यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
यसैक्रममा साताका पुस्तकमा योपटक सात पुस्तक । ‘देउदत्त र रानी मुखर्जीहरू’देखि ‘सन्चमान ज्यो ज्यो’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
१. घर फर्किने तिर्खा – विष्णु आचार्य ‘अतृप्त’
विद्युतकर्मी साहित्य समाजद्वार प्रकाशन हुँदै आएको अमरज्योति साहित्यिक त्रैमासिकका कार्यकारी सम्पादक विष्णु आचार्य ‘अतृप्त’को कवितासङ्ग्रह हो, घर फर्किने तिर्खा । आचार्यका कविताहरुको अनुभूतिको प्रबलता पाइन्छ । कविता नरम छन्, यिनले माटोको सामीप्य पाउन खोज्ने प्रतीक्षामा व्याकुल बनेको कविहृदय छताछुल्ल भएर देखिएको छ ।
‘कविताको सिर्जना परिस्थिति, संस्कृति, परिवेश, क्रियाकला प्रतिआवेगहरुको प्रक्रियाबाट भएको हुन्छ ।’, भूमिकामा डा. नेत्र एटम लेख्छन्, ‘विष्णुजीका कविताको केन्द्रमा मान्छेको पीडा छ । त्यो पीडा कतै विस्तार भएको हुन्छ भने कतै खुम्चिएर समाजमा भोगिरहेको वियोग, आशङ्का, त्याग र कुरुपताका कारण डल्लो परेको हुन्छ । जुनै स्थितिमा पनि उनका पात्र नरम छन्, उनीहरुको प्रतिरोध पनि आह्लादक प्रत्युत्तरमात्र हो ।’
पुस्तकलाई नेपाल विद्युत् प्राधिकरण, विद्युतकर्मी सहित्य समाजले प्रकाशनमा ल्याएको छ । १ सय १२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
२. देउदत्त र रानी मुखर्जीहरू – विवश वस्ती
विवश वस्तीको कथासङ्ग्रह हो, देउदत्त र रानी मुखर्जीहरु । वस्तीले आफूभित्रको राजनीतिक चेतनालाई आख्यान कलाको माध्यमबाट व्यक्त गरेका छन् । उनीले कथाहरुमा अनेक प्रशंगहरु कोट्याएर देशको समसामयिक राजनीतिक परिवेशप्रति आफ्नो विमति, आक्रोश र असन्तुष्टि जाहेर गरेका छन् ।
‘… कुनै पनि सभ्य, आधुनिक र विवेकशील समाजका निम्ति विभेद र छुवाछुतजस्ता पाटाहरु अमान्य हुनु पर्ने हो, तर रुकुम नरसंहारजस्ता दृश्य नियाल्न हामी बाध्य भइरहेका छौँ ।’, लेखकीयमा वस्ती लेख्छन्, ‘त्यसका निरीह साक्षी बन्न अभिशप्त छौँ । यो सङ्ग्रहमा दलित–विमर्शमाथि लेखिएका केही कथाहरु समाविष्ट छन् र यो कवितांशले तिनै विभेद र छुवाछुतजन्य व्यवहार भोग्न बाध्य कथित दलित समुदायको व्यथा पस्किएको छ ।’
पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । २ सय ४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय रुपियाँ रहेको छ ।
३. रानीघाट – विश्वराज अधिकारी
लामो समयबाट अमेरिका बस्दै आएका साहित्यकार विश्वराज अधिकारीको कथासङ्ग्रह हो, रानीघाट । कथासङ्ग्रहमा ११ विभिन्न विचारधारा लिएका कथाहरु सङ्ग्रहित छन् । कथाहरुमध्ये केही कथाहरुमा आञ्चलिकता झल्किएका छन् । धेरैजसो कथाहरुले रानीघाट–वीरगन्जदेखि काठमाडौँसम्मको फेरो समातेका छन् ।
‘यस रानीघाट कथासङ्ग्रहका धेरै जसो कथाहरुले लेखकको जन्म र कर्म थलोको सम्झनालाई मुख्य पृष्ठभूमिको स्थानमा लिएका छन् ।’, भूमिकामा गुञ्जन नारी साहित्य संस्था गीता केसरी लेख्छिन्, ‘त्यसैले यी कथाहरु पढ्दै जाँदा रुचिकर लाग्छन् । कतै आफूले सुनेको देखेको जस्तो पनि लाग्छ । आफ्नो जन्मस्थल र नेपाललाई जहाँ पुगे पनि कथाकारकले मनमा सम्झिरहून् ।’
पुस्तकलाई नवप्रज्ञानले प्रकाशनमा ल्याएको हो । १ सय ८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १ सय रुपियाँ रहेको छ ।
४. सन्चमान ज्यो ज्यो – कृष्ण सुब्बा
साहित्यकार कृष्ण सुब्बाको कथासङ्ग्रह हो, सन्चमान ज्यो ज्यो । सुब्बा नेपालमा करिब दुई दशक शरणार्थी भएर बस्दा विभिन्न सामाजिक सङ्घ–संस्थामा आबद्ध भए । विगत एघार वर्षदेखि अमेरिकामा बस्दै आएका उनी पछिल्लो समय साहित्य लेखन तथा समाजसेवामा समेत सक्रिय छन् ।
