आज आकाश सफा छ, आकाश र समुद्रको बढी कञ्चन हुने जस्तो प्रतिस्पर्धामा छन् । घाम समुद्रका छालहरूमा पोखिएर चाँदीजस्तै चम्केको छ । हावा पनि रफ्तारमा नै छ, हावाले समुद्रलाई जिस्क्याउँदा समुद्र फणी उठाएको गोमन झैं मुल्का बनेर मडारिन्छ पनि । ती मनमोहक दृश्यहरू जति हेरे पनि नअघाइने । जाडो त शरीरलाई न हो, मन भने कञ्चन पानीका गतिशील तरङ्गहरूसँग साक्षात्कारमा छ, भुल्कासँग भावनाहरू पनि उर्लिएका छन्, मनको कलम भए पो ती दृश्य टिप्न सकिन्थ्यो । देवकोटा भए कति राम्रा निबन्धहरू लेख्थे होलान् । मलाई भने प्रशान्त गतिशील समुद्रलाई प्रिन्सेसले बिथोलेकाले सङ्घर्षको पाखुरा खैंचेको महसुस भैरहेको छ ।

मध्यान्हको मनोरञ्जन भने अतिथिको मौन प्रदर्शनी, कलाको लिलामी, फेवुलस फेसन, साठीको दशकको ट्रिभिया सङ्गीत, नृत्य कक्ष, ज्याकपट गायतका कार्यक्रमहरू समानान्तर छन् । जीवनमा मन लागेका कुरा सबै स्वाद लिन समयले कहाँ दिन्छ र ? मैले पनि सबै कार्यक्रममा आफूलाई पुर्याउन सकिन, समयले सम्मति दिए जतिको स्वाद लिएँ, बढी त सङ्गीत कार्यक्रममा नै रमाएँ ।

बेलुकाको मनोरञ्जन (इन्च्यान्टिङ इभिनिङ) झनै भव्य छ । क्रिमसन सो, ओलिभ वलभार्ड, गीतार वादनमा मात्र सहभागी हुन सकेँ । आकाशगङ्गाको अभिभावक (गार्जिएन अफ दी ग्यालेक्सी) हेर्ने अति उत्सुक भएर पनि समयले सम्मति दिएन ।

कार्यक्रम हेरेर विश्रामका लागि मरिना डेकको एम ६१५ आफ्नै बासस्थान जाँदै थिएँ । दृष्टिहरू लवी, लाउन्ज र रेस्टुराँको वातावरणभरि फैलिए । मानिस आफूलाई नहेरी बाहिर हेर्छ । सबै आआफ्नै धुनमा आफैलाई हराइरहेका छन्, म भने अरूलाई हेर्दै हराए छु । सबै स्वप्निल सुखमा छन्, मनचिन्ते रमाउन पाएपछि स्वतन्त्रता खोज्नै परेन । अन्याय छैन, न्याय खोज्नु परेन । सबै आफ्नै धुनमा छन्, समान खुसीमा छन्, प्रतिस्पर्धा छैन । अरूको चियोचर्चो र ईर्ष्या आरिसमा न मानिस साँघुरिने हो, सबै उदात्त छन् । चार हजार मानिसहरूको यति लामो यात्रामा आफ्नो बुझाइ, खवाइ, गराइ छ, कोही कसैप्रति वैरभावी छैनन् । न विभाजन छ न वैरभाव । त्यसैले पनि प्रिन्सेसको सानो विश्व यात्रा होइन, युटोपिया हो ।

रातभरिका यात्रापछि भोलि बिहान प्रिन्सेस टोउराङ्गा बन्दरगाह पुग्ने कार्यक्रम छ । भोलिको दिन विशेष यस अर्थमा रहने छ कि हामीमध्ये सय जना साथीहरू न्यूजिल्याण्डको निर्माण र पहिचानसँग जोडिएको आदिजाति माउरीसँग मध्यान्हसम्मको समय बिताउने छौ, उनीहरूको मौलिक संस्कृति, भेषभूषा र मौलिक खानासँग रमाउने छौं । यो स्पोन्सर कार्यक्रमका लागि सुव्रतको पनि मेरोजस्तै प्राथमिकतामा परेको छ । यो कार्यक्रमबाट हामीले विकास, सङ्घर्ष र विस्थापनका कुराहरू सिक्ने छौं । माउरीसँगै उठबस नगरी उनीहरूको वास्तविक कुरा कसरी बुझ्ने ? यो अवसर फेरि कहिले पाउने ? देखेर, हेरेर, सँगै रहेर माउरी र आदिवासी पीडाका अनुभूतिसँग साक्षात्कार हुने छौं ।

