– सुविद गुरागाई
‘कोही भन्छन् दलित एउटा सिङ्गो व्यथा हो ।
कोही भन्छन् दलित आफैँमा अल्झिएको गाथा हो ।
तर, मेरो भनाइमा दलित
एउटा तिरस्कृत व्यक्तिको कथा हो ।’
‘दलित के हो ?’ शीर्षकमा २०४४ जेठ ८ गते मैले यस्तो मुक्तक लेखेको रहेँछु । त्यो बेला अलिअलि लेख्न जान्नेले केही न केही उपनाम राख्ने चलन थियो । सम्भवतः पञ्चायती शासकको नजरमा भूमिगत हुन लेखक–कविहरू उपनाम राख्थे । किशोर उमेरमा स्वभावगत विद्रोहको हावाले हामीलाई पनि छोएको थियो । कोही साथीले पीडित, कसैले कथित, कसैले अकेला, कसैले राख, कसैले एमटी भन्दैे आफूलाई चिनाउन थाले ।
मलाई दलित लेख्न मन लाग्यो । विद्याधर गुरागाई ‘दलित’ । यसरी २०४१ असोज २० देखि २०४५ कात्तिक १७ सम्म म दलित भएँ ।
गुरागाई ‘दलित’ नामबाट कविता, कथा, समाचार लेख्थेँ । कविता सुनाउँथेँ, पुरस्कार, प्रमाणपत्र थाप्थेँ । कसैले ‘ओ ! दलितजी !’ भन्दा दङ्ग पर्थेँ किनकि म आफूलाई त्यही नामले चिनाउन चाहन्थेँ । त्यसरी चिनिन पाउनुलाई उपलब्धि ठान्थेँ ।
इटहरीबाट प्रकाशित हुने सप्तकोसी साप्ताहिकको २०४४ कात्तिक १२ गते बिहीबारको अङ्कमा ‘गुरागाई दलित’का नामबाट छापिएको ‘कल्पना’ शीर्षकको कविता बृहत् क्षेत्रमा सार्वजनिक भएको मेरो पहिलो रचना थियो । कवि दलितको आरम्भिक कोसेढुङ्गा बनेको त्यो कविता छापिएको पत्रिका मित्र गीतनारायण एमटीले सुनसरी क्याम्पसभरि घुमाउँदा कम्ती गौरवको अनुभूति भएको थिएन ।
ती दिनहरूमा म काठमाडौँबाट प्रकाशित हुने मातृभूमि र विमर्श साप्ताहिकमा गुरागाई दलितका नामबाट अनेक प्रश्न र सूचनाहरू पठाइरहन्थेँ । ‘एसियाली मापदण्ड’ र ‘आधारभूत आवश्यकता’ के एक–अर्काका पूरक हुन् ?, सिर्जनशील पुस्तकालय खोइ ? जस्ता प्रश्नहरू हुन्थे । कतिपय प्रश्नले राजनीतिक अर्थ पनि बोक्ने हुँदा ‘को हो यो दलित ?’ भन्ने जिज्ञासा, चर्चा समाजमा हुन्थ्यो, जसलाई म आफ्नो सफलता ठान्थेँ ।
त्यही क्रममा इनरुवाबाट प्रकाशित हुने ‘समाचार जगत’ साप्ताहिकमा गुरागाई दलितका नामबाट ‘अभिवादन’ शीर्षकको अर्को कविता छापियो । सूचना थाहा पाएर पत्रिकाका केही प्रति लिनुप¥यो भनेर समाचार जगतको कार्यालयमा गएँ । रविन्द्र चक्रवर्ती दाजु सम्पादकीय लेख्दै थिए ।
‘कता आएको भाइ ?’
‘मेरो कविता छापिएको पत्रिका लिन ।’
‘लियौ ?’
‘लिएँ !’
‘खोइ हेरौँ ! कुन कविता ?’
मैले पत्रिका दिएँ । कविताको सुरुमै छापिएको नाम देख्नेबित्तिकै उनले सोधे–
‘के हो यो दलित भनेको ?’
