विश्वको सबैभन्दा अग्लो हिमशिखरको मान्छे भनेर आफैले आफैलाई चिनाउँदा अनुहार उज्यालो भए पनि मुटुमा च्वास्स बिझाउँछ । मेरो अन्तर हृदयको देवता मेरो सामु प्रकट हुन्छ र एक झप्पु गालामा हान्छ । रातो र तातो गाला मुसारिरहेको म ।
भुनभुनिंदै देव गाली गर्छ, “थुक्क पाजी । अहिलेसम्म सगरमाथा नै नदेखेको मान्छेको यत्रो फुर्ती ?”
जिरीको प्राविधिक शिक्षालयको निर्माण गरेका इन्जिनियर आमोस भेनाले नाम्चे बजारका कथा सुनाउँदा मेरो अन्तस्करणले धेरै पटक थप्पड हान्यो । आमोस भेना ८० नाघे पनि हरेक वर्ष काठमाडौंमा रहेको आफ्नो घर जान्छन्, केशरी दिदीसँगै । सकेसम्म ससुराली गाउँमा दशैंको टीको थाप्न पुग्छन् । स्वीसमा जन्मेर जिरी ससुराली बनाएर हाम्रा हिमाल, पहाड सबै घुमिसकेका आमुस भेनासँग स्विजरल्याण्डका अग्ला हिमालचुली जहाँ म पुग्नसकूँ ? केही उपाय छ नि भनिसोध्दा म जस्तो पहाडे नेपाली जाने तीन हजार मिटरको स्विस हिम चुचुरो फेला पर्यो ।
लाग्यो आफैलाई, हामीले हाम्रा हिमाल भनेर गर्व गर्छौं । जबकि बेसक्याम्प सम्म पुग्दैनौं । त्यो हाम्रो कसरी भयो ? यसो मनमा कुरो खेल्छ, एडमण्ड हिलारी कहाँबाट आएर नोर्गेलाई साथी बनाएर सगरमाथा चढे । हामी बुद्धू नै भयौं । हिमाल छ तर हिमाल चढ्ने सीप स्कूलले सिकाउन्न । पाठ्यक्रममै छैन । प्रकृतिले दिएको उपहार पनि उपयोग गर्न नसकेर हामी बेकम्मा साबित भएका छौं । विदेशीहरूले त्यसै भनेका होइनन्, नेपालीहरू सुनको कचौरा थापेर माग्न बसेका छन् ।
अब अरूलाई मात्र दोष दिएर हुन्न । आफैंबाट शुरू गर्नुपर्छ सकेको गर्न । मलाई कसैले रोकेको त थिएन । त्यस्ता स्कूल अब हामी आफै खोल्नुपर्छ । पाठ्यक्रम हामीले बदल्नुपर्छ । नयाँ सोच भएको मानिसलाई नियम बनाउने ठाउँमा पुर्याउनुपर्छ ।
आफैलाई सोधें, ‘बूढेस लागेको संकेत त होइन कतै ?’
११ अगस्त २०२२ । बिहानको साढे सात । जीवनमा आइलाग्ने साढे सातको भयमा सगरमाथाको मुलुक छोडेर हिंडेको म हिमालको टुप्पोमा पुग्न जेनेभाबाट रेलको यात्रा गर्दैछु । हिंड्ने भनेपछि रातिमा पनि झुसुकझुसुक ब्युँझिने संकटबाट म ग्रस्त मानिस । पाँचै बजे नीदले छाड्यो । मनमा उत्सुकताको हुण्डरी छ ।
सुविधाले मानिसलाई सहज त भयो तर मानिसमा आत्मीयता हरायो । त्रिशूली तरेर नाके उकालोमा चैत मासको काफल खाँदै मनकामना माताको दर्शन गर्न साथी कुलप्रसाद घिमिरे, सन्तोष अर्याल, पदम पौड्यालसँग गएको झलझली आइरहेको छ । समयले अगाडी नै धकेल्ने रहेछ । छोडिएका सम्झनाहरू कति मिठा । हिजोआज केवल कारले सुलुत्तै पुर्याउँछ मनकामना तर त्रिशूलीमा बयली खेल्न कहाँ पाउनु ? काठका ठेकी, मदानी, हर्पे बनाउने चुंदाराहरूसँग गफिन कहाँ पाउनु ? एकैछिनको यात्राको बिजुली डब्बामा पनि मोबाइलमा घोप्टिने जुग पो आयो अहिले ।
टोह्लाएको देखेर रेनु सोध्छिन्, ‘के भो ?’
