‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ५ पुस्तक – हेम अधिकारीको ‘जीवनका गौँडागल्छेँडाहरू’, अखण्ड भण्डारीको ‘बोरा’, विष्णु भण्डारीको ‘अरुन्धतीको मृत्यु’, उर्मिला कोइरालाको ‘घाममाथि घामकै किरण’, मानबहादुर भुजेलको ‘सङ्गीत–विसङ्गति’ ।
====
१. जीवनका गौँडागल्छेँडाहरू – हेम अधिकारी
समालोचना तथा भाषा–व्याकरणका फाँटका क्रियाशील, निबन्धकार तथा कवि हेम अधिकारीकृत पुस्तक हो – “जीवनका गौँडागल्छेँडाहरू” ।
गैरआख्यानात्मक यस संग्रहमा ‘तितेफापरको स्वाद’, ‘खालीगोजीको कमाल’, ‘विश्वविद्यालयको ढोका उघ्रेन’, ‘घ्वाइँको मज्जा र निगालाको स्वाद’, ‘श्रद्धा पिता दर्शन’, ‘बाख्राको ओलनको खिर’, ‘त्यो बेला फुङ्सिङ मेला’, ‘कुरीकुरी पनि लाग्छ’, ‘गंगा सरसँगको सल्लाह’ आदि २७ वटा शीर्षकबाट अधिकारीले आफ्नो जीवनयात्राका संस्मरणहरू प्रस्तुत गरेका छन् ।
भूमिकामा प्रा. डा. गंगाप्रसाद अधिकारी लेख्छन्, “उहाँले आजको आँखाबाट जीवनको त्यो सुदूर सुन्दर अतीतलाई मनमौजी ढङ्गले नियाल्नुभएको छ । ऊ बेलाको सामाजिक, आर्थिक, सांस्कृतिक परिवेशको भुमरीभित्र के कसरी भङ्ग्रालिँदै जीवन अघि बढ्यो त्यसका सुन्दर-असुन्दर झल्काहरू यहाँ छन् । लेखकले यी सम्झौटाहरू मार्फत आफ्नो बाल्यकालको आफू हुर्के बढेको सम्पूर्ण परिवेशलाई जस्ताको तस्तै देखाउनु भएको छ । कतै परिस्थितिवश, कतै अज्ञानतावश, कतै मुर्ख्याइँ र कतै फटाइँका कारण भोग्नुपरेका कठिनाइलाई धक नमानी नलुकाई सम्झौटाहरूमा समेट्नुभएको छ । यी सम्झौटाहरूले कतै हँसाउँछन्, कतै थक्कथक्क बनाउँछन्, कतै रोमाञ्चित पार्छन्, कतै ऊ वेलाको समाजबारे घोरिन लगाउँछन् अनि कतै धुरुधुरु रुवाउँछन् पनि । उहाँका यी बाल्यजीवनका अनुभूतिहरू त्यति खेरको अभाव, अशिक्षा, असुविधा अनि रूढिवादले ग्रस्त समाज भोग्नेहरूका साझा अनुभूति हुन् ।”
बिन्ती बिसाइमा हेम अधिकारी उल्लेख गर्छन्, “यो कुनै जीवनी वा पूरै आत्मवृत्तान्त होइन । सम्झौटो भन्ने शब्दबारेमा म क्यानडामा भएका बेला चूडामणि रेग्मी गुरु र गंगाप्रसाद अधिकारी सरसँग नेटमा केही कुरा भए। गंगा सरसँगको सल्लाह शीर्षकमा यसबारे सबै बताइएको छ । त्यसपछि क्यानडामै भएका बेला केही सम्झौटाहरू लेख्ने प्रयास गरें । केही भने पहिले नै डायारीमा लेखेर राखिएका थिए । यस्ता सम्झौटाहरूले धेरै वटा डायरीका पानाहरू भरिएका रहेछन् । मेरो दैनिकी लेख्ने बानीले पनि स्वाभाविक रूपमा जीवनका ऊहापोहहरू, ओराली उकालीहरू, अनेकन् भोगाइहरू सम्झनाका तरेली बनेर शब्दमा खेल्दै खेल्दै डायरीका पानाहरूमा कैद भएका छन् । तिनमध्ये केही पानाहरूलाई छानछुन गरेर यहाँ राख्ने प्रयत्न गरेको छु ।”
१ सय २० मा आबद्ध यस पुस्तकलाई विष्णुप्रसाद -विपिन_ अधिकारीले प्रकाशनमा ल्याएका हुन् । पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।
====
२. बोरा – अखण्ड भण्डारी
