हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता ५ वटा पुस्तक प्राप्त भएको छ ।
यो स्तम्भ राख्नुको कारण पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । सबै पुस्तक किन्न र पढ्न सकिँदैन । तर बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन यो स्तम्भमा गरिरहेका छौँ ।
===
१. मार्केट अफ स्वीटहार्ट – तारा भट्टराई
अमेरिकालाई कर्मभूमि बनाई नेपाली भाषा–साहित्यको उनन्वयनमा समेत सक्रिय लेखक तथा पत्रकार तारा भट्टराईको गैरआख्यान विधाको पुस्तक हो, ‘मार्केट अफ स्वीटहार्ट’ ।
पुस्तकमा अमेरिकी यौनजीवन, विशेषतः न्यूर्योक शहरको यौनकुण्ठा, उकुसमुकुसका साथै समग्र यौनमनोविज्ञान मुखरित भएका छन् । साथै, महिलाका संवेदना, विद्रोह तथा सशक्तीकरणका आवाजहरू भट्टराईको लेखनीको विशेषताका रूपमा देखापरेका छन् ।
‘यो एक गैरआख्यान कृति हो । यसमा लेखिएका सबै घटनाहरू सत्यतामा आधारित छन् ।’, पुस्तकमा लेखक भट्टराई लेख्छिन्, ‘यिनलाई कथा भनेर भुक्तभोगीहरूका पीडालाई आवरण दिन सकिन्थ्यो होला तर यी पात्रहरू, जसले जे भोगे, तिनलाई कथाको आवरण दिएर तिनको भुक्तमानलाई म कमतर बनाउन चाहन्न थिएँ । लेख्न सजिलोका लागि मैले ‘म’ पात्र उभ्याएकी छु ताकि ती पात्रहरू संसारसामु आफूलाई उदाङ्गो महसूस गरुन् ।’
पुस्तकको भूमिकामा साहित्यकार विश्वराज अधिकारी लेख्नछन्, ‘तारा भट्टराईका लेखनका पात्रहरू स्वतन्त्र हुन्छन् किनभने उनीहरू भट्टराईद्वारा निर्देशित हुँदैनन् । कथाका पात्रहरूले आफ्नो प्रकृतिअनुसार, कथाले मागेअनुसार क्रिया गर्छन् । भट्टराईको यो शैलीको मैले सूक्ष्म रूपमा अध्ययन गरेको छु । मेरो यो अध्ययनले भन्छ, लेखनको कुरा गर्दा, कथाकारिताको कुरा गर्दा, भट्टराई एक निर्देशक होइन, एक प्रस्तोता हो । उनको यो शैलीको म प्रशंसक हो । अनुयायी हो ।’
पुस्तकलाई साहित्यपोस्ट प्रकाशनमा ल्याएको हो । ३१ शीर्षकका आलेखहरू सङ्ग्रहित कृतिको मूल्य नेपालका ५ सय नेपाली रूपियाँ तथा नेपालीबाहिरका लागि १२ अमेरिकी डलर रहेको छ ।
===
२. यात्रा र संस्मरण – चूडामणि बन्धु
साहित्यकार चूडामणि बन्धुको नवीनतम कृति हो ‘यात्रा र संस्मरण’ । पुस्तकमा बन्धुले ३० देखि ७५ सालसम्मका देश तथा विदेशको यात्राका अनुभवहरूमा आधारित भएर लेखिएका आलेखहरू सङ्ग्रह गरेका छन् ।
पुस्तकमा ‘भाषाविज्ञानको वसन्तकालीन कार्यक्रम र अमेरिकाको यात्रा’देखि शुरु भएर ‘जाजरकोटको सम्झना’, ‘हिमालपारिको महादेशमा प्राज्ञहरूको यात्रा’, ‘गान्धीको धरतीमा नारी विमर्श’, ‘अजित कौरको लोकवार्ता महोत्सवहरूमा’ हुँदै ‘लोकवार्ताको नवौं सङ्गोष्ठी र जनयुद्धका केन्द्रतिरको यात्रा’ गरी जम्मा ३० वटा आलेखहरु सङ्ग्रहित छन् । यी आलेखहरू भाषा, साहित्य तथा इतिहासको दृष्टिले महत्त्वपूर्ण दस्ताबेजका रूपमा आएका छन् ।
