पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।

यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न छ वटा पुस्तक प्राप्त भएका छन् ।

===

१. दुर्घटित जन्म – श्रीराम पाण्डे

कथाकार श्रीराम पाण्डेको कथा संग्रह हो ‘दुर्घटित जन्म’ । पाण्डेले कथामा सामाजिक परम्परागत ढाँचा, स्थापित मान्यता, कुचलन इत्यादिको आडमा मान्छेले गर्ने रजाइँ चित्रण गर्नुभएको छ ।

”दुर्घटित जन्म’मा सङ्‌गृहीत कथाहरू वि.सं.२०३२ देखि २०५९ सम्म लेखिएका हुन् ।”, कथाकार पाण्डे लेख्नुहुन्छ, ”यसका धेरैजसो कथा पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् भने केहीमात्र अप्रकाशित छन् । झन्डै तीन दशकको लामो अवधिमा आफूले भोगेका विभिन्न सामाजिक घटनाहरू नै कथाका रूपमा आएका हुन् । यसमा कतिपय यथार्थ घटनालाई सामान्य काल्पनिकताको जलप लगाइएको छ भने कतिपय काल्पनिक घटनालाई वास्तविक रूपमा ढाल्न खोजिएको छ । यसले पाठकीय दृष्टिलाई प्रभावित गर्ला भन्ने मलाई लाग्दैन । किनभने, यसको आधारभूमि समाज नै हो र यसमा मस्तिष्कको थोरै क्रियाशीलताको फरकमात्रै हो । लेखनको लामो समयपछि प्रकाशनको सङ्‌घारमा आइपुगेको यो सङ्ग्रहमा समयसापेक्ष संशोधनको यथेष्ट सम्भावना नरहेको भने होइन । तर, समयसँगै यसको बाहिरी आवरणको परिवर्तनले मात्र सारभूत कुरामा अन्तर पर्दैन, बरु तत्कालीन परिवेशको यथार्थ चित्रणलाई अयथार्थिक बनाउँछ भन्ने लागेर यिनलाई उत्पत्तिक रूपमा नै राखिएको छ । अर्थात्, यी कथा जुन समय र परिवेशमा जसरी जन्मे, त्यही रूपमा नै यसमा रहेका छन् । यो ठीक भयो कि भएन ? त्यता जानु उचित लागेन । यसले तत्कालीन परिवेशलाई थोरैमात्र पनि उजागर गर्न सक्यो भने त्यो नै लाख हुनेछ र यसलाई प्रकाशन गर्ने अठोट सही साबित हुनेछ ।”

साहित्यिक लेखनमा पाँच दशक बिताइसक्नुभएका सर्जक श्रीराम पाण्डेको यो समग्रमा चौथो र आख्यानको पहिलो पुस्तक हो । ‘दुर्घटित जन्म’ अघि उहाँका ‘मातृस्मरण’ (शोकस्मृतिकाव्य), ‘दोछायाँ’ (संस्मरणस‌ङ्ग्रह) र ‘बन्दीगृहमा समय’ (कवितासङ्ग्रह) प्रकाशित छन् ।

पुस्तकलाई महेश पाण्डेले बजारमा ल्याउनुभएको हो । ३७ ओटा कथा संग्रहित पुस्तकको मूल्य पाँच सय ५५ रुपियाँ रहेको छ ।

……………

२. मनका तरङ्ग – अलका मल्ल


कवि तथा गीतकार अलका मल्लको काव्यसंग्रह हो ‘मनका तरङ्ग’ । मल्लले आफ्नो काव्यमा मातृ स्नेह, प्रेम समर्पण, सामाजिक बेथिति, पितृसतात्मक समाजले महिला र पुरुषलाई गर्ने फरक व्यवहारको चित्रण गर्नुभएको छ ।

