‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ३ पुस्तक – गोविन्द गिरी प्रेरणाको ‘सुतेको समुद्र’, चन्द्रकान्त आचार्यको ‘सिर्जना’, ज्ञानगुनका कुरा ।

० ० ० ०

सुतेको समुद्र – गोविन्द गिरी प्रेरणा

नेपाली साहित्यमा विगत साढे चार दशकदेखि निरन्तर बहुविधामा लेख्ने साहित्यकार गोविन्द गिरी प्रेरणाको पहिलो कथासङ्ग्रह जुन चालिस वर्षपछि पुनः प्रकाशनमा आएको छ – ‘सुतेको समुद्र’ ।

६६ पृष्ठमा बुनिएको यस पुस्तकमा ‘आफ्नो–आफ्नो दुनो’, ‘बैँसका उन्मादहरू’, ‘नयाँ बाटो’, ‘बेग्लाबेग्लै संसार ः बेग्लाबेग्लै आकाश’, ‘सहरभित्रको जीवन’ लगायत २० थान कथा सङ्ग्रहित छन् । प्रायः यसभित्रका कथाहरू यथार्थवादी शैली र शिल्पमा रचिएका छन् भने कतिपय कथाहरू सहरी निम्नवर्गीय समाजको गरिबी, अभाव आदिलाई विषय बनाएर लेखिएको पाइन्छ । त्यस्तै प्रेम वा प्रणयपरक कथाहरू पनि समावेश छन् ।

“कथाका चरित्र यथार्थपरक, जीवनअनुरूप र विश्वसनीय छन् । कुण्ठा, मनोद्वन्द्व र पारस्परिक द्वन्द्वले गर्दा चरित्र सजीव भएका छन् ।” भूमिकामा प्रा. डा. कुमारप्रसाद कोइराला लेख्छन्, “कथाका शीर्षक फुटकर कविताका जस्ता लाग्दछन् । कतिपय शीर्षक लयात्मक पनि छन्, जस्तै – ‘बेग्लाबेग्लै संसार बेग्लाबेग्लै आकाश, ‘रात गहिरिँदै जान्छ’ । तिनले कथाको मूल कथ्यलाई लाक्षणिक, व्यङ्ग्यात्मक, बिम्बात्मक र आलङ्कारिक पारेर प्रस्तुत गरेका छन् । भाषाशैलीका दृष्टिले हेर्दा गिरीमा आख्यानात्मक शैली निर्माण गर्ने सहज प्रतिभा देखिन्छ, तर भावुकता भरिएको बीसबर्से कथाकारको गहिरो प्रभाव पनि त्यसमा मिसिएको छ । त्यसैले यथार्थवादी शैली पनि कतिपय ठाउँमा संवेगप्रधान, भावनात्मक, लयात्मक र कवितात्मक लाग्दछ । अन्यत्र शैली सामान्य बोलीचालीको, परिवेशसापेक्ष र चरित्रअनुरूप छ । छोटा वाक्य प्रयोग गरिएको, सूत्रात्मक, वर्णनात्मक, तार्किक शैलीले कथा पठनीय भएका छन् ।”

कथाकार गोविन्द गिरी प्रेरणा उल्लेख गर्छन्, “कथा लेख्नु जीवन लेख्नु हो भन्छु । चरित्र, स्थिति, परिवेश वा घटनाको माध्यमबाट लेख्ने त मान्छेकै कथा हो । जीवनकै कथाव्यथा हो । मैले यी सबै कथाहरू हालै फेरि पढिरहँदा भावुक हुन पुगेँ, तत्कालीन लेखनको परिवेश सम्झना गरेर अथवा यसका पात्रहरूको मनोदशा अनुभूत गरेर, तत्कालीन समयको सम्झना गरेर । लेखनमा, शैलीमा, प्रस्तुतिमा सिकारुपन भए पनि यिनमा जीवनको झल्को देखें । मानिसका सुखदुःख देखें र आफूले देखेको जीवन र पात्रहरूलाई त्यतिखेरको आफ्नो क्षमताअनुसार प्रस्तुत गरेछु । त्यसो त, आज पनि म मान्छेकै जीवन त लेखिरहेको छु नि । सुख दुःख त लेखिरहेको छु नि । शैली माझिँदै गयो होला । परिष्कृत हुँदै गयो होला । फरक ढङ्गले अभिव्यक्त गर्न सक्षम भएँ होला । तर लेख्न त मान्छेकै कथा लेख्ने हो । मान्छेको जीवन लेख्ने हो ।”