‘यिनमा केही यात्राकालमा लेखिएका नियात्रा जस्ता होलान्, अनि केही यात्राका टिपोटका आधारमा पछि लेखिएका संस्मरण होलान् ।’, पुस्तकमा लेखक बन्धु लेख्छन्, ‘यी मेरा आत्मकथाका अंश पनि हुन सक्छन् । यिनमा धेरैजस्तो अप्रकाशित हुन्, केही मात्र विविन्न पत्रपत्रिकामा प्रकाशित छन् ।’
पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । १ सय ७२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ९५ रुपियाँ रहेको छ ।
===
३. वर्षका बिहानीहरू – समीर नेपाल
साहित्यकार समीर नेपालको नवीनतम उपन्यास हो ‘वर्षका बिहानीहरू’ । नेपालले उपन्यासको प्रमुख पात्रका रूपमा एक पुरुषलाई उभ्याएका छन् । उक्त पात्रले सानैमा टुहुरो भएको साथीले जे जस्तो जीवन भोग्यो त्यसैलाई ‘वर्षका बिहानीहरू’का रूपमा कहेको छ ।
‘साना छोराछोरीलाई छोडेर आमाहरू किन ‘स्वर्गवासी’ हुन्छन् ?’, पुस्तकको भूमिकामा प्रदीप नेपाल लेख्छन्, ‘आमाको निधनको तीन वर्ष मेरो मनले खोजिरहेको उत्तर हो यो । मान्छेहरू भन्थे – भगवानलाई पनि असल र राम्रा मान्छे चाहिन्छन् । होला जस्तो लाग्थ्यो त्यतिबेला । तर त्यस्तो होइन रहेछ । जीवन र मृत्यु अनिवार्य क्रिया रहेछन् र मानिस मरेर कुनै भगवान्–तगवान्का घरमा पुग्ने होइन रहेछ ।’
पुस्तकमा लेखक समीर नेपाल लेख्छन्, ‘ यो मेरो आफ्नै कथा, आफ्नै भोगाइ र आफ्नै व्यथा हो । सुरुमै समस्या परेन लेख्न मलाई किनभने मेरो परिवार नै साहित्य सर्जक । सबै परिवार साहित्य लेख्ने भएपछि मैले लेख्दिनँ भन्न पाइनछु भन्नुपर्छ होला अहिले । लेख्ने कुरामा आफ्नो काम विशेषले पनि प्रभाव पार्दो रहेछ भन्ने लाग्यो मलाई ।’
पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले प्रकाशनमा ल्याएको हो । १ सय ६६ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
===
४. छोटु – सञ्जीव पौडेल
कृषि विकास बैङ्कमा ३० वर्ष सेवा गरेका लेखक सञ्जीव पौडेलको संस्मरणात्मक कृति हो, ‘छोटु’ । पुस्तकमा पौडेलले आफ्नो सुदूर बाल्यकालदेखि जीवनका भोगाइ, गरेका सङ्घर्ष र उपलब्धिहरूलाई सिलसिलेबर तवरले प्रस्तुत गरेका छन् ।
