हेर्दा–हेर्दै भन्दा–भन्दै तीन वर्ष बित्यो ।
तीन वर्षअघि मैले भनेको थिएँ, म इनरुवा आउँछु । सोचेको थिएँ, इनरुवा आउनुपर्छ होला । तर तीन वर्ष ६ महिना भयो म इनरुवा आएको छुइनँ ।
त्यसो त महिना, दुई महिनामा इनरुवामै इनरुवाका साथीहरूसँग भेटघाट–उठबस भइरहन्छ । कार्यक्रमहरूमा, जमघटहरूमा साथीभाइले बेला–बेलामा सम्झिन्छन् । तर आभिधा अर्थमा मात्र बेला–बेलामा इनरुवामा मेरो उपस्थिति कथाले माग्छ, मैले भन्न चाहे जस्तो होइन ।
जब मन धेरै दुखेको हुन्छ ।
हाँसोमा आँसु लुकेको हुन्छ ।
२०७४ माघ १३ गते आमाको लास लिएर सुनसरी खोलाकिनार पुग्दा नगरप्रमुख राजन मेहतासहित धेरै शुभचिन्तक–आफन्तहरू आमाको दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्न स्वर्गद्वारी घाटमा भेला भएका थिए । जीवनकालमा आमाको राम्रै लगानी थियो, यो कर्मथलोमा । उहाँको मन यहाँ बसेको थियो, रमाएको थियो ।
इनरुवा छोडेर इटहरी जाने बेलामा अँध्यारो हुनुभएको थियो आमा । तर अलि ठुलो ठाउँमा जाने, ठुलो काम गर्ने छोराको महत्त्वकाङ्क्षासामु उहाँले आत्म–समर्पण गर्नुभएको थियो ।
‘म मरेँ भने मलाई सुनसरी खोला नै लानू । बरु सुनसरी पुलबाट तल हुत्याइदिए पनि हुन्छ,’ पछिल्ला दिनमा उहाँलाई भेट्न जाने जो कोहीलाई यस्तै भन्नुहुन्थ्यो आमा ।
‘किन आमा ?’ छक्क पर्दै कोही–कोही सोध्थे ।
‘आफ्नै हातले बेहुला सिँगारेको ससुरा त्यही डढाएँ, त्यत्रो बाघजत्रो लोग्ने पनि त्यहीँ डढाएँ । म पनि त्यहीँ जान्छु,’ आमाको जवाफ हुन्थ्यो ।
‘इटहरी बूढी खोलामा नेपालकै राम्रो घाट बनाएको छ । त्यहीँ लाने तपाईलाई पनि,’ कोही–कोही जिस्क्याउँदै भन्थे ।
‘धत्, चाहिँदैन मलाई यस्तो गुहे खोला,’ आमाको जवाफ हुन्थ्यो ।
छोराको जिद्दीका अगाडि कायल भएर आमा इटहरी गए पनि बाँचुञ्जेल आमाको हंस चाहिँ इनरुवामै रह्यो ।
नौ महिनाअघि मैले ‘अब हामी फेरि इनरुवा जानुपर्छ होला । त्यस्तै कुरा हुँदैछ,’ भन्दा आमा निकै खुसी हुनुभएको थियो । आफ्नो जीवनकालमै छोरो फेरि इनरुवा फर्केर गइदिएहुन्थ्यो भन्ने आमाको चाहना थियो । आफ्नो ठाउँ हो, आफ्नो ठाउँमा केही गर्नुपर्छ भन्ने मलाई पनि लागिरहेको थियो ।
हेर्दा–हेर्दै आमाको खास मनसुवा पूरा गर्न सकिनँ । सुनसरी खोला–किनारमा उभिएर क्षमा याचनासहित आमाको खुट्टामा अन्तिमपल्ट ढोगेँ । दक्षिण–पश्चिम फर्केर नैर्ऋत्य अधिष्ठातालाई नमस्कार गरेँ ।

‘तपाई इनरुवा कहिले आउनुहुन्छ ?’
‘खोइ थाहा छैन ।’
‘तर, तपाईले त राजन मेहताले चुनाव जित्यो भने म इनरुवा आउँछु भनेर पत्रिकामै लेख्नुभएको थियो त !’
