगदानको चर्चा गर्दै सिलगुडी निवासी अर्का युवा कवि राजा पुनियानी भन्नुहुन्छ, “डा. पारसमणि प्रधानदेखिको साहित्यिक गतिविधिको जुन यात्रा छ त्यसलाई काँधमा राखेर अगाडि हिँड्नेहरुमध्ये विकास कार्की अग्र स्थानमा हुनुहुन्छ । प्रहरी सेवाको व्यस्त जागिरे जीवनमा रहेर पनि साहित्यप्रति उहाँको गहिरो समर्पण छ । उहाँको त्यो समर्पण र प्रतिबद्धता देखेर नयाँ पुस्ताका धेरै सर्जकहरु यसमा लागिरहनु भएको छ ।

अग्रज स्रष्टा लैनसिंह बाङ्देलको नाममा प्रतिष्ठान स्थापना गरेर बाङ्देलले प्रकाशित गरेको साहित्यिक पत्रिका प्रभातलाई कार्कीले पुन: सुरु गर्नु भयो । यो चाहिँ विकास कार्कीको मात्रै नभएर समग्र भारतीय नेपाली साहित्यकै ठुलो उपलब्धि हो । अहिलेको जटिल परिस्थितिको समाजमा बसेर, बजारवादी सोचले ग्रस्त भइरहेको यो समाजमा सामूहिक सेवाको सोच लिएर, साहित्यिक गतिविधिलाई अगाडि बढाइरहँदा के कस्ता चुनौतीहरुको सामना गर्नु पर्छ भन्ने कुरा उहाँ मार्फत थाहा पाउन सकिन्छ । विकास कार्की आफैँमा एउटा मौनकर्मी हुनुहुन्छ । उहाँलाई त्यति धेरै सम्झिने गरिँदैन । फेरि पनि उहाँले गरिरहेको कामको मूल्याङ्कन पछि गएर हुने नै छ । यो नेपाली साहित्यको दुखद् पक्ष पनि हो कि कसैले गरेको योगदान ढिलोगरी थाहा हुन्छ ।”

डिजी शर्मा (युएई)

सन् १९६७ सेप्टेम्बर १७ तारिख भारतको दार्जीलिङस्थित सियोक चियाबारीमा जन्मिनु भएका सम्पादक कार्की नोकरीको सिलसिलामा लामो समयदेखि कलकत्ताको सलुवामा रहँदै आउनु भएको छ । कार्की प्रश्चिम बङ्गाल सरकारको प्रहरी सेवामा कार्यरत हुनुहुन्छ । नोकरीबाट बचेको समय अथवा कहिलेकाहीँ समय निकालेर भए पनि साहित्य लेखन र साहित्यिक कर्ममा सहभागी हुँदै आउनु भएको छ उहाँ । माता गौरीदेवी क्षेत्री र पिता कृष्णबहादुर क्षेत्रीका कान्छो सन्तान हुनुहुन्छ सम्पादक कार्की । भानु जयन्तीको अवसरमा विद्यालयमा हरेक वर्ष आयोजना हुने कार्यक्रमहरुमा कविता वाचन गर्नुपर्ने हुँदा स्कुले जीवनबाटै सम्पादक कार्कीमा साहित्यप्रतिको रुची पलाउन थालेको थियो । सन् १९८४ अर्थात् १७ वर्षकै उमेरबाट साहित्य सिर्जना गर्न थाल्नु भएका सम्पादक कार्कीको सन् १९८६ मा हिमालचुली नेपाली दैनिकमा पहिलो पटक कविता प्रकाशित भएको थियो । यसरी उहाँ साढे तीन दशकभन्दा लामो समयदेखि साहित्यमा समर्पित हुँदै आउनु भएको छ ।

कविता, कथा र लेखमा कलम चलाउँदै आउनु भएका कार्कीले अनुवादको काम पनि गर्दै आउनु भएको छ । आफ्ना सिर्जनाहरुको कृति प्रकाशित नभए पनि कार्कीले भारतका स्वाधीनता सङ्ग्रामी सहिद भगत सिंहको
जीवनी बङ्गलाबाट नेपालीमा अनुवाद गरेर सन् १९९० मा प्रकाशित गरिसक्नु भएको छ । त्यसैगरी उहाँ अन्य विभिन्न साहित्यिक गतिविधिमा पनि सहभागी हुँदै आउनु भएको छ । यसैक्रममा उहाँले वर्मामा साहित्यिक भ्रमण गर्नुका साथै कलकत्तामा आयोजित चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा आफ्नो सहभागिता जनाइसक्नु भएको छ ।

