
‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ३ पुस्तक । राजेन्द्र कार्कीकाे ‘खाइराइड’, शंकर भारतीकाे ‘अनुपम-देवता’ र डा. बालकृष्ण साहकाे ‘गर्भका गर्व’ हुन् ।
०००
१. खाइराइड — राजेन्द्र कार्की
हाल क्यानडाको भ्याङ्कुभरमा रहनुभएका कवि तथा लेखक राजेन्द्र कार्कीकृत निबन्धसङ्ग्रह हो – “खाइराइड” ।
१ सय ६१ पृष्ठमा आबद्ध यस पुस्तकमा ‘कुकुरको भाग्य’, ‘सोल्टिनी’, ‘लेखकको कन्दनी’, ‘सरको डर’, ‘कुरा गरेर खानु’ जस्ता हास्य र व्यङ्ग्यपूर्ण ३१ थान निबन्ध सङ्ग्रहित छन् ।
“कार्कीजी बढो स्पष्ट र ठेट पूर्वेली भाखामा बोल्दा रहेछन् । लेखनमा पनि त्यस्तै सरल, ठेट र ठट्टालु भाषाको प्रयोग गरिएको छ । ठेट भाषा शब्दहरूको प्रयोग गर्दा पुरानो पुस्तालाई पचाउन अलि समय लाग्ने शब्दहरूको पनि प्रयोग भएको छ कतैकतै । निबन्धहरूमा उखान र उपकथाहरूको पर्याप्त प्रयोग गरिएको छ । हास्यव्यङ्ग्य लेखनमा सर्वाधिक प्रयोग हुने शब्दहरूमा अनुप्रास मिलाउने विशेष रहेको पाइन्छ । यस मामिलामा राजेन्द्रजी एकदमै सिपालु देखिन्छन् । यहाँ अनुप्रासिक शब्दहरू कुनै बल नगरी, नकनी, जबरजस्ती नगरी स्वतः आएर वाक्यहरूमा पसेर थपक्क बसेर निबन्धहरूलाई सरस र रोचक बनाउन भूमिका खेलेका छन् ।” भूमिकामा लक्ष्मण गाम्नागे लेख्छन्, “वर्तमान नेपाली हास्यव्यङ्ग्य रचनाहरूबाट हास्य गायब भएर व्यङ्ग्य त्यो पनि कतिपय त गालीको तहसम्म झरिरहेका बेला खाइराइडमा ठाउँठाउँमा हाँसोका खित्का छुटाउने प्रसङ्गहरू पनि आउँछन् । व्यङ्ग्य साहित्यमा प्रचलित एउटा विशिष्ट कला प्रयोग गरिन्छ, आफैँलाई पात्र बनाएर तीर हान्ने तर चोट अन्तै पुर्याउने । त्यो शैली पनि कतिपय निबन्धमा प्रयोग भएको छ ।”
पाठक दृष्टिमा रेहित सैजु लेख्छन्, “खाइराइड निबन्धसङ्ग्रहमा विगत, वर्तमान र भविष्यमा हुन सक्ने मान्छेका प्रवृत्तिका आवृत्ति देखिन्छन् । खाइराइड रोगले ग्रसित मगजलाई ठन्डा बनाएर सजग गराउन निबन्धका हरफहरू वरफ बनेका छन् । शीर्षक चयन, विषयवस्तु छनोट, शब्दको संयोजन शैली, तादम्यता मिलेकोले यो सङ्ग्रह पठनीय र अत्यन्त रुचिपूर्ण छ । सर्जकलाई हार्दिक शुभकामना ।”
फित्कौला अनलाइन मिडियाबाट प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।
०००
२. अनुपम-देवता — शंकर भारती
उपन्यासकार शंकर भारतीको सामाजिक उपन्यास हो ¬- “अनुपम-देवता” । तेस्रो संस्करण बजारमा आउन सफल यस उपन्यासमा मानवका सबल र दुर्बल पक्षहरू केलाउँदै मानिसले भोग्नै पर्ने आशा-निराशा, लाभ-हानी, सुख-दुःख, जीवनका उकाली-ओराली, प्राप्यता-अप्राप्यता, जीवन-मरण, हाँसो-आँसु आदिलाई सन्तुलित रूपमा उतारेका छन् ।
भूमिकामा डा. मधुसूदन लामिछाने लेख्छन्, “श्रीमद्भगवत् गीतामा श्रीकृष्णले अर्जुनलाई कर्मयोगको अतुलनीय ज्ञान दिएका छन् । जहाँ सत्कर्ममा समर्पित हुनुपर्दछ । सत्कर्म गर्नाले अवश्य पनि सो कर्मअनुसारको फल अवश्य प्राप्त हुन्छ । प्रस्तुत ‘अनुपम देवता’ उपन्यासमा पनि भावना र भाष्करले पढाइको परिणामलाई ध्यान नदिई पढाइतर्फ मात्र केन्द्रित भएका छन् । विद्यार्थीहरूको कर्मयोग समयको सदुपयोग गरी शिक्षा आर्जन गर्नु हो । भावना तथा भाष्करले सही समयमा सही शिक्षा आर्जन गरी बेलायत जस्तो विकसित मुलुकमा छात्रवृत्ति पाई पढ्ने अवसर प्राप्त गरेका छन् ।”