”प्रेमको परिभाषा गरेका धेरै व्यक्तिहरूले आआफ्‌ना धारणा, भोगाइ र अनुभूतिका आधारमा यसलाई प्रस्ट्याएका छन् ।”, पुस्तकमा डा. बिन्दु शर्मा लेख्नुहुन्छ, ”व्यक्तिको दृष्टिकोण उसको वैचारिक आयामबाट परिपोषित हुने भएकाले प्रेमसम्बन्धी अवधारणा पनि उसले लिएको दर्शनका आधारमा परिभाषित हुन्छ । यसर्थ प्रेमको अनुभूति न त सबै व्यक्तिमा उस्तै किसिमले हुन सक्छ न त यसको प्रतिक्रियामा नै समानता पाइन्छ । अनुभूति र प्रकटीकरणको स्वरुप नै भिन्न तरिकाले हुने भएकाले यसको परिणति पनि स्वतः फरक हुने नै भयो । प्रेमले लिएको यस्तै फरक स्वरूपको साक्षीका रूपमा कवितासङ्ग्रह देखा परेको छ । गीत, गजल र कविताको संयुक्त सङ्ग्रहका रूपमा आउन लागेको प्रस्तुत कृति मूलतः स्वच्छन्द अनुभवमा आधारित छ । नैसर्गिक मानवीय वृत्तिमा केन्द्रित रही व्यक्तिगत चाहनाहरूको अभिव्यक्ति दिने क्रममा यसमा प्रेम, आकर्षण, पीडा, धोका, बाध्यता जस्ता अनुभूतिहरूलाई आदर्श स्वरूपबाट प्रकट गरिएको छ । त्यसैले यसमा प्रेमीहरू छुट्टिनु जस्तो संवेदनशील विषयलाई पनि स्वाभाविक प्रक्रियाका रूपमा लिइएको छ ।”

त्यसैगरी, पुस्तकमा लेखक मल्ल लेख्नुहुन्छ, ”गीत भनेपछि सानै उमेरदेखि हुरुक्क हुने म रेडियो नेपालको बाल कार्यक्रमका गीतहरू नियमित रूपमा सुन्ने गर्थे । बाल गीत र कविताहरू पनि लेख्ने गर्थे तर प्रतिस्पर्धामा भाग लिन असहज महसुस हुन्थ्यो । एस.एल.सी.पछि लेबोरेटरी आवासीय माध्यमिक विद्यालयको स्मृति पत्रिकामा पहिलो पटक भू.पू. विद्यार्थीको तर्फबाट एउटा कविता सम्प्रेषण गर्ने मौका पाएकी थिए । गीत, कविता लेख्दालेख्दै आजभन्दा दुई दशक अघि मेरो रचनामा तिम्रो निम्ति गीती एल्बम निकाल्न सफल भएँ।”

पुस्तकलाई एडुकेशनल पब्लिशिंग हाउसले बजारमा ल्याएको हो । २९ ओटा गीत, पाँच ओटा गजल र ५३ ओटा कविता समेटिएको पुस्तकको मूल्य तीन सय ९५ रुपियाँ रहेको छ ।

……………..

३. नेपालमण्डल – भीष्म बाँस्कोटा


लेखक भीष्म बाँस्कोटाको पुस्तक हो ‘नेपालमण्डल’ । बाँस्कोटाले देशको प्राचीन अभिलेखहरुलाई संकलन गरी पुस्तकको आकार दिनुभएको छ ।

पुस्तकको शुभकामना मन्तव्यमा राष्ट्रपति रामचन्द्र पौडेल लेख्नुहुन्छ, ”यहाँका अनुपम र अद्वितीय विश्वव्यापी महत्त्वका सांस्कृतिक सम्पदाहरूको ऐतिहासिकता, मौलिकता, आधिकारिकता, अखण्डता र सौन्दर्य मूल्यलाई अक्षुण्ण राख्दै भावी पुस्तामा हस्तान्तरण गर्ने हेतुले एकीकृत र सर्वसाधारणले सजिलैसँग बुझ्ने गरी लोकलयमा नेपालमण्डल नामक खोजमूलक पुस्तक लेखी नेपाल र नेपालीलाई ठूलो गुन लगाउने लेखक श्री भीष्म बाँस्कोटा प्रशंसाका पात्र हुनुहुन्छ ।”

