‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

यसैक्रममा ‘साताका पुस्तक’मा यो साता छ पुस्तक । बेस्ट सेलर लेखकको ‘इजोरिया’देखि नोबेल पुरस्कार विजेता ‘प्रशान्तदोन’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

१. इजोरिया – सुविन भट्टराई

किशोर तथा युवापुस्तमाझ बहुचर्चित लेखक सुबिन भट्टराईको पाँचौं उपन्यास हो, इजोरिया । इजोरिया मैथिली शब्द हो जसको अर्थ ‘जुनेली’ हुन्छ । उपन्यासमा सुबिनले पारिवारभित्र देखिने प्रेम, घृष्णा र द्वन्द्वलाई कथाका रुपमा उतारेका छन् । यसअघिका उपन्यासहरुमा काठमाडौं केन्द्रित देखिएका सुबिनले इजोरियामा मधेशको परिवेशमा समाएका छन् ।

“सुबिन भट्टराईका पाठकलाई थाहै छ – उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ । सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् ।”, पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ, “इजोरिया मित्रताको कथा हो । इजोरिया महिलाको कथा हो । इजोरिया मधेसको कथा हो । इजोरिया मुक्तिको कथा हो । इजोरिया माया र ममताको कथा हो ।  इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।”

फाइन प्रिन्ट प्रकाशन गृहले प्रकाशनमा ल्याएको उपन्यासको मूल्य ६ सय ४८ रुपियाँ रहेको छ ।

 

२. बाआमा – रामलाल जोशी

कथासङ्ग्रह ‘ऐना’का लागि २०७२ सालको मदन पुरस्कार विजेता रामलाल जोशीको दोस्रो कथासङ्ग्रह तथा समग्रमा चौथो कृति हो, बाआमा । विशेषतः बाआमा सृष्टिको कथा हो । सम्बन्धको कथा हो । कथाकार जोशीले सन्तान र बाआमाको सम्बन्धलाई अत्यन्तै गहन र उत्कृष्ट शब्दशिल्पले कथाका रूपमा प्रस्तुत गरेका छन् । कथा बुनिएका मात्र छैनन्, एकअर्कामा उनिएका पनि छन् । कृतिमा सङ्ग्रहित समग्र कथाहरू पढिसक्दा उपन्यास पढेको भान हुन्छ, तर प्रत्येक कथाहरू आफैंमा पूर्ण छन् ।

“बाआमा, सन्तान र सम्बन्ध भन्नु सृष्टिको एउटा ऋत हो । हो, यही ऋतको कथा हो- बाआमा ।”, पुरस्तकको अन्तिम कभरपृष्ठमा लेखिएको छ, “जब कुनै श्रष्टाले आफ्नो कथा भन्न छोडेर सृष्टिको कथा भन्न थाल्छ, तब आकाश आफ्नो उही निलाम्य बैंस पाएर पग्लिन थाल्छ, आफ्नो उही ऋतम्भराको रूप पाएर धर्ती रसाउन थाल्छिन्, अस्ताचलमा डुब्न थालेको सूर्यले उषाकालको अरूणिमा वरण गर्दछ, अन्धकारमा बिलाउन थालेको जूनले पूर्णचन्द्रको आभा प्राप्त गर्छ । ठीक यही बेला सृष्टिको ऋतले एकपटक फेरि आफ्ना सन्तानलाई ध्रुवताराको रूपमा स्वीकार गर्छ ।”

बुकहिल प्रकाशन गृहले बजारमा ल्याएको कथासङ्ग्रहको मूल्य ५ सय ९९ (हार्ड कभर) रहेको छ ।

 

३. सात जुनी – मणि नेपाली पनेरू

मणि नेपाली पनेरुको नवीनतम कृति हो, सात जुनी । यो जीवनपरक उपन्यास हो । यसले आँखाभरि सपना, मनभरि रहर बोकेर संघर्षशील जीवनमा यात्रारत् बालकको कथा भन्छ । सात खण्ड (जुनी) मा विभाजित कथा रोचक र कौतुलतामय छ । यसलाई सङ्घर्षशील जीवनी, समाजयथार्थ र स्वप्नमनोविज्ञानमा आधारित उपन्यासका रुपमा बुझ्न सकिन्छ ।

“जीवन र जिजीविषा सृष्टिको मूल तत्त्व हो । साता जुनी मणि नेपाली पनेरुको औपन्यासिक शैलीमा लेखिएको आत्मकथा हो ।”, पुस्तकको भूमिकामा जयराज आचार्य लेख्छन्, “तसर्थ यसलाई आत्मोपन्यास भने हुन्छ । उहाँको जीवनकहानीले ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल’ भन्ने उक्तिलाई सार्थक पारेको छ । यस्तो प्रेरणादायी सङ्घर्ष र सफलताका कथा अनेकौं होलान् तर सबै लेखिँदैनन् । जुन लेखिएको छ त्यो पढेर मानिसले अघि बढ्नुपर्छ । ‘पुरुषस्य भाग्यं दैवो न जानाति’ भनिन्छ । मणि नेपालीको सौरपानीदेखि सान फ्रान्सिस्कोसम्मको यात्रा मानिसको अन्तरिक्ष यात्राभन्दा कम रोमाञ्चक छैन ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । २ सय ६४ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ३ सय ७५ रुपियाँ रहेको छ ।

 

४. कञ्चनजङ्घा जुहार (१८४८ सालको इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङको इतिहास)

प्रकृतिविद् जोसेफ डाल्टन हुकरद्वारा लेखिएको सङ्ग्रहणीय कृति हो, कञ्चनजङ्घा जुहारी (१८४८ सालको इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङको इतिहास) । यो पुस्तकले मध्ये १९ औं शताब्दीको समयमा रहेर पूर्वी पहाड इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङको इतिहास भन्छ । पुस्तकको नेपाली अनुवाद हस्त गुरुङले गरेका हुन् ।

