‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

यसैक्रममा ‘साताका पुस्तक’मा यो साता आठ पुस्तक । ‘यादको सन्दुक’देखि ‘हल्लैहल्लाको देश’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

==============

१. यादको सन्दुक – दिपा मेवाहाङ राई

दिपा मेवाहाङ राईको कविताकृति हो, यादको सन्दुक । राईले जीवनको आरोह–अवरोहमा अनुभूत गरेका अनेकौँ चुनौतिहरु, अन्तरमनका द्वन्द्वहरु, आम मानिसलाई आइपर्ने बाधाहरुलाई प्रेमपूर्वक बिम्बमा उतारेकी छिन् । उनका कविताहरु विनम्र र शालीन छन्, र विद्रोही पनि छन् । अप्ठ्याराहरुसँग नभागी सकरात्मकतालाई आत्मसात् गर्न उत्प्रेरित गर्ने उनका कविताहरुले पाठकलाई गतिशील हुन प्रेरित गरेका छन् ।

‘मैले लेखिरहेका कविताहरु भनेका प्रेम, बिछोडका कविता हुन् ।’, आफ्ना कुरामा कवि राई लेख्छिन्, ‘प्रेम–कविता लेख्दालेख्दै कहिलेकाहीँ एक मनले सोच्छु – प्रेम कविताभन्दा त वैचारिक कविता लेख्नुपर्छ । सामाजिक चेतनाको कविता लेख्नुपर्छ । फेरि अर्को मनले सोच्छु – प्रेम पनि त समाजको एक अभिन्न हिस्सा हो । समाज बदल्न प्रेमको पनि त उस्तै अहम् भूमिका रहन्छ । यस्तै यस्तै सोचले फेरि पनि प्रेम कविता नै लेख्न प्रेरित भइरहन्छु । लेख्छु । बस ।’

पुस्तकलाई फिनिक्सि बुक्सले बजारमा ल्याएको हो । १ सय पृष्ठमा फैलिएको हार्ड कभर कृतिको मूल्य ३ सय रुपियाँ रहेको छ ।

 

२. एक सम्बोधन समयमाथि – दीनानाथ शर्मा

दीनानाथ शर्माको नवीनतम निबन्धसङ्ग्रह हो, एक सम्बोधन समयमाथि । यो कृति ०७८ सालको पद्यश्री पुरस्कारका लागि उत्कृष्ट १५ कृतिभित्र छनोट भइसकेको छ । शर्माका सङ्ग्रहित निबन्धमा अतीतप्रतिको गौरव बोध, प्रकृतिप्रतिको तीव्र अनुराग, राजनीतिक जीवनका भोगाइ, अनुभूति र राजनीतिक क्षेत्रमा देखिएका विसङ्गति, पहाडी जीवन, कृषि संस्कृतिलगायत पाउन सकिन्छ ।

‘निबन्धकार शर्माको यो चासो सम्पूर्ण नेपालीहरुको चिन्ता र चासो हो । निबन्धलाई कलात्मक बनाउन उनले ग्राम्यबिम्ब, प्राकृतिक बिम्ब, सांस्कृतिक बिम्ब, मिथकीय बिम्बका साथै लोकबिम्बको पनि प्रश्स्त प्रयोग गरेका छन् ।’, पुस्तकको भूमिकामा प्रा.डा. लक्ष्मणप्रसाद गौतम लेख्छन्, ‘उनको एक सम्बोधन समयमाथिमा सङ्ग्रहित प्रायः सबै निबन्धमा मूलकेन्द्र प्रकृति र प्रकृतिसँग गाँसिएको आफ्नो अतीतबोध, समाज, संस्कृति, राजनीति, वर्तमानका विसङ्गति आदि विषयहरु आएका छन् ।’

पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । १ सय ७२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ९० रुपियाँ रहेको छ ।

 

३. समय – उमाकान्त पोखरेल

उमाकान्त पोखरेलको कवितासङ्ग्रह हो, समय । सङ्ग्रहमा सङ्ग्रहित कविताहरु जीवनका विविध पाटाहरुलाई छुन सफल छन् । पहिलो कविता ‘मन’देखि अन्तिम कविता ‘कोरोना’सम्म विभिन्न शीर्षकको कविताहरुको विषयवस्तुमा विविधता छ । कवितामा केवल समाजमात्र छैन, सुख–दुखका कारण र भावुक मनले ठम्याएका धारणाहरु पनि छन् । जन्म, कर्म र पुण्यको अनुभूतिजन्य विचारहरु प्रस्तुत भएका छन् ।

