“फेवातालमा माछापुच्छ्रे चम्किए झैं पानीभित्र चम्किने शहर कुन होला ?”

मोहन सरसँग हल्याण्डको यात्रा गर्दा पानीमा तैरिइरहेको शहरको नाम ‘आम्स्टर्डम’ भनेर जानेको थिएँ । हो आम्स्टर्डम संसारकै यस्तो शहर हो जो पानीभित्र छ । पानीभित्र तैरिएर आफ्नै प्रकाशले जग्मगाएको छ । पानीभित्रै बाटो खनिएर सबैको घर घरसम्म पानीबाटो पुगेको छ । पानीभित्रै रूखहरू हावाले हल्लिएझैं देखिन्छ । पानीकै तरंगले घरहरू हल्लिँदा लाग्छ पानी भित्रको शहरमा ठूलै भूकम्प आएको छ । पानीभित्र मोटरबाटो, बगैंचा र फूलहरुको ढकमक्क, जगमग र अद्वितीय शहर ! हेर्नेले के हेर्छन् खै, आम्स्टर्डमका गल्लीभित्र छिरेर, हामीले मनभित्र सजाएको शहरको लौकिक चित्र त्यही थियो/हो ।

जुन सोह्र तारिक अमेरिकाबाट आउनुभएका मुक्तकमणि आदरणीय तिर्थ अधिकारी र उहाँको धर्मपत्नी सीता अधिकारी, लेखककी पत्नी तारासँग आम्स्टर्डम भ्रमण गर्ने अर्को साइत जुरेको छ । दैनिक चलिरहने पानीजहाज र डुङ्गाबाट निशृत फोहर,जमेको पानीमा निस्कने लेउ र वर्षाको पानीले बगाएको शहरको फोहरबाट आम्स्टर्डमका क्यानलहर बुढेसकालका आँखा जस्तै धमिला भएका छन् । हामी बेल्जियमको आन्थ्रोपेनबाट आम्स्टर्डम पुगेर क्यानलको डिलमा उभिंदै शहरको चित्र पानीभित्र खोजिरहेका छौं ।

जुन १६, २०२४ दिनको मौसम, क्यानलको पानीजस्तै घुर्मैलो भए पनि नराम्रो भन्न मिल्दैन । समुद्रको बिट(छेउ) भएकोले ‘घाम पानी सेलको बिहे’ भने जस्तै घाम र झरीको लागि आम्स्टर्डममा मौसमले कसैको आदेश कुरेर बस्दैन ।

‘हैन डिल्ली बाबु, म त काँक्राका चिरा काटेर थालमा सजाए जस्तो चिरैचिरामा विभक्त गल्लीमध्ये पहिलेको पानीचित्र हेर्दैमा विचित्रताले रन्थनिएँ ।’

तिर्थ काकाको कुरोले म पनि चकमन्न भएँ । तारा र सीता काकी आफ्नै ताल र रसमा गफ गरिरहेका थिए भने तिर्थ काका र म आफ्नै सुरमा ।

 

‘काका यो शहरभित्र यस्ता नब्बे वटा टापु जस्ता चिराहरू छन् । गल्लीहरू पानीमाथि तैरेको जस्तै देखिन्छ । यसको जमिन समुद्रको सतह भन्दा छ मिटर होचो छ । त्यसैले यसलाई पानी मुनिको शहर भनेको ।’ मैले काकालाई यी गल्लीहरूको ऐतिहासिकता, त्यसमाथि बनाइएका करीब तेह्र सय जति पुल र फड्के, मेट्रो प्रणाली घरघरमा पुग्ने डुङ्गाबारे पनि बताएँ ।

‘हैन बाबु, अब गल्लीहरूको यात्रा गर्न बसको टिकट लिनुपर्‍यो ।’ तिर्थ काकाको इच्छा पूरा गर्न हामी बस चल्ने रुटको ओपन काउन्टरतिर हिँड्यौं ।

