लैजा चरी हावासरि यो पत्र सुविदको हातमा पर्ने गरी !
‘सुविद गुरागाई, इनरुवा १,३ सुनसरी, पिन कोड ०५६७०७, कोसी अञ्चल (नेपाल)’ लेखेर चिठीहरू आइरहन्थे ।
अर्काको चिठी पढ्नु हुँदैन भन्ने मान्यता छ । तर, केटाहरू आफ्नो चिठी त लेख्दा–लेख्दै थाहा भइहाल्छ, के पढ्नु ? पढ्ने भनेकै अर्काको चिठी त हो नि भन्थे । र, लुकीलुकी अर्काको चिठी पढ्न खोज्थे । पत्रमित्रताको जमाना थियो । खासगरी केटीहरूका नामबाट आएका वा केटीहरूका नाममा आएका चिठीहरू लुट्नु र कोर समूहमा पुर्याएर त्यसको चीरहरण गर्न पाउनुलाई केटाहरू पुरुषार्थ सम्झिन्थे । बिचमा कति लुटेराहरू भलादमी खालका पनि हुन्थे । खाम पछाडिबाट बिस्तारी खोलेर पढ्नुपर्ने कुरा पढिसकेपछि केही थाहा छैन जस्तो गर्दै क्यामेल गमले टाँसेर थपक्क पुरानै ठाउँमा राखिदिन्थे । कतिले त्यसरी थाहा पाएका कुरा आफ्नै मनमा राख्थे, कतिले चाहिँ कसैलाई नभन्नु ल भन्दै गाउँभरि फिँजाइसकेका हुन्थे । त्यस्तो गाइँगुइँको उत्कर्षमा फलानो वा फलानीको नाम जोडर फलानो वा फलानीलाई जिस्क्याउने काम हुन्थ्यो । जिस्क्याउँदा जिस्क्याउँदै कतिको त साँच्चिकै ‘लभ’ पनि पर्दथ्यो ।
हुलाकी दाइ थिए नन्दप्रसाद भट्टराई ।
पूर्वटोलतिरबाट आउँथे । साइकल थियो एउटा पुरानो । २०३६ सालमा एक सय साठी रुपियाँबाट हल्काराको काम थालेका नन्द दाइले २०४२ सालतिर दुई सय पच्चीस रुपियाँ पारिश्रमिक पाउँथे । दसैँ–तिहारमा पनि एक–दुई दिनबाहेक बिदा नपाउने हुलाकीको अतिरिक्त आम्दानी भनेकै तेहौँ महिनाको तलब हुन्थ्यो । बाँकी केही न केही । सम्भवतः त्यसैले धेरै चिठी आइरहनेहरूसँग एक–दुई रुपियाँ जे–जति सम्भव छ, अपेक्षा गर्थे, चिया खर्च । हाम्रो चिया दोकान थियो । म नभएका बेला चिठी आमालाई दिन्थे र चिया खाएर जान्थे । त्यसबापत इनरुवा मेरो ठेगाना खोज्दै आइपुगेका चिठीहरूलाई कतै अलमलिन दिँदैनथे । जतन गरेर घरमा ल्याइदिन्थे । कहिलेकाहीँ विभिन्न सरकारी कार्यालयका नाममा आएका पत्रिकाहरू पनि दिएर जान्थे । इनरुवा गन्तव्यमा आउने सर्वाधिक चिठी सकुन्तला दिदीका हुन्थे । म पनि कम थिइनँ । कहिले दुई नम्बरमा कहिले तीन नम्बरमा पर्थेँ ।
हुलाकी दाइका झोलाभरि चिठी, पत्रिका हुन्थे । अहिले एकादेशको कथा जस्तो लाग्छ तर त्यो बेला व्यक्तिगत चिठी मात्र होइन, पत्रपत्रिकाको वितरण व्यवस्थामा हुलाककै टेको लागेको हुन्थ्यो । २०५२ सालभन्दा अगाडिको सामाजिक जीवन चिठीमै अडिएको थियो । कतिले त चिठीमै पैसा खामेर पनि पठाउँथे । चिठी सेरोफेरोका भावमा कविता, गीत, गजल लेख्ने चलन थियो । चिठी आएन, चिठी आएन, मेरी मायालुको मलाई चिठी आएन बोलको गीत वीरगन्ज गहवाबाट कुर्वान हवारी, ताजमा हवारी, जलील हवारी, बेगम हवारी, झापा गौरादहबाट दुर्गा ताजपुरिया, दुर्गी ताजपुरिया र कान्छा भुजेल, विराटनगरबाट उर्मिला, निर्मला, सपना, कल्पना आदिको रोजाइमा पर्ने गीत हुन्थ्यो ।