ग्रास रुटमा काम गर्ने र भाषा साहित्यको प्राज्ञिक नभएर एउटा सेवक भन्न रुचाउने कार्कीले कलकत्ताको सलुवामा रहेका नेपाली भाषीहरुमा आफ्नो भाषा, कला र संस्कृतिप्रति उनीहरुलाई जागरुक गराउने काम सन् १९९२ बाट निरन्तर गर्दै आउनु भएको छ । सलुवा, जहाँ ८/१० हजारको सङ्ख्यामा नेपाली भाषीहरुको बसोबास रहँदै आउनु उहाँ बताउनु हुन्छ । विशेष गरेर बङ्गाली भाषीहरु धेरै भएकोले त्यसको गहिरो प्रभाव छ त्यहाँको नेपाली समाजमा । त्यसले गर्दा त्यहाँ विवाह लगायत अन्य कार्यमा रवीन्द्र सङ्गीत बज्ने गर्थ्यो । अगमसिंह गिरी संस्थानको माध्यमद्वारा सम्पादक कार्की लगायतको टिमले त्यहाँका नेपाली समुदायमा नेपाली सिनेमाहरु लगेर देखाउने, नेपाली पत्रपत्रिकाहरु लगेर पढ्न लगाउने लगायतका कार्यहरु गर्न थाल्यो । जसले गर्दा त्यहाँको नेपाली समुदायका मानिसहरुले आफ्नो संस्कृति के हो ? भन्ने बारेमा जानकारी लिने अवसर प्राप्त गरे ।
यसै संस्थानको माध्यमद्वारा प्रत्येक वर्ष त्यहाँका प्रतिभाहरुलाई अघि ल्याउनको लागि सांस्कृतिक लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गरेर पुरस्कार दिने र प्रतिभावान् व्यक्तिहरुलाई प्रेरणा दिने काम गरियो ।
त्यसै गरी उहाँहरुले त्यहाँका नेपाली समुदायका घर-घरमा अगम सिंह गिरी, लैनसिंह बाङ्देल, भानुभक्त आचार्य लगायत नेपाली कविहरुको फोटो लगेर टाँस्न लगाउने र यी हाम्रा कवि हुने भनेर चिनाउने काम पनि गर्नुभयो ।

यसरी त्यहाँको नेपाली समुदायलाई सांस्कृतिक रुपले झकझकाउने काम भयो र कर्म क्षेत्रलाई उहाँले आफ्नो सम्झेर काम गर्दै आइरहनु भएको छ । सम्पादक कार्की भन्नुहुन्छ, ” धेरै प्रतिभाहरु देखेको छु जो कर्म क्षेत्रमा गएर चुपचाप बस्नु हुन्छ । आफ्नै व्यक्तिगत कुराहरुमा मात्रै सिमित हुनु भएको छ । तर हामीले अगमसिंह गिरी संस्थान र लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठानको माध्यमद्वारा विभिन्न साहित्यिक गतिविधिहरु गर्दै नेपाली समाजलाई आफ्नो भाषा साहित्यप्रति जागरुक गराउने काम गर्दै आएका छौँ ।” जुन धेरै हदसम्म सफल पनि भएको छ । कतिपय अवस्थामा आर्थिक अभावले गर्दा थुप्रै कार्यहरु चाहेर पनि गर्न नसकिएको कार्की बताउनु हुन्छ । आगामी दिनमा भारत र नेपालका साहित्यकारहरुलाई लिएर सेमिनारहरु गर्ने लगायत कला र साहित्यको विकासको निम्ति के कस्तो प्रकारले काम गर्न सकिन्छ भनेर योजनाहरु बनिरहेको उहाँ सुनाउनु हुन्छ ।

लामो समयदेखि साहित्यिक पत्रिकाहरुको सम्पादन र प्रकाशन कार्यमा संलग्न हुँदै गर्दा कार्कीले तितामिठा सबै किसिमका अनुभवहरु बटुल्ने मौका पाउनु भएको छ ।