म भन्छु, ‘केही होइन ।’
केही होइनमा सबैथोक छ भन्ने उनलाई थाहा छ ।
म वारी स्विजरल्याण्ड र पारी फ्रान्सका गाउँहरू हेर्दै रेलको यात्रामा छु । मानिसहरू आफ्नै धुनमा छन् । एउटी महिला दुइटा बच्चा लिएर रेलभित्र पसिन् न्योन शहरबाट । जुम्ल्याहा देखिने केटाहरू ३-४ वर्षका हुँदा हुन् । एउटाको कपाल कालो अर्काको सेतो ।
म भन्दा अघिल्लो सीटमा बसे । केटाहरू जिस्किए मसँग पनि । यता केटाकेटीसँग अपिरिचित मानिसको बोलचाल त्यति सहज मानिन्न । केटाहरू दाजुभाइ रहेछन्, जुम्ल्याहा होइन रहेछन् । काले केटाले गोरेलाई देखायो, त्यो मेरो दाइ हो । उसको बालाई भेट्न जान लागेको । मेरो बा जेनेभा बस्छन् । यसको बा मोन्थ्रो । बालसुलभ लयमा उनीहरू जिस्किएको देखेर आमा पनि मुस्कुराई ।
हाम्रो गफ सुनेर छेउमा ल्यापटपमा आफ्नो काम गरिरहेका पातलो काठीका अर्का सज्जन महिलातिर हेर्दै मुस्कुराए । र, भने, ‘बोंजू’ अर्थात् नमस्ते । उनीहरू गफिन थाले तर बडो बिस्तारै । सज्जनको छेउमा मोटे चाइनिज मस्त घुरिरहेको थियो । अप्ठ्यारो भए यतै आउनुस् भनेपछि ती सज्जन पनि महिलाको निकट आएर गफिन थाले ।
७३ किलोमिटरमा तन्किएको जेनेभा तालको छेवै छेउ रेल कुदिरहेको छ । पुग्नुपर्ने चुचुरो जेनेभाबाट १३३ किलोमिटर,ज्युरिखबाट २०५ किलोमिटरको दूरीमा रहे पनि पर्यटकलाई रमाइलो होस् भने यात्रामा बस, छुकछुके, रेलको रोमाञ्चक यात्राको बन्दोबस्त मिलाएको छ ।

लयबद्ध उडिरहेका हाँस, बडो चिन्तन मननमा लागे झैं एउटो खुम्च्याएर उभिएका सेता बकुल्लाहरू, नानाभांती चराहरूका स्वछन्द आवेग हेर्दै छु म । निजी डुङ्गामा घुमिरहेका परिवार, समूह लिएर तालमा विहार गर्ने ठूला जहाजहरू यो गर्मी मौसमको आनन्द लिइरहेका छन् । वर्षमा छोटो समय झुल्किने यो न्यानो ठण्डीले बढारेपछि उदास र उराठ मौसम आउँछ । यता गर्मीको आफ्नै महत्त्व छ यस बखत ।
मोंथ्रो काटेर एग्ल गाउँमा आइपुगेपछि छुकछुके जस्ता देखिने पहाडको छोटो रेल चढें । इत्रुका डब्बा । ससाना । ज्युरिख जाने रेलबाट पहाड जाने अरू पनि रहेछन् । एक घण्टा जतिको यो उकालोमा बिस्तारै हिंड्ने यो छुकछुके जस्तो मोनो रेल । अंगुर खेती । हरिया वन जङ्गल । बारीका ठूला पाटामा हारी मिलाएर छरेको मकै खेती । नागबेली परेको बाटो । वलिम्तै घेरिएका हरिया अग्ला चट्टाने पहाडहरू ।
पहाडमा बेग्ला बेग्लै बनाएका स साना घरहरू । धेरैका घरका धुरीमा फहराइरहेको राष्ट्रिय झण्डा । सबैको घर जोड्ने बाटो । ठूल्ठूला पहाड छेडेर बनेका सुरुङ्ग । छोटो दूरी र लामो दूरीको लागि छुट्याएका बाटा । यसो सोंचें, सबैभन्दा पहिला बाटो नै पुग्नु पर्ने रहेछ । हामी सानै छँदा डोरनाथ नेउपाने, देवेन्द्रराज पाण्डेहरू गाउँ पुगेर बाटाका कुरा गर्थे । हाम्रो गाउँ नाघेर अर्को मगर गाउँको विकासमा गैर सरकारी संस्था खोलेर काम गरिरहेका थिए उनीहरू । बाटोले विकास ल्याउँछ भन्थे । हाम्रा सरहरूले बोलाउँथे स्कूलमा उनीहरूलाई । व्यवस्थित चरन, चरनमा चरिरहेका भेंडा, घोंडा, गाईहरूको बथान देख्दा लायो – हाम्रा पहाड पनि के कम छन् र ? हामी यता छौं, चरनमा बाँदर नाचेका छन् ।