‘आफू आबद्ध संस्थाभित्र स्पष्ट रूपमा देखिएको अनुभवहीन नेतृत्वको चिन्तन, व्यवहार र निर्णयले सेवाग्राही र सेवाप्रदायक बीच झाँगिंदै गएका असङ्गत स्वरहरूलाई उपलब्धिमूलक र अनुकरणीय भनिदिनुपर्ने बाध्यता धेरैजसो संस्थाका अधिकांश कर्मचारीको साझा विषय थियो र छ ।’, पुस्तकको भूमिकामा दिनेश थपलिया लेख्छन्, ‘यसलाई क्रमभङ्ग गरेर आफ्नो अभिव्यक्ति दिन सक्ने कर्मचारीहरू बिरलै भेटिन्छन् । यस्तो परिवेशमा नेतृत्वको गलत भनाइका कारण संस्थागत हित अङ्गभङ्ग भएकाा असह्य भई अन्तर्आत्माको आवाज बोलेवापत लेखकले पाएको सास्ती कारुणिक लाग्छ ।’
त्यस्तै, पुस्तकमा लेखक लेख्छन्, ‘मेरो जीवन सङ्घर्षबाट पक्कै आगामी पिंढीलाई केही शिक्षा हुन्छ भनेर पुस्तक लेख्ने निधोमा पुगें । पुस्तकबाट मैले जस्तो सङ्घर्षमा रहेकाहरूको लागि गोविन्द मधूरले गीतमार्फत् भनेजस्तो – ‘एक दिन उज्यालो छाउला, मेरो पनि दिन आउला’ भन्ने कुरा प्राप्त होला कि भन्ने अपेक्षा गरें ।’
कृषि विकास बैङ्कको सञ्चालक सदस्य समेत रहेका पौडेलको यो कृतिको प्रकाशन मीना अधिकारी (पौडेल) ले गरेकी हुन् । २ सय ७२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय रुपियाँ रहेको छ ।
===
५. आख्यानमा तेस्रोलैङ्कि चरित्र – दीपकप्रसाद ढकाल
अनुसन्धानकर्ता दीपकप्रसाद ढकालले नवीनतम कृति हो ‘आख्यानमा तेस्रोलैङ्गिक चरित्र’ । यस कृतिमा ढकालले आख्यान विधामा अभ्यास गरिएका तेस्रो लिङ्गी चरित्रको पात्रगत मनोवैज्ञानिक अध्ययन गरेका छन् ।
‘परम्पराले गे र लेज्बिअजलाई प्रकृति विरुद्ध, धर्म र कानून विरुद्ध, देखेर उनीहरूलाई अन्त्यमा सृष्टिसंहारक नै हुन् भन्ने ठान्दछ ।’, पुस्तकको भूमिकामा प्रा.डा. गोविन्दराज भट्टराई लेख्छन्, ‘हाम्रा सम्पूर्ण संस्थाले विषमलैङ्गिकता मात्रै प्राकृतिक र स्वाभाविक हो भन्ने कुराले मस्तिष्कमा छाप पारेको छ । समलिङ्गीहरू पनि अति अल्पसङ्ख्यक भएकाले यस्ता भिन्नहरूका मनोजगत् बारे कसैलाई ज्ञान हुँदैन, त्यसकारण दमित चेतना र प्रतिबन्धित अवधारणा लिएर लेख्ने बोल्नेहरू पनि भर्खर प्रकट हुँदैछन् । त्यसी प्रकट हुनु यहाँ मात्र होइन, पाश्चात्य जगत्मा पनि समाचार बन्न सक्छ ।’
त्यस्तै, पुस्तकमा लेखक ढकाल लेख्छन्, ‘लिङ्ग र लैङ्किता फरक सामाजिक सन्दर्भ हुन् । लिङ्क यौनिक अनुभूति, संवेग तथा प्रजननको प्राकृतिक भूमिकासम्बद्ध विषय हो । त्यसैले यो प्रजननको प्राकृतिक अवस्थासँग निकट हुन्छ । लैङ्गिकता सांस्कृतिक भूमिका, अमूर्त संस्थागत स्थान तथा त्यसका निम्ति आवश्यक अभिमुखीकरण एवं स्वीकरणको व्यवहारिक पक्ष हो ।’
पुस्तकलाई अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको हो । १ सय ३६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय २५ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।