त्यसैगरी, इतिहासविद् प्रा. दिनेशराज पन्त लेख्नुहुन्छ, ”यसले नेपालको मौलिक पहिचानलाई जनजनमा पुऱ्याउने लक्ष्य लिएको देखिन्छ । सम्पदा विषयका आधिकारिक ज्ञाता श्री भीष्म बाँस्कोटाले गद्यमा टिप्पणी हालेर बढी बोधगम्य बनाउनु भएको छ । नीरक्षीरविवेकी पाठकहरूले यस ग्रन्थको यथोचित मूल्याङ्कन गर्नु हुनेछ ।”

त्यसैगरी, पुस्तकमा लेखक बाँस्कोटा लेख्नुहुन्छ, ”प्रस्तुत लोकमालामा नेपालमण्डलभित्र विकसित गौरवमय सभ्यता, संस्कृति एवम् विभिन्न कालखण्डका अनुपम विश्वव्यापी महत्त्व बोकेका सांस्कृतिक सम्पदास्थल (पशुपतिनाथ क्षेत्र, चाँगुनारायण क्षेत्र, स्वयम्भूनाथ क्षेत्र, बौद्धनाथ क्षेत्र तथा भक्तपुर राजदरबार, हनुमानढोका राजदरबार तथा पाटन राजदरबार क्षेत्र) लाई अध्ययनको मूल विषयवस्तु बनाइएको छ। साथै काठमाडौँ उपत्यकाभित्रका खोकना, साँखु, कीर्तिपुरलगायत मोफसलका गोरखा दरबार, नुवाकोट साततले दरबारजस्ता महत्त्वपूर्ण सांस्कृतिक सम्पदारस्थलहरूलाई समेत समेटिएको छ ।”

पुस्तकलाई टीकाप्रकाश बाँस्कोटाले प्रकाशन गर्नुभएको हो । दुई सय चौरासी पृष्ठमा फैलिएको पुस्तकको मूल्य नौ सय पचास रहेको छ ।

……………………

४. मन मदानी – त्रिविक्रम पाण्डे


कवि त्रिविक्रम पाण्डेको मुक्तकसङ्ग्रह हो ‘मन मदानी’ । पाण्डेले मुक्तकमा प्रेम, आशा, राष्ट्रियता, समाजको विकृति तथा विसंगतिको चित्रण गर्नुभएको छ ।

भूत भविष्यको के कुरा वर्तमानलाई पुज्नुपर्छ
समय छँदै अमूल्य समयको महत्त्व बुझ्नुपर्छ
परिश्रमको फल मिल्छ उचित समय आएपछि
सङ्घर्ष फल फलाउन पसिना झरीमा रुझ्नुपर्छ ।

“… भाव वा विषयको विविधताका कारण मैले यस सङ्ग्रहमा प्रकृतिका अतिरिक्त विक्त/विसङ्गतिलगायत समाजमा घटित सकारात्मक एवम् नकारात्मक घटना-परिवेशलाई आधार बनाएर स्वतन्त्र पाराले रचित सिर्जनाहरूलाई मुक्तकको संरचनामा ढाल्ने प्रयास गरेको छु ।”, लेखक त्रिविक्रम पाण्डे लेख्नुहुन्छ, “सङ्ग्रहका शृङ्गारिक तथा समसामयिक विषयक मुक्तकहरूको शीर्षक मन मदानी चयन गरेको छु, जुन एक मुक्तकबाट उद्धृत गरिएको शब्दांश हो । मुक्तकको सिद्धान्त, सूत्र अनि मापदण्डभित्र अक्षरशः मेरा सबै रचनाहरू परेका छन् भन्ने ढिपी कस्ने पक्षमा म छैन। शब्दको खेती गर्ने क्रममा उब्जन पुगेका यी भाव,विचारहरूलाई मुक्तकको रूपमा सार्वजनिक गरेर मानव समुदायसमक्ष प्रस्तुत गर्नु मैले एक स्रष्टाको गहन जिम्मेवारी र मूल कर्तव्य ठानें। जन्मिसकेका यी रचनाहरूलाई सार्वजनिक नगर्दा मेरा यी सृजनाहरूमाथि मद्वारा नै घोर अन्याय हुन जाने ठानेर धेरै पहिलेदेखि लेख्दै राख्दै गरेका यी मुक्तकहरूलाई सङ्ग्रहको रूप दिएको छु । यस परिप्रेक्ष्यमा मैले भन्नैपर्ने हुन्छ ‘खोला नदी र लेखनको मार्ग निश्चित होइन अनिश्चित अनि घुमाउरो अर्थात् बाङ्गोटि‌ङ्गो पनि हुन सक्छ ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । दुई सय पृष्ठमा फैलिएको पुस्तकको मूल्य पाँच सय रुपियाँ रहेको छ ।