पूर्वी नीर नफाट्दै प्रिन्सेस टोउराङ्गा बन्दरगाहमा पुगिसकेकी छ । बल्कोनी र छतबाट एक बगलमा देखिने माउन्ट माउन्गानुई र मोतुरिकी आइल्याण्ड झुल्के घामलाई स्वागतका लागि मधुरा चेहरामा थिए, उज्यालो बढ्दै जाँदा बल्ल आफ्नो सुन्दरता खोले ।

माउन्ट माउन्गानुई बन्दरगाहको छेउमा अवस्थित सानो हरियाली पहाड हो । पर्यटकहरूको मन लोभ्याउन यसले निकै प्रख्याति कमाएको छ । मोतुरिकी पहाड भने दुईतिर समुद्र किनार र एकातिर बन्दरगाह भएको फेदीमा फेन्सी दोकान र प्रशस्तै क्याफे–रेष्टुराँ भएको फुलाम्मे पहाड हो, यसले पर्यटकको मनलाई चुक्कुले झै तान्दो रहेछ । त्यसैले होला सुव्रतले मातुरिकी जाने इच्छा राखेको छ । जसलाई हामीले पनि सहमति जनायौं । यात्रामा हामी चारका हरेक क्रियाकलापले लोकतान्त्रिक प्रक्रिया पाएको छ । सल्लाह र सम्मतिमा मात्र हामी कार्यक्रम राख्छौ, चाहना बदलिए यात्रामा बाडिन्छौं ।

खाजापछि व्यवस्थापकले हामीलाई प्रिन्सेस थिएटरमा भेला गराएको छ । त्यहीबाट समूह विभाजन गरी आआफ्नो स्पोन्सर एस्कर्सन कार्यक्रममा जाने तय भएको छ । केही साथीहरू प्रिन्सेस भित्रकै नियमित कार्यक्रममा रामाइरहेका छन् । आज भने हामी चारैजना सुव्रत, दिक्षा, कमला र म एकै एस्कर्सनमा जान पाउने भएका छौ ।

समूह २ को प्याजी रङ्ग हाम्रो पहिचान हो । ऊर्जा बस नामको आरामदायी मोटर हाम्रो सवारी साधन हो । बजार हुँदै हामी माउरी गाउँ रोटोरुवा जान क्रममा छौ, जुन टोउराङ्गा बन्दरगाहबाट ७८.४ किलो मिटर टाढा छ । विदेश यात्रामा त्यहाँका शहर र समाजको  रङ्गरौनक मात्र हेरेर पुुग्दैन, त्यहाँभित्रका मूर्तअमूर्त सम्पदा, कलासंस्कृति, शिक्षा, रहन सहन, शासन, अर्थतन्त्र र बनवातावरण हेरेर नै यात्रालाई पूर्णता दिन र यात्राबाट सन्तुष्टि लिन सकिन्छ । यसैले हामीले माउरी गाउँ (ह्वाकरेवारेवा लिभिङ् माउरी भिलेज) छानेका छौं ।

सिटी सेन्टर हुँदै रोटोरुवा जाने क्रममा खासै ठूला घरहरू देखिएनन् । क्राइस्ट चर्चको माथिल्लो भाग र लाइटेलटनमा देखिएका जस्तै हरिया फाँट, चरण र जङ्गल र ठाउँठाउँमा ससाना हलुका फेव्रिकेटेड आवास संरचनाहरू भेटिन्छन् । साना र हलुका घर न्यूजील्याण्डको आवसीय विशेषता हो । टोउराङ्गाका सबै सडक किनारा बगैंचामय छन् । थोरै जनआबादी भएपनि सडक सञ्जाल सबै ठाउँमा पुगेको छ । सडकहरू सिँगारिएका छन् ।