नेपाली विषयमा स्नातकोत्तर सम्पादक चक्रवर्तीलाई प्रमाणपत्र तह पढ्दै गरेको मैले दलित शब्दको अर्थ लगाउँदै भनें, ‘दमन गरिएको, हेपिएको, पछि प®ेको वा पछि पारिएको ।’
‘अनि तिमी दलित कसरी भयौ त ?’
‘होइन, यो एउटा उपनाम राखेको !’
‘ठिकै छ, तर तिमीले आफूलाई चिनाउन यही शब्द किन छानेको ? शब्दकोशमा अरू पनि शब्दहरू थिए !’
‘… … … … !’
‘हेर भाइ, तिमी आफूलाई जस्तो बनाउन चाहन्छौ, त्यस्तै बन्छौ । आफूलाई दलित, हेपिएको पिछडिएको ठानिरहन्छौ भने त्यस्तै हुन्छौ । यदि अगाडि बढ्न्, सफल हुन चाहन्छौ भने पहिले आफ्नो सोच परिवर्तन गर ।’
संवाद भएको यत्ति हो । तर यो संवादले मलाई निकै दिनसम्म सोच्न बाध्य बनायो । अन्ततः मैले आफ्नो नाम बदल्ने निर्णय गरेँ । र, २०४५ असार १ गते परिवर्तनको यो परिस्थितिबारे पाठकहरूप्रति जवाफदेही भएर लेखेँ–
‘सुरुवात हुँदा मैले आफ्नो उपनाम दलित राखेको कुरा सम्झिन्छु । विभिन्न कारणहरूले । मनभित्रको व्यथा दलित थियो । वातावरणसँग तिरस्कृत हुनुको यथार्थ र आफूसँगको असफलता थियो दलित । साँचो अर्थमा जबसम्म हाम्रो समाज यथावत् छ, सामाजिक विकृतिहरूविरुद्ध तबसम्म दलितहरू यथावत् रहिरहनेछन् । दलित कहिल्यै पनि अन्त्य हुने प्रकरण हुँदै होइन । बरु आत्मभिमानको सुरुवात हो ।
तर परिवर्तनको गति पनि विचित्रको छ । परिवर्तनको क्रममा साथीहरूको सल्लाहबाट दलित उपनामलाई मैले परिवर्तन गर्ने निर्णय गरेको छु । मेरो पालो अब ‘दलित’बाट ‘सुविद’ भयो । यसका पछाडि पनि थुप्रै आफ्नापनहरू छन्, जसलाई समयले खोल्दै लैजाला ।’
…
कम्प्युटर प्रशिक्षक सुनिता मरिकलाई चिन्नुहुन्छ तपाई ?
बेचन मरिक अर्थात् बाबा भूतनाथकी छोरी सुनिता मरिक मेरी साथी हुन् । प्रसङ्गवश, उनका बुबा बेचन मरिक कसरी बाबा भूतनाथ बने ? त्यो प्रसङ्ग सम्झिन चाहन्छु ।
काठमाडौँ वनकाली र धरानमा सञ्चालित किरो (ग्रिक भाषामा हात) रिसर्च सेन्टरका संस्थापक बेचन मरिक (बाबा भूतनाथ) दलित भनिएको समुदायका रोलमोडल थिए । हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘ब्रá–सूत्र’ कार्यक्रमका सञ्चालक उनी हस्तरेखा, तन्त्र–साधना, वास्तुशास्त्र र अङ्क–विज्ञानमा सिद्धहस्त मानिन्थे ।