नाम चलेका र विशिष्ट स्रष्टाहरूले प्रकाशनका लागि सिर्जनाहरू नदिएका थुप्रै घटनाहरू भएको उहाँ सुनाउनु हुन्छ । पत्रिका प्रकाशनको सुरुवाती चरणमा नयाँ सम्पादकलाई लेखकहरूले नपत्याउने र हुलाकमार्फत रचनाहरू प्राप्त गर्नुपर्ने हुँदा रचना अभावका कारण कतिपय अवस्थामा समयमै पत्रिका प्रकाशन गर्न नसकेका घटनाहरू पनि छन् । अहिले भने परिस्थिति सहज बन्दै गएको छ । सामाजिक सञ्जालमार्फत पनि सिर्जनाहरु लिन सकिने र नयाँ पुस्ताका लेखकहरुमा साहित्यिक पत्रिकाप्रति चासो बढ्दै गएका कारण अहिले भने पत्रिका प्रकाशनमा थोरै सहज हुँदै गएको सम्पादक कार्की आफ्नो अनुभव सुनाउनु हुन्छ । साहित्यिक पत्रिकाका पाठक छैनन् भन्नेहरु थुप्रै पाइन्छन् । यसो हुनुमा पाठकलाई के चाहिन्छ ? भन्ने कुरा पनि हामीले बुझिरहेका छैनौँ कि जस्तो उहाँलाई लाग्छ । एउटा पाठकलाई के ग्राह्य छ त ? उसलाई के रुची छ ? ऊ के रुचाउँछ ? भन्ने जस्ता कुराहरु हामीले बुझ्नु पर्ने आवश्यकता उहाँ औल्याउनु हुन्छ । अर्को महत्त्वपूर्ण कुरा भावनात्मक रुपले भाषा साहित्यको सेवा गर्नु पर्छ भन्ने भावना धेरै थोरै मान्छेमा भएका कारण पनि साहित्यिक पत्रिकाहरुको अवस्था सोचे अनुरुप हुन नसकेको सम्पादक कार्कीको बुझाइ छ । यसकारण समग्र भारतीय नेपाली साहित्य लेखनको तुलनामा नियमित प्रकाशित हुने साहित्यिक पत्रिकाहरु थोरै छन् ।

सम्पादक भएर काम गरिरहँदा कार्कीले भोगेको अर्को मुख्य समस्या भाषा शुद्धीकरणको हो । आज एउटा शुद्ध भइरहेको कुरा भोलि गएर अशुद्ध भइदिन्छ । भोलि फेरि त्यसलाई सच्याएर काम गर्दै गर्दा पर्सी फेरि त्यो अशुद्ध भइदिन्छ । यसले गर्दा यो भाषा शुद्धीकरण हरेक लेखक र सम्पादकहरुको लागि टाउको दुखाइको विषय बन्दै आइरहेको छ र यसले एक किसिमको अन्यौलता सिर्जना गरिरहेको छ । भारतीय नेपाली साहित्यमा नेपालमा अपनाउनेजस्तो शुद्धीकरण नअपनाएर आफ्नै व्याकरण प्रयोग गर्नु पर्छ भनेर मत राख्ने लेखक सम्पादकहरु पनि थुप्रै हुनुहुन्छ । तर सम्पादक कार्कीले भने दुबै तर्फका मान्यतालाई आधार मानेर काम गरिरहनु भएको छ । भारतीय नेपाली साहित्यमा विशेषगरी डा. पारसमणि प्रधानले निर्माण गरिदिनु भएको आधारलाई नै पछ्याउने चलन रहेको उहाँ उल्लेख गर्नुहुन्छ । डा. प्रधानदेखि सुरु भएको भाषा शुद्धीकरणको अभियान उहाँपछि डा. घनश्याम नेपाल, डा. कविता लामा, पुष्कर पराजुली लगायतले २००५ को दशकमा भाषामाथि काम गर्नुभयो । फेरि पनि यो शुद्धीकरणको विषय ठोस रुपमा टुङ्गिन सकेको छैन । समय समयमा अनेक कुरा र विवादहरु देखा परिरहन्छन् । केही समय पहिले भाषाविद् हिरा क्षेत्री, सुधिर क्षेत्री लगायतको समूहले कालिम्पोङबाट भाषाको शुद्धीकरण भनेर एउटा अभियान चलाएको थियो ।