‘बाबु, हिंड्ने पुल अहा !’ हिड्दाहिंड्दै सीता काकीको आवाज फुस्कियो । सीता काकीको बोधका लागि हामीले हिंड्ने पुलमा पाइला राख्यौँ । पानीजहाज जस्तो पानीमा तैरिएर चल्ने पुलमा साइकल, साना सवारी साधन र मानिसहरूको हूल पस्यो । अनि पुल खुरुरुरु समुद्रको भँगाला पारि पुग्यो ।

‘भो ! पाँच बज्यो, अबेला हुन्छ, फर्कौं र बसको टिकट काटौं ।’ तिर्थ काकाले समयको गतिलाई बुझ्दै अत्त्याउनु भयो । हामी पानीमा हिंड्ने पुल चढेरै वारि आयौँ र बसको टिकट काट्यौं ।

केही बेरमा दुई तल्ले गुलाबी टुरिस्ट बस आयो । सजावटले बस यति चिटिक्कको पारिएको थियो कि भित्र पसेपछि मैले क्याथेरिन म्यानस्फिल्डको डोली हाउस भन्ने कथा सम्झें । टिकट काट्ने दुई जना केटाले हामीलाई बसमा चढाए । हामी दुई तले बसको छतमा बसेर शहरको रमिता हेर्न कस्सियौं ।

करीब छ बजेसम्म हामी निदरल्याण्डको राजधानी शहरको पुतला हेरेर मन भरायौं । हामी क्रमशः भ्यान गग संग्रहालय, रेक्स म्युजियम, आने फ्रेंक हाउस, समुद्रलाई रोक्ने नहर ड्याम आदि शहरका सबैभन्दा प्रतिष्ठित आकर्षणहरूको पान गर्दै अगाडी बढिरह्यौँ । प्रत्येक स्थल र दृश्यहरूको आफ्नै इतिहास छ । एम्स्टर्डम शहर निर्माणको वास्तुकला आफैमा एक अनुपम आकर्षण हो । समुद्रको पानी रोक्ने ड्याम र सडकहरूको संयोजनले जो कोहीको मनभित्र गहिरो शान्ति र सुन्दरताको पान गराउँछ । यहाँ नहर बेल्ट क्षेत्रभित्रका गल्लीहरूको अन्वेषण गर्नु भनेको जीवित बगैंचामा हिंड्नु जस्तै हो ।

बाहिरको चित्रमा मन नभरिनेहरूले पानीको रंगमा शहरको रौनक मिसाएर कल्पनामा भावना पोख्छन् । आफ्नो चित्र पानीभित्र बाट उठाएर सिङ्गो शहरभरि आफूलाई कैद गर्दछन् ।

वासना पोख्न आएकाहरू पुतली बजारका सीसाभित्र सजिएका पुतलाहरू हेर्दै मुस्कुराउँछन् । आफ्नो रुचि अनुसारका पुतलाहरूसँग वासनाको पराग टक्टक्याउन भित्र छिर्छन् र घारबाट रित्तिएर बाहिर निस्कँदै गरेको कर्मी माहुरीझैँ अर्को गन्तव्यतिर सोझिन्छन् ।

लाग्छ, आम्स्टर्डम शहर दुःख बसाउनेहरूको सामूहिक चौतारो हो । यो तन बिग्रेका साहित्यकारहरू आएर कविता वा नियात्रा कोर्ने, वासनाको भोकले रन्थनिएकाहरू आई शहर भरिको कस्तुरी निमेष भरमा शरीरभरि फिंजारी लट्ठिने, लत लागेकाहरू क्याफेभित्र पसी मनग्य नशाको बिँडी बाटी धूँवा तानेर सन्तुष्ट हुने र चित्रकारहरू इतिहासमा आँखाको सहाराले कोरेको कलालाई पानीभित्र सजाएर सुन्दरता फुलाउने शहर हो यो । यहाँ जे छ, त्यसभित्र आफू पूर्ण छ । पानीभित्र टुलिप फूल मात्र कहाँ हो र शहरका सबै हरियाली एकैसाथ झुल्दछन् । संसारमा यस्तो बिरलै देख्न पाइन्छ ।

