
पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न ५ वटा पुस्तक प्राप्त भएका छन् ।
===
१. औरा – राजबल्लभ कोइराला
प्रभातमा
मैले झ्याल खोल्ने बित्तिकै
व्यग्र हावा ह्वात्तै मेरो छातीमा ठोक्कियो
र, मलाई निथ्रुक्क भिजायो ।
कठै, झ्यालबाहिर
रातभर शीतमा कठ्या.ग्रिएको रहेछ
तिमीले पठाएका सम्झनाहरू । (सम्झनाहरू, पृ. ३१)
राजबल्लभ कोइरालाको पहिलो कविता सङ्ग्रह हो ‘औरा’ । कोइरालाका कविता सरल, छोटो र मीठो छन् । पाठकलाई यी कविताहरू मस्तिष्कबाट कम मुटुबाट बढी लेखिएको अनुभव हुन्छ ।
“कविता त होइन तर कविताजस्तो केही सानैमा लेख्थेँ, तर मनमनै । अक्सर ‘आउट अफ द बक्स’ सोच्थेँ । आफैँलाई प्रश्न गर्थेँ । बाबासँग पनि कुरा गर्थेँ शायद संवेदनशीतला घरैबाट सिकेँ मैले ।”, कवि राजबल्लभ कोइराला पुस्तकमा लेख्नुहुन्छ, “कविको परिभाषा आ आफ्नै् होलान् तर संवेदनशीलताले मानव संवेदनाका विभिन्न नशाहरूलाई फैलाइदिने गर्छ । भक्कानिइरहन्छन्, चर्किइरहन्छन्, सोधिरहन्छन्, सोचिरहन्छन्, अल्झिरहन्छन्, अनेकौँ अक्षरबीच । म पनि यदाकदा त्यसरी नै अल्झिने गर्दोरहेछु । अनि केर्ने गर्दोरहेछु । … यस सङ्ग्रहमा जीवनका अनेकौँ वर्षमा घाममुनि, जुनमुनि जे जस्ता भावलाई अनुभुत गरेँ, नहराएका र देखिएका भेट्टिएका भावनाहरूलाई यसरी नै उनेँ र उनिएका सामग्रीहरू यिनै हुन् ।”
त्यस्तै, कवितासङ्ग्रहका बारेमा कवि विप्लव प्रतीक लेख्नुहुन्छ, “कविता डेढ हातको लेख्नै पर्छ भन्ने कुनै नियम हुँदैन । कविता एक करेत वा तीन छोटा पङ्क्तिका पनि हुन सक्छन् । याद राख्नु पर्ने कुरा खाली यत्ति हो कि आफूले लेखेको कविता भावरहित शब्दको थुप्रो नबनोस् । सुनाउँदा श्रोताको देब्रे कानबाट छिरेर दाहिने कानबाट उडेर नभागोस् । कविता जुनसुकै कानबाट छिरे पनि सुन्नेको हृदयमा पुगेर गुँड लगाओस् र तिनका दिमागमा कविता उग्राइरहोस् त्यस पङ्क्तिलाई सम्झिँदा । राजका कविता पढ्दा मलाई यस्तै महसुस भइरह्यो । म उनका कविता ध्यानस्थ पढिरहेँ, पढिसकेपछि निकैबेरसम्म मेरा तन्तुमा आनन्दका रसायनहरू बगिरहे ।”
पुस्तकलाई शब्दमिडिया प्रा.लि. (साहित्यपोस्ट) ले प्रकाशनमा ल्याएको हो । १ सय ११ वटा कविता सङ्ग्रहित पुस्तकको मूल्य ४ सय ५० रुपैयाँ रहेको छ ।
…
२. नेपोलियन र सुकुमार सपना – महेश प्रसाईं
‘उता देशभित्र प्रवास बाँचेका कर्णालीमा
सिटामोल र जीवनजलको हाहाकार थियो ।‘
कवि महेश प्रसाईंको कविता सङ्ग्रह हो ‘नेपोलियन र सुकुमार सपना’ । कवि प्रसाईंको कवितामा जीवन, जगत, प्रकृति, भावनाको गहिराई भेटिन्छ, उहाँ कवितामा प्रेमसौन्दर्य पनि उतिकै घनिभुत बनाएर लेख्नुहुन्छ ।