साहित्य, पत्रकारिता र भाषामा खारिएका उपन्यासकार, अन्नपूर्ण दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारीकृत दोस्रो उपन्यास हो – “बोरा” ।
‘त्यो बोरा…’शीर्षकबाट उपन्यास सुरु हुन्छ र ‘यो बोरा…’शीर्षकमा टुङ्गिन्छ । त्यसबाहेक ‘आमाको आश्रम’ शीर्षक झल्केको छ । उपन्यासलाई ५० वटा भागमा विभाजन गरिएको पाइन्छ ।
पुस्तकको पहिलो पृष्ठमा स्पष्ट गरी लेखिएको छ, ‘यो सत्य घटनामा आधारित उपन्यास हो । पात्रका समग्र हुलिया भने परिवर्तन गरिएको छ ।’
उपन्यासबारे भण्डारी उल्लेख गर्छन्, “आमालाई ज्यूँदै बोरामा फालेको घटना समाचार बनाउनु पर्थ्यो पत्रकारका नाताले तर मैले उपन्यास बनाउने विचार गरें । सरल भाषामा मिठो प्रस्तुति गरेर सबैमाझ पुग्ने विधा उपन्यास लाग्यो र लेखें । सञ्चारकर्मी भएकाले फरक सूत्र प्रयोग गरेर छोरासँग भेटें । नेपालका सबै वृद्धाश्रम पुगें। आमामात्र होइन, बुबाहरूलाई पनि भेटें, संवाद गरें । मूलपात्र आमा भए पनि बुबाहरूका विषय परोक्ष ढंगले समेटिएका छन् । आमालाई यस्तो घटना हुनुको सही कारण बकाउन हम्मे पर्यो तर त्यो वातावरण पनि बनाएँ र यो बोरा लेखें । पारिवारिक एवं सामाजिक यस्ता विकृति न्यूनीकरणमा यो उपन्यासले भूमिका निभाउने छ भन्ने अपेक्षा राखेको छु ।”
“मेरो कथा अन्यत्रै बरालियो । बोरा बोकेर आएको म छोराभित्र हराएँ । त्यो बोराभित्र बाँधेर कसले र किन फाल्यो यमुना आमालाई ? अरूले फालेको भए छोरालाई खबर किन गर्नुभएन ? साथमा मोबाइल छ । फोन किन गर्नुभएन ? छोरा स्वयम् किन लिन आएनन् ?” उपन्यासको ४४ भागमा लेखिएको छ, “मनमा अनेक खुलदुली भए । तर, मलाई ‘बोरा’ शब्द उच्चारण गर्ने आँटसम्म आएन । यसले आमाको प्रतिष्ठामा आघात पर्ने चिन्ता लाग्यो । भावनामा चोट लाग्ने त्रास भयो । हप्तौँ गफियौँ । उहाँले त्यसको सुइँकोसम्म चुहाउनुभएन । फरक-फरक ढङ्गले विश्लेषण गर्नुको विकल्प देखिनँ मैले । एक दिन, एकपटक, एक सुरमा उहाँले छुस्स चुहाउनुभएको थियो, सायद झुक्किएर- ‘अत्याचारी बाउसँग लडें । पापिष्ट पतिसँग लडें । दुष्ट समाजसँग लडें । असमान कानुनसँग लडें । तर, जति दुष्ट भए नि छोरासँग एउटी आमा लड्न सक्तिन रहिछ । सच्चिन्छ, सप्रिन्छ र लिन आउँछ भन्ने आसमा बरु सास जाने रैछ, बाटो हेर्न रोकिने रहेनछ । म त्यही पलमा छु ऐले ।’”
४ सय ७१ पृष्ठमा मौलाएको यस उपन्यासलाई पिसबुक प्रालिले बजारमा ल्याएको हो । यसको मूल्य ७ सय रुपियाँ रहेको छ ।
====
३. अरुन्धतीको मृत्यु – विष्णु भण्डारी
निबन्धकार तथा उपन्यासकार विष्णु भण्डारीको कथासंग्रह हो – “अरुन्धतीको मृत्यु” ।
१ सय ८३ पृष्ठमा आबद्ध ‘अरुन्धतीको मृत्यु’मा ‘युद्धकालीन समयका साक्ष्य हुन् यी कथाहरू’, ‘भूतघर’, ‘जलेको गितार’, ‘भृकुटीमा दाग’, ‘अध्ययनको बिदा’, ‘हुँडार’लगायत १६ थान कथा संग्रहित छन् ।