‘नखोलेरै राखिएको बन्द एउटा खाम थियो ।
भित्र के–के थियो कुन्नि बाहिर मेरै नाम थियो ।’
युवा गजलको ललीजन रावलको यो मत्ला पनि निकै चर्चित थियो ।
…
पत्रपत्रिकामा पत्रमित्रताका सूचनाहरू बग्रेल्ती छापिएका हुन्थे । मातृभूमि साप्ताहिक, सात दिने समीक्षा, पञ्जाव केसरी, हिन्दुस्तान टाइम्सका संस्करणहरू मित्रताका सेतु थिए । पत्रमित्र हुन चाहनेका दर्जनौँ ठेगाना सार्वजनिक हुन्थे पत्रिकामा । कति केटीहरूका नाम जोडिएका ठेगाना कोही अल्लारे केटाले कि नक्कली नाम लेखेर कि सुरुमा आफूले आँखा लगाएकी तर प्रेम प्रस्ताव अस्वीकार गरेकी केटीलाई बदनाम गराउन पठाइदिएका हुन्थे । यीमध्ये मेरो ठेगाना चाहिँ नेपालमै विशिष्ट थियो । कसैले नलेखेको पिन कोड नम्बर मैले लेखेको हुन्थेँ । त्यो बेला अहिले जस्तो पासवर्ड शब्दले व्यापकता पाएको थिएन, कतै–कतै कोड वर्ड भन्ने शब्द चाहिँ सुनिन्थ्यो । यस्तो पृष्ठभूमिमा के हो यो पिन कोड नम्बर ? सर्वत्र जिज्ञासा हुन्थ्यो ।
भारतीय पत्रिकामा पत्रमित्रताका हरेक ठेगानासँग पिन कोड नम्बर जोडिएकै हुन्थे । नेपालमा टोल–टोलमा स्कुल भए जस्तो भारतमा टोल–टोलमा हुलाक हुन्थे । एउटै टोलमा धेरै हुलाक हुने हुँदा प्रापकका लागि पिनकोड नम्बर अनिवार्य जस्तै हुन्थ्यो । नेपालमा भने एउटै हुलाकको सेवाक्षेत्र धेरै गाउँसम्म फैलिएको हुन्थ्यो । सबै हुलाकहरू अन्तर्राष्ट्रिय हुलाक कार्यालयमा दर्ता पर्दो रहेछ । उसले सबै हुलाकलाई एउटा सङ्केत नम्बर दिएको हुँदो रहेछ, जसलाई पिन कोड नम्बर भनिँदो रहेछ । नेपालमा प्रापक वा प्रेषकको ठेगानामा पिनकोड नम्बर लेख्नु अनिवार्य थिएन । तर, म सानैदेखि हरेक काम सकेसम्म फरक ढङ्गले गर्न चाहने मान्छे थिएँ । त्यसैले मैले इनरुवाको पिनकोड नम्बर पत्ता लगाएर लेख्ने गरेको थिएँ ।
नम्बरको कुरा गर्दा हुलाकले ग्राहकका लागि वार्षिक शुल्क लिएर अलग–अलग पोस्ट बक्स नम्बर उपलब्ध गराएको हुन्थ्यो । त्यसैमध्येको एउटा गन्तव्य थियो, पोस्ट बक्स नम्बर ४३५५, त्रिचन्द्र श्रेष्ठ ‘प्रतिक्षा’ काठमाडौँ । उनले आफ्नो नामको अङ्ग्रेजीमा छोटकरी रूप राखेर टिसिएस इन्टरनेसनल पेनपल क्लब नामक अङ्ग्रेजी पत्रिका चलाउँथे । त्यसमा पत्रमित्रताका ठेगाना र फोटोहरू छापिएका हुन्थे । फोटो छपाउन पैसा पठाउनुपथ्र्यो । नेरु/भारु २० रुपियाँ, युएस डलर दुई, स्टर्लिङ पाउन्ड एक । मेरो फोटो पनि छापिएको थियो ७२८ नम्बरमा, पहिलो पृष्ठमै । त्यसको लगभग दुई महिनापछि पिनकोड नम्बर ०५६७०७ खोज्दै मिस मिस्सी रोपर, बक्स ४२३ होनोलुलु, अमेरिकाबाट एउटा चिठी आयो । अमेरिकामा जिप कोड नम्बर लेख्ने चलन रहेछ । मिस्सी रोपरको जिप कोड थियो ९६७२१ । सम्बोधन मिस्टर सुविद गुरागाई । उमेर २१ वर्ष । हवाइ विश्वविद्यालयमा जुनियर तेस्रो वर्ष । उचाइ पाँच फिट चार इन्च । ब्लोन्ड हेयर, ग्रीन आइ । रुची स्वीमिङ, रिडिङ पोयम्स् एन्ड नोभेल्स्, कोचिङ अ स्विमिङ टिम ।