“कति विपर्यास छ, प्याराडक्स छ यी दुई कवितांशहरूमा । लाग्छ कविताको सौन्दर्य त्यही छ । कविताले व्याखा गर्ने होइन, सङ्केत गर्नुपर्छ । यिनै दुई कवितांशहरू पर्याप्त छन् प्रेमिल सौन्दर्यको भाव गम्भीरता बुझ्न र नेपालको विद्रुप त्रासदीका फलकहरू बुझ्न ।”, पुस्तकमा डा. लक्ष्मणप्रसाद गौतम लेख्नुहुन्छ, “कवि महेश प्रसाईं यस कवितासङ्ग्रहभन्दा पूर्व मस्तिष्कले बढी पढिन्थे, तार्किकताले निचोर्थे उनका कवितालाई र बौद्धिकताका बहुअर्थी विम्ब ओढेर जटावाल वरिवल फुटाउँथे उनका कविताहरू, तर अहिले अर्थात् यस सङ्ग्रहमा आइपुग्दा, नेपोलियन र सुकुमार सपनामा आइपुग्दा उनी हृदयले पढिने भएर आएका छन्, संवेदनाले बढी पढिने भएर आएका छन् । मनले छोइने भएर आएका छन् अनि हृदयको तार झ.कृत हुँदा सौन्दर्य पोखिने भएर आएका छन् । हो, यही पार्थक्य छ उनका वर्तमान र अर्वतमानका कवितामा ।”
त्यस्तै, ‘कविताको बकपत्रमा’ कवि महेश प्रसाईं लेख्नुहुन्छ, “मैले मेरी आमाको गर्भबाट बटुलेर ल्याएका यी अश्रुतापहरू अब कविताका बकपत्रमा छन् । मेरा बकपत्रमा छन् । कविताको कुलीनतामाथी थप भन्नुपर्ने कुराहरू केही छैनन् । कविताले ‘सांस्कृतिक’ बनाउँछ यो मनुष्य समाजलाई । सृष्टिको रहस्य त्यही सांस्कृतिकतासित सन्नद्ध छ । कविता र मनुष्यको ‘अन्तरसांस्कृतिक नाता’लाई कसैले र्फेन सक्तैन । सधैं त्यो कायम छ, आफ्ना गौरवगाथामा अति निकटबाट हेरें, सधै मैले कवितालाई । अति सूक्ष्मताले पहिल्याउने प्रयास पनि गरें, मैले ती अन्तश्चेतीय धरातलहरूलाई । आत्मानुगतता अनुभव गरेको छु, ती त्यहाँसम्म कवितासित । कवितागारथसित । कविताले पनि मेरो सर्जकलाई निकटबाट स्पर्श गरेको बोध छ । ती स्पर्शानुभुति अनुभव गरेको छु । मैले कवितालाई प्रत्यक्ष आराधना गर्न पाएको हुँदा, गर्व पनि छ । संवार्ता जारी छ कवितासित ।”
पुस्तकलाई सीबी कार्कीले बजारमा ल्याउनुभएको छ । एकचालीस ओटा कविताले बनेको सङ्ग्रहको मूल्य ने.रु तीन सय र भा.रु दुई सय रुपैयाँ रहेको छ ।
…
३. लोहितकिनारका गोठ र गोठालाहरू – पुरुषोत्तम उपाध्याय दाहाल
पुरुषोत्तम उपाध्याय दाहालको कथा सङ्ग्रह हो ‘लोहितकिनारका गोठ र गोठालाहरू’ । लेखकले पुस्तकमा ब्रह्मपुत्र नदी किनारमा बसोबास गर्ने नेपाली भाषीहरूको कथालाई लेख्नुभएको छ ।
“असमेली नेपाली जनजीवनसित विशाल ब्रह्मपुत्र वा लेहित नदीको हाड, मासुको सम्पर्क रहेको छ । यो यस कारणले भन्न सकिन्छ कि गोपालन र कृषिकार्यका लागि यस भेकमा नेपालीहरूको आगमन र बसोबास गरेर जीविका निर्वाह गर्नलाई विभिन्न नदीको छेउछाउका ठाउँहरू रोजेका थिए ।”, मोहन सुवेदी पुस्तकको भूमिकामा लेख्नुहुन्छ, “नदी किनारका गोपालकहरूको दुःख, दुर्दशा,पीर,मर्का र त्यसबेला उनीहरूले भोग्नुपरेको विभिन्न आर्थिक, सामाजिक र राजनैतिक समस्याहरूलाई दस्तावेजका रुपमा प्रकाशित हुन नसक्नु त्यो हाम्रो कमजोरी हो । कतै फट्याक फुटुक रुपमा दुई चारवटा निबन्ध लेखिए तापनि त्यो पर्याप्त होइन जस्तो लाग्दछ । गाँस र बासको समस्याले हेपिएर गाई भैंसीहरू धपाउँदै नदीको ओल्लो किनारसम्म पुग्नुपर्ने बाध्यताका कथाहरू मौखिक रुपमा हामीले धेरैपल्ट सुनी सकेका छौँ । स्थानीय अन्य भाषा भाषी अन्य जातिका मानिससँग मिलेर बस्न सक्ने विशाल हृदयका गोर्खालीहरूको जीवन सङ्ग्रामका सङ्घर्षमय कथालाई बिर्सिएर हुँदैन । त्यसबेला गोपालनका साथ साथै नेपाली र असमिया दुवै भाषाको अध्ययन र साहित्य संस्कृतिको चर्चा गर्नुपर्ने बाध्यबाधकता पनि रहेको थियो ।”