एसियाका शहरहरुमा जस्तो सडक छेउमा आवास संरचना कतै देखिंदैन, घरहरू सडकबाट केही टाढा मात्र बनाउने निर्माण मापदण्ड भएर होला । मापदण्ड भएर मात्र होइन, जनताको पनि उच्च सम्मति रहेर होला । मापदण्ड हामीकहाँ नभएको हो र ? स्मार्ट सिटी, सिटी इन्डेक्स, हराभरा स्वच्छ शहर हाम्रा आदर्श वाक्य पनि बनिसको छन् । तर जनताले नै त्यसलाई पत्याएनन् । मेयर बालेन शाहले केही गर्न खोज्दा पनि बिचरालाई न जनताको साथ छ न राजनीतिक दलको नै ।

सडक जङ्क्शनमा भने व्यापारिक भवनहरू भेटिन्छन्, तीनको पनि आफ्नै मापदण्ड छ । बाँकी सबै भूभाग कि हरियो चरण चेत्र कि वन क्षेत्र हुन्, ती पनि कालीगडीपूर्ण डिजाइनका ठूला ठूला चक्लाबन्दीमा छन् । बन क्षेत्रमा धुपी सल्लाका कोणधारी रुख र हरिया झ्याम्म फैलिएका ससाना पोथ्राहरूको बाक्लो उपस्थिति छ । न्यूजिल्याण्ड भनेको निलो समुद्र, हरियो बन, ठूला ठूला चक्लाबन्दीमा फाँट र हलुका सुन्दर आवासहरूको सङ्गम हो भन्ने पहिचान टोउरुङ्गाले पनि दिन भुलेन । तर डुनेडिन, लाइलेन्टन, वेलिङ्टन र टोउरुङ्गाका आआफना अतिरिक्त विशेषता पनि छन् । एउटा टापु कतिपय कुरामा मौलिक पहिचानमा रहनु र धेरै कुरामा सबै टापुहरूको एकै विशेषता हुनु सामान्य नै हो । प्रत्येक टापुका आफ्नै इकोसिस्टम छ ।

मध्यान्ह रोटोरुवाको पुगेर माउरी र न्युजिल्याण्डको अन्योन्याश्रित सम्बन्ध बुझ्न हामी आतुर थियौं । माउरीले आजभन्दा एक हजार वर्ष अघि एसियाका प्रायद्वीपबाट न्यूजिल्याण्डसम्म आउँदा कैयन दुख–जोखिम मोलेका थिए । मानव बस्ती बसाएको कैयन वर्षसम्म जे जस्ता जङ्गली जनावर र चराचुरुङ्गी भेटिन्छन् तिनीहरूकै आहारमा जीवन बिताए । टर्की जस्तो ठूलो चराहरू उनीहरूको पहिलो आहार थिए, त्यसलाई लगभग उछित्तो पारे ।

त्यसपछि साना चराहरू र अन्य जनावर आहार बने । कैयन दुख कष्ट सहेर उनीहरूले आबादी गरेर मानवमय बनाएको भूमिमा पछि युरोपीयले कब्जा गरेपछि माउरीहरू नै मूलधारबाट विस्थापित हुन पुगे । युरोपीयहरू सियो भएर पस्छन् र सबै आफ्नो कब्जामा लिन्छन्, अरूलाई उसैको घरबाट धकेलिदिएर आफूहरू चाहिँ रजाइँ गर्न थाल्छन् । प्राकृतिक स्रोत र उब्जाउ भूमि त युरोपीयहरूले सबै आफ्नो कव्जामा पारे । आफ्नो भूमिमा आफै विस्थापित भएका अरू देशमा पनि उदाहरण भेटिन्छन् । त्यसैले माउरी र न्यूजिल्याण्ड एक अर्काका पूरक हुन्, न्यूजिल्याण्ड भूमि र माउरी भूमिपुत्र (आदि भूमि मानव ?) । अहिले करिब ७ लाख ७५ हजार माउरी न्यूजिल्याण्डका विभिन्न गाउँहरूमा बसोबास गरिरहेका छन् ।