भूमिकामा डा. रामदयाल राकेश लेख्छन्, “समीक्ष्य उपन्यासमा वर्तमान नेपाली समाजको एउटा जल्दोबल्दो समस्यालाई उठाइएको छ । त्यो हो चेलीबेटीको क्रय विक्रयको सुभद्रा पनि उसै समस्याको शिकार भएर अभिशप्त जीवन बिताउनका लागि बाध्य भएकी छ । उसको रामकहानी धेरै दर्दनाक छ जसबाट ऊ आज यस्तो दयनीय अवस्थामा पुगेकी छे ।”
ग्लोबल बुक्स डिस्ट्रिब्युटर्सले प्रकाशन गरेको २ सय पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय रुपियाँ रहेको छ ।
०००
३. गर्भका गर्व — डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, एक दशक भन्दा बढी समयदेखि नियमित रूपमा स्वास्थ्यसम्बन्धी लेखहरूका लेखक डा. बालकृष्ण साहकृत गैरआख्यान विधाको कृति हो – “गर्भका गर्व” । १ सय १९ पृष्ठमा बुनिएको यस पुस्तकमा ‘छोरी किन भएछु’, ‘चेलीको पीडा’, ‘प्रीतिको जित’, ‘रगतको जात’, ‘छोरीको माइती’, ‘त्यो लडाइँ’, ‘बाध्यता’, ‘कोरोनाको फरक कथा’ र ‘युद्ध जितेको रात’ जस्ता जीवन्त शीर्षकहरूमा स्त्रीरोग, मातृशिशुको स्वास्थसँग सम्बन्धित ९ वटा लेख सङ्ग्रहित छन् ।
“यो सिर्जनात्मक गैरआख्यानको आवश्यकता किन पर्यो, यसको छोटो मीठो उत्तर छ- साहित्य र स्वास्थ्यको संगम गराउन । साहित्य समाजको ऐना हो भने स्वास्थ्य जीवनको आवश्यकता । यस पुस्तकमा ४० वर्ष उमेर नपुगेका ती महिलाहरूको कथा भन्छ, जसले वैवाहिक जीवनमा सन्तान जन्माउन खोज्दा कस्ता समस्या आइपरे र कसरी जीवन मोडियो ।” लेखकीयमा डा. बालकृष्ण साह लेख्छन्, “नेपालमा १ लाख सन्तान यो धर्तीमा आउँदा १ सय ५१ जना गर्भवतीको मृत्यु हुन्छ । कुनै रोग नलागी, केवल सन्तान जन्माउँदा यति धेरै महिलाहरूको मृत्यु हुनु दुखद् हो । हुन त, पहिलेको तुलनामा मातृ मृत्युदर निकै कम छ, तापनि मृत्यु हुने महिलाको यो सङ्ख्या स्पेन र स्विडेनजस्ता मुलुकका तुलनामा बढी हो । त्यहाँ एक लाख बच्चा जन्मँदा केवल चार गर्भवतीको मृत्यु हुन्छ । अझ इटाली, नर्वे, पोल्याण्डमा त दुई मात्र छ ।”
‘छाेरीकाे माइती’ शीर्षकमा उल्लेख छ, “विगत केही दिनदेखि गर्भकै विषयमा जाेई-पाेई बीचमा द्वन्द्व चलिरहेकाे थियाे । एकातिर सन्तान प्राप्तिकाे असीम चाहना अनि अर्काेतिर स्वास्थ्यकाे जटिलता । दुई वर्षअघि अस्पतालबाट घर आउँदा सङ्गीताले पनि अब सन्तान नपाउने साेच बनाएकी थिइन् । तर अरूका दुई-दुई सन्तान देखेर उनलाई छट्पटी हुने गर्थ्याे । त्यस्ताेमा उनी आफूले आफैँलाई सम्झाउँथिन् । तर अहिले आएर एक्कासि महिनावारी राेकियाे । श्रीमान्-श्रीमतीकाे कुनै याेजना थिएन तर गर्भ रह्याे । गर्भलाई निरन्तरता दिने सङ्गीताकाे चाहना पलायाे, जुन स्वाभाविक थियाे तर त्यस गर्भले उनकाे ज्यानै लिनसम्म सक्थ्याे ।”
शब्दमिडिया प्रा. लिबाट प्रकाशित यस पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
