
– सुविद गुरागाई
‘अलिकति तल झर्दैनस् किन ?
सुविद गुरागाई, मर्दैनस् किन ?
देखेर तेरो चाल हाँस्दै छ मान्छे,
संसारको मतलब गर्दैनस् किन ?’
२०७४ पुसमा मित्र हिक्मत थापाको सहयोगमा देव नेपाली फन्टमा एक हजार प्रति छापिएको ‘जूनको आगो’ गजल–सङ्ग्रहको सुरुका चार हरफ जसले विचारेर पढ्छ, उसले ‘सुविद गुरागाई’ बुझ्न वरपर, दसतिर भौँतारिनु पर्दैन । मेरो जे–जति आफ्नो भन्ने छ त्यो सबै मैले सुरुदेखि जानी–जानी हुर्काएको कुरा नै हो, जसलाई मान्छेहरू आफ्नो सुविधाअनुसार संज्ञा दिन्छन्– फन्टुस, जिद्दी, एकोहोरो, कवि, प्रेमी, पागल, घामट, अप्ठेरो, जोकर फाल्तु !
यही त मजा छ, फन्टुस–फिक्सनको ! अर्काका बारेमा भन्दा, बोल्दा, लेख्दा, दसचोटि सोच्नुपर्छ । तर आफ्नाबारेमा लेख्दा केही नसोचे हुन्छ । कसैको कोटको आवश्यकता पनि पर्दैन ।
सुरुमा ‘सुविद गुरागाई, मर्दैनस् किन ? अलिकति तल झर्दैनस् किन ?’ लेखेको थिएँ मैले । त्यही सजिलो लागेको थियो ।
‘जब कोही मान्छे सुरुमै मर्छ भने, मरेको मान्छे तल कसरी झर्छ ? सायद यहाँ केही मिलेको छैन !’ एकदिन भूतपूर्व कवि अनुज पराजुली ‘स्मित’ले टिप्पणी ग¥यो ।
यहाँ भूतपूर्व विशेषण यसकारण कि मैले अनुजले नयाँ कविता लेखेको देखेको छैन । अनि ‘टिप्पणी ग¥यो’ यसकारण कि मैले सार्वजनिक ठाउँमा ‘तँ’ भन्दा, लेख्ने रिसाउन पाउने उसको अधिकार छैन ।
‘त्यसो भए पहिले झर्छ अनि मर्छ, हुन्छ ?’ मैले टिप्पणी–प्रभावित हुँदै सोधेँ ।
‘यसबारेमा मेरो केही भनाइ छैन,’ उसले भन्यो , ‘तँ आफैँ कवि होस्, आफैँ सोच । मेरो सरोकार त केवल मरेको मान्छे आफैँ कसरी तल झर्छ भन्ने सम्ममात्र हो ।’
अनुजले स्कुलपछि इन्जिनियरिङ पढ्यो । साहित्यमा पनि इन्जिनियरिङ दिमाग लगाउँछ । तथापि कुरो मनासिव लाग्यो मलाई ।
जूनको आगोको कुरा हुँदै थियो । २०६४ सालमा मित्र हिक्मत थापाले मलाई ‘जूनको आगो’ गजल–सङ्ग्रह छपाउन ‘गगन फाउन्डेसन’का नाममा नगदै २५ हजार रुपैयाँ दिएका थिए । त्यो बेला २५ हजार रुपैयाँ राम्रै रकम थियो ।
मैले पनि त्यसमा केही रकम थपेर ‘सचित्र’ गजल–सङ्ग्रह छाप्ने विचारसहित विभिन्न कलात्मक तस्बिर–चित्रहरू सङ्कलन गरियो । नवीन गड्तौलाजीलाई पेजमेकरमा ‘जूनको आगो’ डिजाइन गर्न गर्नुभयो । केही गुगलबाट तानेका, केही आफैँले सुट गरेका, केही आर्टिस्टिक, केही सिल्भेट तस्बिरहरूको ब्याक–ग्राउन्डमा ‘भव्य’ सेट तयार भयो । नेपालमा यसअघि कसैले नछापेको गजल–सङ्ग्रहको पाण्डुलिपि तयार भयो ।
बीचमा ‘एउटा किताब छापेर पैसा सक्नुभन्दा, त्यो पैसा केही साथीहरूसँग मिलेर ‘अपसेट प्रेस’ किन्नुप¥यो अनि त्यही प्रेसमा आफ्नो गजल–सङ्ग्रह छाप्नुप¥यो,’ भन्ने सोच आयो । नभन्दै इटहरी डेटलाइनमा जनलक्ष्य पत्रिका दर्ता गरियो, साझेदारी प्रेस किनियो र पत्रिका छाप्न थालियो । प्रेसले ठिकठाक काम गर्न थालेको एक महिनापछि जूनको आगोको प्रारम्भिक डिजाइनअनुसार भित्री पेजहरू छाप्न सुरु गरियो ।
सुरुमा मलाई सबै पेजहरू कलर छाप्ने ‘मुड’ चलेको थियो । तर एकातिर छपाइ खर्च आफ्नो क्षमताले धान्न नसक्ने अनि आफूहरूले किनेको सेकेन्ड–हेन्ड प्रेसमा पिन मिलाएर मल्टिकलर छाप्न जान्ने प्राविधिक नभेटिए पछि कविजीले मुड चेन्ज गर्नुप¥यो । भित्र विभिन्न पेजमा फरक–फरक सिङ्गल कलर र कभर मल्टिकलर गर्ने गरी मनले संशोधन प्रस्ताव पारित ग¥यो ।
त्यसैबीच, कताबाट केदार शर्मा दाइ इटहरी आइपुग्नुभयो । उहाँले जूनको आगो छापिँदै गरेको थाहा पाउनुभयो । पाण्डुलिपिको डिजाइन, कन्सेप्ट उहाँलाइृ पनि खुब मनप¥यो । तर उहाँ खुसी होइन, गम्भीर हुनुभयो ।
‘कविजीले कति पैसा छ हौ जम्मा गरेको ?’ दाइले सोध्नुभयो ।
‘के प्रश्न हो यस्तो ? भाइसँग कति पैसा छ वा हुनसक्ला दाइलाई थाहा छैन र ?,’ मैले उल्टै प्रतिप्रश्न गरेँ, ‘किन सोध्नुभयो दाइ ?’
‘अहिले गजलका क्षेत्रमा सुविद गुरागाई भर्खरको छ, उसको हस्तक्षेप पनि सामान्य होला,’ दाइले गम्भीरता कायम राख्दै भन्नुभयो, ‘तर भविष्य कसलाई थाहा छ… अचानक चलिदियो … भाइरल भइदियो भने ? त्यसपछि कसैले यी गुगलमा भेटिएका फोटोहरूको कपिराइट दाबी ग¥यो भने क्षतिपूर्ति तिर्न सकिएला कि नसकिएला ? किताब छाप्नुअघि त्यसतातिर पनि विचार गरौँ हौ !’
दाइको कुराले भाइ छाँगाबाट खसेजस्तै भयो । १० पेजभन्दा बढी छापिसकिएको प्रोजेक्ट रोकियो । कागज–मसी खेर गयो । त्यसको एक महिनापछि प्रेसका साझेदारहरूबीच क्षेत्राधिकार विवाद भयो । कुरा मुद्दा–मामिलातिर लम्कियो । तत्कालका लागि हिक्मतजीले दिएको पैसा नसोचेको ठाउँमा फस्यो ।
कुरो त्यत्तिकै भइरहेको थियो । तर हिक्मतजी बेला–बेला फोन गरेर सोधिरहन्थे । म घरि काम हुँदै छ, घरि के आदि–इत्यादि बहाना बनाएर तर्किरहेको थिएँ । लाजमर्दो स्थिति बनेको थियो ।
एक दशक त्यसै बित्यो । एक दिन हिक्मतजीको फोन आयो– कविजी गजल–सङ्ग्रहको पाण्डुलिपि प्रोल्लास सिन्धुलीयलाई मेल गरिदिनू ।
‘ठिकै छ, साथीको ऋण पछि तिरौँला, अहिले जे हुन्छ कथाले मागे अनुसार हुँदै गरोस्,’ भन्ने सोचेर डिजाइन परिवर्तन गर्न लगाएँ । अनि लाज मानी–मानी प्रोल्लासलाई मेल गरिदिएँ ।
२०७४ पुसमा प्रकाशक नेपाल–अफ्रिका साहित्य समाजका नामबाट ‘जूनको आगो’ छापियो । हिक्मतले त्यसमा फेरि कति पैसा खर्च गरे सोधिनँ । लेखन कुञ्ज काठमाडौँ परिसरमा भव्य लोकार्पण भयो ।
मैले हजार किताब पाएँ, जसमध्ये एक–डेढ सय प्रति किताब अझै छँदै छ ।
जूनको आगोमा ‘कोसी किनारबाट’ शीर्षकमा हिक्मत थापाको प्रकाशकीय मन्तव्य छापिएको छ, जसमा मलाई, मेरो लेखनी, बानी, परिस्थिति र सङ्ग्रह छाप्नुको कारणबारे केही शब्दमा बताउने प्रयास गरिएको छ–
‘२०४४ सालको लक्ष्मीजयन्तीमा अतिरिक्त स्वरहरूको नाममा धरानबाट लक्ष्मीसडकका कविता छाप्न सुरू भएपछि त्यसैको पाठक र रचनाकारका रूपमा उनलाई मैले चिन्न थालेका हुँ । त्यसबेला उनी विद्याधर गुरागाईका नाममा कविता लेख्थे, पछि ‘दलित’ नाउँबाट र अलिपछि सुविद रोजे आफूलाई ।’
‘उतिबेला नै शब्द र यसका संरचनाहरूलाई दुरुस्त कविता र गजलका बान्कीमा सजाउने जौहरी बनिसकेका थिए उनी । जीवन सङ्घर्षको सगरमाथा आरोह गर्ने क्रममा उनी त्यसैको फेद सोलुखुम्बू पुगे । त्यहाँका रनवन, हिउँ, राता स्याउ र सेर्पिनीको सामीप्यताले उनका गजलमा थप बान्की भरियो । पछि राजधानी झर्दा उनको कलम झन् तिक्खर भइसकेको थियो । अलिपछि झरे आफ्नै थातथलो मधेसको इनरुवा । र, त्यहाँकै सेरोफेरोको रापतापमा यिनको लेखनी अझै रापिलो बन्यो ।’
‘शिक्षकको जागिर, पत्रकारिताको सोख र जीवन–सङ्घर्षको दैनिन्दनीबीच उनका रचनाहरू सन्दुक गर्तमा हराउनु हुन्न भनी नेपाल अफ्रिका साहित्य समाजले प्रथम प्रकाशनको रूपमा यसलाई प्रकाशमा ल्याउने जमर्को गरेको छ । नेपाली साहित्यका असङ्ख्य छालहरूमा यो कोसीकिनारको लहर दिव्य बनेर फैलियोस् ।’
जूनको आगोसँग सम्बन्धित यो बाँकी पुरानो तर सुखद् प्रसङ्गपछि केहीबेर नवीन तर दुखद् प्रसङ्ग सम्झिन मन लागेको छ । २०७७ भदौ ३० गते फेसबुकमा राखेको स्टाटस र अतिरिक्त प्रसङ्गहरू–
म आफ्नैै सुरमा सिपअनुसारको काम गरिरहनुपर्ने, नयाँ–नयाँ रचनामा रमाइरहनुपर्ने मान्छे । तर आजदेखि केही दिन सिर्जनात्मक काम थाति राखेर आवेग, उत्तेजना र प्रतिकारमा बिताउनुपर्ने भयो । यसबाट मेरा शुभेच्छुक, साथीहरूप्रति पर्नजाने असुविधाका लागि सुरुमै क्षमाप्रार्थी छु ।
म सबैथोक सहन सक्छु तर कसैले नगरेको गल्तीका लागि चुनौती दिन्छ भने कदापि सहन सक्तिनँ ।
२०४५ सालदेखि अहिलेसम्मको पत्रकारिताको यात्रामा आजजस्तो अपमानबोध भएको थिएन । व्यावसायिक पत्रकारिताको यात्रामा मलाई अपमान गर्ने, श्रम मार्ने धेरै भए तर तिनलाई छुट दिएकै हो । दुईवटा मुद्दा त जितेर पनि पैसा तिर्न सक्तिनँ भनेपछि माफी गरेको छु । तर यसपटक म त्यस्तो मुडमा छैन । अब जे हुन्छ कथाले डोहो¥याएअनुसार स्क्रिप्टलाई फरक मोड दिने हो ।
केही मेरा शुभेच्छुक साथीहरूले मलाई भोलि पनि हामी पत्रकारितामै रहनुपर्ने भएकाले मुद्दा–मामलाको चक्करमा किन जाने, अहिलेको जटिल परिस्थितिमा आफ्नो पाउनुपर्ने लिएर छोड्दा हुन्छ भन्ने सल्लाह दिनुभएको थियो । तदनुसार मैले पनि ठिकै छ भनेर मन सम्झाएकै थिएँ ।
तर आज नागरिक दैनिकको अफिसमा विशेषगरी पिआर भनिने माधवी थापाले विचित्र कुरा गरिन् । सायद यस्तै कुरा गर्ने क्षमता देखाउन उनी त्यहाँ नियुक्त भएकी हुन् ।
‘तपाईको कुरा के हो ?’ उनले सोधिन् ।
‘सुरुमा मसँग भएको सर्तअनुसार मैले काम गरेको अवधिको पैसा दिनू । दिन–रात मेहनत गरेको, कोरोना सङ्क्रमणको जटील बेला तीन महिनासम्म एकदिन पनि बिदा नबसी दिएको साथको स्मरण गर्दै थ्याङ्स लेटर दिनू,’ मैले भनेँ ।
‘तपाईले थ्याङ्स लेटर पाउनुहुन्न । र त्यस्तो थ्याङ्स लेटरमा म सही नै गर्दिनँ । पहिले तपाईले अफिसको मेलको स्क्रिन–सट गरेर फेसबुकमा राखेर संस्थाको, विशेषगरी मेरो व्यक्तिगत प्रतिष्ठामा आँच पु¥याउने काम गर्नुभएको छ । त्यसकारण हाम्रो अपमान भएको क्षतिपूर्ति तिर्नुपर्छ । त्यसपछि लिनुदिनु केही रहेछ भने हिसाब गरौँला ! तपाईविरुद्धको प्रक्रिया अब हाम्रो लिगल एडभाइजरले बढाउँछन्,’ उनले भनिन् ।
भनिन् के भन्नु … सुविद गुरागाईलाई थर्काउन खोजिन् । उल्टे चोर डाँटे कोतवालको ! भनेको यही हो ।
‘कस्तो केटाकेटी कुरा गर्नुहुन्छ …!,’ मैले भने, ‘तपाई वा तपाईहरूको व्यक्तिगत इगोको बार्गेनिङ मैले पाउनुपर्ने श्रम–पसिनाको मूल्यसँग हुन्छ ? फेरि तपाई कुन अपमानको कुरा गर्दैहुनुहुन्छ … ? राज्यले कार्यालय खोल्न र आवतजावत गर्न निषेध गरेको समयमा कार्यालय खोलेर त्यसअघि भर्चुअल अफिसमा काम गरिरहेका श्रमजीवी पत्रकारको अपमान गर्ने तपाईहरू … ३० प्रतिशत तलब घटाएर अपमान गर्ने तपाईहरू … तीन–तीन महिनासम्म कर्मचारीलाई तलब नदिँदा, पत्रकारलाई बेतलबी बिदामा बस्न दबाब दिँदा र एउटा सामान्य मेल पठाएर अकारण काम खोस्ने क्रममा नभएको अपमानबोध जाबो एउटा फेसबुक स्टाटसका कारण भयो ? मैले त्यस्तो नराम्रो (गालीगलोज) शब्द त त्यस्तो केही लेखेको थिइनँ । गजब छ तपाई र तपाईहरूको चेतना !’
‘त्यसमा प्रतिक्रिया दिनेले त लेखेका छन् नि !’
‘अब, दुनियाँको मुख थुन्ने जिम्मा म लिन सक्तिनँ !’
‘त्यस्तो प्रतिक्रिया दिने प्लेटफर्म त तपाईले तयार पार्नुभएको हो नि !’
‘मैले पारेको हो कि तपाईहरूले पारेको हो ?’
‘तपाई पत्रकार हो भने तपाईलाई चेतना हुनुपर्ने हो सामाजिक सञ्जालमा कसैको फोटो हाल्दा वा कोहीसँग सम्बन्धित कुरा लेख्दा उसको अनुमति लिनुपर्छ । त्यो स्टाटसका कारण एउटा संस्थाको मात्र होइन, म एउटी महिलाको पनि देश–दुनियाँमा अपमान भएको छ । जसको चित्तबुझ्दो जबाफ त तपाईले दिनैपर्छ ।’
वाह रे, गुन गर्दाे हलो कपाल छेडी माग्दो !
‘बेकारको कुरा नगर्नुस्, म तपाईलाई यहाँ कोही केटी देखेर जिस्क्याउन आएको होइन । म एउटी एचआरसँग कुरा गरिरहेको छु । मर्यादामा रहेर कुरा गर्नुहोस् । म एउटा व्यावसायिक पत्रकार हुँ । ऐरे–गैरे नथ्थु खैरेजस्तो कुरा नगर्नुस् !’
‘मलाई तपाईका यस्ता तर्कको केही काम छैन, हाम्रो वकिलले तपाईसँग जबाफ लिनेछन्, क्षतिपूर्ति चाहिन्छ हामीलाई !’
वाह, सुविद गुरागाई बेच अब सुकुम्बासीमा भएको त्यही एउटा घर पनि र तिर नागरिक दैनिक (मिडिया टाइकुन विनोद ज्ञवाली परिवार)लाई क्षतिपूर्ति । साला खोदा पहाड निकला चुहा !
कसम भन्छु, यस्तो सुनेपछि मेरो मनमा स्पष्ट दुई भाव आए । कि जुरुक्क उठेर माधवीलाई दुई झापड हिर्काएर, फुत्त निस्केर सरासर हनुमान–ढोका जानु कि चुपचाप सिगरेट सल्काएर घरतिर लाग्नु !
निःसन्देह मैले दोस्रो विकल्प रोजेँ ।
हामी सबैलाई थाहा छ । भैँसीका अगाडि बिन बजाइराख्नुको कुनै अर्थ छैन । यहाँनेर यति लेख्दै, भन्दै गर्दा भोलि फेरि ‘लु यसले त मलाई चोर भन्यो, भैँसी भन्यो,’ भन्ने अर्काे अप्टिक आइलाग्ने सम्भावना पनि उत्तिकै छ । तर जब ओखलीमा टाउको हालिसकेपछि मुस्लोदेखि के डराउनु ?
नागरिक दैनिक प्रकरणमा यसभन्दा उता लेख्न–भन्न बाँकी खासै केही छैन । तपाई आफैँ मिलाएर बुझ्नुहोला । नेपालमा सदैव जय होस्, स्वाभिमानी, व्यावसायिक, श्रमजीवी पत्रकारहरूको !’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