अहिले एसिया तथा प्यासिफिकबाट बसाइँ सरेर न्यूजिल्याण्ड जानेहरूको क्रम बढेको छ । हिजो युरोपीयको विस्थापनमा परेका माउरी अव एसिया र प्यासिफिक मुलुकका मानिसहरूबाट पनि मिचिएका छन् । अझ भनौ समाहितीकरण (विलीन हुने) क्रममा छन् ।

ह्वाकरेवारेवा माउरी गाउँ पुग्न दुई किलोमिटर जति बाँकीमा सेवा निवृत्तहरूको बस्ती छ । यो शान्त बस्तीमा विभिन्न कामबाट सेवा निवृत्त वरिष्ठ नागरिकहरूका लागि सरकारका तर्फबाट व्यवस्थापन गरिएका ससाना घरहरू छन् । बस्तीमा सबै प्रकारको सुविधा छ । वरिपरि हरियाली, अलि पर बजार र सेवाकेन्द्र अनि बीचमा सेवा निवृत्त बस्तीले जवानीमा जोस र जाँगर समाजलाई दिएका व्यक्तिहरूलाई कसरी सेवा र सुविधाको सुनिश्चितता गरिनुपर्छ भन्ने देखाएको छ । सार्क मुलुकहरूमा भए घना शहरको कोलाहलमा नै यस्ता बस्ती बनेका हुन्थे ।

ह्वाकरेवारेवा माउरी गाउँ पुग्दा एक पुरुष र एक महिला हाम्रा लागि स्वागतमा मौजुद थिए । पहिला स्वागतका शब्द  किआवारा भनेपछि हामी सबैलाई सङ्केत जनाउने ट्याग छातीमा टाँसिदिए र सभाकक्षतिर लगे । कक्षमा प्रवेश गर्ने स्थानमा नुआ माइ हाएरे माइ लेखिएको थियो । शायद तपाईँहरूलाई स्वागत छ भने अर्थ यी शब्दले बोकेका थिए ।

हामीहरू कुर्सीमा बसेपछि आदिवासी पहिरनमा सजिएकी एक सुन्दर महिलाले हामीलाई ‘किआवारा’ मा अभिवादन गरिन् । उनले बोलेका धेरै शब्द, लवज, भावभङ्गी र कतिपय नामहरू जापानी लवजसँग नजिक छन् जस्तो भान दिन्थ्यो । माउरी पहिरन निकै आकर्षक र प्राकृतिक कुराहरूबाट बनेको थिए । पुरुषहरू रौं झ्याम्म भएको आधा पेट र आधा आङ ढाक्ने कपडा र कछाडजस्तो पहिरनमा सजिएका थिए । महिलाहरू भने छातीमुनि कम्मरसम्म स्थानीय कपडाको भोटो र कम्मरमुनि रुखका डाँठहरू र जङ्गली जनावरका हाड, समुद्रका सिपीजस्ता देखिने सामग्रीबाट बनेका घुँडासम्म आउने फ्रक (जामा) मा थिए ।

जनावरका हाडहरूको छोटो माला महिलाको गहनाका रूपमा नाडी र गलामा सजिएका थिए । पुरुष महिला दुवैका हातहरु नाङ्गा तर हात खुट्टामा टयाटूजस्ता चित्रहरू कोरिएका थिए । लाग्थ्यो ती सबै पहिरनहरू जङ्गलका रुख, पात, बोक्रा, जनावरका छाला र समुद्री प्राणीहरूका हाडकङ्कलाको बोलाबाला थियो । त्यसैले ती प्राकृतिक थिए, आधुनिकताको आक्रमणबाट बिलकुल चोखा थिए ।