साझा प्रकाशनबाट बजारमा ल्याइएको यस पुस्तकको मूल्य १ सय ९० रुपियाँ रहेको छ ।

० ० ० ०

२. सिर्जना – चन्द्रकान्त आचार्य

उपन्यासकार चन्द्रकान्त आचार्यकृत नवीनतम कथासङ्ग्रह हो – ‘सिर्जना’ ।

यसमा ‘रित्तिएको सेनापति’, ‘तिर्खाइरहेका ओठहरू’, ‘स्वीकार’, ‘सिर्जना’, ‘प्रेमको परिभाषा’, ‘रसिलो जीवन’, ‘नयाँ नेपाल’, ‘दाइचे पास्पोर्ट’, ‘एड्सले हारयो, जीवनले जित्यो’, ‘शान्तिको कामना’, ‘मनको साइनो’, ‘दूरदृष्टि’ गरी १२ कथा समावेश छन् । प्रकृतिचित्रणको माधुर्यले कथालाई रोचक बनाएको छ भने कथाकारको फरक विषय छनोट र प्रस्तुतले पाठकलाई अलग्गै स्वाद र प्रेरणा दिएको पाइन्छ ।

भूमिकामा मोदनाथ प्रश्रित लेख्छन्, “चन्द्रकान्तका कथाहरूमा परिवर्तनशील गाउँठाउँका पुराना र नयाँ दृश्यहरू चित्रित छन् । तीस वर्ष पहिले गाउँको स्थिति कस्तो थियो र अहिले के कति परिवर्तन भयो भन्ने तुलनात्मक दृश्य त्यहाँ देखिन्छ । लेखक उच्च शिक्षाको लागि विदेश गएका र त्यहाँका धेरै अनुभव बटुलेकाले उनका पात्र पात्राहरूमा पनि त्यो प्रतिविम्ब छ । उनले आफैँ गाउँतिर पुस्तकालय, विद्यालय आदि खोल्न चलाउन सघाउने हुनाले उनका पात्र पात्रा पनि त्यस आदर्शबाट प्रेरित छन् । लेखकले विदेशी साथीहरूसित ज्यादै घनिष्ठ मित्रता गाँसेका थिए र दशकौँ पछि भेट हुँदा पनि त्यो निकै गाढा रूपमा प्रकट हुन्थ्यो । त्यसको आभास पनि कथाका पात्रहरूले दिन्छन् ।”

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “पहिलो पटक राजेशले सिर्जनाको बारेमा सोचे र सुधीरको कुरा उठ्ने बित्तिकै उनको अनुहारमा आएको परिवर्तन र उनी खुरुक्क हिँडेको कुराले बल्ल राजेशको मन छोयो । अब मात्र उनलाई त्यस्तो सेतो लुगामा आउन बाध्य भएकी सिर्जनाप्रति सहानुभूति जाग्यो । पतिको मृत्युपछि पहिलेका रङ्गीचङ्गी लुगा लगाउन नहुने र एक वर्षपछि सेतो लुगा लगाउन नपर्ने परिस्थितिमा विधवाले लगाउने अर्को लुगा किन्न नसक्ने विपन्न नेपाली नारीले आफ्नी छोरीलाई जसरी पनि पढाउँछु भनेर गरेको प्रतिज्ञा सम्झँदै राजेश ज्यादै भावुक भए ।”

पुस्तकलाई जनता सञ्चार प्रा. लि. ले प्रकाशन गरेको हो । १ सय २१ पृष्ठमा आबद्ध पुस्तकको मूल्य २ सय २५ रुपियाँ रहेको छ ।

० ० ० ०

३. ज्ञानगुनका कुरा

ज्ञानगुन प्रकाशनबाट बजारमा ल्याइएको पुस्तक हो – ज्ञानगुनका कुरा भाग – २१३, वसन्त श्रेष्ठ अङ्क – १ ।

यस वसन्त श्रेष्ठ विशेषाङ्कमा मञ्जुल, डा.तारानाथ शर्मा, माया ठकुरी, मोहन सिटौला, डा. देबीप्रसाद सुवेदी, सोमनाथ घिमिरे त्रिचालिस विभिन्न लेखक तथा साहित्यकारका लेखहरू समावेश छन् ।