आफूलाई अङ्ग्रेजी उस्तो नआउने । जवाफ नेपालीमा लेखेर पुरुषोत्तम सरलाई अनुवाद गर्न लगाएँ । र, लाग्दो हुलाक खर्च तिरेर प्रतिउत्तर पठाएँ । तर, फेरि जवाफ आएन । आयो र बीचमै कसैले गायब ग¥यो वा के भयो थाहा छैन ।
…
पिन कोड नम्बर ०५६७०७ मा मलाई सोध्दै–खोज्दै आउने चिठीहरूमा सबैभन्दा धेरै चिठी हिक्मत थापाका हुन्थे । सुरुमा हात्तीसार धरान, पछि हेटौँडा, रत्ननगर टाँडी चितवन, कहिले कटाक्ष बजार कैलाली, कहिले काठमाडौँबाट लेखिरहन्थे उनी । दोस्रो नम्बरमा पर्थे सानोपोखरा–५/३३ हेटौँडाका साम्बराज ढकाल । त्यसपछि कहिले साँघुटार, कहिले दोरम्बा, कहिले मन्थलीबाट लेख्थे पेशल आचार्य । जागृतिनगर, भद्रपुर–६ झापाकी जयन्ता पोखरेल । पाँचकन्या–३, पानबारी, सुनसरीबाट लक्ष्मी खतिवडा ज्वाला । खार्पा–३ खोटाङकी कुसुम जङ्गलीसँग चिठीमै मनका भावना साटासाट हुन्थ्यो । उसबेला मभित्र हुर्हुराएको साहित्यिक तिर्खा मेट्थे तिनैले ।
दाङ देउखुरी, चौलाही सानो घुमनाबाट कृष्णराज सर्वहारी । बाम्राङ–८ खोटाङका रामविक्रम थापा । औरही टोल जनकपुर–९ बाट दिनेश पौडेल गरिब । जनकपुर ९/१९४ का तृष्णा (सञ्जय) भट्टराई । ओमप्रकाश न्यौपाने मानपुर दाङ । २/४ मझुवा सिन्धुलीका शङ्कर सौगात उर्फ शङ्करकुमार कार्की । चक्रपाणि गौतम, गैरागाउँ, तानसेन पाल्पा । राम प्रधान, मुकुन्द श्रेष्ठ ढाक्रे हरिवन सर्लाही । मेघराज भण्डारी धरान । कहिले दुर्गापुर झापा, कहिले पाँचथरबाट प्रेम ओझा । भरतपुरबाट कल्पना कँडेल स्मृति । विवश वस्ती सिद्धेश्वर–४ प्रगतिनगर सिन्धुलीमाढी । कहिले गोर्खा, कहिले कीर्तिपुरबाट भीम राना जिज्ञासु । दियालो रोड भरतपुर–१५ का अञ्जान श्रेष्ठ क्रमशः मेरा पत्रमित्रहरू थिए ।
बालसखा सञ्जय लुइँटेलले अर्मेनिया रुसबाट चिठी लेख्थे । महोत्तरी, औरहीबाट मनु ब्राजाकी । ललितपुर लगनखेलबाट दिनेश अधिकारी । घनश्याम न्यौपाने परिश्रमी भैरहवा । पाटनढोका, ललितपुरबाट कमल दीक्षित । धनकुटा–३ कचिडेकी झमककुमारी घिमिरे । नाम्चेबाट विनोद डाँगी । महाराजगञ्ज तालिम केन्द्रबाट गीत नारायण एमटीका सम्झना पत्रहरू आज पर्यन्त सञ्चयन गरिराखेकै छु । ठिमी बहेखा बजारका एक जना श्रेष्ठ थरका पत्रमित्र थिए । २०४५ सालमा काठमाडौँमा म सनराइज इम्पोरियम बागबजारमा काम गर्थेँ । जमिम शाहको कपडा पसल । तिनै दिनमा मित्र सम्झेर सोध्दै–खोज्दै उनको घर, ठिमी पुगेको थिएँ । तर, उनको घरमा त्यति राम्रो व्यवहार पाइनँ । बेकारमा पो आइएछ जस्तो अनुभ्ूति भयो । फर्केर इनरुवा आएपछि, उनका सबै चिठी र फोटो जलाइदिएँ ।
