पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न  ५ वटा पुस्तक प्राप्त भएका छन् ।

===

१ . निर्मुक्त – डा. नवराज न्यौपाने


डा.नवराज न्यौपानेको कवितासंग्रह हो ‘निर्मुक्त’ । न्यौपानेको जन्म वि. सं. २०३१ मा माता टीकामाया न्यौपाने र पिता श्रीधर न्यौपानेका पाँचौं सन्तानका रुपमा भएको थियो । त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, पोखरामा अङ्ग्रेजी शिक्षा विषयका सहप्राध्यापकका रूपमा कार्यरत न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०७२ मा अनुवाद अध्ययन विषयमा विद्यावारिधि सम्पन्न गरी नेपाल विद्याभूषण ‘क’ समेत प्राप्त गरिसक्नुभएको छ। नेपाली र अङ्ग्रेजी भाषामा समालोचना र सृजनामा कलम चलाउने न्यौपानेका दुबै भाषामा फुटकर तथा पुस्तकाकार कृति प्रकाशित भैसकेका छन् ।

”कोही कविता किन लेख्छन् ? उत्तर वादअनुसारका आउँछन्, आएका छन् ।” पुस्तमा डा. भुमिराज बस्ताकोटी लेख्नुहुन्छ, ”यथार्थवादी, अस्तित्ववादी, प्रगतिवादी, मनोवैज्ञानिक आदि भौतिकवादी उत्तर दिन्छन् तर मलाई कवि र कविता बढी अध्यात्मका निकट लाग्छन् । सायद त्यसैले यो रहस्यमयी जगत्‌मा उसले अनुभूत गरेका र अझ त्यसभन्दा परका अनुभवातीत रहस्यका झिल्काहरूले उसलाई स्पर्श गरेपछि संवेदित वासनाको वशीभूत अवस्थामा कविले कविता लेख्छ । कवि नवराज न्यौपानेका कतिपय कविता पढेपछि तपाईंलाई पनि यस्तै लाग्न सक्छ । ‘निर्मुक्त’ स‌ङ्ग्रहका अधिकांश कविताहरू शीर्षकीय औचित्यलाई पुष्टि गर्ने यायावरीय स्वभावका छन् । उद्वेलित भावनाको प्रस्तुतिमा व्यवधानरहित भएर ती दगुरेका छन् । कविलाई उद्वेलित पार्ने बीजक भने मूलभूत रूपमा प्रकृति देखिन्छ अनि वर्तमान समयका यावत् विकृति विसङ्गतिले जन्माएका आकोश पनि । तीसँगै केही आशा, केही निराशा, केही चिन्तन, केही चिन्ता, केही दर्शन, केही दृश्य, केही अनुभूति, केही अनुमान । यस्तै यस्तै विषयसन्दर्भहरू कतै मानवीकृत भएर त कतै विम्ब, प्रतीकमार्फत र धेरै सहज वर्णनका रूपमा अभिव्यक्त भएका छन् । प्राज्ञिक क्षेत्रमा आफ्‌नो सशक्त उपस्थिति जनाइसक्नुभएका डा. नवराज न्यौपाने फुटकर रूपमा पचासको दशकदेखि नै सिर्जनामा देखिए पनि पुस्तकाकारमा भने पहिलोपटक प्रस्तुत हुनुभएको छ ।”

पुस्तकलाई स्वदेश पब्लिकेशनले बजारमा ल्याएको छ । ५५ ओटा कविता संग्रहित पुस्तकको मूल्य तीन सय रुपियाँ रहेको छ ।

=========

२. उसैले जन्माएको छोरो – सरला शर्मा


सरला शर्माको लघुकथा संग्रह हो ‘उसैले जन्माएको छोरो’ । शर्मा वि.स. २०२४ असार ६ गते कट्टेलडाँडा, गोरखामा जन्मिनुभएको थियो । उहाँ चितवनमा घरगृहस्थी सम्हालिरहनुभएको छ । साहित्यिक पुस्तक अध्ययनमा विशेष रुचि राख्ने सरलाको औपचारिक अध्ययन भने एस.एल सी.सम्म सीमित हुन पुग्यो ।