‘कविताहरुको अध्ययन गर्दा मलाई अनुभूति भयो – कविको ‘समय’ प्रभावशाली रहेको छ ।’, पुस्तकको भूमिकामा ठाकुर शर्मा भण्डारी लेख्छन्, ‘सामाजिक वस्तुस्थिति, घटना, मानवीय प्रवृत्ति, संस्कार आदिको संयोजन सुन्दर रहेको छ । देशप्रतिको माया, समाजप्रतिको उत्तरदायित्व, सम्पूर्ण वस्तुप्रतिको प्रेमले गर्दा समग्र ‘समय’भित्रका कविताहरु सकारात्मक भावनाका प्रतीक बनेका छन् । जीवनको आरोहावरोहको क्रममा कवि स्वयंले देखे भोगेका विषयवस्तुलाई आत्मसात गरी कविताको स्वरुप दिइएको यो कवितासङ्ग्रह पचासवटा थुँगेफूलबाट निमार्ण भएको सुन्दर माला हो ।’

पुस्तकलाई शब्दार्थ प्रकाशनले बजारमा ल्याएको हो । १ सय १५ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।

 

४. सोकेसको ऐना – बोधराज पौडेल

बोधराज पौडेलको नवीनतम निबन्धसङ्ग्रह हो, सोकेसको ऐना । सङ्ग्रहमा ‘स्वार्थी आँखा’, ‘एउटा पुरोनो बिम्ब’, ‘आस्थावान मन’, ‘प्रवेग’, ‘भाग्यमानी बर’, ‘अस्थिरता बोध’लगायत ३२ वटा निबन्धहरु सङ्ग्रहित छन् ।

‘पहाडको भोगाइ, आँखाको दुःख र समयको चाप सबै सहेको हुँ । दुई बीसपछिको जीवन अझै अप्ठ्यारो छ ।’, लेखकीयमा बोधराज पौडेल लेख्छन्, ‘यो सबै बुझेको छु । लेख्ने सनक चढेको बेलामा नै हो लेख्ने पनि । केही राम्रो भए चम्किन सक्छ नत्र त्यो कोइला भएर रहन्छ भन्ने कुरा थाहा छ । यो सत्यलाई नर्कान सकिन्न ।’

पौडेल साहित्यका अलवा पत्रकारितासमेत संलग्न रहेर साप्ताहिक र अनलाइन पत्रिकामा सम्पादकको भूमिका निर्वाह गरिरहेका छन् । कविता, निबन्ध र समालोचना विधामा बढी रुची राखेका पौडेलले गीत, गजल र मुक्तक विधासमेत कलम चलाएका छन् ।

पुस्तकलाई बिएन पुस्तक संसारले प्रकाशनमा ल्याएको हो । १ सय ५९ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।

 

५. अच्छेदन – डिल्लीराम शर्मा आचार्य

डिल्लीराम शर्मा आचार्यको नवीनतम उपन्यास हो, अच्छेदन । उपन्यासमा शर्माले दक्षिण भुटानका नेपालीमाथि राज्यले गरेको दमन, उत्पीडन र शोषणका अनेक रुप र घटनाहरु उद्घाटित भएका छन् । उपन्यासका पात्रहरु भुटानबाट भारत हुँदै नेपाल आइपुगेका छन् । शर्माले उपन्यासमा नेपालमा भुटानी शरणार्थीहरुको निराशाजन्य चित्रण गरेका छन् ।

‘उच्छेदन भुटानले भन्ने गरेको दक्षिणको समस्यामा केन्द्रित छ । दक्षिण भुटान केन्द्रित भए पनि त्यो समस्या राष्ट्रिय समस्या थियो ।’, पुस्तकको भूमिकामा शिवलाल दाहाल लेख्छन्, ‘माटो, स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा आवाज उठाउँदा राज्यको दमनमा परी कसरी त्यहाँका नेपालीभाषी नागरिकले देशबाट उच्छेदित हुनुपर्यो भन्ने कुरा उपन्यासमा पढ्न पाइन्छ । उपन्यासकार स्वयं नै भुटानको निरङ्कुशता र विभेदकारी नीतिको भोक्ता, सन् १९९० को प्रजातान्त्रिक आन्दोलनका साक्षी र उच्छेदनमा परेका पात्र हुन् । त्यसो भएको हुँदा उपन्यासमा आएका घटना र पात्रहरु प्राथमिक अभिलेख हुन् ।’

पुस्तकलाई साहित्य परिषद्, भुटानले प्रकाशनमा ल्याएको हो भने प्रमुख वितरक ओरिएन्टल पब्लिकेसन रहेको छ । २ सय ८४ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।

 

६. नेपालमण्डलका सांस्कृतिक सम्पदाहरु – प्रकाश दर्नाल

‘नेपालमण्डलका सांस्कृतिक सम्पदाहरु’ प्रकाश दर्नालको ऐतिहासिक तथा पुरातत्त्विक महत्त्वको अनुसन्धानमूलक कृति हो । दर्नालले पुस्तकमा नेपाली साङ्गीतिक पृष्ठभूमिका पञ्चैबाजा, दमाई जातिको सामाजिक तथा धार्मिक प्रथा, नाला (उग्रचण्डी) भगवती मन्दिर, दोलखाधिपति भीमेश्वर, सांस्कृतिक दृष्टिले समृद्ध नगरः दोलखा, टोखास्थित चण्डेश्वरी क्षेत्रलगायत शीर्षकमा ऐतिहासिक तथा पुरातात्त्विक जानकारीहरु प्रस्तुत गरेका छन् ।