…………………

५. चमेरो – श्याम रिमाल


कवि श्याम रिमालको कविता संग्रह हो ‘चमेरो’ (कोरोना कविता) । रिमालले संसारलाई आक्रान्त पारेको कोरोना भाइरसको समयको चित्रण कविता मार्फत गर्नुभएको छ ।

”मैले श्याम रिमालको ‘चमेरो कोरोना कविता’का सबैजसो कवितामा कोभिड १९ प्रभावित समाजका गहिरिँदा चिन्ताहरूको काव्यात्मक पुनर्सिर्जनको इमानदार प्रयास भेटेँ ।” श्यामल लेख्नुहुन्छ, “यथार्थमा यी कविता कोभिड- १९ का कारण जबर्जस्त लकडाउन र भयावह एकान्तबासका पृष्ठभूमिमा बुनिएका छन् । उपभोक्ता संस्कृतिका पैरवीकर्ताहरुबाट प्रकृतिमाथिको अनुचित दोहन गरेर पृथ्वीलाई नर्क बनाउने काम जारी नै छ । यसै विध्वंसको एक परिणामका रूपमा कोभिड महाव्याधि रहेको कविको अनुभव छ। कार्बन उत्सर्जन नियन्त्रण गर्न गरिएको पेरिस सम्झौताको दुर्भाग्य पनि यहीँनिर अनुभव गर्न पाइन्छ । घरमालिक र भाडावालबिचको द्वन्द्व यसैमा छ। कसरी एउटा भाइरसले हाम्रा गृहनीति, कूटनीति र छिमेक नीति समेतलाई प्रभावित गर्छ भन्ने कुरा पनि यहीं छ । अर्थात् कवि रिमालका कोभिडकालीन लकडाउन र आइसोलेसनका चिन्ता हाम्रो समयका आम तर विशिष्ट चिन्ता हुन् जसलाई कवि रिमालले कवितामार्फत सम्बोधन गरेका छन् । ”

त्यसैगरी पुस्तकमा युनान विश्वविद्यालयको प्रा.डा. वाङ चुङ लेख्नुहुन्छ, ”सन् २००४ मा नेपालमा एक वर्ष नेपाली भाषा, साहित्य अध्ययनका लागि गएका बेला चिनापर्ची भएका मित्र हुन् श्याम रिमाल । उनी त्यतिबेला नेपालको एक मात्र समाचार समिति राससका पत्रकार एवं कविता लेख्ने कविका रूपमा मेरो परिचय भएको थियो । नेपालमा अध्ययन गर्दा नेपाली विभागमा अध्यापनरत गुरुवर्गबाहेक धेरै नेपाली कवि, साहित्यकारहरूसँग मलाई मित्रता गर्ने अवसर प्राप्त भएको थियो । म विगत ३७ वर्षदेखि नेपाली भाषा, साहित्य र संस्कृतिका बारेमा अध्ययन गरिरहेको चिनियाँ अध्येता हूँ। मैले आफ्नो जीवनको करिब चार दशक नेपाली भाषाको सेवा गर्ने सौभाग्य प्राप्त गरेको छु । अहिले पनि युनान विश्वविद्यालयमा प्यारा चिनियाँ छात्रछात्रालाई नेपाली भाषासाहित्यका बारेमा मैले जीवनमा सिकेका कुरा सिकाउँदै छु अर्थात् म नेपाली भाषासाहित्यको सेवारत चिनियाँ हुँ ।”

पुस्तकलाई त्रिशुली प्रवाह साप्ताहिकले बजारमा ल्याएको हो । उनन्तीस ओटा कविता समेटिएको संग्रहको मूल्य दुई सय पच्चिस रुपियाँ रहेको छ ।

……………………………..