”जुन होलाजस्तो लागेकै थिएन, अन्ततः त्यही भयो ।देश(विदेशमा दिग्गज(दिग्गज साहित्यकार, कथाकार हुनुहुन्छ ।” सरला शर्मा पुस्तकमा लेख्नुहुन्छ, म सानु शैक्षिक योग्यता भएकी एक गृहिणी आज कथाकार भएकी छु। यसमा मलाई जति खुशी लागेको छ, त्यसभन्दा धेरै सङ्‌कोच लागिरहेको छ । पहिला पहिला पनि म केही न केही लेखिरहन्थें। एक(दुई दिनपछि च्यातेर फाल्थें। पढ्दै गर्दा लेख्ने रहर लाग्थ्यो। घरमा साहित्यिक पत्रिका ‘गरिमा’, ‘मधुपर्क’ आदि नियमितजसो आउँथ्यो । मधुवन पौडेल, भागीरथी श्रेष्ठ, माया ठकुरी, राशी पाण्डे, राजेन्द्र चोथाले आदिका कथा पढ्दै गर्दा आफू पनि केही लेखूँजस्तो हुन्थ्यो । पछिल्लो समयमा जगदीश घिमिरे, कृष्ण धरावासी, राजु क्षेत्री, प्रोल्लास सिन्धुलीय आदिका कथा एवम् सिर्जनाले मलाई ताने र केही लेख्न प्रेरित गरे । जे जानें, त्यसलाई फेसबुकमा लेख्दै जान थालें। एक ठाउँमा बसेर ‘अब केही लेख्छु’ भनेर म लेख्नै सक्दिनँ । कुनै घटना वा कुराले छोयो भने लेखिहाल्छु । त्यसैले होला, मलाई हरबखत लागिरहन्छ( म कुनै साहित्यकार वा कथाकार होइन, सिर्फ घटनाप्रेरित टिपोटकर्ता हुँ। लघुकथाको उठान, पेटका कुरा र कथाको बैठान कसरी गर्ने भनेर सोच्न थाल्यो भने त झन् लेख्नै जान्दिनँ । जेजस्तो लेखें, लहडमा लेखें, कथाकार हुँला भनेर लेखिनँ। मैले फेसबुकमा लेखेका कुरा पाठकलाई कथाजस्ता लागे क्यार, प्रशंसा गरिदिनुभयो, मेरो उत्साह बढ्दै गयो । लेखेका कुरा फेसबुकमै पोस्ट गर्थे । साथीहरूले लाइक, कमेन्ट गर्नुहुन्थ्यो । सबै जम्मा गरेर एक दिन छपाउँछु भन्ने भित्री रहर त मनमा कतै थियो नै ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । ४९ ओटा लघुकथा संग्रहित पुस्तकको मूल्य दुई सय ७५ रुपियाँ रहेको छ ।

=========

३. अन्त्य – लक्ष्मी रेग्मी खनाल


लक्ष्मी रेग्मी खनालको लघुकथा संग्रह हो ‘अन्त्य’ । पुस्तकमा लक्ष्मीले जीवन भोगाइ, विसङगती, विकृति सामाजिक परिवेश माथि चोटिलो प्रहार गर्नुभएको छ ।

”प्रस्तुत लघुकथा सङ्ग्रहमा देश, काल र परिस्थितिहरू समसामयिक समाज मैत्री परिवेश रहेका छन् ।” पुस्तकमा डा. विदुर चालिसे लेख्नुहुन्छ, ”आदर्श चेतको स्थापनाका लागि सामाजिक जीवनको घटना र पात्रीय सन्दर्भको आदर्श कथनलाई लघुकथाहरूले यथार्थको झल्को दिन र आदर्शको केन्द्र स्थापना गर्न खोजेका छन् । मानवीय जीवन, व्यवहारिक आदर्श, मनोदशा, विकृति र विसङ्गतिका अनुभूतिका उत्पन्न शेषहरूलाई लक्षित गरेर लघुकथाहरू प्रकट भएका छन् । पात्रको संवादलाई कथन प्रभावको आवरणमा निर्देशनात्मक एवं संवाद उत्पत्तिका रूपमा प्रस्तुत गरिएको छ । सीमित पात्रका रूपमा नामिक वा सार्वनामिक पदहरूलाई प्रयोग गरिएको छ । बीज विचारको प्रयोग, विकृति र विसङ्गतिको उभार, सुन्दर अर्थध्वनिको आभाको प्रशारण, आरम्भ, उत्कर्ष र निष्कर्षको प्रयोगका साथै चोटिलोपनको प्रवेशको उपयोगमा ध्यान दिइएको पाइन्छ । ब्राह्मणको ‘झिल्का’ लघुकथासङ्ग्रहको सम्मान र आदर भाव प्रकट गर्न यस प्रकारको लघुकथाको अर्पणको रूपमा यो लघुकथासङ्ग्रह आएको छ।”