तर त्यो अभियान पनि अपुरो भएको सम्पादक कार्की गुनासो गर्नुहुन्छ । जुन ठाउँसम्म पुग्नु पर्ने थियो ती कुराहरु त्यहाँसम्म नपुगेर उहाँहरु आफैँमा सिमित भएको कार्कीको आरोप छ । भाषाको शुद्धीकरणको सम्बन्धमा प्राज्ञिकहरुले दुई चार जनालाई राखेर सेमिनार गरेर मात्रै समस्याको समाधान नहुने सम्पादक कार्की बताउनुहुन्छ । यसलाई स्कुल, कलेज र युनिभर्सिटीका साथै सम्पादकीय हिसाबले ठुलो भार बहन गरिरहेका सम्पादकहरुलाई समेत राखेर भाषा शुद्धीकरणको अभियान चलाउनु पर्ने उहाँ सुझाब दिनुहुन्छ । समय र प्रविधिको विकाससँगै अहिले विभिन्न अनलाइन पोर्टलहरुले आ-आफ्नो फन्ट प्रयोग गर्ने गरेका कारण पनि एउटामा शुद्ध मानिएको कुरा अर्को पोर्टलमा पुग्दा अशुद्ध हुने परिपाटी मौलाउँदै गएको छ । यसले भाषा शुद्धीकरणमा झन् अन्यौलता निम्त्याएको सम्पादक कार्कीको भनाइ छ । यसकारण अबका दिनमा वैज्ञानिक कारणसहित भाषाको शुद्धीकरण हुन सकेको खण्डमा मात्रै यसमा भएका अन्यौलताहरु हटेर जाने उहाँ विश्वास व्यक्त गर्नुहुन्छ ।

भारतीय नेपाली साहित्यका सर्जकहरुले आफ्नो लेखनमा के कस्ता विषयहरु उठान गरिरहेका छन् भन्ने कुराको जानकारीको लागि सम्पादक कार्कीलाई प्रश्न गर्नु उचित हुन्छ । किन भने उहाँले लामो समयदेखि त्यहाँका सर्जकहरुको सिर्जना सम्पादन गर्दै आउनु भएको छ । आफ्नो पहिचानका लागि लामो समयदेखि नेपालीहरुले आन्दोलन गरिरहनु परेका कारणले पनि हुन सक्छ प्राय: जसो भारतीय नेपाली साहित्यमा यी कुराहरु प्राथमिकता साथ आइरहेका छन् । त्यहाँको नागरिक हुँदाहुँदै पनि आफ्नो हक अधिकारका लागि जसरी लडिरहनु परेको छ, अनुहारलाई हेरेर जुन किसिमका प्रतिक्रियाहरु दिने गरिन्छ अथवा विभेद हुन्छन् ती भोगाइसँगै स्थानीय स्तरका प्राकृतिक सुन्दरता र राजनीतिक आन्दोलनपछि राजनेताहरुप्रतिको असन्तुष्टि पनि लेखनमा आउने गरेको सम्पादक कार्की बताउनु हुन्छ । यसका अलवा सूचना र प्रविधिका कारण अहिले विश्व नै एउटा गाउँ भइरहेको अवस्थामा भारतीय नेपाली साहित्यमा वैश्विक कुराहरु पनि आउने गरेका छन् ।

पहिचानको कुरा गरिरहँदा यो एउटा जटिल विषय हो, भारतीय नेपालीहरूका लागि । नेपालले आफ्नो नागरिक मान्न नसक्ने र भारतले नेपालीमूलको नागरिक भनेर कुनै न कुनै रूपमा विभेद गरिरहेको पाइन्छ । कार्की अघि भन्नुहुन्छ, “एउटा सत्य के हो भने मेरो पहिचान अथवा मेरो एउटा शाखा सन्तान पहिल्याउँदै जाँदा मैले मेची तर्नु पर्छ । तर ऐतिहासिक तथ्यले कुनै समय सिक्किम, दार्जीलिङ र टिस्टासम्म नेपालको भूभागहरु भएको बताउँछ । त्यसले गर्दा हामी जमिनसँगै आएको मान्छे हौँ । हामी नेपाल मूलको पनि होइनौँ । हामी भारतीय नेपाली हौँ । कुनै समय हाम्रा बाजे बराजुहरु यता आए होलान् । अन्त पनि गइरहेका छन् विभिन्न कारणले । नेपालसँग हाम्रो आत्मीय सम्बन्ध छ । भाषा साहित्य संस्कृति इत्यादिको सम्बन्ध छँदै छ । त्यसलाई कसैले नकार्न सक्दैन । तर हामी स्वतन्त्र भारतीय भएर बस्नु पर्छ भन्ने हाम्रो मान्यता हो । कसैले नेपाली मूलको भारतीय नागरिक भन्दा पनि गुनासो गरिहाल्नु पर्ने कारण छैन । किन भने हाम्रो परिस्थिति नै त्यस्तै बनिदियो । सन् १९५० को सन्धीले हामीलाई यतिधेरै पोलिरहेको छ कि त्यो सन्धी हाम्रो लागि एउटा गाडे घाउजस्तो भएको छ । त्यसकारण एउटा स्वतन्त्र पहिचान होस् भन्ने हाम्रो चाहना छ ।”

कार्यक्रम “स्रष्टा र सिर्जना” मा गरिएको कुराकानीमा आधारित