आदि-गजलकार मोतीराम भट्टको जन्मजयन्तीको अवसर पारेर नेपाल गजल प्रतिष्ठानले यस वर्ष पनि गजल मुशायरा कार्यक्रम गर्ने भएकाे छ ।राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा असोज छ गते शनिवारका दिन उक्त कार्यक्रम गर्ने संस्थाका अध्यक्ष लालकाजी श्रेष्ठले बताउनु भएकाे छ ।
यस मुशायरा कार्यक्रममा आदि-गजलकार मोतीराम भट्टप्रति श्रद्धा सुमन अभिव्यक्त गर्दै तीन चर्चित युवा गजलकारहरूले आआफ्ना गजलहरू तरन्नुम र तहत शैलीमा प्रस्तुत गर्नेछन् !
कार्यक्रममा आगो गजलकारका रूपमा परिचित तनहुँका गजलकार अन्जान यात्री, आफ्नो सुमधुर आवाज मार्फत गजललाई तरुनम शैलीमा प्रस्तुत गर्न माहिर धादिङकी गजलकार राधा कणेल र अर्का प्रखर गजलकार झापाका मिलनकुमार ढुङ्गानाको तहत एवम् तरन्नुमका जादुमय प्रस्तुतिहरू रहने बताइएकाे छ ।
प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रत्यक्ष रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित तीन गजलकारहरूबाट थप तीन गजलकारको १/१ ओटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिनेछ ! यसका अलावा १० गजलकारका १० उत्कृष्ट शेरहरूलाई कार्यक्रमका सहजकर्ता एवं सूत्रधार आँचल कुमार शर्माले वाचन गर्नुहुनेछ ।
यस कार्यक्रमका स्पोन्सरका रूपमा मुख्य प्रायाेजक ग्लोबल आइएमई बैङ्क रहेकाे छ । त्यसैगरी अन्य सहयाेगी संस्थामा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, सूर्य ज्योति, सूर्य नेपाल, एभरेष्ट बैङ्क लिमिटेड, नागरिक लगानी कोष, टेम्पल टाइगर, भायनेट आदि रहेका छन् ।
कार्यक्रमकाे अनलाइन पार्टनर साहित्यपाेस्ट (इ) दैनिक रहेकाे छ ।
संस्थाले आगामी कार्तिक १८ गते सांस्कृतिक संस्थानकै मुख्य प्रेक्षालयमा साङ्गीतिक गजल गुञ्जन कार्यक्रम समेत आयोजना गर्दै छ।
“असाेज ६ मा माेती गजल मुशायरा हुँदै छ । सम्पूर्ण गजलप्रेमीलाई निम्ता दिन चाहन्छु ।” अध्यक्ष लालकाजी श्रेष्ठले साहित्यपाेस्टसँग भन्नुभयाे, “गजलप्रेमीहरूकाे लागि याे ठूलाे उत्सव हुने छ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।