साइकल यात्रीहरूको संसारकै राजधानी हो यो शहर । हामी चार प्राणी एकै स्थानमा उभिएर पानीभित्र शहरको चित्र बनाउँदै छौँ । तर भावनामा हामीसँगै छैनौँ । एउटा आकाशमा तिर्थ काका, अर्को उचाइमा सीता काकी र म कता हो कता पानीमुनिको पातालमा । आफ्नो बुझाइ अनुसार शहरको दृश्य फरकफरक छ ।

बिहेमा दुलहीको उज्यालो अनुहार हेर्ने भीड जम्मा भए झैं बोक्रो दृश्य मात्रै हेर्न जानेको लागि पनि एम्स्टर्डम शहर सुनको किस्तीमा सजाएको फूलजस्तो लाग्छ । पानीमाथि ड्याम उठाएर बनाएका अजङ्गका घर र  समुद्रको लहर जस्तै क्रमशः निर्माण विधिको क्रम । निरन्तर यस्तैयस्तै, अन्तिम ड्याम अर्थात् नब्बेऔँ टापुसम्म यस्तै; ढोकाढोका सम्म पानीमाथि मोटरबोट पुग्ने बाटो ! हिंड्ने फड्के, हिंड्ने पुल र पानीभित्र हल्लिने शहरको साथै तैरिइरहेको हरियाली !

‘यो शहर चित्रकार र साहित्यकार जस्ता भित्री आँखा भएकाहरूलाई मात्र हो रहेछ बाबु !’ तिर्थ काकाले आम्स्टर्डम शहरको मर्म बुझेरै फर्कने बेलामा यसो भन्नु भएको थियो ।

‘काका यहाँ अर्को एक घुम्ने ठाउँ पनि थियो । भावना भर्न मिल्ने ठाउँ प्राय घुमियो तर मेनकामा विश्वामित्र पोखिए झैँ वासनामा पोखिने ठाउँ पनि छ नि यहाँ । त्यसलाई नेपालीहरूले पुतली बजार भन्दछन् भने रैथाने गोरेहरूले रोजे बूर्त (rosse buurt in Amsterdam) भन्दछन् ।’

‘ए होर !’ काकाले सुस्तरी भन्नुभयो ।

घुमेका र छुटेका सबै स्थानको समीक्षा गर्दै हामी काका भतिज ट्रेनमा खुबै गफियौं ।

‘बाबु, आम्स्टर्डम घुमेको राम्रो नियात्रा लेख्नु है ।’ तिर्थ काकाले मलाई ट्रेनमा फर्कंदै गर्दा भन्नु भएको थियो ।

‘काका ,त्यो त ठिक छ कि, तर यो नियात्रा शब्द कसरी आयो र साहित्यको विधा बन्यो ? भन्नु न अलिकति !’

 

‘डिल्ली बाबु, विश्व साहित्यमा नियात्रा शब्द नेपालमा मात्रै प्रचलनमा आएको हो । नेपाली साहित्यमा यात्रासाहित्यको न्वारन वि.सं.२०२६ मा भाषाविद् प्रा.बालकृष्ण पोखरेलले नियात्रा भनी गर्नु भएको हो । प्रा.पोखरेलले प्रस्ताव गर्नु भएको नामलाई नेपाली विद्वान–विदूषीगणले सहर्ष स्वीकार गरेकोले यो शब्दले बढी स्थान पायो । हेर्नु बाबु ! यात्रा सम्बन्धी लेखनलाई भारतमा यात्रासाहित्य वा यात्रालेख भनिन्छभने अन्य देशमा भ्रमण-वृत्तान्त, यात्रा-ब्यहोरा, घुमाइ, आदि भनेर बुझिन्छ ।’