त्यसैगरी आफ्नो कुरामा लेखिका लक्ष्मी रेग्मी लेख्नुहुन्छ, ”प्रकृति र समाज साहित्य हुन् । कोपिला फक्रनु सिर्जना हो । बिहे अनि लगत्तैको कोरोना कहरले बच्चैदेखिको भावनालाई आकार दिने सौभाग्य मिल्यो । यसैलाई बीज अ‌ङ्कुरणका निम्ति उपयुक्त वातावरण भनिन्छ । त्यो वातावरण मेरो घर बन्न पुगेको छ । घरको शैक्षिक, सामाजिक, साहित्यिक, राजनीतिक विषयवस्तुप्रतिको चासो, गहन चिन्तन र आलोचनात्मक चेतले नै अगाडि बढ्ने हौसला मिलेको छ । सासूआमा र अझै भन्नुपर्दा ससुराबाको विषयवस्तु, प्रसङ्ग र सन्दर्भ जोड्ने शैली कथाजस्तो हुन्छ। बाको शैली नै कथा लेखनको ऊर्जा हो ।”

पुस्तकलाई नमस्ते आधुनिक लघुकथा मञ्च चितवनले बजारमा ल्याएको हो । २९ ओटा लघुकथा समेटिएको पुस्तकको मूल्य दुई सय ४० रुपियाँ रहेको छ ।

===========

४. मनोभिराम – प्रमोद भट्टराई प्रतीक


प्रमोद भट्टराई प्रतिकको लघुकथा संग्रह हो ‘मनोभिराम’ । पुस्तकमा प्रमोदले वर्तमान नेपाली समाज आदिमतापरक शुद्धता, मावविय मनोद्वेग, प्रेमिल सत्यता र धुमिल प्रेमको मिश्रण लेख्नुभएको छ।

”प्रमोद भट्टराई ‘प्रतीक’ सँग मेरो साहित्य लेखनकै क्रममा फेसबुकबाट चिनापर्ची भएको हो ।” रेहित सैजु लेख्नुहुन्छ, ”साहित्य लेखनमा म उहाँलाई अत्यन्त नजिकबाट चिन्दछु । उहाँ विशेषगरी मुक्तक लेखनमा बढी रुचि राख्नुहुन्छ भनेर बुझेको छु । कहिलेकसो कविता, गजल, गीतमा समेत कलम चलाउनु हुन्छ । साहित्य क्षेत्रमा ‘मनोभिराम’ उहाँको पहिलो कृति हो। यस भित्र ३०५ वटा मुक्तकहरू समाविष्ट छन् । यी मुक्तकहरूलाई विषयवस्तुको आधारमा तेह खण्डमा बाँडिएको छ । मुक्तकको सैद्धान्तिक पक्षलाई अक्ष बनाएर सिर्जित गरिएका यी मुक्तकहरू नियमसङ्गत छन् । विषयवस्तु छनोट, शब्द चयन तथा संयोजनमा भट्टराई निकै निपुण देखिनु भएको छ । हाम्रै समाजका वास्तविक घटना, परिघटनाभित्र रहेर आफ्नो कलमलाई उजागर गर्नु भएको छ । देशप्रेम, मातापिताप्रति सद्भाव, विसङ्गत वर्तमान, नेताहरूको बिग्रँदो तालमेल तथा अनावश्यक होडबाजी, मान्छेहरूको कुटिल चाल, साथीभाइबीचको यावत् सम्बन्ध, समयसँगै सिर्जित भएका विविध प्रविधि र तिनले निम्त्याएका चरम विरक्तिहरू, रोग, भोक अनि युद्धका मार साथै ब्वाँसा प्रवृत्ति चालबाट हैरानी खेपेका, कतै आस्था, कतै बेवास्ता, कतै मिलनका सुमधुर लालित्य, कतै विछोडका भाव विलौना, कतै आशा कतै निराशा, कुण्ठा, रिसराग लगायत यस्तै यस्तै विविध विषयमा रचित छन् यसभित्रका मुक्तकहरू ।”

