हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता ३ वटा पुस्तक प्राप्त भएको छ ।
यो स्तम्भ राख्नुको कारण पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । सबै पुस्तक किन्न र पढ्न सकिँदैन । तर बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन यो स्तम्भमा गरिरहेका छौँ ।
===
१. बगुवा पानी – डा. बिनोद ढकाल
धुलिखेत अस्पताल, काठमाडौं विश्वविद्यालय अस्पतालका डा. बिनोद ढकालको पहिलो उपन्यास हो ‘बगुवा पानी’ । उपन्यासको ढकालले सडक दुर्घटनाको विषयलाई प्रस्तुत गरेका छन् ।
उपन्यासले नेपाली समाजको यर्थाथलाई जीवन्त रुपमा चित्रण गरेको छ । सामाजिक वास्तविकताको वरिपरि रहेर सडक दुर्घटनालाई केन्द्रमा राख्दै उपन्यासले विविध सामाजिक पक्षहरुको उजागर गरेको छ । मुख्य पात्र गोरेको वरिवरि उपन्यास बुनिएको छ ।
‘दिनहुँ कलङ्कीबाट धुलीखेल आउने–जाने गर्छु । अझ कोटेश्वर र सातदोबाटोको जामको कुरा गरिसाध्य छैन । घण्टौं गाडीमा बस्नुपर्ने हुन्छ । म थाकेको हुन्थेँ । अफिसको गाडीमा गोरे, इन्द्रप्रसाद, तृष्णा, रामजीतलाई सोचिरहेको हुन्थें । त्यो भाव लिएर घर गएर लेख्थें । सधैं उस्तै भाव हुन्थ्यो ।’, पुस्तकमा उपन्यासकार ढकाल लेख्छन्, ‘गोरेको कथा मैले राजमार्गमा भेटेको हुँ । बूढी स्वास्थ्य चौकीमा काम गरिरहँदा उसलाई भेट्न जाँदा चढेको मालबाहक जीपको ड्राइभर । गोरेले आफ्नो कथा सुनाएको थियो बाटोभरि । रमाइलो लाग्यो सुन्दा । छाया र गोरेको कथामा म आफूलाई पाउथें । उसको बाल्यकालमा मेरो कथा छ ।’
उपन्यासको समापनमा उपन्यासकार लेख्छन्, ‘‘भर्ना भयो । अब जाऊँ’, धीरेनले आमालाई इसारा गर्दै भन्यो । आमा छेउमा भएको भर्याङबाट विस्तारै उक्लिन लागिन् । उनका हरेक पाइलामा आज खुसीका लहर नाचेका देखिन्थे । किन नहुने त खुसी ? छोरो डाक्टरी पढ्न छात्रवृत्तिमा भर्ना भएको थियो । गोरेले देखेको सपना पूरा भएको थियो ।’
पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । २ सय २४ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ५ सय २५ रुपियाँ रहेको छ ।
===
२. दलदल – हिरा लामा
शिक्षण पेशामा संलग्न लेखक हिरा लामाको उपन्यास हो ‘दलदल’ । उपन्यासमार्फत् लामाले दलदलमा फसेका नेपालीहरुको सामाजिक जीवनलाई प्रस्तुत गरेका छन् । पारिवारिक दलदल, राजनीतिक दलदल र शैक्षिक दलदलको त्रिकोणात्मक कथा उपन्यासको केन्द्रमा रहेको छ ।
‘लेख्नु शब्दहरुमार्फत् भावनालाई निश्चित आकार दिनु हो । जीवन दिनु हो । अर्थात् गति दिनु हो । यो अर्थमा लेख्नु गाह्रो काम हो ।’, पुस्तकमा हिरा लामा लेख्छन्, ‘तर लेखिसकेर पुस्तकको रुपमा बजारमा ल्याउनु चाहिँ झनै गाह्रो रहेछ । यो महसुस गरायो दलदलले । कम्तीमा मैले यही अनुभव गरेँ । अरुको अर्कै अनुभव हुन सक्छ । करिब १० वर्षअघि लेखेको यो उपन्यासले बल्ल यो स्वरुप पाएको छ । यो रुपमा बाहिर आएको छ ।’
चितवनको पृष्ठभूमिका लेखिएको उपन्यासमा भरतपुर कारागारमा कैदीलाई मारिएको घटनालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । यसले चितवन क्षेत्रका अँध्यारो तथा उज्यालोको कथाहरु कहेको छ ।
अर्थशास्त्रमा स्नातकोत्तर हिरा लामा भरतपुर महानगर, प्रेमबस्तीका वासिन्दा हुन् । उनको यो उपन्यासलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो । २ सय ४० पृष्ठमा फैलिएको उपन्यासको मूल्य ४ सय ४९ रुपियाँ रहेको छ ।
===
३. समयको नक्साबाहिर – कृष्ण ढुङ्गेल
कृष्ण ढुङ्गेलको सिर्जनात्मक निबन्धहरुको संग्रह हो ‘समयको नक्साबाहिर’ । नेपालको सुदूरपूर्वी जिल्ला झापाको सेरोफेरोको सुन्दर पृष्ठभूमिमा उभिएको यस कृतिले अति सामान्यता, अभाव र भयलाई चिरेर एउटा मान्छे कसरी आत्मबलको सिँढी चढ्छ, र चिरन्तर आत्मविश्वास र उचाइतिर उन्मुख हुन सक्छ भन्ने देखाएको छ ।
‘ढुङ्गेल छरितो भाषा, सूक्ष्म दृष्टि र ललित अभिव्यक्तिका लागि चिनिएका छन् । उनको बाल्यकाल, किशोरवय र स्कुले जीवनका मिहिन, रोचक, प्रभावशाली र स्मरणीय घटना–परिघटनाका शृङ्खलाबद्ध आलेख नै ‘समयको नक्साबाहिर’ हो ।’, पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ, ‘यसमा उनको व्यक्तित्व तथा विश्वदृष्टि प्रस्ट आएको छ । कृतिले युवा पाठकलाई विशेष ध्यानमा राखेको प्रतीत हुन्छ, यद्यपि यो सबैका लागि पठनीय छ । पाठकले कृतिभित्र आफ्नै सुदूर अतीतको प्रतिविम्वन भेट्टाउनेछन् ।’
पुस्तकमा ढुङ्गेल लेख्छन्, ‘मलाई विश्वास गर्नुहोस्, व्यथाहरु समयका उपज हुन् । कथाहरु पनि समयकै उपज हुन् । यदि तपाईं व्यथालाई कथामा ढाल्न सक्नुहुन्छ भने त्यो पनि मीठो अनुभूति बन्न सक्छ । व्यथाकै फूलहरु कथा बनी फुले भने तपाईंको दिल गार्डेन गार्डेन बन्न सक्छ ।’
‘मिराज’ उपन्यासमार्फत साहित्यको लेखनमा प्रवेश गरेका ढुङ्गेल साहित्यिक पत्रकार तथा स्तम्भकार हुन् । साहित्यक अनलाइन दैनिक ‘साहित्यपोस्ट’का सम्पादकसमेत रहेका ढुङ्गेलको यो दोस्रो कृति हो ।
१५ थान संस्मरणात्मक निबन्धहरु सङ्ग्रहित पुस्तकलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो । १ सय ९२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।