नेपालमा सबैभन्दा बढी छुवाछुत र भेदभावको पीडा भोगिरहेको समुदाय हो, डोम । त्यसै समुदायका प्रतिनिधि बेचन मरिक भन्थे, ‘वेदलगायत धर्मशास्त्रले भन्छ कि कोही पनि मान्छे जन्मजात ब्राáण वा पुरोहित हँुदैन । सबै मान्छे जन्मिदा शुद्र नै हुन्छ । मानिसको कर्मले उसको जात निर्धारण हुने हो । उदाहरणका लागि मलाई लिन सक्नहुन्छ । म त्यही डोम समुदायको व्यक्ति हुँ, जुन समुदायले आफ्नो पहिचान दिएर अहिले पनि सार्वजनिक होटलमा चिया खान पाउँदैन, जसको शरीर छोएमा छुनेकै शरीर अपवित्र हुन्छ भन्ने धारणा छ ।’
सामाजिक धारणा यता जे छ, छँदै छ । उता बाबा भूतनाथकहाँ आफ्नो हात देखाउन उच्च–जाति भनिएका व्यक्तिहरू निःसङ्कोच पुग्थे । तर यसरी बाबा भूतनाथ हुनुअघि बेचन मरिकले छुवाछुत र भेदभावको चरम पीडा भोगेका थिए ।
२०१७ साल माघ ३ गते उनी आमासहित बिरामी बुबाको उपचार गर्न बिहारको दरभङ्गास्थित लोहरियासराय अस्पताल गएका थिए । अस्पताल भर्ना गरेको भोलिपल्ट बिहानै बुबाको मृत्यु भयो । त्यहाँबाट लास घर ल्याउँदा बढी खर्च लाग्ने भएकाले विपन्न बेचन र उनकी आमाले त्यहीँ कोसी नदीकिनारमा दाहसंस्कार गर्ने निधो गरे ।
सात सय रुपियाँमा दाहसंस्कार गर्न पण्डा (पण्डित) राजी भयो । दागबत्ती दिने बेला पण्डाले बेचनकी आमासँग मृतकको गोत्र सोधे । जसै उनी डोम भएको थाहा भयो, ती पण्डाले बेचनकोे बुबाको लासलाई लात्तले हानेर चिताबाट तल झारिदिए । त्यतिले नपुगेर आमा–छोरामाथि पहिले नै जात किन नभनेको भन्दै कुटपिटसमेत भयो । त्यो घटनाले बेचन ज्यादै मर्माहत भए । र, त्यही दिन उनले कसम खाए कि म एकदिन यस्ता बाहुन (पण्डा)हरूलाई घुँडा टेकाएरै छाड्छु !
त्यही इख बोकेर उनी घरबाट हिँडे र विभिन्न स्थानमा भौतारिँदै बनारस पुगे । त्यहाँ डाक्टर रामनाथ अघोरीसँग भेट भयो, जसको सेवा–टहलमा उनले आफूलाई समर्पित गरे । बुबाको दाहसंस्कार गर्ने क्रममा पण्डाहरूले गरेको दुव्र्यवहारको पीडा सुनाए । उनको दुखद् कथा सुनेर रामनाथ अघोरी स्तब्ध भए । भने, ‘चिन्ता नगर, तिमीलाई म हजारौँ पण्डाले खुट्टा ढोग्ने उच्चकोटीको योगी बनाइदिन्छु ।’
नभन्दै तिनै अघोरीले सिकाएको साधना र मार्गमा लागेर, १४ वर्षको बनारस बसाइसँगै उनी ‘अछुत’ बेचन मरिकबाट ‘मान्यवर’ बाबा भूतनाथ भए ।
…
दलित भन्नाले दमन गरिएको, थिचिएको, कुल्चिएको, समाजमा हक, इज्जत ® प्रतिष्ठा समान रूपले पाउन नसकेको जाति वा समूह, सामाजिक व्यवस्थाको असमानताले सोसिएको वा पछि पारिएको जनसमुदाय भनी नेपाली शब्दकोशमा परिभाषित गरिएको छ । यो पृष्ठभूमिमा, मेरो मनमा लामो समयदेखि एउटा जिज्ञासा रहिरहेको छ कि हामीले डोमलगायत जातिलाई कहिलेसम्म दलित बनाइराख्ने ? कहिलेसम्म दलित भनाइराख्ने ?