‘…वनमा नाथे निगुरो र च्याउ टिप्दा तिनले नित्य र निर्घात कुटाइ खाए । आखिरमा अनिश्चय र भय, अपमान र दिग्भ्रम एवम् पीडा र सन्तापका बीचमा तिनले बिरानो दूरदेशबाट अस्तित्वको आधारको आश्वासन पाए ।’ पुस्तकको भूमिकामा खगेन्द्र संग्रौला लेख्छन्, ‘र, लागे, ती मनमा धूमिल आशा र आँखामा बलिन्द्र आँसु लिएर बिरानो दूरदेशको यात्रामा । सघन कथानक, चित्रमय वर्णन र उत्सुकतावद्र्धक नाटकीयताका माध्यमले क्रूर यथार्थको मर्मभेदी अनावरण – बस्, यी हुन् कृष्ण सुब्बाका कथाहरु ।’
पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । १४ वटा कथा सङ्ग्रहित १ सय ६८ पृष्ठमा फैलिएको कृतिको मूल्य ३ सय ९० रुपियाँ रहेको छ ।
५. योग दर्शन र प्राचीन चिकित्सा – योगी आचार्य राजन शर्मा
रोगअनुसार योग, आयुर्वेद र प्राकृतिक चिकित्सासम्बन्धी पुस्तक ‘योग दर्शन र प्राचीन चिकित्सा’ योगी आचार्य राजन शर्माले लेखेका हुन् । पुस्तकले जीवन रुपान्तरण, पूर्ण सफलता, सार्थक र मुक्त जीवनका लागि रोगअनुसारका सिद्धयोग, आयुर्वेद, योगको वैज्ञानिक प्याकेज, पाठ्यक्रम तथा चिकित्सा पद्धतिलगायत विषयवस्तुले विवेचनात्मक रुपमा समेटेको छ ।
‘हर नेपालीको हातहातमा पुग्नुपर्ने यो पुस्तक नेपाललाई योग गुरु र गन्तव्य देशको रुपमा स्थापित गर्ने तागत बोकेको अस्त्र हो ।’, पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ, ‘योगीका लागि वैज्ञानिक साधना पद्धति, रोगीका लागि स्वः उपचार पद्धति, भोगीका लागि मुक्ति विद्या, विद्यार्थीका लागि पाठ्यक्रम, प्रशिक्षकका लागि निर्देशिका, खोजकर्ताका लागि अभिलेख, विश्वमानवका लागि सहिष्णुताको दर्शन र भड्किएका आत्माका लागि दिव्य ज्ञान हो यो पुस्तक … ।’
पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले प्रकाशनमा ल्याएको हो । ३ सय ३८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय १ रुपियाँ रहेको छ ।
६. जीवनका विविध आयाम – रुकु कार्की
रुकु कार्कीको निबन्धसङ्ग्रह हो, जीवनका विविध आयाम । सङ्ग्रहमा सङ्ग्रहित निबन्धहरुमा मुख्यरुपमा रुकु आफ्नै अस्मिताको धुकधुकी छामिरहेकी भेटिन्छिन् । कृतिले समग्रतमा मानव समाजलाई आफूप्रति, समाजप्रति र देशप्रति समर्पित र सचेत रहने सन्देश दिएको छ ।
‘कुनै भक्तले माता मारियाको मूर्ति ढोग्न निहुरेको देख्ता महात्मा गान्धीले त्यस भक्तले भगवतीको मूर्तिमा आफ्नै अन्तरात्माको ज्योतिलाई प्रणाम गरेका ठाने ।’ पुस्तकको भूमिकामा डा. माधवप्रसाद पोखरेल लेख्छन्, ‘रुकु कार्कीले पनि यस सङ्कलनका आफ्ना हरेक निबन्धमा आफ्नै अन्तरात्माको कहिल्यै निभ्न नहुने ज्योतिलाई ढोगिरहेको पाइन्छ ।’
पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । २ सय ४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ९५ रुपियाँ रहेको छ ।
७. मनकाली – विमला अधिकारी देवकोटा
सङ्घर्षशील समयका बाबजुद निरन्तर गीत, कविता र मुक्तक लेख्दै आएकी विमला अधिकारी देवकोटाको उपन्यास हो, मनकाली । उपन्यास महिलाजीवनको सेरोफेरोमा सिर्जित छ । नारी पात्रहरुमार्फत नारीहरुका भावना एवम् अनुभूतिका वास्तविक पत्रहरुजति उघारिँदै जान्छन् ।
‘जीवन बाँच्ने क्रममा जुध्नुपरेका हरेक लडाइँ र हारहरुले अभिव्यक्तिको बाटो खोज्दछन् । भोगाइ उस्तै उस्तै भए पनि अनुभूतिको तह अलग–अलग हुन्छ । त्यही अलगपन नै लेखकको आफ्नो कुरा हो ।’, पुस्तकका बारेमा साहित्यकार कृष्ण धरावासी लेख्छन्, ‘यो उपन्यासमा पनि एक ग्रामीण बालिकाले भोगेका पीडा र सङ्घर्षलाई व्यवस्थापन गरिएको छ । देशभित्रको सामाजिक, आर्थिक, पारिवारिक कठिनाइका कारण वैदेशिक रोजगारीमा जान बाध्य बनेका लाखौँ युवाहरुको सङ्घर्षको बिम्ब हो यो कथा ।’
पुस्तकलाई इन्डिगो इनकले प्रकाशनमा ल्याएको हो । २ सय ५५ पृष्ठमा फैलिएको कृतिको मूल्य ४ सय ४९ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।