‘नियात्रा लेख्ने प्रयास त गर्छु तर गहकिलो खुराक बनाउन सक्दिन काका ।’

मेरो कुरालाई उहाँले प्रतिवाद गर्दै भन्नुभयो, ‘तिमीले लेखेको माल्टाको नियात्रा पढेको थिएँ । गजबको थियो त्यो । कुरा के भने बाबु, विदेश जाँदाको तयारी, विमानस्थलको औपचारिकता, विमानभित्र हुने गतिविधि, लिन आउने–लानेको विवरण, खाएको खाना, दाँत मोल्न बिर्सिएको क्षण जस्ता कुराले नियात्रा खासै रसिलो हुँदैन । नियात्रा लेख्दा सूचनाको आकर्षक चिनारी, भ्रमण स्थलको महत्वबोध तथा ज्ञान र कल्पनाको दायराले महत्त्वपूर्ण भूमिका खेल्दछन् । पुग्दा वा स्थान विशेषको दर्शन गर्दा लेखकको मनभित्र उठेको तरङ्ग र सम्भावित परिकल्पनालाई चिरेर लेख्न सक्नु नेपाली नियात्राकारका अगाडि उभिएको मुख्य चुनौती हो  । नियात्राकारले लेखोटको साहित्यिकता मात्रै कायम राखेर पुग्दैन  । उसले पाठकको रोजाइमा आफूलाई अब्बल र नवीन सिद्ध गर्नु पनि नितान्त जरुरी छ, बुझ्यौ ?’

‘काका, नियात्राबारे तपाईंको टिप्स मलाई माननीय लाग्यो । क्षितिजलाई इन्द्रेणीले सिंगारे जस्तै यात्रालाई धेरै कुराले नवीन रूप दिनु जरूरी रहेछ । अनि यसको इतिहासबारे केही थाह छ कि ?’

‘हेर बाबु, संस्कृत साहित्यमा वेदयुग बाटै यात्रा साहित्य भेटिन्छ । बुद्धको सारनाथदेखि भारत वर्षको यात्रा विवरण अत्यन्त रोचक, शिक्षाप्रद र महत्वपूर्ण छ । त्यस्तै अंग्रेजी साहित्यमा प्रथम नियात्रा सर्जक एवं इतिहासका पिता मानिने हेरोडोटुस (क्राइष्ट पूर्व ४८० ४२५) ले पानी जहाजबाट ग्रीस, उत्तर अफ्रिका, सिसिली र दक्षिणी इटली, व्लाक सी (टर्की), पर्सियन साम्राज्य, सिरिया, प्यालेष्टाइन, बेबीलोन तथा इजिप्टका भ्रमण गरेर लिपिबद्ध गरेका कुराहरुलाई हालसम्म पनि बडो रुचिका साथ पठन भइरहेको छ । जुन कुरा प्रसिद्ध अमेरिकी नियात्रा सम्पादक जासन विल्सनले आफ्नो पत्रिका द वेस्ट अमेरिकन ट्राभल राइटिङ्को २०१७ को अङ्कमा किटानीकासाथ उल्लेख गरेका छन् ।’

हामी गफैगफमा अन्त्वेर्पण आयौं । हामी घर आउनु थियो भने उहाँहरू लुभेनस्थित उहाँका जिल्लावासी सुशील न्यौपानेको घर जानु थियो । लुभेनको ट्रेन न चलुन्जेल गफ चल्यो ।

‘बाबु भोलि पेरिस जाने, तारा नानीले घुमाउँछिन् । हरिहर अर्यालजीलाई खबर गर्दिनु । अनि बिहान हामीलाई सम्मान गर्ने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमका अध्यक्ष सौरभ बाबु, गोपाल दाहाल लगायत सबैलाई मेरो आभार भन्दिनु ! फेरी भेटौंला !’

उहाँहरू रेलभित्र जानुभयो । बाहिरबाट हेर्दै गर्दा देखियो, उहाँहरूले बिदाइका हातहरू हल्लाइरहनु भएको थियो ।