‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ५ पुस्तक – कमलप्रसाद ढुङ्गानाको ‘शिवदर्शन’, लक्ष्मी निरौलाको ‘प्रेरणाको धुन’, भीमनारायण श्रेष्ठको ‘भावलहर’, चन्द्रागिरि अनुशीलन (सांस्कृतिक पक्ष) र जुनु क्षेत्रीको ‘जूनको पाइला’ ।
…
१. शिवदर्शन – कमलप्रसाद ढुङ्गाना
लेखक कमलप्रसाद ढुङ्गानाको दर्शन विधाको पुस्तक हो ‘शिवदर्शन’ । उनले यो पुस्तकलाई संस्कृत भाषाबाट नेपालीमा उल्था गरेका हुन् । पुस्तकमा शिवदर्शनको प्रतिवाद्य, शिव शब्दको अर्थदेखि लिएर शिवका विभिन्न रुप तथा शक्तिको व्याख्या गरिएको छ ।
‘यदि तपाईँ निश्चिन्त हुन चाहनुहुन्छ भने एउटा सानो कुरा छ – सारै सानो कुरा या भनौँ तरिका यो छ कि – आफूलाई हटाउनुस् र परमात्मालाई गर्न दिनुहोस् – जे गर्नुहुन्छ ।’, पुस्तकमा लेखिएको छ, ‘गर्नुभए ठीक नगरे पनि ठीक – कहीँ पुर्याउनुभए ठीक, नपुर्याए पनि ठीक । तपाईँ सारा चिन्ताको भार उनैमाथि छोडिदिनुहोस् । जोमाथि यत्रो विराट् जीवन अडेको छ । चन्द्र, तारा अडेका छन् । ऋतुहरु घुमिरहन्छन्, सूर्य उदाउँछ, यत्रो विराट् जीवनको सागर । यतिका लहरहरु जसलाई सम्हालेको छ तिम्रो सानो लहर पनि सम्हाल्ने छ ।’
‘शिव सृष्टिको स्रोत हो । सबै प्राणीहरुको आराध्यदेव हो । मनुष्य र देवताबाहेक दानव, पशुपन्छीको पनि शिव पूज्य हुन्, यसर्थ पशुपतिनाथ भनिएको हो ।’, पुस्तकको समीक्षामा ढुङ्गाना लेख्छन्, ‘प्राचीनतम हरप्पा र मोहन्जोदाडो संस्कृतिको अवशेषमा शिवको पशुपति रुपको कैयौं मूतिहरु र चिह्नहरु उपलब्ध छन् । कसैले यो नभनोस् कि भागवान् शिव खाली भारतमा मात्रै पुजिन्छन् । विदेशमा पनि कैयौँ ठाउँमा शिव मूर्ति अथवा शिवलिङ्ग प्राप्त भएका छन् ।’
पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । १ सय ६० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ९५ रुपियाँ रहेको छ ।
===
२. प्रेरणाको धुन – लक्ष्मी निरौला
जीवनको उषाकाल खुट्टा मेरो भाँच्चिएछ
बैसाखीको कामै छैन यात्रा गर्न कार देऊ । (पृष्ठ ५)
गजलकार लक्ष्मी निरौलाको गजलसङ्ग्रह हो ‘प्रेरणाको धुन ।’ निरौलाका गजलहरुमा अनुभूूति र आदर्शका साथै समकालीन राजनीतिक, समाजिक विषयवस्तुलाई आफ्नो गजलको केन्द्रमा राखेका छन् ।
‘बिहानीको निम्तो गरी ताराहरु झर्न थाले,
नर्सरीमा गुलाबका बोटहरु सर्न थाले ।
साहित्यको दीप आज किन कुन्नि मधुरो भो,
मोती टिप्न डुबेका ती समुद्रमै मर्न थाले ।
अन्धकार तोडीकन रश्मि दिन तम्सिएका,
रवि पनि बादलुको घुम्टोभित्र पर्न थाले ।
सडकमा बारुदको गन्ध मात्र आयो साथी,
खुट्टाहरु खाली बनी नदी त्यसै तर्न थाले ।
खुसी बाँड्न तयार भै प्रतीक्षमा बसेको त्यो,