मीनबहादुर विश्वकर्मा, भाइसन बर्देवा, रणध्वज लोहार, पिबि दियाली, आशिष विक, रुद्र विक, पवित्रा विक, दलबहादुर शाहशङ्कर, राजन केडी, उमेश सेञ्चुरी, मेघराज रसाइली, भोला पासवान, गङ्गाराम खत्बे, रामकुमार राम, राजेन्द्र सदा आदि कसैलाई पनि म दलित भन्न चाहन्नँ । तर कतिपय सरोकारवालाहरू उनीहरूलाई दलित नै भन्नुपर्छ र सोहीअनुरूपको व्यवहार गर्नुपर्छ भनेझैँ कुतर्क गर्छन् । किनकि संविधानको प्रस्तावनामै दलित शब्द लेख्न लगाएर र दलित आयोग बनाएर राज्यले उनीहरूलाई दलितको टीको लगाइराखेको छ । तर यो विसङ्गति कहिलेसम्म रहिरहने हो ? नयाँ पुस्ताले दलित भनेका यी–यी हुन् भनेर अझै कति वर्षसम्म मानिरहुपर्ने, भनिरहनुपर्ने हो ?
अघिल्लोपटक संविधान बनाउँदा उरावँ (झाँगड÷कुडुख) जातिलाई पनि दलितको अनुसूचीमा समावेश गरिएको थियो । तर उनीहरूले राज्यको त्यो निर्णय स्वीकार गरेनन् ।
कसैले पनि तपाईको इच्छा नभइकन तपाईलाई हीनताबोध (सानो) गराउन सक्तैन । एलिनोर रुजबेल्टका शब्द ।
हामीलाई दलित भन्न पाइँदैन भन्दै उरावँहरू सार्वजनिक विरोधमा उत्रिए । सर्वोच्च अदालतको सहयोगमा जातीय गौरव उठाए । आज मुलुकमा कोही पनि उरावँ दलित छैन । यसैगरी, कामी, दमाई, सार्की, डोम, चमार आदिले हामी आफूलाई दलित मान्दैनौँ, हामीलाई कसैले पनि दलित नभनोस् भनेर सर्वोच्च अदालत गए भने अदालतले ‘होइन, तिमीहरू त दलित नै हौ ! दलित नै हुनुपर्छ !’ भन्ला ? किमार्थ भन्दैन । अदालत, राज्य, समाज कसैले पनि त्यसो भन्न पाउँदैन ।
…
‘दलित त्यो हो जसले अरूलाई वा आफूलाई दलित भन्छ ।’
साहित्यकार÷राजनीतिकर्मी गोपाल कोइराला लेख्छन् । सेरोफेरोमा विविध प्रतिक्रियाहरू छन् ।
सिर्जनशील अराजक कवि हाङयुग अज्ञातले पोस्ट राखे, ‘कामी–दमाईमात्रै दलित होइनन् । दलित भनेका राज्य–सत्ताले अन्याय, अत्याचार, दमन र शोषण गरेका नागरिकहरू हुन् । तसर्थ नेपालमा ९९ प्रतिशत दलित छन् । बाँकी एक प्रतिशतले भारतको आडमा राज्य–सत्ता कब्जा गरेर हामीमाथि कुशासन थोपरिरहेछन् । पार्टीको झन्डा र दस्तावेजले छेलिएका छन्, ती एक प्रतिशत महाराजहरू ।’
सञ्चारकर्मी विवेक गौतमको प्रतिप्रश्न छ, ‘के सिरहाको धनगढी–३ नयनपुरका दीपक मल्लिक आफूले चाहेर दलित भएका हुन् त ?’
