‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ६ पुस्तक । भट्टराईकाे ‘अँध्यारो कुनो’देखि गौतमकाे ‘प्याथोलोजी मार्गदर्शन’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

० ० ०

१. अँध्यारो कुनो — खगेन्द्र भट्टराई

“अँध्यारो कुनो” लेखक खगेन्द्र भट्टराईको पहिलो पुस्तक हो । १ सय ५ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘लीला, झुनझुना, ठट्टा, मलाई सुराही बनाइदेऊ’ लगायत १४ वटा कथा सङ्ग्रहित छन् र कथाहरू प्रायः यौन मनोविज्ञानमा आधारित छन् ।

‘गुप्त विद्या’ कथामा लेखिएको छ, “सन्तोषले भनेझैँ हरेक दिन एक एक पत्र नौला कुरा मैले थाहा पाउँदै गएँ । डेभिडको खास नाम डुक बहादुर रहेछ । बोर्डिङ स्कुलमा नसुहाउने भएपछि पीपी सरले नै उसको नाम डेभिड राखिदिनुभएछ । पश्चिम पहाडबाट आएको डेभिड काठमाडौँकै रैथाने नम्रतालाई मन पराउँदो रहेछ तर नम्रताले उति वास्ता नगर्दी रहेछ । केटीका शिरको कपाल २ वटा अप्ठेरो ठाउँको कपाल २ वटा लिएर बुटी बनाएर लगाएपछि केटी पागल भएर पछि लाग्ने भन्नुभएको रहेछ । डेभिडलाई टाउकोको कपाल लिन गाह्रो थिएन तर अप्ठेरो ठाउँको केश कसरी फेला पार्ने त्यही बुटीका लागि उसले मौका पारेर सारीभित्र हात हालेर मुठ्याएको रहेछ ।”

मूल्य २ सय ५० रहेको प्रस्तुत पुस्तकलाई सेर्गेम प्रकाशन गृहले बजारमा ल्याएको हो ।

२. विराटनगरका कवि र कविता — लक्ष्मी पोखरेल

“विराटनगरका कवि र कविता” लेखक, सम्पादक लक्ष्मी पोखरेलको लामो समयको लगन, मेहनत र अथक प्रयासको प्रतिफल हो । २ सय ४४ पृष्ठमा फैलिएको यस पुस्तकमा कवि डा. पिनाकीप्रसाद आचार्य, सुशील नेपाल, हेमसागर पोखरेल, रमेशचन्द्र अधिकारी लगायत अग्रज, अनुज र नवोदित कविहरूको १ सय ८३ थान कविता समावेश छन् ।

“हाम्रो देशमा सबैभन्दा बढी लेखिने विधाका रूपमा लिइन्छ कवितालाई । साहित्यका विविध विधामध्ये कविता एउटा प्राचीन शक्तिशाली विधा हो यसले आफ्नै इतिहास बोकेको छ । विराटनगर नेपाली साहित्यको उर्वर नगर हो, जसले धेरै स्रष्टाहरूलाई जन्माएको छ, हुर्काएको छ । केही स्रष्टाका जन्मभूमि, केहीका कर्मभूमिको रूपमा रहेको छ विराटनगर । यी स्रष्टाहरूमध्ये कवितामा कलम चलाउने स्रष्टाको सङ्ख्या पनि अत्यधिक छ । ” भूमिकामा विवश पोखरेल लेख्छन्, “यसपल्ट हामीले साहित्यको चर्चित विधा कविता विधामा कलम चलाउने विराटनगरका कविका कविताहरूको सङ्ग्रह प्रकाशन गर्यौँ । यो हाम्रो प्रकाशन मालाको स्वर्ण पुष्प हो । विराटनगरको नेपाली साहित्यको कविता र कविबारे जान्न उत्सुक काव्यप्रेमीहरूका लागि यो कृति उपयोगी हुने कुरामा हामी विश्वस्त छौँ ।”

पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगरद्वार प्रकाशित यस पुस्तकको मूल्य ५ सय १ रुपियाँ रहेको छ ।

३. चीन : सुनेको, पढेको, देखेको — दीपक सरकार

दीपक सरकारद्वारा लिखित “चीन : सुनेको, पढेको, देखेको” यात्रा संस्मरण हो ।  पुस्तकलाई ‘चिनियाँ सभ्यता र संस्कृति, इतिहास बोकेका व्यक्तित्वहरू, चीनको तिब्बत र नेपाल’लगायत ९ थान शीर्षक र प्रत्येक शीर्षकमा पनि उपशीर्षकहरू राखी तस्बिरहरूसहित तयार पारिएको छ ।

