रापेनजे नजिकै पुग्दा २ बजेको थियो । ५ घण्टा बाँकी थियो फर्कने बसको लागि । तालमा उकालोको पसिना पखालेर होएस लिस्टको २६५१ मिटर माथिको चुचुरो कुल्चने धोको पुरा हुनेमा विश्वस्त थियौँ । नजिकै ठानेको ताल पुग्न २० मिनेट जति लाग्यो । अनि त्यसमा पसिना पखाल्न थप समय लाग्यो । अहिले तस्बिर हेर्दा नै पनि त्यो ठाउँ जादुमय लाग्छ । झन् त्यहीँ हुँदा थोर बहुत बहलिनु ठूलो कुरा भएन ।

३ नबज्दै ताल छोडेर उकालो लाग्दा ४ बजेसम्म चुचुरा कसो न टेकिएला भन्ने थियो । त्यही गतिमा हिँड्दै पनि गयौँ । तर दुई आल्पको बीचको खोचमा गन्तव्य जाने बाटो खोज्दा रापेनजेकोप्फ देखायो । हामीले चढ्ने भनेको आल्गोएको दोश्रो ठूलो चुचुरो होएस लिस्ट ठ्याक्कै पारि देखियो । बीचमा खाडल । तल झरेर फेरि माथि उक्लन पर्ने तर बाटो छैन । समय धर्की सक्यो । ४ बज्न ३० मिनेट बाँकी । आँखा अघि गन्तव्य देखेर पनि छुन नसक्नुको पीडा हामीलाई भइरहेको थियो ।

===

जर्मनीको दक्षिण पश्चिममा रहेको ओबर्स्टडोर्फ अर्थात उपल्लो थलोतिरको चौथो यात्रा थियो । नेबेलहर्न दुई पटक टेकिएको थियो तर त्योभन्दा अग्लो चुचुरो छुन सकिएको थिएन ।

हाम्रा यात्राहरु सार्वजनिक साधनको उपलब्धतामा निर्भर रहने भएकाले हामी ती यात्रा निकै चाँडै सुरु गर्न सक्थेनौँ । अघिल्लो पटक ग्रोसक्रोटेनकोप्फको यात्रा केम्प्टनर हुटेसम्म मात्रै पुगेकोले यसपाली हिँड्न सक्नेहरु मात्रै बाटो लागेका थियौँ । अनि सकेसम्म कम हिँड्नपर्ने गरी यात्रा सुरु गरेका थियौँ ।

ओबर्स्टडोर्फको रेल बिसाउनीसम्मको रेल यात्रापछि हामी स्थानीय बस लिएर फेलहर्न सम्मको बाटो हिँड्न नपर्ने गरी अघि बढ्यौँ । ओबर्स्टडोर्फमै दुई केबलकार छन् । एकले नेबलहर्नसम्म पुर्याउँछ भने अर्कोले फेलहर्नसम्म पुर्याउँछ । दुबैको बिसानीसम्म जानलाई बसहरु उपलब्ध छन् । तर सुरुवातमा हामीलाई त्यो जानकारी नभएको हुँदा रेल बिसौनीबाटै हिँड्न सुरु गर्थ्याैं । यसपाली जसरी पनि नेबेलहर्न बाहेकको चुचुरो चढ्ने मनसायले उपलब्ध सबै सहजताको उपयोग गरेका थियौँ । त्यसो गर्दा करीब ८ किमीको बाटो हामीले हिँड्न पर्दैन थियो ।

११ बजेतिर यात्रा सुरु गर्दा हामी रापेनजे हुँदै होएस लिस्ट टेक्ने र त्यसपछि चुचुराहरुको घाँटी हुँदै जाने हाइलब्रोनर वेग भएर अघिल्लो पटक पुगेको केम्प्टनर हुटे हुँदै फेरि ओबर्स्टडोर्फको रेल बिसाउनीसम्म पुग्ने योजना थियो । होएस लिस्ट यो बाटोको दोश्रो अग्लो चुचुरो थियो भने ग्रोस क्रोटेनकोप्फ आल्गोए क्षेत्रको सबैभन्दा अग्लो चुचुरो थियो । २६५१ मिटरको होएस लिस्टभन्दा ग्रोस क्रोटेनकोप्फ ५ मिटर मात्रै अग्लो थियो ।

अघिल्लो पटक हिँडिसकेको बाटो भएकाले सकेसम्म दुबै भ्याउने गरेर यो नयाँ बाटोको योजना बनेको थियो । होएस लिस्ट पछि हाइलब्रोनर वेग हुँदै केम्प्टनर हुटे अनि त्यसपछि क्रिस्टलेजे ६ बज्न अघि पुगियो भने फेरि बसप्रयोग गरेर ६ किमी जतिको बाटो हिँड्न नपर्ने हुनसक्थ्यो । बाटो अंग्रेजीको उल्टो यु जस्तो थियो । एक फेदबाट सुरु गरेर अर्को फेदमा पुग्नु थियो । बीचको डाँडा अग्लिँदै होएस लिस्ट लगायतका अग्ला चुचुराहरु बन्न पुग्थे । होएस लिस्टपछि तिनै चुचुराको घाँटीहरु हुँदै ग्रोस क्रोटेनकोप्फ पुग्न सकिन्थ्यो । त्यसरी आल्गोए क्षेत्रको सर्वोच्च चुली आरोहणको सपना पूरा हुन्थ्यो ।

अगाडि घाँसे चुचुरो देखिने सरल बाटो हुँदै हाम्रो यात्रा सुरु भयो । यो यात्रामा हामी एक्लै थिएनौँ । साइकल र पैदल गरेर धेरै त्यो बाटो तय गरिरहेका थिए । आइन्योड्सबाखको पाउनाघरमा पुगेपछि हामी एकछिन वरपरको दृश्य हेर्न अलमलियौँ । त्यहाँबाट मेडेलेगाबेल लगायतका चुचुरो जाने बाटो छुटिन्थ्यो । मेडेलेगाबेल हामीले यात्रा गर्ने भन्ने बाटोको बीचमा पर्दथ्यो । बाटो सुन्दर हुँदाहुँदै पनि सबै बाटामा एकै समय हिँड्न सकिँदैन ।

त्यसैले हामीले पहिले योजना बनाएकै बाटोमा अघि बढ्यौँ । त्यहाँ राखिएका संकेतपाटीमा रापेनजे साढे तीन घण्टा पर थियो भने हामी ओबर्स्टडोर्फबाट ३ घण्टा परको बाटोमा आधा घण्टामै पुगेका थियौँ । बाटो छोटिनुमा बसको यात्रा पहिलो कारण थियो । आइन्योड्सबाखमै एउटा १९ औँ शताब्दीको चित्र पनि राखिएको थियो जो एकदमै सुन्दर थियो । हिउँले ढाकिएका चुचुरा देख्दा त्यो हिँउँदमा कोरिएको झैँ लाग्थ्यो । चुचुरामा परेको घामले बिहानीको समयमा हेरेर बनाएझैँ लाग्थ्यो । त्यो सुन्दर तस्बिरमा देखिएको दृश्यपछिका लागि साँच्दै हामी यात्रामा अघि बढ्यौँ ।

करीब दुई घण्टाको हिँडाइपछि हामी हिँडेर आएको बाटो एकदमै सुन्दर देखियो । डाँडाको दुई धारको मुनि देखिने केही घरहरु र छितिजमा देखिने बस्तीहरुको दृश्य एकदमै मनोरम थियो । अग्ला ठाउँमा फुल्ने फूलहरु पनि देखिन थालेका थिए । रुखहरु तलतिर देखिन थालेका थिए । अनि साना बोटहरु र घाँसे भिरहरु बढ्न थालेका थिए । हरियो दन ओछ्याएको पाखामा साना बोटहरुका बुट्टा अनि त्यसको पृष्ठभूमिमा पहाडका दुई धार र ती धारका बीचमा बस्ती र तिनको पछि पहाड अनि आकाशको भेट ! यस्ता दृश्यले कसलाई नलोभ्याउला ? तिनै दृश्यहरुमाझ करीब ३ घण्टा हिँडेपछि रापेनजे ह्युटे २० मिनेटमा पुगिने सूचना सहितको संकेत पाटी भेटियो ।

एकछिन त्यो संकेतपाटी वरपरै भुलेर हामी रापेनजेमा पसिना पखाल्न भनेर अघि बढ्यौँ । सामाजिक सञ्जालमा देखिने कृत्रिम इन्फिनिटी पुल त के हो र यस्ता प्राकृतिक तालका अघि ! त्यही सुन्दरतामा हामी सीमित समयका लागि रमायौँ । दुईतिर नाङ्गा आल्प्सहरु अनि एकतिर हरियो चादर ओढेको हरियो पहाड, बीचमा आकास रंगको पानी भएको रापेनजे जसको सिरान खाली छ अनि पर छितिजमा हरिया पहाड र बादल देखिन्छ । रापेनजेको पानीमा एकछिन रमायौँ । गन्तव्य वरपरै रहेकोमा खुसी भयौँ । फर्कने समय पर्याप्त रहोस् भनेर तालको बसाइ केही छोट्यायौँ र होएस लिस्टका लागि अघि बढ्यौँ । अघि बढेको आधा घण्टा पछि हामी बाटो बिराएको थाहा भयो ।

होएस लिस्टतिर जाने दिशामा ३ आल्प देखिन्थे । रापेनजेकोप्फ, होखगुण्डस्पिच्चे र रोटगुण्डस्पिच्चे । हामी दोश्रो र तेश्रो चुचुराको बीचको बाटो भएर जान पर्नेमा पहिलो र दोश्रोको बीचको बाटो अघि बढ्यौँ । होएसलिस्टतिर जाँदासम्म त बाटो ठीक नै हो भन्ने लागेको थियो । तर जब अघिको बाटोले होएस लिस्टभन्दा पर लग्न थाल्यो अनि मोबाइलको नक्सामा हेर्दा हामी गलत ठाउँ पुगेको थाहा भयो । त्यसै त समयको कमी, त्यसमाथि यो भुलले थप समय लिने पक्का थियो । अघिल्लो पटक ग्रोसक्रोटेनकोप्फको यात्रामा पनि नसकिने भनेरै केम्प्टनरह्युटेबाट फर्किएका थियौँ । फेरि फर्कन मन थिएन ।

“हामीसँग ३ उपाय छन् । पहिलो आजलाई यत्ति भयो भन्ने र बाटो लाग्ने । ७ बजेको बस भेट्न सकिन्छ होला । राती २ बजेसम्म घर पुग्छौँ । दोश्रो यतै बस्ने । भोलिको कामबाट बिदा लिने । तेश्रो, मन भएका जति चुचुरो चढ्ने र जतिबेला सकिन्छ घर पुग्ने ।”

गन्तव्य आँखा अगाडि नाच्दा पनि चढ्न नसकिएको पीडा सहित साथीहरुलाई यी उपाय राख्दा दोश्रो र तेश्रो उपाय खुला राखेरै अघि बढ्ने निधो भयो । एक जना साथी चाहिँ खुट्टाको दुखाइले तलै बस्ने भए । त्यसको मतलब हामी होएस लिस्ट चढेर फेरि आएकै बाटो फर्कन पर्थ्यो । योजना बनाए जस्तो केम्प्टनरह्युटेतिर जान नमिले पनि कम से कम एक चुचुरो टेकेरै भए पनि आउने भनेर हामी ३ भाइ चाहिँ लाग्यौ अष्ट्रियाको आल्प जित्न ।

हामी पुगेको ठाउँदेखि पुग्नुपर्ने ठाउँसम्म पुग्दा १ घण्टा भन्दा बढी लाग्यो । त्यो चुचुरो चढ्न लाग्ने समयका बारेमा व्यक्तिपिच्छे फरक उत्तर थिए । कसैले हामी बाटो बिराएर पुगेको ठाउँबाट १ घण्टा लाग्छ भन्थे त कसैले २ । हामी उनीहरुले भनेको भन्दा आधा समयमा उक्लन्छौँ भन्दै हिँड्थ्यौँ । आँखा अघि बाटो बिनाको बडेमानको होएस लिस्ट देख्दा अलि डर पनि थियो । चुचुरो देखिए पनि त्यहाँसम्मको बाटो स्पष्ट थिएन ।

लगभग त्यही बेला एक महिला केही नबोकी हाम्रो अघिल्तिर लागिन् । हाम्रो “पौरुष अहं” पनि त्यसले ब्युँत्यायो । हामी पनि लाग्यौँ पछिपछि । बाटो चट्टानमा रातो रंग पोतेर देखाइएको थियो । हामी रंग हेर्दै बाटो पहिल्याउँदै थियौँ । एक पटक ती महिलाले बाटो बिराइन पनि र हामी अघि भयौँ । पछि हामी केहीबेर बस्दा उनी अघि भइन् । हामीले खासमा पुग्ने भनेको केम्प्टनरह्युटेको बाटो पनि एक ठाउँमा देखाइएको थियो । त्यो छाडेर माथि जाँदा अघिकी महिला पछ्याउँदै अघि बढ्यौँ । एक छिनमा दिशा सहि होइन कि भन्ने लाग्दा नक्सा हेरियो । फेरि बाटो बिराएछौँ ! होएस लिस्ट र ग्रोस क्रोटेनकोप्फको बाटो मध्ये हामीले ग्रोस क्रोटेनकोप्फको बाटो लिएछौँ । खासमा होएस लिस्टको लागि फरक बाटो लिएर माथि चढ्न पर्थ्यो ।

यस पटक धेरै हिँडिसकेका थिएनौँ तर त्यसले निराशा थप्यो नै । तर हामीले बिराएको भनेको ठाउँबाट चुचुरो ३० मिनेट लाग्ने भनिएको थियो । हामी १५ मा सक्ने जोसले अघि बढ्यौँ । अलि अघिपछि ठ्याक्कै चिप्लटी खेल्न मिल्ने उकालो भेटियो । बाटो चिनाउने रातो रंग पनि थिएन । बाटै छैन कि भन्ने पनि भयो । चढी हेरौँ न त भनेर अघि बढ्दा डराए जति कठिन भने रहेनछ । छेलियो ।

उकालो उक्लेर समय पनि निकै काटिसकिएको थियो । थकान पनि बढ्दै थियो । चुचुरो देखिएको थिएन । बाटोभरि फोनको कम्पासमा देखिएको उचाइमा १०० या ५० थप्दै “अब २०० मिटर बाँकी २४०० मा छौँख ” भन्दै ल्याइएका साथीहरु थुचुक्कै बसेपछि फेरि उचाइ हेर्नुपर्ने भयो । २६३० पो देखायो ! २० मिटरमाथि चुचुरो हुनुपर्थ्यो । तर देखिएको थिएन । हैन गलत होला भन्ने भयो तर २० मिटर मात्रै त सजिलै सकिन्छ भनेर एकजना माथि लागे ।

“चुचुरो ह्यैं रै’छ “

माथि लागेको एकै छिनमा सुनियो । हामी पनि हौसिँदै पछि लाग्यौँ । पत्थरको रास जस्तो देखिने चुचुरोमा क्रसले सबै भन्दा अग्लो विन्दु चिनाएको थियो । हामी सबैले चुचुरो टेक्यौँ । बनाएको योजना सफल भएकोमा खुसी पनि भयौँ । लगभग ६ बजिसकेको थियो । बस छुट्ने समय ! अन्तिम चाहिं ७: ०७ मा छुट्थ्यो । हामी लगभग १५ किमी पर पहाडको चुचुरोमा थियौँ । ल्याएको खाना र पानी पुरस्कार सम्झेर खायौँ । एक छिन त्यतै बसेर वरपर हेर्यौं । त्यस्तै सवा ६ मा तल झर्यौं । फोटो खिच्दै र छुटाएका ठाउँ पनि फेरि हेर्दै ओर्लेर रापेनजेह्युटे पुग्दा सवा ७ भएको थियो । अन्तिम बस हिँड्ने समय ।

तलै बसेका साथी पनि भेटिए । प्रतीक्षा अलि लामै पनि भएछ । अब घरतिरबाट पनि फोनहरु आउन थालेका थिए । ट्रेन स्टेसनमा पुग्ने मान्छे १८ किमी पर लगभग १२५० मिटरमाथि थियौँ । आउँदा हिँड्न सुरु गरेको बस बिसौनी नै ८ किमी पर थियो । बसले वर ल्याएको दूरी पनि हिँड्नुपर्ने भएको थियो । बस्ने या जाने भन्ने छोटो दोधारपछि हामी जसरी भए पनि फर्कने भनेर बाटो लाग्यौँ ।

आउँदा ध्यान नदिएका बाटाहरु जाँदाखेरि निकै सुन्दर लागे । अस्ताउँदो सूर्यको लालीमा सबै कुरा झन् सुन्दर बनेको थियो । वनघाँसहरुबीच साथीहरु तल ओर्लेको दृश्य कुनै सिनेमाको दृश्यभन्दा कम थिएन । हाम्रो फर्किने विन्दु गन्तव्यमा देखिन्थ्यो ।

उचाइ घट्दै जाँदा क्षितिजको घाम पनि छेलिँदै जान लाग्यो । अध्याँरो बढ्दै जान थाल्यो । आइन्योड्सबाख पुग्दा ३ घण्टा बाँकी देखाउँथ्यो । हामीसँग त्यति समय थिएन । त्यसैले समयमै रेल बिसौनी पुग्ने वैकल्पिक बाटाहरुको भरसख खोजी गर्यौँ ।

“आएको २ महिनामै चुगस्पिच्चे चढाउनुभो भन्नुहुन्थ्यो, आज रोडमै पनि सुताइयो ।”

एकछिन हाँसो गर्यौं । ट्याक्सी बोलाउने, गुड्दै गरेका गाडीलाई हात दिने, आदि सबै कोसिस असफल भएपछि मुल सडकतिर बार लाएको सडकमा रात काट्दै थियौँ । दिनमा तातेको रोडले केही न्यानो गर्ला भन्ने थियो । झण्डै ५ बजे बिहानको ट्रेनका लागि जत्ति पनि समय थियो । एकछिन आँखा लागे पनि चिसो रातमा खुला आकासमुनि कति नै पो निदाइन्थ्यो र ! करीब पउने १ तिर ट्रेनस्टेसनमै भए पनि सुत्ने भनेर बाटो लाग्यौँ । स्टेसनमा बरु कमला बेन्च रहेछन् । रातै यता नपुगेकोमा थकथक भयो । थोरै भए पनि निदायौँ । घर पुग्दा विहानको ९ बजेको थियो । अरु साथीहरुलाई थप समय लाग्यो होला ।

होएस लिस्टको नेपाली उल्था अग्लो प्रकाश हुन्छ । होएस लिस्ट चढिसक्दा जर्मनी र अष्ट्रियाको सिमा क्षेत्रमा पर्ने यो चुली चढी सक्दा महिना दिनमा ३ देशका ४ चुली चढिसकिएको थियोः जुलाई २ मा जर्मनीको नेबेलहर्न र त्यसको साता दिनमा चुगस्पिच्चे, जुलाई १३ मा स्वीजरल्याण्डको सिल्टहर्न र जुलाई २४ मा अष्ट्रियाको होएस लिस्ट । नचढेका या चढ्न नसकेका चुचुरा अझै अनगिन्ती थिए । त्यसमध्ये पनि २०२२ मा चढी छाड्ने भनी राखेको चुगस्पिच्चे दोश्रो पटक चढ्न पनि बाँकी नै थियो । दोश्रो चढाइका लागि पर्याप्त अनुभवहरु संगालिसकिएको थियो । आशा खाली चढ्ने दिनमा मौसम राम्रो होस् भन्ने थियो ।