सबैजसो मुलुकका आदिवासीमा समान रूपमा पाइने विशेषता भनेको उनीहरू बनजङ्गल, नदीसमुद्र, पहाडसँग समीप हुँदा रहेछन् । प्रकृतिमा नै आश्रित हुँदा रहेछन् र उनीहरूको लवाइखवाइ, जीवन निर्वाह पनि प्रकृतिमा आधारित हुँदो रहेछ । उनीहरूको मनोरञ्जनमा हात, मुठी र खुट्टाहरूको चालमा नाच र जोसिला शब्दका गीत हुँदा रहेछन् । नेपाल, भारत, अमेरिका, अस्ट्रेलियाका आदिवासी र उनीहरूको जीवन शैलीमा समानता खोज्दै थिएँ, हामीलाई स्वागत गर्न मञ्चमा रहेकी माउरी सुन्दरीले के उद्घोषण गरेकी थिइन, तीनजाना तरुणी र तीनजना तन्नेरी माउरीहरू मञ्चमा आएर ‘रिङ्ग रिङ्ग हुप्पा’ भन्दै गीत गउँदै नाच्न थाले । गीतमा लय र बाजा कम बोली बढी थियो । गीत–नृत्यमा शरीरको चाल, हाउभाउ, हातको मुठ्ठीको चाल नबुझे पनि जोस पैदा गर्ने खालको थियो । शब्द त बुझिएन, तर ती गीतमा आफ्नो इतिहास र शासीकय पीडा, त्यस विरुद्धको हुङ्कार थियो कि भन्ने अनुमान गर्न सकिन्थ्यो । किनकि बोलीको आरोह चड्का थियो, तुलसी दिवसको कविता पाठ झैँ ।

आदिवासीहरू परिश्रमी, जोसिला र प्रकृतिमा आश्रित हुँदा रहेछन् भन्ने कुरा माउरीको बोली, व्यवहार, जिउडाल, पहिरन, सत्कार, गीत र नाचबाट झल्किन्थ्यो । सबै माउरीहरू हृष्टपुष्ट थिए, सफा थिए तर धेरै मोटा थिएनन् । प्रकृतिमय जीवनमा शायद यही पहिचान सबै आदिवासीहरूमा पाइन्छ ।

अहिले माउरीले दुई प्रकारको परस्पर प्रतिस्पर्धी चुनौती सामना गरिरहेका छन् । पहिलो, आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउँदै नयाँ जीवनशैली अवलम्बन कसरी गर्ने भन्ने चुनौती र दोस्रो, शासकीय प्रक्रियामा सम्मिलन र सङ्घर्षलाई कसरी साथसाथै लैजाने भन्ने चुनौती । मौलिक भाषा, संस्कृति र परम्परा जोगाउने समस्या एकातिर छ अनि अर्कोतिर विश्वव्यापीकरणको प्रक्रिया, बसाइँ सराइ, विवाद सम्बन्धका कारण एसिमिलेसनको प्रक्रिया पनि साथै अगि बढेको छ । आफ्नो भूमिमा अरूहरू आएर अधिकार र अवसरका खोसेर अहिले फेरि उनीहरूले नै दिएजसो गरी आरक्षणका व्यवस्थाहरू गरिएका छन् । यी दुई प्रक्रियामा सन्तुलन काम नभए एकदिन माउरी इतिहासमा सीमित बन्ने छ । माउरीको उदाहरण प्रतिनिधिहरू हो, अस्ट्रेलिया, अमेरिका, एसियाका मुलुकहरूमा यसरी नै आदिवासी र नेहरुको रैथाने संस्कृतिहरू चुनौतीमा छन् ।

कार्यक्रमको अन्तमा माउरीले आफ्नै उत्पादनमा तयार गरेका मौलिक परिकार ‘हाङ्गी पाई’ बाट हामीलाई स्वागत गरे । यो विशेष प्रकारको केक थियो, केकमाथि महजस्तो सस, हरियो काँचो साग र उसिनेको मकै । हाङ्गी पाईको मीठो वासना आइरहेको थियो । पेय चाहिँ फिका चिया । हाङ्गी पाई खानुअघि त्यो केकभित्रको इन्ग्रीडेन्टस् बुझ्न मन लाग्यो, सोधिहालें । त्यहाँभित्र गाई, बङ्गुर लगायतका जनावरको मासु पनि हुँदो रहेछ । हामीले काँचो साग, उसिनेको मकै र चिया मात्र लियौं ।