पुस्तकको पछिल्लो कभर पृष्ठमा नारायण भक्त श्रेष्ठ (रायन) लेख्छन्, “हाम्रो छिमेकी मुलुक चीन र भारतको विषयमा नेपाली पाठकहरूमा जति धेरै भारतको विषयमा पाठ्य सामग्रीहरू छन् त्यति चीनको बारेमा छैनन् । त्यो हुनुमा विभिन्न कारणहरू हुन सक्छ । तर पनि जति हुनुपर्थ्यो त्यति हुन नपाएको अवस्थामा दीपक सरकारले लेख्नु भएको पुस्तक ‘चीन-सुनेको, पढेको, देखेको’ सरसर्ती हेर्दा धेरै राम्रो लाग्यो । दीपक सरकारले यस पुस्तकमा चीनको विषयमा ९ वटा खण्डमा राम्रोसँग चिनियाँ साहित्य, शर्शन, इतिहास, सभ्यता, संस्कृति अध्ययन गरी लेख्नु भएको छ ।

यसले नेपाली साहित्यका पाठकहरूलाई चीन बारे बुझ्न अध्ययन गर्न अत्यन्त महत्वपूर्ण सहयोग पुग्नेछ भन्ने मलाई लागेको छ । दीपक सरकारले यात्रा संस्मरण लेख्ने परम्परागत सोचलाई पनि नौलोपन दिएर लेख्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । चीनको गहिरो अध्ययन भएको व्यक्ति भएको हुँदा चीनको विषयमा अरू कृतिहरूको आश गर्नु अन्यथा नहोला । फेरि पनि यति राम्रो पुस्तक नेपाली पाठकहरूमाझ ल्याउन लाग्नु भएको हार्दिक बधाई तथा शुभकामना ।”

पुस्तकको पछिल्लो कभर पृष्ठमा डा. तुलसी भट्टराई लेख्छन्, “दीपक सरकाद्वारा लिखित ‘चीन-सुनेको, पढेको, देखेको’ नामक कृति सरसर्ती हेर्ने अवसर पाएँ । सयपल्ट भन्दा बढी यात्रा गरेर चीनका प्रायः सबै प्रान्तको भ्रमण गरेका दीपकजीले चिनियाँ सभ्यता, संस्कृति, इतिहास आदि अध्ययन र विश्लेषण गर्नुभएको छ । त्यसको निष्कर्ष स्वरूप खोजीयात्राका रूपमा प्रस्तुत कृति तयार पार्नुभएको हो । चीन अध्ययन गर्नेहरूका निम्ति यो ज्यादै उपयोगी हुनेछ । साथै यसले नेपाल-चीन सम्बन्धमा पनि महत्वपूर्ण योगदान दिनेछ । स्मरणीय छ सन् २००९ मा श्री दीपक सरकारसँग मैले पनि चीन यात्रा गरेको हुँ ।”

शिखा बुक्सद्वारा प्रकाशित पुस्तकको मूल्य ७ सय ५० रुपियाँ रहेको छ ।

४. प्याथोलोजी मार्गदर्शन — डा. केयूर गौतम

एक उत्साही प्याथोलोजिस्ट डा.केयूर गौतमकृत पुस्तक हो — “प्याथोलोजी मार्गदर्शन” । पुस्तकले ‘सही रिपोर्टका लागि आफूलाई कसरी तयार पार्ने ?’, ‘ग्यास्ट्राइटिसलाई प्रयोगशालामा कसरी परीक्षण गर्न सकिन्छ ?’, ‘दिसाका रङहरू र रोगसँगको सम्बन्ध’, ‘युरिक एसिडको जाँच’, ‘महिलाहरूमा रगतको जाँचबाट कुन-कुन क्यान्सर पत्ता लागउन सकिन्छ ?’, ‘ब्लड टेस्टअघि पानी पिउन हुन्छ ?’लगायतका सय शीर्षकबाट बिरामीद्वारा सोधिने एवं दैनिकजसो आउने विषयहरूबारे प्रस्ट्याउन खोजिएको छ ।

“हामीले चिकित्सशास्त्र पढ्ने क्रममा प्याथोलोजी विषय पहिलो दुई वर्ष अध्ययन गरिन्छ । त्यो समयमा यस विषयको महत्त्व खासै बुझिएको हुँदैन । पछि पनि यस विषयका लागि भनेर कुनै समय छुट्याइएका विरलै पाइन्छ । त्यसैले गर्दा चिकित्सकहरूलाई पनि मध्यनजर गर्दै एउटा सही रिपोर्टको आवश्यकता तथा त्यस रिपोर्टलाई निकाल्नका लागि आइपर्ने विश्लेषण गर्नुपूर्व एवं विश्लेषणको क्रममा एवं विश्लेषप्रश्चात् हुन सक्ने त्रुटिहरूलाई पनि हृदयङ्गम गर्दै बिरामीको शारीरिक अवस्थासँग मेला खाए-नखाएको निर्क्यौल गर्न सुझाइएको छ ।” भूमिकामा लेखिएको छ, “यो पुस्तक विभिन्न् पुस्तक, वेबसाइटलगायत अन्य मेडिकल जर्नलको सहायता तथा एक अनुभवी प्याथोलोजिस्टको दशकौँ लामो अनुभवहरू पनि समेटिएको हुँदा सरल रूपमा दैनिक जीवनका लागि प्याथोलोजी विषयका बारेमा सबैलाई बुझ्न सजिलो होस् भन्ने हिसाबले तयार पारिएको छ । यो पुस्तक समग्रमा एक अनुभवी प्याथोलोजिस्टको विषयप्रतिको मोह, प्रयोगशालाको गाम्भीर्यता एवं महत्त्वलाई उजागर गर्न, सर्वसाधारण एवं चिकित्सकलगायत चिकित्सा क्षेत्रमा आबद्ध सबैलाई अझ बढी प्रस्ट पार्ने उद्देश्यस्वरूप प्रकाशन गरिएको हो र यो सबैलाई उपयोगी हुने विश्वास लिएको छु ।”