फेरि पनि म भन्छु, ‘शुरू आफैबाट गर्ने हो ।’
भर्खर विवाह गरे जस्ता देखिने एकजोर भारतीय अगाडी सिटमा जिस्किंदै थिए । पहाडको प्राकृतिक छटामा रमाउंदै नव यौवनाको कपाल मुसार्दै आफ्नै लयमा उनीहरू विचरण गरिरहेका थिए ।
‘घोरल, घोरल,’ रेनुले चिच्याइन् । घुम्टेमा घाम तापिरहेको घोरलका जोडी एकैछिनमा जङ्गल पसे ।
एग्ल (फ्रान्सेली भाषामा बाज)को फेदीबाट ले दियाब्ल रेको डाँडोमा पुगेपछि अब फेरि हिमशिखरको फेदीमा पुग्न लगभग आधा घण्टा बसको यात्रा गर्नुपर्नेछ । रेल अड्डामा टिकट काट्दा सबैको भाडा एकैचोटि काटिएको हुनाले बीच बिचमा झन्झट छैन । टिकट देखाऊ भनेर झन्झट गर्ने पनि कोही छैन । यात्रुहरू शान्त छन् ।
त्यसो त रोपवेको फेदीमा विभिन्न भेगबाट बाटोहरू जोडिएका छन् । पहाड घुम्दै, जङ्गलमा विचरण गर्दै आफ्ना सवारी साधन लिएर जाने, पैदल यात्रा गर्ने पनि प्रशस्तै भेटिए । ज्युरिख, बर्न, इन्टरलाकेनबाट ट्याक्सी लिएर गएका गुथुलगुथुल ज्यान भएका महँगो पहिरनवाला अरबिक महिलाहरूको हुलै देखियो । ज्यानैभरी सुन, परैसम्म हरर हुने अत्तरको वासना, तर धेरै जसो बुर्काभित्र ।
रेनुकालाई जिस्क्याएँ, ‘त्यस्तै गहना लाउने मन हुँदो हो नेपालीको पनि ? ’
उनले भनिन्, ‘धर्मको आडमा लोग्ने मान्छेले जति पनि बिहा गर्न पाउने । महिलाहरू कालो बुर्कामा अनुहार समेत छोपेर हिंड्नुपर्ने । स्वतन्त्रता हरण हुन दिएर सुनमा पुरिन भन्दा खुला बुचै ठीक ।’
गृष्मका सूर्यनारायण चरक्क छन् । अब लाग्नु छ रोपवे बाट उकालो । यो टाकुरो स्विजरल्याण्डको भू कान्तोनमा पर्छ । भू कान्तोन कृषि, पशुपालन र पर्यटनको लागि चर्चित छ । अग्ला डाँडामा गाईगोठ, पशुपालनको लागि चरनहरू, ब्याँसीमा तरकारी खेती । तर्पाएँ तर्पाएँ भिरालाहरूमा अंगुर खेती । अनि त्यहाँको अंगुरबाट बनेको रक्सी संसारभरी चर्चित छ । फिल कोलिन, पिटर उत्सिनोभ, मिखाएल सुमाखर जस्ता चर्चितहरू पनि घर किनेर बसेका कुरा अखबारहरूमा पढ्न पाइन्छ । मोंथ्रो शहर आफैमा कला, संगीत र साहित्यका कार्यक्रमका लागि संसारभरी चर्चित छ । जेनेभा तालको छेउमा रहेको यहाँको बस्ती आफैमा सुन्दर र रमणीय छ ।

हामी ३ हजार मिटरको चुचुरो पुग्न रोप वेमा चढ्यौं । २००५ देखि व्यवस्थित रूपमा चल्न थालेको यो रोपवेको अवधारणा भने ६५ वर्ष अघि ल्याइएको रहेछ । बीचमा थुम्कोमा रोकिएर अर्को नाके उकालोमा बनाइएको रोपवेमा पुगियो चुचुरोमै । झोलामा बाक्ला कपडा नहालेको भए बर्बादै हुने । मुटु कमाउने जाडो ।
जसै जमीन छोडियो, उसै धर्ती झन् रमणीय लाग्न थाल्यो । तलबाट अग्ला देखिएका डाँडा पनि होचा देखिन थाले । एइगर, मोंच, जन्ग्फ्राउ जस्ता स्वीसका अग्ला हिमालका टाकुरा पनि देखिए । पर मधुरो मधुरो देखिएको फ्रान्सको हिमशिखर मो ब्लों (स्वेत हिमाल) यहि हो भनेर बताउँदै थिए एक जना दोभासे ।