‘लक्ष्मी’लाई गीत आफ्नै नाकाबन्दी गर्न थाले । (पृ. ५१)
‘लक्ष्मी निरौला अनुभूति, भावना र आदर्शका गजलकार हुन् । उनको प्रेरणाको धुन गजलसङ्ग्रहका सबैजसो मूलतः समकालीन राजनीतिक, सामाजिक र प्राकृतिक परिस्थितिसँग सम्बन्धित छन् ।’, पुस्तकका बारेमा डा. बिन्दु शर्मा लेख्छिन्, ‘उनका गजलहरु विषम वातावरणमा पनि पाठकलाई एउटा सुनिश्चित दिशानिर्देह गर्न सक्षम छन् । एकआपसमा स्वतन्त्र रहेका सेरहरुबाट संरचित उनका गजलहरु विधा सिद्धान्तको सङ्कुचित घेराभन्दा माथि उठेका छन् । यस प्रकारको पृथकतामार्फत् मौलिक सिर्जनात्मक सत्ता स्थापित गर्नेतर्फ अग्रसर हुनै नै उनको विशिष्टता हो ।’
पुस्तकलाई याम्बुरी बुक प्वाइन्टले प्रकाशनमा ल्याएको हो । ७६ थान गजलहरु सङ्ग्रहित पुस्तकको मूल्य १ सय ३० रुपियाँ रहेको छ ।
===
३. भावलहर – भीमनारायण श्रेष्ठ
कहिले छिमेकीहरु आउँछन्
ब्रह्मपुत्रको छातीमा परेड खेल्छन्
कहिले आधार विना
लिपुलेकको निधार चिर्छन् ।
(बिरामी छ मेरो देश)
कवि भीमनारायण श्रेष्ठको कवितासङ्ग्रह हो ‘भावलहर’ । श्रेष्ठले आफ्ना कविताहरुमा प्रकृति, भूगोल, संस्कृति र इतिहासको वर्णनमा शब्दहरु खर्चिएका छन् । समय र मानवप्रतिको व्यङ्ग्य, विद्रोहका आवाज, रिस तथा विवशताहरु कविताका रुपमा देखापरेका छन् ।
अब यहाँ म त्यस्ती नारी बनी जन्मिन्छु
जसले सामन्तीको जरा उखेल्छिन्
पेट्रोल छर्की राँको बालेर
स्वार्थी यो समाजमा
दन्किएको आगो लिई
झोस्न समर्थ हुन्छु,
भोलिकी नारी म ।
(नारी)
‘कवि भीमनारायण श्रेष्ठ एक आधुनिक चेत भएका कवि हुन् । उनमा विद्यमान राजनैतिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक एवम् प्रेमिल चेतहरुले उनको काव्यकारितामा जलप लगाएको देखिन्छ ।’, पुस्तकको भूमिकामा तेजप्रकाश श्रेष्ठ लेख्छन् ।
त्यस्तै, मुकुन्द आचार्य श्रेष्ठका कविताका बारेमा भन्छन्, ‘अहिले ठोकुवा गरेर के भन्न सकिन्छ भने समाजमा घटेका, भोगेका र देखेका यर्थाथ वस्तु जगतलाई आधार बनाई लेखिएका कविताहरुको सँगालो प्रस्तुत ‘भावलहर’ कृति हो । कसै प्रति घृणा, द्वेष, गालीगलौज कतै पाइन्न । यो प्रशंसनीय प्रयास हो ।’
पुस्तकलाई चन्दागिरि साहित्य समाजले प्रकाशनमा ल्याएको हो । ४४ थान कविता सङ्ग्रहित पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
===
४. चन्द्रागिरि अनुशीलन (सांस्कृतिक पक्ष)
चन्द्रागिरि नगरपालिकाका क्षेत्रभित्र रहेका सांस्कृतिक, ऐतिहासिक, साहित्यिक एवम् विविध विषयहरुलाई समेटी तयार पारिएको पुस्तक हो ‘चन्द्रागिरि अनुशीलन ः सांस्कृतिक पक्ष’ । यस पुस्तकमा पालिकाको १५ वटा वडामा रहेका विभिन्न धार्मिक, सांस्कृतिक सम्पदाहरुको खोज गरी तथ्यपरक रुपमा दस्ताबेजीकरण गरिएको छ ।