“अरुन्धतीको मृत्यु जनयुद्धकालीन यथार्थमाथि लेखिएका कथाको सङ्ग्रह हो । यस सङ्ग्रहमा युद्धकालका केही प्रतिनिधि घटना र प्रवृत्तिलाई आधार बनाएर लेखिएका कथा छन् । यी कथाले त्यो समयको यथार्थलाई खोतल्ने प्रयास त गर्छन् नै सँगसँगै देश र जनताका लागि आफ्नो अनमोल जीवन बलिदान गर्ने योद्धाहरूको शौर्य र साहसको गाथा पनि चित्रण गर्छन् ।” पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा लेखिएको छ, “जनयुद्धका बेला सत्ताको विरोध गरेकै कारण ठुलो संख्यामा मानिसहरू मारिन पुगे, कैयौं बेपत्ता भए । फरक मत राखेकै कारण कैयौँ विस्थापित भए । विद्रोहीलाई गाँसबास दिएकै कारण कैयौँले अमानुषिक यातना भोगे । र, निरङ्कुश सत्ताविरुद्ध लड्दालड्दै हजारौं युवाहरूले सहादत प्राप्त गरे । कथासङ्ग्रहमा युद्धकालीन समयका यिनै बर्बरता र प्रतिरोधी सङ्घर्षका कथाव्यथा चित्रण गर्ने प्रयत्न गरिएको छ ।”
पुस्तकबारे लेखक उल्लेख गर्छन्, “अरुन्धतीको मृत्यु सार्वजनिक गर्दै गर्दा मैले केही नामहरू सम्झिनै पर्ने हुन्छ, जसले यो कृतिलाई यो रूपमा ल्याइपुऱ्याउन ठुलो सहयोग गर्नुभएको छ । सबैभन्दा पहिले म अनेकोट हत्याकाण्डमा सहादत प्राप्त गर्ने च्याङ्गा लामासहित सात जना कलाकार, जनयुद्धका महान् सहिद र बेपत्ता योद्धाहरूप्रति शिर झुकाएर श्रद्धासुमन व्यक्त गर्दछु । म यिनै महान् सपूतहरूको बलिदानबाट उत्प्रेरित भएर युद्धका कथा लेख्न अग्रसर भएको हुँ। जनयुद्धका घाइते र सहिद परिवारजन मेरो कथा लेखनका ऊर्जास्रोत हुन् ।”
भुँडीपुराण प्रकाशनबाट बजारमा ल्याइएको यसको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
====
४. घाममाथि घामकै किरण
कवि तथा गीतकार उर्मिला कोइरालाकृत नवीनतम कवितासंग्रह हो – “घाममाथि घामकै किरण” ।
प्रस्तुत संग्रह ‘आँखाको लैङ्गिकतामा जिजीविषाको लस्कर’, ‘घाममाथि घामकै किरण’, ‘दिलको दराजमा संवेदनाको राखनधरन’ र ‘समयसँग समयको सङ्घर्ष’ गरी चार भागमा विभाजित छ । प्रत्येक परिच्छेदमा ११ थान कविता समावेश छन् । कवितामा प्रेम पाइन्छ, प्रकृति तथा समय पाइन्छ । विशेष गरी मानवता पाइन्छ ।
“२०७४ सालमा पुरस्कृत उज्यालोको आत्मकथा यस सङ्ग्रहको एउटा मोती हो, धेरै मोतीहरूमध्येको एक । समाज परिवर्तन, नारीवाद र समसामयिक विषयबाहेक उर्मिलाका हरेक रचना उनका निजी भोगाइका प्रतिबिम्ब हुन् । उनलाई एकदमै नजिकबाट चिन्ने र महसुस गर्न म उनका हरेक शब्दहरूमा उनकै निजी जीवन भिजेको र गहिरिएको पाउँछु । जस्तै एउटा कविता छ: मलाई मान्छे हुन देऊ ।
पाठशाला रहेछ जीवन अनुभवको
म आफैँ फुल्छु मलाई फुल्न देऊ ।
अनि मलाई बढी मन परेको अर्को रचना पति पनि यस्तो छ:
म पानी हुँ
जस्तो रङ मिसाउँछौ उस्तै बनिदिन्छु ।
समाजमा