‘नेपाली मूर्तिकला (हिन्दु र बौद्ध), नेपाली वास्तुकला (हिन्दु र बौद्ध) र नेपालको धार्मिक इतिहास, परम्परा र विश्वासलाई बडो रोचक ढङ्गबाट केलाएर, अध्ययन, अनुसन्धान गरेर उहाँले विविध लेखहरुको मालालाई जोडी एउटा पुष्प गुच्छाझैँ यो पुस्तक प्रकाशित गर्नुभएको छ ।’, पुस्तकको भूमिकामा डा. साफल्य अमात्य लेख्छन्, ‘उपत्यकाका तीन शहर र कीर्तिपुरसमेतका धेरै पुरातात्त्विक एवं ऐतिहासिक कुराहरु प्रकाशमा आइसकेको भए तापनि उपत्यका वरिपरिका दोलखा, चित्लाङ, नाला, चौकोट आदि जिल्ला तथा शरहहरुको पुरातात्त्विक अध्ययनहरु पनि धेरै भैसके तापनि यसरी एकै ठाउँमा ग्रन्थाकारमा उहाँले प्रस्तुत गर्नुभएको ज्यादै रोचक लाग्यो ।’

पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो । २ सय ४८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ९० रुपियाँ रहेको छ ।

 

७. चिताको आगो साँच्चै तातो हुँदोरहेछ – रमेश गौतम

रमेश गौतमको नवीनतम कवितासङ्ग्रह हो, चिताको आगो साँच्चै तातो हुँदो रहेछ । सघन बिम्ब र सुन्दर उक्ति–पद्धतिमा निर्मित गौतमका कविता परिष्कारपूर्ण र कलात्मक छन् । छोटा वाक्यविन्यासमा सिर्जित उनका कविता सतहमा भावनात्मक र अनुभूतिजन्य जस्तो लाग्न सक्छ, तर जीवनका वैयक्तिक सन्दर्भलाई सार्वभौम दृष्टि प्रदान गर्नु र मूर्त विषयलाई अमूर्तताको कलेवरमा सम्प्रेषित गर्नु उनको काव्यिक विशेषता रहेको देखिन्छ ।

‘श्री रमेश गौतम भयङ्कर अन्धकारमा पनि साहित्यको दीप बालेर आफ्नो स्थिति देखाउने एक जाति चिन्तक हुन् ।’, पुस्तकको भूमिकामा प्रा.डा. गोविन्दराज भट्टराई लेख्छन्, ‘प्रस्तुत सङ्ग्रहका रचना पढ्दा त्यो दियो आज राँकामा परिणत भएको देखिन्छ । एक ‘भूगोलहीन अस्तित्व पीडाको’ निरीक्षण गर्दै उनी चाम्लिमिथाङ र सुनकोशसम्म पुग्छन् । वर्तमान कालमा अपरिचयविरुद्ध उभिएका विश्वयोद्धाको नाम पुकार्दै सिसिफस चढेको भीरका टुप्पाबाट निहाल्छन् तर यहाँ ‘देश बनिदिन सक्ने’ कोही छैन ।’

कृतिलाई साहित्य परिषद् भुटानले प्रकाशनमा ल्याएको हो । १ सय ९९ पृष्ठमा फैलिएको कविताकृतिको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।

 

८. हल्लैहल्लाको देश – विनोद नेपाल

विनोद नेपालको नवीनतम कविताकृति हो, हल्लैहल्लाको देश । विनोदका कविताहरु सरल छन्, तर कविताहरुले दिन झंकार भने गम्भीर लाग्छन् । मुख्यतः उनका कविताका विषयवस्तु समाजमा देखिएका विकृति र विसङ्गति, देशमा मौलाउँदै गएको अव्यवस्था र अराजकता हुन् । छोटा आयतनका सङ्ग्रहित कविताहरु तीखो व्यङ्ग्य चेतका कारण चोटिला बनेका छन् ।

‘संवेदनाहीन व्यक्ति सर्जक हुन सक्दैन । जब कुनै कुराले छुन्छ तब व्यक्ति लेखक–सर्जकमा परिणत हुन्छ ।’, लेखकीयमा नेपाल लेख्छन्, ‘सर्जक समाज र समाजिक परिवेश लेख्छ र समय बोल्छ । यसैले ऊ बेलाबखत अराजक पनि बन्न सक्छ । शैली आ–आफ्नो हुन्छ, तर हरेक सर्जकले देखेभोगेका कुरा र अनुभूति यथार्थ अनि सम्भावनाहरुलाई आफ्नै ढङ्गमा अक्षरहरुमा उन्छ, अक्षरहरुको माला बनाउँछ । मेरो सर्जकले पनि आफ्नो हरेक लेखनमा सोही प्रयत्न गर्ने गरेको छ ।’

पुस्तकलाई भूगोल साहित्य समाजले प्रकाशनमा ल्याएको हो । ७१ पृष्ठमा फैलिएको कविताकृतिको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।