६. पर्याप्रेमको गुञ्जन – कृष्ण बाउसे


कवि कृष्ण बाउसेको पर्यावरणीय कविताहरूको सङग्रह हो ‘पर्याप्रेमको गुञ्जन’ । बाउसेले कवितामार्फत बिग्रदै गएको पर्यावरणीय असन्तुलनलाई सन्तुलनमा ल्याउनु पर्ने, पृथ्वीको सबै जीवजन्तु बनस्पतिलाई उतिकै स्थान दिनुपर्ने सन्देश प्रभाव छ ।

”कृष्ण बाउसे तीसको दशकदेखि चिनिएका नेपाली स्रष्टा हुन्, जसको कविताशिल्प सरलता र कोमलताले युक्त छ भनी चर्चा भैरहन्छ ।” प्रा.डा. गोविन्दराज भट्टराई लेख्नुहुन्छ, ”यतिखेर उनी अन्तर्राष्ट्रिय रङ्गमञ्चमा उठेको एउटा चेतनाको वैश्विक स्वर परिवृत्तीय साहित्यको धार पक्रेर कविता लेख्तै छन् । प्रस्तुत कृतिले यही चेतनाका बाउन्नवटा रचनाको सङ्ग्रह प्रकाशनमा ल्याएको छ । यस सङ्ग्रहको लक्ष्यार्थ स्वार्थ्यान्ध मानवलाई आग्रह, अनुरोध, चेतावनी, धम्की सबैथोक हो, हाम्रो साझा वासस्थलको रक्षा गरौं भन्ने एक निवेदन हो ।”

त्यसैगरी पुस्तकमा विजय हितान लेख्नुहुन्छ, ”पर्याप्रेमको गुञ्जनुमा कवि कृष्ण बाउसेद्वारा पर्यावरणप्रति सचेत र संवेदनशील भएर लेखिएका कविताहरू सङ्गृहीत छन् । प्रकृति र मानव सभ्यताबीचको सम्बन्ध र सन्तुलन कति महत्त्वपूर्ण छ भन्ने यथार्थलाई यस कृतिले उजागर गरेको छ । अबको दिनमा नेपाली साहित्यको केन्द्रमा पर्यासाहित्यले आफ्‌नो अस्तित्व निर्माण गरिसकेको यो एउटा ठोस प्रमाण हो ।”

त्यसैगरी, लेखक बाउसे आफ्नो कुरामा लेख्नुहुन्छ, ”औद्योगिक युगको सुरुवात हुनुअघि पृथ्वीको अवस्था अर्कै थियो । प्रकृति हराभरा थियोस मान्छेको संख्या कम थियो, तर मानवलाई धेरै सुख सुविधाहरू भने प्राप्त थिएनन् । नभएका कुराको प्राप्तिमा लालायित हुनु मानव जातिको स्वभावै हो । उसले अनकौँ वैज्ञानिक खोज र अनुसन्धान गर्यो र आजको विकसित अवस्थामा आइपुग्यो । तर यसरी विकासका पाइलाहरू चाल्दै गर्दा वा मानव जातिलाई बढीभन्दा बढी सुखी तुल्याउने ध्याउन्नमा लाग्दा यहाँ सृष्टि भएका सम्पूर्ण वनस्पति, जीव र निर्जीव वस्तुहरूको सन्तुलित सम्बन्धको परिणामस्वरूप नै संसार यस रूपमा विद्यमान रहेको हो भन्ने यथार्थलाई उसले भुसुक्कै बिस्र्यो । उसले प्रकृतिसँग तादात्म्य कायम गरेर विकाससम्बन्धी क्रियाकलापहरू गर्नुपर्थ्यो । तर उसले त्यस कुरामा होस पुऱ्याएन । आज देखा परेको वैश्विक तापक्रमको वृद्धिको त्रास त्यसैको परिणाम हो ।”

पुस्तकलाई स्वदेश प्रकाशन प्रा.लि. ले बजारमा ल्याएको हो । बाउन्न ओटा कविता संग्रहित पुस्तकको मूल्य तीन सय रुपियाँ रहेको छ ।