मेरो साहित्यिक सक्रियतामा वसन्त श्रेष्ठ लेख्छन्, “मेरो जीवनमा साहित्यिक अनुराग कहिले र कहाँबाट पलायो एकिन मलाई नै थाहा छैन । तर मेरो घरको वातावरण र बुबाको साहित्य प्रतिको चाखले नै म प्रति पनि साहित्यिक अनुराग बढ्दै गएको मलाई लाग्दछ । किनकि मेरो बुबा स्कुलको मास्टर । स्कुलको सबै क्लासमा नेपाली, हिसाब र अङ्ग्रेजी कक्षामा पढाउन सक्ने एक मात्र सो स्कुलको मास्टर हुनुहुन्थ्यो । बुबाले घरमै महाकवि देवकोटाको सुलोचना महाकाव्य, कुन्जिनी खण्ड काव्य, अङ्ग्रेजीका लुसी ग्रे, सोलिटारी । ‘आदी साथै मोतीराम का विभिन्न साहित्यिक रचनाहरू पढेर सुनाउनु भानुभक्त, हुन्थ्यो । बुबा पनि साहित्यिक रचना गर्नु हुन्थ्यो । विसं २०१६ सालमा श्री सिंह बाहिनी हाई स्कुल, जुन स्कुल मा बुबा धेरै वर्षसम्म हेड मास्टर भएर काम गर्नु भयो । सो स्कुलबाट बुबा कै अगुवाइमा “मगज” हस्तलिखित पत्रिका निकाल्नु भयो । सो पत्रिकामा बुबाको कथा “म सौता भएर बस्न चाहन्छु” भन्ने कथा प्रकाशित गर्नुभयो । सो पत्रिकाको मुखपृष्ठको आवरण चित्रण बुबा ले नै कोर्नु भएको थियो । बुबाको चित्रकलामा पनि । धेरै रुचि थियो । “मगज” हस्तलिखित पत्रिकाको अधिकांश लेखन कार्य बुबाले नै गर्नु भएको थियो ।”

‘सरल हृदयको कवि वसन्त श्रेष्ठ’मा भागरथी श्रेष्ठ लेख्छिन्, “अमेरिकी धरतीमा आफू बसेको ठाउँमा विभिन्न साहित्यिक संघ संस्थालाई स्थापना गरेर साहित्यको उत्थानको लागि आफ्नो भाषालाई सधैँ अमर बनाउनको लागि अथक र सक्रिय भएर लाग्नु भयो । आफ्नो देशको साहित्यको संघसंस्थासँगको आफ्नो प्रण टुट्न दिनु भएन । सधैँ त्यो बलियो बनाउन प्रयासरत रहनु भएको कुरा उहाँको साहित्यिक क्रियाकलापबाट थाहा पाउँछौ ।”

‘साहित्यकार वसन्त श्रेष्ठलाई पढ्दा’मा मञ्जुल लेख्छन्, “वसन्त भाइ आफ्ना अनुभव र अनुभूतिलाई व्यक्त गर्न कविताहरू लेख्नुहुन्छ । केही कविता सङ्ग्रहहरू उहाँले नेपाली साहित्यलाई दिई पनि सक्नुभएको छ । उहाँका कविताहरू सरल हुन्छन् । बोलीचालीकै तर मिठो भाषामा ती व्यक्तिएका हुन्छन् । उहाँका कविताहरू जीवनका अनुभूतिप्रति इमानदार देखिन्छन् । आफ्ना रचनाहरूमा उहाँ मानव जीवनको अँध्यारो पक्षलाई हटाउन र जीवनको उज्यालो पक्षलाई बढाउन प्रयत्नशील देखिनुहुन्छ । उहाँ जीवनवादी हुनुहुन्छ । अरूले बुझेजस्तै जीवन सङ्घर्षशील छ भन्ने उहाँको पनि बुझाइ हो । आशा उहाँको ऊर्जा हो र उज्यालो भविष्य उहाँको सुन्दर सपना ।”

२ सय २४ पृष्ठमा बुनिएको पुस्तकको मूल्य ३ सय २५ रुपियाँ रहेको छ ।