पुस्तकको प्रकाशकीयमा लेखिएको छ, ‘प्रस्तुत कृतिमा समावेश भएका सत्रवटा खोजमूलक लेख रचनाहरुले नगरपालिकामा अवस्थित आर्मिक तथा सांस्कृतिक सम्पदाहरुको सर्सर्ती जानकारी दिने प्रयास गरेका छन् । यो प्रारम्भिक चरण हो । यसबाट अन्वेषकहरुलाई अझ सत्य–तथ्यसहित गहन खोजकार्य गर्न हुटहुटी बढाउने आशा र विश्वास गरेका छौँ ।’
त्यस्तै, राष्ट्रिय सङ्ग्रहालय छाउनीका प्रमुख जयराम श्रेष्ठ लेख्छन्, ‘आफ्नो राष्ट्रिय सम्पदाप्रति समुदायिक उत्तरदायित्व बहन गराउन खातिर जनचेतना जगाउनलाई यो पुस्तक ज्यादै पठनीय छ । राष्ट्रिय संस्कृतिको जर्गेना खातिर यस्ता सम्पादहरुको संरक्षण र सम्वर्धनका निमित्त सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्नका लागि पनि यो पुस्तक पथप्रर्दशक तुल्य नै हुनेछ । यस अनुसन्धानात्मक पुस्तकले विद्वानवर्ग, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थीलगायत नेपाली इतिहास तथा संस्कृतिमा चासो राख्ने व्यक्तिहरुलाई विशेष सहयोग पुग्नेछ भन्ने आशा लिएको छु ।’
तेजप्रकाश श्रेष्ठ, भीमनारायण श्रेष्ठ र रवीन्द्र रिजालको सम्पादन रहेको पुस्तकलाई चन्द्रागिरि साहित्य समाजले प्रकाशनमा ल्याएको हो । १ सय ६४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।
===
५. जूनका पाइला – जुनु क्षेत्री
साहित्यकार जुनु क्षेत्रीको नियात्राहरुको सङ्ग्रह हो ‘जूनका पाइला’ । पुस्तकमा ‘मनभरि अतीतः आँखाभरि वर्तमान’, ‘स्मृतिका डोबहरु’, ‘बसको यात्रामा दृश्यहरुको लुकामारी’, ‘आँखाभरि झलझली आदिनाथ संस्कृति’, ‘यायावरी प्रवृत्तिः जीवन्त अनुभूति’, ‘भोगाइको उकालीओरालीः अनुभवको देउराली’, ‘दसैँको रन्कोमा मझुवाको फन्को’, ‘मन्दिरहरुसँग मनहरुको मितेरी साइनो’ र ‘मायापुरले लगाएको मोहनी माया’ गरी ९ थान संस्मरणहरु सङ्ग्रहित छन् ।
‘यी नियात्रा भावात्मक, रागात्मक, रसात्मक र रोचक छन् ।’, साहित्यकार निर्मोही व्यास भूमिकामा लेख्छन्, ‘साथै, स्वच्छन्द वा उन्मुक्त शैलीमा प्रस्तुत भएकाले यी अत्यन्त आह्लादक र मनमोहकसमेत छन् । यिनमा यात्रागत वस्तुकथ्यका साथ अपेक्षित मात्रामा यात्राकारको निजात्मक राग, कल्पनाको लाली र अनुभूतिको अभिव्यञ्जना पाइन्छ । कतिपय नियात्रामा सान्दर्भिक रुपले पूर्वस्मृतिको समेत अङ्कन गरिएको छ भने नेपाली गीत र कवितामा साथै बङ्गाली भाषाका कविताका अंशहरुलाई पनि समावेश गरिएको छ, जसबाट रचनाको भावसौन्दर्यमा वृद्धि भएको छ ।’
पुस्तकलाई शब्दघर छापाखानाले वि.स. २०७१ सालमै प्रकाशनमा ल्याएको हो । १ सय ८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १ सय ७० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।