सरल लाग्ने यी हरफ, जसले हाम्रो हाम्रो महिलाहरूले गरेको त्याग, तपस्या र बलिदान उजागर गर्छन् ।” भूमिकामा भरत शर्मा लेख्छन्, “यी सबै रचनाहरू उर्मिलाका आफ्नै अनुभव, भोगाइ, आवेग अनि आफैँमा चलिरहेको भावनात्मक अन्तर्द्वन्द्वका उपज हुन् । यी रचनाहरूले हाम्रा बहुसङ्ख्यक महिलाहरूको भावनाको र परिस्थितिको प्रतिनिधित्व गर्छन् । नारीको पवित्र हृदय, आवेग अनि बदलिँदो परिस्थितिसँग भिज्ने र आत्मसात् गर्ने सामर्थ्य जताततै पोखिएको पाएको छु । नारीको भिन्नभिन्न रूप, जिम्मेवारी अनि भोगाइलाई सबै पाठकले बुझ्ने भाषामा रचना गर्न सक्नु उर्मिलाको विशेषता र नवीनता हो । यस पुस्तकमा तीब्र विदेश पलायन, राजनीतिक कर्मीहरूको नालायकीपन अनि समाजको महिलालाई हेर्ने खराब दृष्टिकोणजस्ता समसामयिक विषयवस्तुलाई उजागर गर्दै परिवर्तनको वकालत गरिएको छ । यो कृति पठनयोग्य र व्यक्तिगत पुस्तकालयमा सङ्ग्रहयोग्य पनि छ ।”
पुस्तकलाई शब्दमिडिया प्रा.लि. (साहित्यपोस्ट) ले प्रकाशनमा ल्याएको हो । १ सय १० पृष्ठमा आधारित ‘घाममाथि घामकै किरण’को मूल्य ५ सय रुपियाँ रहेको छ ।
====
५. सङ्गति–विसङ्गति – मानबहादुर भुजेल
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, युएन प्रोजेक्ट म्यानेजमेन्ट संस्था, युएन शान्ति मिसनमा २८ वर्षभन्दा बढीको काममा आबद्ध भएका मानबहादुर भुजेलकृत मुक्तकसंग्रह हो – “सङ्गति–विसङ्गति” ।
१ सय १२ पृष्ठमा बुनिएको यस संग्रहमा ३ सय थान मुक्तक संग्रहित छन् । ‘सङ्गति–विसङ्गति’मा कविको निजी अनुभूति मात्र हैनन् । समाज र समयका छाया–छवि पनि पाइन्छ ।
भूमिकामा रामबाबु सुवेदी लेख्छन्, “मानका मुक्तकहरूमा समय बोल्छ । कतै भूकम्प बोल्छ, कतै कोरोना बोल्छ, कतै असफल राजनीति बोल्छ, समष्टिमा सम्पूर्ण देशको पीडा बोल्छ । बोलमा कतै ज्वार छन्, कतै भाटा छन्, कतै आगाका ज्वाला छन् । त्यहाँ
शिल्प छ, शैलीगत विशिष्टता छ, कलाकारिता छ । मानको भाषा माझिएको छ, परिष्कृत छ। कतिपय मुक्तले हाम्रो हियो हल्लाउँछन् । यो नै सफलताको कसी हो। नमुनाका रूपमा केही मुक्तक हेरौँ
हेर्दा हेर्दै एकान्तमा घेर्न सक्छन् मान्छेहरू
खास सम्बन्धलाई शङ्काले हेर्न सक्छन् मान्छेहरू
अब त जमाना फेरियो भाकल पूरा भएन भने
छिटो छिटो भगवान् पनि फेर्न सक्छन् मान्छेहरू ।
दुःखमा पनि म मेरो मातृभूमिको आँगनीमा रमाउन सक्छु
यशले भरिएको तपोभूमि पीपलको पातमा सजाउन सक्छु
बैरीहरूले आँखा लगाउन आँट नगरुन् कत्ति यो देव भूमिलाई
पुर्खाले आर्ज्याको ज्ञानभूमि आँखाको नानीमा अटाउन सक्छु ।”
‘शुभकामना’मा प्रकाश सायमी लेख्छन्, “कविता, मुक्तक वा गीत कुनै पनि विधामा आफ्नो पारंगत पक्ष देखाउन अनुभव र अनुभूति दुवैको जरुरी छ । मान भूजेलजी आफ्ना ती सबै सबलता लिएर आउनु भएको छ, आफ्नो नयाँ मुक्तकसंग्रह सङ्गति / विसङ्गतिमा । मलाई उहाँसित केही भन्नु छैन, मात्र एउटै कामना छ, लेख्नु एक धर्म हो । आफ्नो धर्म निभाउनु होला । आफ्नो धर्म र कर्म निष्ठाबद्ध भएर अघि बढ्नु भएका स्रष्टा मनजीलाई मैले एकपटक मुक्तक मानुष नाम दिएको थिएँ, त्यो नाम उहाँले प्रमाणित गरेर देखाउनु हुनेछ, त्यो कुरामा म अझै अडिग छु ।”
आवरण प्रकाशनबाट प्रकाशित पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।