पारी दुइटा हिमालको बीचमा हिमताल देखियो । हरिया चरनहरू र व्यवस्थित गाईगोठले झन् पहाडलाई सुन्दर बनाइरहेको थियो । अग्लिन त रमाइलो पो हुने रहेछ । शायद यही मनोविज्ञानले होला, अग्लिएका मानिसहरू ओर्लन नमान्ने । आफूलाई अर्कै धातुले बनेको ठान्ने । चुचुरोमा पुगेपछि झर्नपर्छ भन्ने भुलियो भने त्यो महँगो साबित पनि हुनसक्छ । जो समयमै उक्लिन र ओर्लन जान्दछ, शायद उसको जीवनमा संकट कमै आइलाग्दो हो ।
टाकुरामा न्यानो कोठा सहितका रेस्टुरेन्ट, कफी दुकान, पाहुर किन्न पाइने पसल छन् ।
ठूलो फाकट चाक्लो सम्याएर हिउँमा हिड्न, स्केटिंग खेल्न मिल्ने बनाइएको छ । विद्युतीय झुलनहरू छन् । छिटो कुद्ने र केटाकेटी रमाउने रमाइला पार्कहरू छन् ।
तीन हजार मिटर माथि छ दुई चुचुरा जोडेर बनाइएको पुल । त्यो पुलको पल्लो चुचुरोमा छ चारै तिरको मनोरम दृश्य । साह्रै डरलाग्दो पो हुने रहेछ यो पुलको यात्रा । कल्पना गर्नोस् त त्यतिमाथि हावा चल्दा हल्लिने पुल । तल हेर्दा छ्वाङ्ग । नौनाडी गले गाँठे । तल खसियो भने हाडखोर पनि भेटिन्न ।
चट्टाने पहाडको टुप्पोमा फहराइरहेको छ स्विसको झण्डा । चारैतिर देखिन्छ बान्की परेका हिमशिखरहरू । हेर्दाहेर्दै तीन हजारमाथि पनि प्याराग्लाइडिङ उडाए मानिसहरूले । एक दुई गर्दै एक दर्जन रंगीबिरंगी प्याराग्लाइडिङ उडे । मान्छे झोलामा उड्ने कुरा बोकेर आकाश आकाश उड्ने भयो । मान्छेको भय हरायो । प्रकृतिका हरेक बूँद बूँदमा पुग्ने भयो मान्छे । नीलो आकाशका सेता धर्का नाघेर हराए पाराग्लाइडिङहरू ।
फर्कंदा पुल हल्लियो । सातो गयो नराम्रोसंग ।
पुलको मुखमै फोनमा नेपाली बोलिरहेका तन्नेरी भेट्यौं । नेपालबाट टोली लिएर घुम्न आएका रहेछन् । गफिन थाल्यौं, एउटी गोरी महिलाले बोलाइन् उनलाई । साथी हुँदा हुन् । नव परिचित मित्रलाई ती महिलाले म्वाइ खान थालेपछि हामी उनलाई त्यही छोडेर ओरालो लाग्यौं ।
अगाडी कैलाश पर्वत जस्तो देखिने हिम शिखर हेरेर बस्यौं हामी ।
तपतप पग्लिरहेको हिउँको थुप्रो । अनि स सानो कुलेसो हुँदै बेसीतिर बगेको ठण्डी पानी । फर्कंदा ले दियाब्ल रे बेसीमा बूँद बूँद जम्मा भएर बगेको खोलो नै भेटियो । अलि तल पुग्दा त नदी नै भएको रहेछ । लेमन तालमा मिसिन आइपुग्ने बाह्रैमास बग्ने यी हिम नदीको किनारमा बनेका काठका घरहरू जाडो मौसममा आउने पर्यटनका मुख्य आकर्षण पो रहेछन् ।
बेसीको गाउँमा झरेर हामीले त्यहाँका कलात्मक घरहरू, बरन्डामा ढकमक्क फुलेका फूलहरू हेर्यौं । बेसींबाट हिमाल झन् अग्ला पो देखिए । बेलुकी घर आइपुग्दा बेलुकीको ८ बजेको थियो ।
दुई रातसम्म दुवैलाई माथिको पुलमा गएको सातोले छोडेन । सपनामा कसैले खुट्टो तानेको, आकाशमा उडेको, चितुवाले लखेटेको देखियो ।
जाबो तीन हजार मीटर माथि पुग्दा त यस्तो अनुभूति हुन्छ भने हाम्रा अग्ला हिमशिखरको टाकुरामा पुग्दा कस्तो होला ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
नियात्रा : अस्ट्रेलिया–न्यूजिल्याण्डको यात्रा र प्रिन्सेस क्रुजको सानो विश्व (३)
१३ कार्तिक २०८२, बिहीबार 