पुस्तकमा लेखक दाहाल मेरो अभिव्यक्तिमा लेख्नुहुन्छ, “दोस्रो विश्वयुद्धपछि म्यानमार लगायत अभिव्यक्त भारतको निकै ठाउँबाट आएर साथै आसाममा बसोबास गर्ने रैथाने गोर्खाहरूको जीवन शैली देशको विभिन्न ठाउँमा भौगोलिक परिस्थितिअनुसार भिन्न भिन्न देखिएको छ । आसामको विभिन्न नदीहरूमा विशेषगरी ब्रह्मपुत्रको किनारमा गोठ पालेर यस जातिले आफ्नो सामान्य जीवन निर्वाह गरेको पाइन्छ । गाई भैँसी पालेर, रुख रोपेर, माटो उर्वर पारेर प्रकृतिलाई बचाउन गरेको कर्मको निम्ति गोर्खा जातिलाई सबैले अब्बल मानेका छन् । आसाममा भएको विभिन्न आन्दोलनमा गोर्खा जातिका वीर वीराङ्नाहरूको पनि निकै योगदान छ । देशमा भएको आन्दोलनमा निकै जना शहीद पनि भएका छन् । मैले गोठाला र गोपालकले भोगेको केही जीवन्त कथा यसमा समेट्ने प्रयास गरेको छु । प्रायःकथाहरू सत्यमा आधारित छन् । यसमा देखाइएको पात्रहरूको नाउँ र थर कसैसँग मिल्न गएमा त्यो संयोग मात्र हुनेछ ।”
पुस्तकलाई पूर्वायण प्रकाशनले बजारमा ल्याएको छ । अठार थान कथाहरू सङ्ग्रहित पुस्तकको मूल्य २ सय रुपैयाँ रहेको छ ।
….
४. दलालशाला – लक्ष्मण गाम्नागे
लक्ष्मण गाम्नागेको व्यङ्ग्यसङ्ग्रह हो, ‘दलालशाला’ । नेपाल साप्ताहिक पत्रिकामा पन्ध्र वर्ष झटारो स्तम्भ लेखेका लक्ष्मण गाम्नागेको राजनीति केन्द्रित तीक्ष्ण व्यङ्ग्यहरूले भरिएको दलालशाला बाह्रौं कृति हो । यस कृतिमा झटारो स्तमम्भमा लेखिएका व्यङ्ग्यहरूको संकलन गरिएको छ । पुस्तकमार्फत् गाम्नागेले नेपाली राजनीति र वर्तमान समाजलाई चोटिलो व्यङ्ग्य प्रहार गर्नुभएको छ ।
“बहुत जोस, जाँगर र अवसर पनि भएका बखत मैले केही पत्रपत्रिकामा स्तम्भ लेखेँ । आफैँले भन्दा अलि अप्ठ्यारो लाग्ने कुरा, कान्तिपुर पब्लिकेसनको नेपाल पत्रिकामा छापिने ‘झटारो’ पाठकहरूबाट निकै मन पराइएको थियो । यो पत्रिका हातमा लिएपछि तपाईँको ‘झटारो’ पढेर मात्र बाँकी रचना पढ्छु भनेर मलाई फुर्क्याउने थुप्रै पाठक शुभचिन्तकलाई अहिले पनि सम्झन्छु र गमक्क पर्छु ।”, गाम्नागे पुस्तकमा लेख्नुहुन्छ, “… किताबको नाम जुराउन मित्र डा. रवीन्द्र समीर, म र जिपिटी च्याटले निकै कसरत गर्यौं । ती नामहरूमध्ये दलालशाला उपयुक्त ठहरियो । मुलुकमा लामो समयदेखिको राजनीतिक खिचातानी, अस्थिरता र हाम्रा नेता र दलहरूको अकर्मण्यताका कारण राजनीतिक, प्रशासनिक लगायत विभिन्न क्षेत्रमा बिचौलियाहरूको भयङ्कर प्रभाव परेको महसूस सबैलाई भएकै छ । संसद्मा छिरेर आफूअनुकुल कानुन बनाउने व्यवसायीहरू, माफियाहरूलाई हामीले माननीयको सम्मान दियौँ । यस्तै तर्कनाले च्याटजिपिटीले यो पुस्तकको नाम दलालशाला प्रस्ताव गरेको होला । लालहरूको बाहुल्य भएको देश भनेर द लालशाला भनिएको पनि हुनसक्छ । लालहरू नै बढी दलाल भए भनिएको पो हो कि ! अथवा सत्तामा ढलीमली गर्ने दलालहरूलाई ‘साला’ भनेर गाली गरेको पनि हुनसक्छ । सत्तासीनहरूका प्रिय नातेदार साला–साली भाइ भतिज, ज्वाइँ, छोरी वा सम्धीहरूले नै दलालीको काम गर्छन भन्न खोजेको भए जिपिटीले नै जानोस् ।”