हिरेन प्रसाद गौतमले प्रकाशनमा ल्याएका हुन् । ४ सय ५० रुपियाँमा रहेको यस पुस्तकको मूल्य ४ सय ११ पृष्ठमा फैलिएको छ ।

५. प्रतिवहन — मानिषा गौचन

“प्रतिवहन” मानिषा गौचको नवीनत कथासङ्ग्रह हो । २ सय ६ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘अतृप्त भोक, समाचारवाचक, म फेरि जन्मिएँ, ठूलोबुबा, नीलिमा’लगायत २१ वटा कथा सङ्ग्रहित छन् ।

पुस्तकको पछिल्लो कभर पृष्ठमा राजकुमार बानियाँ लेख्छन्, “यस कथासङ्ग्रहमा अहिलेसम्म कसैले नलेखेका वा लेख्न नसकेका विस्मयकारी कथाहरू छन् । तिनमा समाजका मार्मिक घटना, दृश्य र कथन समेटिएका छन् । मनिषाको विशेष अभिरुचि जीवनका सङ्घर्ष, सम्बन्धका जटिलता, युगीन यथार्थ, विभेद अनि अपाङ्ता भएका पात्रहरूको संवेदना र अनुभूतिलाई कथाशिल्प दिनुमा छ । उनका कथाका अन्तरकुन्तरमा काव्यिक ध्वनि पनि सुनिएकै छन् । सङ्ग्रहका २१ वटै कथा नौला, बेधगम्य, सम्प्रेषणीय अनि कुतूहलमय छन् । सरलता, मुग्धकरिता, अप्रासाङ्गिक चरित्र र कथानकको अभाव र चित्रणको चामत्कारिकता यिनको विशेषता हो यी कथाहरू आख्यानको अपरिमेय सौन्दर्य आस्वादन गराउन सक्षम छन् । शशिरमाको सल, पाठेघर, क्याफे स्टुडियो, ठूलो बुबा, क्याप्सुल आदि कथा पढ्दा मथिङ्गल नै झनझनाउँछ । मलाई आशा छ, मनिषा गौचनको कथामार्गले पाठकको पक्कै स्वागत पाउनेछ ।”

इन्डिगो इन्क प्रा. लि. द्वारा प्रकाशित यस पुस्तकको मूल्य ४ सय ४९ रुपियाँ रहेको छ ।

८ . १०८ poems _ डा. यामबहादुर रोका

न्यूरो कार्डियो तथा मल्टिस्पेसियालिटी हस्पिटल विराटनगरका वरिष्ठ न्यूरोसर्जन, समाजसेवी तथा कवि डा. याम बहादुर रोकाकाे कवतिा सङ्ग्रह हो –  “१०८ poems (volume ५)”.

यसमा ‘What Is Worrying Me, The Rolling Memories, Oar Less Boat, Escape, Why Cry for The Year, A Request’ लगायत १०८ कविता समावेश छन्  ।

पछिल्लो कभर पृष्ठमा सुमन पाेखरेल लेख्छन्, “Poet Yam Bahadur Roka is a fine blend of emotions with experiences of a Neurosurgeon and a common man. He creates poetry by melding the feelings together with his distinct tool of word crafting. His poetry is mostly motivated by a desire to reclaim the lost soul of humanity.

‘Wingless Aim’ भन्ने  कविताकाे केही हरफ…

‘Wingless Aim’

Struggling to find their destination,

To cover lies in a new revelation,

Soaring above the foolish actions,

Yet fall crashing far from the relation,

This Wingless aim,

Tries for the first flight of expectation.

पुस्तकलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो । १ सय ५९ पृष्ठमा रहेकाे छ । पुस्तककाे मूल्य ४ सय रुपियाँ रहेकाे छ ।

(१ सय ८ कविताहरू समावेश गरी कुल ८ वटा कविता सङ्ग्रह छन् । )