२०४४ देखि २०६० सम्म निर्वाध चलिरहेको थियो यो सिलसिला ।
…
ती दिनहरूमा ‘प्रयास’ हवाइ पत्रिका छाप्थ्यौँ हवाइ–पत्रमा । म, पेशल आचार्य प्यासी, गोविन्द ढकाल बुइँपाली, कृष्ण कोइराला सम्पादक थियौँ । हुलाकबाट ५० पैसामा हवाइ–पत्र किनेपछि एकातिर छाप्ने कागजको पैसा जोगिन्थ्यो भने अर्कोतिर सम्प्रेषण खर्च पनि बच्थ्यो । काम अलिक फरक ढङ्गको पनि देखिन्थ्यो, हेर्ने बित्तिकै मान्छेलाई छोइहाल्ने । विद्यार्थी जीवन, कहिले खाजा खर्चबाट कटाएर, कहिले साथीभाइसँग सहयोग मागेर लेटर–प्रेसबाट छापिन्थ्यो प्रयास । खिटिक–खिटिक, एउटा हवाइ–पत्र हाल्यो–झिक्यो, अर्को हवाइ–पत्र हाल्यो–झिक्यो । मुद्रण कहिले अर्जुन पोखरेल दाइको अनुपम छापाखानामा, कहिले नारायण राजभण्डारी दाइको भगवती छापाखानामा । त्यही क्रममा एक दिन भगवती छापाखानामा प्रयास छाप्दै थियौँ । मेसिन अप्रेटर थिए, डम्बर दाइ । म कागज हाल्न, निकाल्न सघाउँदै थिएँ । अचानक मेरो दाहिने हातको चोर र माझी औँला मेसिनले च्यापिहाल्यो । डम्बर दाइले हत्तपत्त ब्रेक तानिहाले । धन्न ! औँला किचिपिचि हुन पाएन । नीलो–कालो भयो । आजसम्म पनि मेरा दुई वटा औँलाका नङ अलिकति माथि पलाएपछि सलक्क हुँदैनन् । हँसियाका दाँतजस्तो किरिक–किरिक बिझाउने खालका हुन्छन् ।
प्रयासमा अग्रजदेखि अनुजसम्म सबै प्रकारका कवि–लेखकका लेख–रचनाहरू छापिन्थे । तीमध्ये भानु–५, तनहुँका बसन्तप्रकाश उपाध्यायले पठाएको एउटा सानो टुक्रा छापिएको सधैँ सम्झन्छु । सम्पादक शीर्षकमा । विचरा सम्पादकहरू ! आफैँ हुर्काउँछन्, आफूले पूज्नुपर्ने भगवान्हरू । साँच्चै, उबेला बसन्तप्रकाशले भने जस्तै अहिले पनि अधिकतर सम्पादकको अवस्था म त्यही देख्छु । तर, म कोही भगवान् हुर्काउन सम्पादक बनेको थिइनँ ।
खासमा म ‘जीवनमा तिनीहरू नै सफल हुन्छन्, जो सफलताको मार्ग खोजी गर्छन् र नपाएको खण्डमा आफैँ निर्माण गर्छन्,’ भन्ने जर्ज बर्नाड शाको भनाइबाट निकै प्रभावित थिएँ । त्यो बेला गरिमा, मधुपर्क, समकालीन साहित्य वा कविताले लेख–रचना नछापुञ्जेल कवि–लेखक नै होइँदैन कि भने जस्तो चार्म थियो । उनीहरूले चाहिँ आँकुरा वा प्रवेश स्तम्भमा ठाउँ दिइसकेपछि कसैलाई छ महिना र कसैलाई वर्ष दिनको पालो लगाइदिन्थे । रचना प्रकाशनमा विद्यमान यस्तो साँधुरो परिस्थितिबाट थोरै भए पनि निवृत्ति पाउने उपायका लागि सम्पादक भइटोपलेको थिएँ म ।
जे गरिएछ राम्रै गरिएछ, अहिले सोच्दा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।