‘लेखेको त हो । तर बुझ्नेले कुरा नबुझेपछि के लाग्छ मेरो ।’
‘राजनसँग कुरा गर्नुभएको छैन ?’
‘छैन, भेट्न खोज्दै छु । भेट्ने समय मिलिरहेको छैन । तर प्रयास गर्दै छु ।’
केही महिनापछि रामदेव साहसँग गोल्डेन चोकमा भेट हुँदा भएको कुराकानीको सारसंक्षेप हो यो ।
संयोगले त्यही दिन राजन मेहतासँग भेट भयो । मैले थाहा नपाई नो पार्किङमा मोटरसाइकल राखेको रहेछु । उनले देखेछन् । सधैँ जहाँ मोटरसाइकल पार्क गरिन्थ्यो, हालसालै त्यहाँ नो पार्किङको बोर्ड हालिएको रहेछ ।
नगरप्रमुख आफैँले हेलमेट लिएर गए । एक प्रकारले राम्रै गरे । ट्राफिकले लगेको भए जरिवाना तिर्नेमा परिन्थ्यो । चोखो पाँच सय रुपियाँ जोगियो ।
पछ्याउँदै नगरपालिकासम्म गएँ । गेटमै चिया–दोकानमा भेट भयो । भगवती सुनसरी पूर्वविद्यार्थी शैक्षिक प्रतिष्ठानको ज्ञापन–पत्र गोजीमा हालिदिएँ । उनले सार्वजनिक रूपमा आफ्नो मातृ विद्यालय भगवती माविलाई राजाजी माविमा मर्ज गर्छु भनेर अभिव्यक्ति दिएका थिए । सोही प्रतिगामी भनाइ सार्वजनिक रूपमा फिर्ता लिन आग्रह गरिएको पत्र थियो त्यो ।
‘तपाईलाई प्रेस सल्लाहकार चाहिँदैन ?,’ त्यसपछि मैले सोधेँ ।
‘चाहिन्छ, तपाईलाई नियुक्त गर्छु,’ उनले भने ।
‘खोइ त ?,’ मैले सोधेँ ।
‘अहिलेसम्म अधिकार पाएको थिइनँ, भर्खरै अधिकार आएको छ,’ उनले ढिलाइ हुनुको प्रष्टीकरण यस्तै शब्दमा दिए ।
२०७४ जेठमा स्थानीय चुनावमा राजन मेहताले नगरप्रमुखको टिकट पाउँदा संयोगले घोषणा–पत्र लेख्ने जिम्मा मैले पाएँ । साथीभाइ, शुभचिन्तक सबैको सल्लाह, सुझाव समेटेर समयानुकूल राम्रै दस्तावेज तयार पारियो । धेरैले मन पराए । उनले स्वयम् शान्तिचोकको आमसभामा यसका लागि मलाई दुनियाँका सामु नामै तोकेर धन्यवाद पनि दिए । कुनै व्यावसायिक काम गर्दा, मासमा त्यो दिन जत्तिको आनन्द आएको अर्को थाहा छैन ।
राजन मेहताको घोषणा–पत्रमा लेखिएको छ, ‘पाँच वर्ष अर्थात् ६० महिना । अर्थात्, एक हजार आठ सय २५ दिन । अर्थात्, ४३ हजार आठ सय घण्टा । अर्थात् २६ लाख २८ हजार मिनेट । … राजन मेहता नेतृत्वको टिमको काउन्ट–डाउन सुरु हुनेछ, सपथ लिएको दिनदेखि । मिनेट–मिनेटको हिसाब राख्नुहोस् । खबरदारी गर्नुहोस् ।’
नभन्दै चुनाव जितेको पहिलो महिना मेरै सल्लाहमा उनले ‘राजन मेहताका पाँच वर्ष अर्थात् ६० महिना’ शीर्षकको पहिलो शृङ्खलाअन्तर्गत राजन मेहतालाई २०७४ साल साउनका लागि ५९ बुँदे कार्यतालिका सार्वजनिक गर्न सहजीकरण गरेँ ।
इनरुवा नगरको इतिहासमै पहिलो मासिक कार्यतालिकामा ‘प्रत्येक महिना यसरी नै कार्ययोजना सार्वजनिक गर्ने, मसान्तका दिन समीक्षा बैठक तथा पत्रकार सम्मेलन गर्ने र छुटेका कुराहरूका हकमा नगरबासीको सल्लाह–सुझाव र आवश्यकता अनुसार काम गर्ने,’ उल्लेख छ ।
यिनै सन्दर्भहरूका बीच म फेरि इनरुवामा बाक्लो हुँदै गएको थिएँ ।
ंंं
‘राजन मेहता हा¥यो भने के हुन्छ ?’