त्यसैगरी लेखक प्रमोद भट्टराई आफ्नो कुरामा लेख्नुहुन्छ, ”साहित्यका धेरै विधाहरू भएर पनि मैले मुक्तकलाई पहिलो प्राथमिकतामा यसकारण पनि राखें कि यसको संरचना र लेखन शैलीप्रति अति नै प्रभावित भएँ। लामो व्याख्यात्मक रचना सिर्जना गरेर पाठकको धेरै समय खोसिदिनु नपर्ने, साहै छोटो रचना जसको आशय बुझेर पाठक स्वयम्‌ले निष्कर्ष पहिल्याउनु नपर्ने, अक्षरको सीमाभित्र रहेर मनमा उब्जिएको भावलाई नखुम्च्याईकन पूर्ण भावमा लेख्न सकिने विशेषता मुक्तकमा पाएँ । एउटा सर्जकको मनमा उब्जिएको भावलाई शिर्फ चारवटा हरफमा अटाउने गरी, विषयवस्तुको उठान गरेर त्यसैसँग मिल्दोजुल्दो प्रसङ्गले अझै स्पष्ट पार्दै, साङ्केतिक रूपमा सम्भावित परिणामलाई सुन्दर तरिकाले लयवद्ध रूपमा अभिव्यक्त गर्न सकिने भएर होला मुक्तक विधाप्रति आकर्षण बढ्न थाल्यो। मलाई मात्रै होइन अन्य सर्जकहरूमासमेत यसको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको देखिन्छ र नयाँ उत्साहित सर्जकहरूको संख्या पनि दिनानुदिन बढ्दो क्रममा छ ।”

पुस्तकलाई नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले बजारमा ल्याएको हो । तीन सय पाँच ओटा मुक्तक समेटिएको पुस्तकको मुल्य दुई सय रुपियाँ रहेको छ ।

==========

५. उकाली र ओराली – शान्ति कंडेल न्यौपाने


शान्ति कंडेल न्यौपानेको तिजे गीत संग्रह हो ‘उकाली ओराली’ । पुस्तकमा शान्तिले देशको, हिंसा व्युभिचार, भ्रष्टचार,नारीहरुको अदम्य शाहसको चित्रण गर्नुभएको छ ।

”उकाली र ओराली तिजेगीत सङ्ग्रहमा स्थान र समयको जीवन्त ढुकढुकी छ।” पुस्तकमा प्रा. डा. गोविन्दराज भट्टराई लेख्नुहुन्छ, ”म आफ्ना विद्वान शिष्य डा. नवराज न्यौपानेले घरै उज्यालो हुने गरी यस्तो सिर्जनात्मक कर्ममा शान्तिलाई प्रोत्साहित् गराएकोमा दुवैलाई हार्दिक शुभकामना प्रकट गर्दै यही रोकिन्छु। एक बत्तीले हजार बत्ती सल्काउँछ ।”

त्यसैगरी पुस्तकमा प्रा.डा. कुसुमाकर न्यौपाने लेख्नुहुन्छ, ”उकाली र ओराली मा कर्मशील सर्जक शान्तिले वर्तमान नेपालको अवस्था जर्जर भएको र नेपाली नारीको अवस्था पनि टिठ लाग्दो रहेको कुरा व्यक्त गरेकी छन्। यी अवस्थाबाट देश र नारीलाई मुक्त गराउनका निम्ति देशको भाग्यरेखा कोर्न जाने नेताहरूले परिपक्व नीति बनाई त्यसको पूर्ण पालना गर्नुपर्छ भन्ने सन्देश गीतकारले दिएकी छन् ।”

त्यसैगरी पुस्तकमा लेखिका शान्ति कंडेल लेख्नुहुन्छ, ”जीवन उकाली र ओरालीको यात्रा हो, जसलाई हामी दौडाउँछौँ, जीवनको अन्तिम विन्दुसम्म । यस यात्रामा भोग्ने, बुझ्ने, विचार गर्ने, सम्झने गर्दागर्दै सामाजिक र पारिवारिक सभ्यताले निर्माण गरेका सोचविचारहरू छरपस्ट रूपमा देखें । हिजोका दिनमा आमा र दिदीहरूले आफ्ना भावनाहरू तिजे गीतमार्फत् पोखिरहँदा म भित्र पनि अनुभुति र भावनाका तरङ्गहरू छचल्किने गर्थे । तिनै तरङ्गहरूको वर्तमान स्वरुप हो यो उकाली र ओराली । यस कृतिमा वर्तमान नारीहरूका वेदना, पीडा, पितृसत्तात्मक सोच, लैङ्गिक हिंसा, जातीय विभेदलगायतका सामाजिक विषयलाई उतार्ने प्रयत्न गरेकी छु । मेरो गीत लेखन यात्रामा धेरैजना प्रत्यक्ष र अप्रत्यक्ष मन र हातहरू संलग्न छन् ।”

पुस्तकलाई सुन्दर स्वदेश पब्लिकेशनले बजारमा ल्याएको हो । २२ ओटा गीत संग्रहित पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ ।