‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहिृियक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसैक्रममा ‘साताका पुस्तक’मा यो साता सात पुस्तक । कादम्बिनीको ‘सिन्का पाउँरु’देखि गिरीको ‘पुत्लादहन‘सम्म; पुस्तकको छोटो परिचयसहित ।

===

१. डोल्पो ओ डाल्पो — डा. दामोदर पुडासैनी ‘किशोर’

पटक–पटक मदन पुरस्कारको श्रेष्ठ सूचीमा पर्न सफल नियात्राकार दामोदर पुडासैनी ‘किशोर’को अठारौँ कृति हो — डोल्पो ओ डोल्पो । यसमा लालित्यपूर्ण काव्यात्मक भाषाले रङ्गिएको ‘आकर्षको अन्तध्र्वनि’, ‘गोधूलि कोलाजहरू’देखि लिएर ‘मृत्युको गमलामा फक्रेको फूल’, ‘खोलाहरू छाम्दै हिँडिरहेको घाम’लगायत ३६ थान नियात्राहरु सङ्ग्रहित छन् ।

भूमिकामा योगेश खाती लेख्छन्, “डोल्पोका बहुसांस्कृतिक पक्षका वास्तविकतासँग मितेरी गाँसेर लेखकले त्यहाँको सभ्यताको निखार मात्र ल्याएका छैनन्, डोल्पोलाई धमिलो कुहिरोबाट मुक्त गराएर निर्मल र सबल बनाउने बाटाहरूसमेट इङ्गित गरेका छन् । यसले संसारभरका मान्छेहरूलाई ठुलो सबक र शिक्षा दिन पनि समर्थ छ ।”

“बाटोहीन बाटोमा अघि बढ्दा, बारीका डिल, ड्याङ, कुलेसाहरू र गाउँका कुइनेटाहरूलाई कन्याइ कुरमु¥याइ गर्दा अलजेब्रा, ज्योमेट्री, ब्यारोमिटरस र अल्टिमिटरका नयाँ सूत्र र आयामहरू भेटिन्छन् ।” लेखकीयमा लेखिएको छ, “डोल्पो भेटेपछि प्रेमका सूत्र अघि बढ्यो ऊसँग । डोल्पोबाट फर्केपछि डोल्पोसँग श्वास फेरेको बतास खोजिरहछु मैले ।”

पुस्तकलाई साझा प्रकाशन गृहले बजारमा ल्याएको हो । ३ सय ४४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ७ सय ३० रुपियाँ रहेको छ ।

 

२. सिन्का पाउँरु – शीतल कादम्बिनी

गजलकार तथा कवि शीतल कादम्बिनीको उपन्यास हो, ‘सिन्का पाउँरु’ । उपन्यास गुरुङ समुदायको कथामा आधारित छ । भएकाले विमोचनका लागि तमू ल्होसारको सन्दर्भ पारिएको प्रकाशन संस्था यात्रा पब्लिसिङ हाउसले जनाएको छ । गुरुङ समुदायको पात्रोअनुसार बाघ वर्गमा प्रकाशित १७३ पुस्तकमध्येबाट छानिएर ‘तमू वर्ष पुस्तक पुरस्कार– सन् २०२२’ कादम्बिनीको उपन्यास ‘सिन्का पाउँरु’ले प्राप्त गरिसकेको छ ।

‘सिन्का पाउँरू’ उपन्यासको कथा मौसमीको हात समाएर हिँडिरहन्छ । मौसमीको मन मौसमजस्तै छ, जीवनले भावनाको गोहो पछ्याइरहन्छ । त्यसले पुर्‍याइदिएको बाध्यताको गहिरो दलदलबाट निस्कने प्रयत्नमा मौसमीले गरेको जराको खोज नै कथाको यात्रारेखा हो । हाँगाको फैलावट जति भएपनि त्यसको अस्तित्वको आधार जरा नै हो भन्ने स्मरण गराउँदै कथाले पहिचानलाई जराको बिम्बमा स्थापित गरेको छ ।

कादम्बिनी सुपरिचित गीतकार पनि हुन् । उनका ‘कहाँ थियौं तिमी रङ्गमञ्च उठेपछि आयौ…, धेरैचोटि मरेँ म त धेरैचोटि बाँचेँ…, झुमा झुम्कावाली…लगायतका गीत लोकप्रिय छन् । ‘सिन्का पाउँरू’ उनको पहिलो उपन्यास हो ।

यात्रा पब्लिसिङ हाउसले प्रकाशनमा ल्याएको उपन्यासको मूल्य ४ सय ९९ रूपियाँ रहेको छ ।

 

३. अनमोल पाइला— कुलानन्द

आध्यात्मिक तथा समाज सेवामा रुचि भएका कुलानन्दको दोस्रो कृति हो — “अनमोल पाइला” । यस पुस्तकमा वाक्यात्मक संरचनामा विभिन्न धर्म ग्रन्थका दार्शनिक तथा विभिन्न भनाइहरूका २१२० वाक्यहरु समेटिएको छ ।

“… यसरी आफ्नो अध्ययन, ज्ञान र अनुभवलाई सङ्कलन र प्रकाशन गरेर अरूलाई पनि बाँड्ने र जीवनयात्राका लागि सकारात्मक मार्गनिर्देश गर्ने लेखकीय सोच प्रशंसा गर्न लायक छ ।” डा. देवी नेपाल लेख्छन्, “झट्ट हेर्दा यो कार्य सामान्य जस्तो लागे पनि यहाँ सङ्कलित सामग्रीहरूको गुणात्मक मूल्यलाई हेर्ने हो भने यो कार्य निकै महत्त्वपूर्ण र अनुकरणीय लाग्दछ ।”

पुस्तकलाई लेखक स्यवंले प्रकाशनमा ल्याएका हुन् । ८५ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १ सय ६० रुपियाँ रहेको छ ।

 

४. भ्रष्टाचाहविरुद्धका कविता

हेम–सरिता पाठक फाउन्डेनद्वारा गरिएको भ्रष्टाचारसम्बन्धी कविता प्रतियोगितामा छनोट भएका उत्कृष्ट कविताहरूको सँगालो हो — “भ्रष्टाचारविरुद्धका कविता” । यसमा ‘जूनको उज्यालोमा अडिएको समय’, पर्खाइ, ‘भ्रष्टाचारको बाटो’लगायत २८ थान कविताहरू समावेश छन् ।

‘‘भ्रष्टाचारलाई निर्मूृल पार्दै देशमा सुशासन स्थापना गर्नु, शान्ति र समृद्धितर्फ उन्मुख हुनु नै यस ‘हेम–सरिता पाठक फाउन्डेसन’को उद्देश्य हो ।” प्रकाशकीयमा राधेश्याम लेकाली लेख्छन्, “यस फाउन्डेसनले बानुराका तीन निम्न आय भएका विद्यार्थीहरूलाई प्राथमिक विद्यालयदेखि काठमाडौँमा सम्पूर्ण खर्च बेहोरेर अध्ययन गराइएको मध्ये दुई जनाले ओभरसियर र एकजनाले होटल मेनेजमेन्टको अध्ययन सम्पन्न गरेका छन् ।”

यस पुस्तकलाई हेम–सरिता फाउन्डेसन टेक्सस, अमेरिकाले प्रकाशनमा ल्याएको हो । ८३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य भने उल्लेख गरिएको छैन ।

 

५. पुत्लादहन — दिव्य गिरि

साहित्य लेखनकै क्रममा कथा, लघुकथा तथा मुक्तकको क्षेत्रमा विभिन्न सम्मान तथा पुरस्कारहरु प्राप्त गरिसकेका दिव्य गिरीको दसौँ कृति हो— लघुकथासङ्ग्रह ‘पुत्लादहन’ । यसमा नेपाली समाज, राजनीतिसँग सम्बन्धित १ सय ११ थान लघुकथाहरू सङ्ग्रहित छन् ।

“यस लघुकथामा प्रशासनिक एवम् न्याय क्षेत्रका विकृतिको चर्चाको साथै वैदेशिक रोजगारका समस्या, समाजका हरेक क्षेत्रमा रहेको भ्रष्टाचारको विरोध अनि बन्द हडतालजन्य गतिविधिको आलोचना गरिएको छ ।” भूमिकामा डा. पुष्कराज भट्ट लेख्छन्, “परिवेश र पात्रअनुकूलको भाषाको प्रयोग, संवादात्मक शैलीको प्रयोग, समसामयिक चेतनाको प्रखर चेतका कारण उनका रचना अध्ययनयोग्य छन् ।”

त्यस्तै, प्रा. मोहनराज शर्मा लेख्छन्, “साहित्यमा सत्यलाई पक्रिने दुईवटा बाटा छन्, यौटा सोझो बाटो र अर्को घुमाउरो बाटो । सत्य वा यथार्थसम्म पुग्ने घुमाउरो बाटोलाई नै स्वैरकल्पना भनिन्छ । स्वैरकल्पनामा अयार्थद्वारा यथार्थ प्रकट गरिन्छ र असम्भवलाई सम्भव तुल्याइन्छ । यो घुमाउरो बाटोबाट सत्यसम्म पुग्ने प्रक्रिया हो । र यो स्वैरकल्पना यथार्थको भावभूमिमा अडिएको हुँदा महत्वपूर्ण भएको हो ।”

पुस्तकलाई गिरीवर प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो । १ सय ४३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रहेको छ ।

 

६.स्मारिका — नेपाल–भारत साहित्य महोत्सव

नेपाल–भारत साहित्य महोत्सवको दोस्रो संस्करण हो — “स्मारिका २” । पुस्तकलाई नेपाली र हिन्दी गरी दुई खण्डमा विभाजित गरिएको छ । दुवै खण्डमा उत्कृष्ट साहित्यकारद्वारा रचित कार्यपत्र, लेख, समालोचना, संस्मरण, नियात्रा कवितालगायत विविध विधागत लेखहरू समावेश छन् ।

“साहित्यबाट समाजको यथार्थ मूल्य र मान्यतालाई स्थापित गर्न महोत्सवका माध्यमबाट बहस गराउन सजिलो हुन्छ ।” अध्यक्षको मन्तव्यमा राधेश्याम लेकाली लेख्छन्, “यसपटक पवित्र देवभूमि नेपाल पशुपतिनाथको प्राङ्गणमा महोत्सवको आयोजना गर्न पाउनु खुशीको कुरा हो । यस महोत्सवलाई नेपाल–भारतबीच सेतुको रूपमा हेरिने विश्वास छ ।”

सम्पादकीयमा प्रमोद प्रधान लेख्छन्, “देशको विकासको मापनको अर्को महत्त्वपूर्ण आधार भनेको त्यस देशको साहित्य, सङ्गीत, कला र संस्कृतिको संरक्षण र विकास पनि हो । किनभने यिनै क्षेत्रले देशलाई अन्तरार्ष्ट्रिय स्तरमा चिनाउँछ, र देशलाई एउट गौरवपूर्ण प्रतिष्ठा प्रदान गर्दछ ।”

 

७. माधव पोखरेल (गोज्याङ्ग्रे) का ६ कृति

हाँस्यव्यङ्ग्य लेखक माधव पोखरेलका विभिन्न विधाका ६ थान कृतिहरू एक साथ प्रकाशनमा आएका छन् । कृतिहरुमा ‘सिंहदरवारका नरसिंहहरू’, ‘भ्र्रष्टपति’, ‘भ्रष्टपाल’, ‘अथः नेता देवायै नमः’ गरी ४ थान हाँस्यव्यङ्ग्य निबन्ध सङ्ग्रह, ‘मद्यशाला’ व्यङ्ग्य काव्यसङ्ग्रह र ‘अवगाल’ व्यङ्ग्य कथासङ्ग्रहहरू रहेका छन् ।

‘‘… उता भ्रष्टपाल, भ्रष्टपति हेर्दा गोज्याङ्ग्रे पोखरेलले रेल कुदाए जस्तो कलम दौडाएको देख्दा पिँडालु पार्टीमा स्वागत गर्न बेर हुन्न ।’’ सिंहदरबारका नरसिंहको भूमिकामा राजकुमार पाण्डे लेख्छन्, “घुस खानेलाई छासछुस मात्र हो र च्वास्सचुस्स घोच्नेदेखि टाकुरासम्म सोच्न पुगेपछि उनी जय घुशासन भन्न के बाँकी राख्थे । उनी सात्तो खाने कुरामा नेतालाई कर्के नजरले हेरेर छिर्की हान्न पछि पर्दैनन् । नेताको चल्तिकारा नलेख्ने हाँस्यव्यङ्ग्यकार देखिन्न ।”

पुस्तकलाई पुस्तकहरूलाई नव सिर्जना साहित्यिक त्रैमासिक गृहले प्रकाशनमा ल्याएको हो । सिंहदरबारका नारसिंहहरुको २ सय ५०, भ्रष्टपालको २ सय ५, मद्यशालाको २ सय, अथः नेता देवायै नमःको २ सय ५, भ्रष्टपतिको २ सय ५ र अवगालको २ सय रुपियाँ मूल्य रहेको छ ।