स्थानीय निर्वाचनका सन्दर्भमा एकदिन मैले यस्तै शीर्षकमा लेख लेखेँ । लेखको लिडमा मैले लेखेको थिएँ, ‘राजन मेहताले जित्यो भने के हुन्छ ? र, हा¥यो भने के हुन्छ ? अनेकौँ प्रश्नहरूको भिडमा मलाई यतिबेला यही प्रश्नले सताइरहेको छ ।’
स्थानीय केही पत्रकार साथीहरूले चित्त दुखाए । केहीले तपाईले गलत मान्छे समात्नुभो दाइ पनि भने । तर त्यो बेला मलाई के लागिरहेको थियो भने जसरी त्यस बेलाको दाइ–पुस्ताले अरविन्द मेहतालाई राजनीतिको मूलधारमा ल्याउन अनेकन सम्झौता र प्रयास ग¥यो, अहिले यतिबेला त्यो दायित्व हाम्रो काँधमा आएको छ । यसबाहेक मेरो इनरुवा फिर्तीको भित्री मनासय पनि राजन मेहताको विजय अभियानसँग जोड्दा सजिलो हुने देखेँ ।
‘राजन मेहता हारे पनि जिते पनि हामीले काम गर्नुपर्छ,’ लेखमा मैले प्रष्ट लेखेको छु, ‘किनकि इनरुवा हामीले सिमानातिर अनुभव गरेको बिहारको कुनै गाउँ होइन, यो त हाम्रो रगत–पसिना मिसिएको ठाउँ हो । यहाँ हामीले जे सोच्यो, त्यो हुनुपर्छ । इनरुवा विभिन्न सूचकहरूमा अब्बल काम गर्ने नेपालकै उत्कृष्ट नगरपालिका हुनुपर्छ । १० वर्षमा उपमहानगर हुनुपर्छ । र, त्यसका लागि केके गर्नुपर्ने हो, त्यो हामीले गर्नुपर्छ ।’
यसको किकरमा मैले भनेको छु, ‘गर्नुपर्ने कति कुरा छन् कति । तर यो एउटा बसाइमा सबै कुरा सम्भव भएन । सायद कथाले यसरी नै क्रमशः लेखाउँदै जानेछ । यो लेखाइको अन्तमा यति चाहिँ भन्छु – यदि राजन मेहताले इनरुवा नगरपालिकाको मेयरमा चुनाव जित्यो भने सुविद गुरागाईजस्ता धेरै जना इनरुवा फर्किने छन्, हा¥यो भने के हुन्छ थाहा छैन ।

राजन मेहताको विजयसँगै थुप्रै साथीहरूले अब आफूहरू पनि इनरुवामा बसेर काम गर्न सक्ने वातावरण बन्छ होला भन्ने आस गरेका थिए । थोरै भए पनि ब्रेन–ड्रेन रोकिन्छ होला भन्ने धेरैको अपेक्षा थियो । तर आज परिदृश्यमा आउनुपर्ने समकालीन सन्दर्भहरू मुल्तवी जाने ननिको लक्षण देखापर्न थालेका छन् ।
‘समृद्ध इनरुवा बसोबासयोग्य हाम्रो नगर ।
सामाजिक सद्भावयुक्त आधुनिक कृषि सहर ।’
राजन मेहताको घोषणा–पत्रमा इनरुवाको प्रस्तावित नारा यसरी लेखिएको छ । यो नारा पनि मेरो सिर्जना हो, जो इनरुवा नगरपालिकाको कार्यालय भवनमा ससम्मान लेखिएको छ । यसका लागि राजन मेहता सदैव धन्यवादका पात्र छन् ।
मलाई थाहा छैन, उनले यसबारेमा नगर सभामा कुनै छलफल चलाए कि चलाएनन् ? चलाएको भए, यो नारा इनरुवा नगरपालिकाको लेटर प्याडमा प्रतिबिम्बत हुनुपर्ने हो । नगरका अरू दस्तावेज र मुख्य चोकमा लेखिनुपर्ने हो ।
इनरुवाको इतिहाससँग जोडिएको सुनसरी प्राविको नाम आज हराएको छ । इनरुवाको शैक्षिक–सामाजिक क्षेत्रमा जयन्त भट्टराईको सोच र योगदानलाई नयाँ–पुस्ताले बिर्सिन थालेको छ । जयन्त सर हामीले यतिबेला सोचेको कुरा उतिबेलै सोच्थे ।
हिजोआज भर्खर विद्यालयका कक्षा–कोठामा सिसि क्यामेरा राख्न थालिएको छ । जयन्त सरले २०३४ सालतिरै सिसि क्यामेराको व्यावहारिक अभ्यास गरेका थिए, सुनसरी प्राविमा । हरेक कक्षाकोठामा माइक्रोफोन र साउन्ड बक्स राखिएको थियो, जसको नियन्त्रण कक्ष मन्दिरतिरको नयाँ भवनको पश्चिमतिरको कोठामा थियो ।
एक दिन बबन मिश्र सर स्कुल आउनुभएको थिएन । दुई कक्षामा पढ्दाको कुरो हो । दुई घन्टी लाग्नासाथ साथी–साथी रैफाँडो सुरु भयो । खरी गुड्काई खेल्दा हारेपछि खोसाखोस, रुवाबासी सुरुहुन्थ्यो ।
‘ए, विद्याधर के बोल्दै छौ तिमी …सुन्दै छु नि म । अघि मैले के काम अह्राएको थियो, त्यही हो गरेको,’ कालोपाटीमाथि राखिएको साउन्ड–बक्सबाट एकाएक जयन्त सरको आवाज आयो । हेडसरको आवाज सुनेर म र चल्दा–चल्दैको साथी कुबेर बज्राचार्य भस्कियौँ । हामी हत्तपत्त चल्न छोडेर भलादमी विद्यार्थीजस्तो किताब निकालेर घोक्न थाल्यौँ– दुई एकान दुई, दुई दुनी चार, दई तियाँ छ … !
जयन्त सरले ऊ बेला फ्रेडा आर्टिस्टलाई बोलाएर विद्यालयको नाम र लोगो यसरी बनाउन लगाएका थिए, त्यस्तो राम्रो, अर्थपूर्ण लोगो र साइनबोर्ड नेपालभरिका कुनै विद्यालयमा आज पनि छैन ।
त्यस्तो प्रतिभालाई इनरुवाले राख्न सकेन । हुँदा–हुँदा उनको कृति र योगदानलाई पत्रु हुने स्थितिमा पु¥याइयो । विद्यालय परिसर सार्वजनिक सौचालयमा रूपान्तर भयो । सुनसरी प्राविको यो पतन–क्रम रोक्न मैले पनि कुनै योगदान मिसाउन सकेको छैन । सायद जयन्त सरको आत्माले मलाई धिक्कारिरहेको छ । ‘थुक्क ! आफू पढेको विद्यालय बचाउन तिमीले पनि केही गर्न सकेनौ,’ भन्दो हो ।
यसबारेमा आत्मालोचित हुँदै मैले राजन मेहतासँग सुनसरी प्राविलाई छुट्टै ठाउँमा जग्गा व्यवस्थापन गरी जयन्त भट्टराईको प्रतिमा पनि राख्न र विशेषगरी सबैभन्दा हेपिएका डोम जातिका केटाकेटीलाई पढ्ने व्यवस्था मिलाउन प्रस्ताव राखेको थिएँ ।
लेखेको थिएँ, ‘राजन मेहता हा¥यो भने मेरो इनरुवा फिर्तीको प्रस्ताव तुहिने मात्र होइन, तत्कालका लागि सुनसरी प्रावि पुनःस्थापनाको पहल पनि मुल्तवीमा जानेछ ।’
तर राजन मेहताले चुनाव जिते ।
जितेपछि इनरुवामा अहिले के भइरहेको छ ? उनी के गर्दै छन् ? र हामी के गरिरहेका छौँ ? सबै कुरा तपाईका आँखामा झलझली छ ।