नेपाली हास्यव्यङ्ग्य निबन्ध तथा कविताका क्षेत्रमा साढे तीन दशकदेखि कलम चलाइरहेका लक्ष्मण गाम्नागे वर्तमान समयका एक लोकप्रिय र सशक्त व्यङ्ग्यकार हुन् । साढे दुई दशकदेखि नेपाली व्यङ्ग्य जगत्मा प्रभावशाली उपस्थिति जनाइरहेको संस्था सिस्नुपानी नेपालका संस्थापकमध्ये एक गाम्नागे हाल यसका अध्यक्षसमेत रहेका छन् ।
पुस्तकलाई मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको छ । २ सय ८४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय ६५ रुपैयाँ रहेको छ ।
…
५. आफैँलाई खोज्दै – ध्रुव जोशी
ध्रुव जोशीको निबन्ध सङ्ग्रह हो ‘आफैंलाई खोज्दै’ । जोशीले पूस्तकमा नयाँ चिन्तन र चेतनालाई प्रयोग गरेर सरल निबन्ध लेख्नुभएको छ ।
“साहित्यिक फाँटमा अपरिचित नाम हो ध्रुव जोशी । प्रकाशनमा पातलोसँग देखा परेका हुनाले पनि धेरै कम सर्जकहरूलाई मात्र थाहा होला उनका सिर्जना संसार बारेका कुरा । तर उनी असाहित्यिक मानिस भने किमार्थ होइनन् ।”, पुस्तकको समीक्षामा माधव काफ्ले लेख्नुहुन्छ, “रचना प्रकाशन, लेखनको साठीऔँ वसन्त पार गरिसकेको उम्दा साहित्यिक स्तर र चेतना भएका सिर्जनधर्मी हुन् उनी । भौतिकरुपमा मैले पनि उनलाई चिनेको, देखेको छैन । उनको सिर्जन संसारमा प्रवेश गरेपछि उनलाई चिनिरहनु आवश्यक पनि लागेन । उनको परिचयका द्योतक बनेर सिर्जना नै हात परेपछि मैले परिचयको उत्कण्ठालाई थाती राखी सिर्जनाको सेरोफेरोमा घुम्दै बढो आल्हादित किसिमले त्यसभित्र छचल्किरहेँ । धेरै मानिसहरू निबन्ध त्यति मन पराउँदैनन् र त्यति पढ्दैनन् पनि । निबन्ध विधाप्रति वितृष्णा त नहोला । तर आकषर्ण पनि निबन्ध विधाले गुमाउँदै जान थालेको यथार्थलाई नकारी हाल्न पनि सकिने अवस्था छैन । सतहमा निबन्धका असली उपाशकहरू कम जाँगरिला देखिनु र निबन्ध विधालाई अन्य विधाको तुलनामा अलि उपेक्षित दृष्टिले हेर्न खोज्दा पनि त्यस्तो भएको अर्थात् अर्थ लागेको हुनसक्छ ।”
त्यस्तै, जोशी ‘आफूलाई खोज्ने प्रयासमा’ लेख्नुहुन्छ, “मेरो यस निबन्धसङ्ग्रहमा समेटिएका केही निबन्धहरूको रचनाकाल मेरो प्रोफेशनल करियरको शुरुवातका दिनहरू थिए । आफ्नो प्रोफेशनमा परिचय बनाउने प्रयासरत थिएँ । त्यसबेलाको राजनीतिक परिवेश पनि त्यस्तै हालतबाट गुज्रिरहेको थियो । नयाँनयाँ व्याख्या र परिभाषा रच्दै आफ्नो औचित्य स्थापित गर्न लागिपरेका थिए । त्यो बेलाका मेरा रचनाहरू त्यस कालको बाछिटाले जताततै निथ्रुक बनाएको पाउनु हुनेछ । अन्य सबै रचनाहरू व्यवस्था परिवर्तनपछिका हुन् । जहाँ म साहित्यको विद्यार्थी नभएकोले त्यस बखतको साहित्यिक माहोल र सङ्गतमा मेरो आवतजावत थिएनँ ।”
पुस्तकलाई स्वदेश पब्लिकेशनले प्रकाशनमा ल्याएको हो । अठार वटा निबन्ध सङ्ग्रहित पुस्तकको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