“हिमालयमा लगातार भइरहेका परिवर्तनका दृश्यले आज मलाई नयाँ दृष्टि दियो । त्यो प्राकृतिक सिर्जना साँच्चै नै जादुमयी थियो र त्यसको प्रभाव चलायमान दृश्य हेरेको जस्तो थियो ।”, पुस्तकको अन्तिम कभरपृष्ठमा मूल लेखक हुकर लेख्छन्, “विज्ञान र कलाको कुनै पनि स्तरको संयोजनले यस्ता दृश्य सिर्जना गर्न सकिँदैन । जुन दृश्य आज मेरा सामुबाट गुज्रिए, तिनलाई अन्तर-हृदयदेखि नै महसुस गर्न सकिन्थ्यो । त्यस समयलाई मैले हिमालको विशाल थुप्रोको बीचमा अत्यन्त ऐकान्तिक क्षणजसरी बिताएँ । यस भेगको भ्रमण गर्दा अतुलनीय प्राकृतिक दृश्य देख्न पाएँ । त्यहाँ देखेका प्राकृतिक छवि मेरा मस्तिष्कबाट हराएर जान्छन् कि भनेर म भयभीत भइरहे ।”

बुकहिल प्रकाशन गृहले प्रकाशनमा ल्याएकाे यो पुस्तकको मूल्य ५ सय रूपियाँ रहेको छ ।

 

५. प्रशान्तदोन – मिखाइल शोलोखोव

मिखाइल शोलोखोवकृत सन् १९६५ को नोबेल पुरस्कार प्राप्त उपन्यास हो, प्रशान्तदोन । उपन्यासले सन् १९१७ को महान् अक्टुबर समाजवादी क्रान्तिको गाथाको कथालाई समेटेको छ । उपन्यासको सारसङ्क्षेप अनुवाद गोपीरमण उपाध्यायले गरेका हुन् ।

“अमर शिल्पी शोलोखोवको ‘प्रशान्तदोन’ विश्व साहित्य भण्डारकै अमूल्य निधि हो । यसको सारसंक्षेप अनुवाद प्रस्तुत गरेर गोपीरमण उपाध्यायले एउटा प्रशंसनीय शुभकार्य गर्नुभएको छ ।”, पुस्तकको भूमिकामा प्रदीप ज्ञवाली लेख्छन्, “संसारका प्रत्येक क्रान्तिले जस्तै सोभियत क्रान्तिले पनि सफलत, अन्तिम विजय र उपलब्धिहरुको रक्षाका खातिर ज्यादै महँगो मूल्य चुक्ता गर्नुपर्यो । आँसु, पसिना र रगतका कैयौं नदीहरु बगाएरमात्र विश्वका श्रमजीवी जनताको प्रेरणापुञ्ज तत्कालीन सोभियत श्रमजीवी जनताहरुको एउटा महत्त्वपूर्ण हिस्सा कज्जाक जनताको जीवनगाथा हो, उनीहरुको स्वतन्त्र प्रेम, उनीहरुको आफ्नो माटोको माया, उनीहरुको बहादुरी, अटल प्रेम, पीडा र विजयको महाकाव्य हो ।”

पहिलोपटक २०५६ सालमा पहिलोपटक नेपालीमा प्रकाशनमा आएको पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले पुन: प्रकाशनमा ल्याएको हो । २ सय ३६ पृष्ठमा फैलिएको कृतिको मूल्य ३ सय ९० रुपियाँ रहेको छ ।

 

६. काठमाडौं कांग्रेस र तीर्थराम

कांग्रेस नेता तथा गणतान्त्रिक योद्धा तीर्थराम डंगोलको आत्मकथा हो, काठमाडौं कांग्रेस र तीर्थराम । प्रजातन्त्र प्राप्तिको लागि उनी पटकपटक जेल परेका थिए । कांग्रेस तथा देशको राजनीतिको केन्द्रमा रहेर काम गरेका तीर्थराम गिरिजाप्रसाद कोइरालाका विश्वास पात्रका रुपमा चिनिन्छन् । लामो समय काठमाडौं कांग्रेसको सभापति रहेर काम गरे उनी गिरिजाप्रसाद कोइरालकै क्याविनेटमा स्वास्थ्य राज्यमन्त्री भए । त्यसअघि, ०४४ सालमै पञ्चायतअन्तर्गत काठमडौं नगरपञ्चायतको उप–प्रधानपञ्च बनेका उनी पञ्चायत बहिष्कार गरेसँगै देशव्यापीरुमा चर्चामा आएका थिए । साथै, पञ्चायत दिवस बहिष्कार गरेकै कारण उनी जेलसमेत परेका थिए ।

“कुनै पनि आत्मवृत्तान्तको महत्त्व त्यस पात्रको जीवनशैली र इमानदारीका आधारमा नै मापन गरिन्छ ।”, पुस्तकको भूमिकामा काङ्ग्रेस नेता नरहरि आचार्य लेख्छन्, “प्रस्तुत किताबमा पनि संवत् २०१७ सालपछिको काठमाडौं कांग्रेसको कथासँगसँगै तीर्थरामको आत्मकथा पनि मिसिएको रोचक दृश्य देखिन्छ । यो कृति केवल आत्मवृत्तान्त मात्र नभएर इमानदार राजनीतिककर्मीले देखेको मुलुक र जनताको समस्याबारे आत्मस्वीकृति पनि हो ।”

पुस्तकलाई तेज–तीर्थ ट्रष्टका लागि साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । ४ सय ४८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ६ सय ४९ रुपियाँ रहेको छ ।