मैले तर्क गरेँ, ‘राउटेहरू अझै जङ्गलमै बस्न चाहन्छन् । सिरहामात्र किन जुनसुकै ठाउँका दलितहरूले ‘म किन दलित ?’ भनेर प्रश्न गरेको हुन्थ्यो भने उनीहरूको मुक्ति उहिल्यै भइसक्थ्यो । सीमान्त बस्तीमा त्यो चेतना नपुग्नुको दोष तपाई–हामीजस्ता सरोकारवालाहरूको पनि हो । जो, भत्ता÷फेलोसिप पाइने लोभले वा चुनावका बेला भोट चाहिने करले ती बस्तीहरूमा पुगेका हुन्छौँ ।’
शिक्षक दिनेश पौडेलका अनुसार जातीय विभेद समाजको तात्कालिक आवश्यकताले जन्मेको व्यवस्था थियो । त्यस समयमा उनीहरूको दृष्टिमा दुराचार, व्यभिचार वा नैतिक पतन हुनेलाई जातिच्यूत गराइन्थ्यो । यही दण्डविधान थियो । तर अब कानुन फेरिए । युगको आवश्यकताले व्यक्तिलाई अछुत राख्नुपर्छ भनेन । तर दलित अधिकारकर्मी भनिने अहिलेका एनजिओकर्मीहरूले त दलितलाई बाँकी समाजबाट एक्ल्याएर झगडालु, इष्र्यालु र शङ्कालु बन्ने तालिम दिइरहेका छन् ।
…
मर्यादा पुरुषोत्तम रामले सबरीले दिएको जुठो बयर खाएर पौराणिक कालमै हिन्दू धर्म–संस्कृतिमा छुवाछुतको भेदभाव ग्राह्य नहुने सन्देश दिएका थिए । कालान्तरमा बालागुरु षडानन्द, पण्डित छविलाल पोखरेललगायतले दलित भनिएका समुदायको सार्वजनिक उत्थानका लागि काम गरे । दलित भनिएकाहरूको घरमा गएर व्रतबन्ध, पूजा–श्राद्ध गर्ने, उनीहरूले पकाएको खाने, सहभोज आयोजना गर्ने थुप्रै बाहुनहरू भए इतिहासमा । अझ पनि कतिले त्यस्तो सत्कार्य गरिआएकै छन् ।
नेपालमा उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिमार्फत २२ जातलाई दलित भनी पहिचान गर्दा नेवारभित्रका कुसुले, कुचे, च्यामे र पोडे जातिसमेत समावेश गरेको थियो । तर यी चार जाति दलित हुन् कि होइनन् भन्नेमा अझसम्म विवाद जारी छ । उही जातिलाई कोही दलित भन्ने कोही होइन भन्ने !
दलित जातिमा सूचीकृत मुसहरहरूका ‘कुल देवता’ मानिने दिनाभद्रीले राज्य सञ्चालन गरेको मिथकीय कथा तराईतिर लोकप्रिय छ । मिथिला समाजमा यसका अनेकौँ प्रमाण छन् । विडम्बना उनै राजाका सन्तति आज आफूलाई दलित ठानिरहेका छन् ।
कतै नभएको जात्रा हाँडीगाउँमा । नेपालमा दलितको सूचीमा थपिने जातिहरूको सङ्ख्या बढ्दो छ । समाजमा आफूहरूमाथि डुम र हलखोर जातिसरह व्यवहार हुने गरेको दाबी गर्दै महोत्तरीको धनकार जातिका मानिसले आफूहरूलाई पनि दलित वर्गमा सूचीकृत गराउन माग गरेका छन् । राज्यबाट दलितले पाउने सुविधा आफूहरूले पनि पाउनुपर्ने उनीहरूको दाबी छ । दुःख लाग्छ, आरक्षण र अरू सुविधाको लोभमा परेर वा पारिएर मानिस दलित हुन प्रेरित हुँदै छन् ।
प्रश्न यो होइन कि यहाँ म के तर्क गरिरहेको छु । मूल प्रश्न वा सवाल यो हो कि आज दलित भनेर सम्बोधन गरिएका जाति कसैले पनि आफूलाई त्यसो भनिरहँदा गौरवको अनुभव गर्छन् कि गर्दैनन् ? कि अपमानबोध हुन्छ ? यदि यो शब्दप्रति गौरवबोध हुँदैन भने उनीहरू आफूलाई दलित नै भनाइराख्न किन उद्यत छन् ?
…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।