बेलुका टोउराङ्गा बन्दारगाह फर्केपछि पनि प्रिन्सेसले यात्रा सुरु गर्न चारघण्टा समय बाँकी थियो ।  राती मात्र यात्रा गर्ने क्रममा थिई । हामीहरू मोतुरिकी आइल्याण्ड, माउन्ट द्रूरी  संरक्षण र माउन्ट माउन्गनुुआई घुम्न निस्क्यौ । पहिला माउन्ट माउन्गुनुआइ चढ्यौ । यो निकै सुन्दर र फूलमय पहाड हो । रातो गुराँस, सेतो गुराँस र अजङका झ्याम्म फैलिएका रुखहरूले पर्यटकहरू तानिरहेको थियो । युरोप, अमेरिका र अस्ट्रेलियाका युवा युवतीहरूलाई यसले तानेको छ ।

यसबाट पश्चिम उत्तर झरेर पाइलट बे तिर निस्केर फेरि समुद्र किनारको आनन्द लियौं । समुद्रका किनारमा अजङका ढुङ्गा, बालुवा र ठाउँठाउँमा ससाना थुम्के पहाड, किनारमा खुट्टा गाडिने बालुवाले छुट्टै प्रकृतिको अनुभव लिएको छ । त्यसपछि द्रूरी संरक्षित क्षेत्र गयौं । द्रूरी संरक्षणमा संरक्षित जङ्गल र दुवोघारी कुशल चित्रकारको तेलचित्र झैँ लाग्थ्यो । त्यसपछि मातुरिकी आइल्याण्डले जीवनमा नभुल्ने आनन्दका अनुभूति लिएर साँझ प्रिन्सेसमा फर्केपछि यस दिनको विशेष कार्यक्रम समाप्त भयो र इन्च्यान्टिङ इभेनिङका कार्यक्रममा सहभागी हुने काम भए ।

ओकल्याण्डको आर्थिक सामाजिक गतिविधिहरू अवलोकन गर्ने कार्यक्रमबाट दशौ दिन सुरु हुन्छ । यो न्यूजिल्याण्डको सबैभन्दा ठूलो र व्यस्त शहर हो तर आफ्नै जनआवादी सोह्रलाख मात्र छ । झट्ट हेर्दा सिड्नीजस्तो देखिने शहरको व्यापारिक गतिविधि, आवास संरचना र सामुदायिक भवनहरू भने युरोपीय ढाँचा छन् । साठी हजार विद्यार्थी भएको भिक्टोरिया कलेजले यस शहरको गरिमा निर्माण गर्न निकै सघाएको छ । विश्वका धेरै मुलुकका विद्यार्थीहरू यहाँको शिक्षाबाट लाभ लिइरहेका छन् ।

ओकल्याण्डका सबै स्थान र सन्दर्भमा न्युजिल्याण्डलाई न्युजिल्याण्ड बनाउने माउरी आदिवासीको चर्चा गरिन्छ, उनीहरूको झिनो उपस्थिति पनि छ तर उनीहरू समाहित करणको उच्च प्रक्रियामा छन् । उनीहरूसँग आधुनिक घर, सवारी साधन, शिक्षा र जीवनशैली भित्रिएको छ । वैवाहिक सम्बन्ध समाहीतीकरणको सबैभन्दा ठूलो प्रक्रिया हो, विश्वव्यापीरकरणले ल्याएको सांस्कृतिक बहुलता दोस्रो कारण ।

ओकल्याण्डमा थुप्रै बहुराष्ट्रिय कम्पनीहरूको उपस्थिति देखिन्छ । यिनीहरूकै लगानी, प्रविधि तथा पुँजीका कारण पनि शहर बहुराष्ट्रिय बन्दैछ । कामदारहरू पनि बहुराष्ट्रिय र उपभोक्ता पनि बहुराष्ट्रिय छन् । यहाँ सबैजसो मुलुकका धेरथोर मानिसहरूको बसाइँ र व्यवस्था देखिन्छ । अस्ट्रेलियाको जस्तै हार्बर ब्रिज पनि छ ।

यो पुल जापानी डिजाइन र प्रविधिमा १९५९ तिरबाट सुरु भएर १९६५ बाट चालू भएको कलात्मक पुल हो जसले साना टापुलाई जोड्छ, यसका कथाहरू पनि अस्ट्रेलियाको हार्बर ब्रिज जस्तै छ, इतिहास मात्र छोटो हो । केपीएमजी, डिलोइट, एचएविसी, एएनजे, रावो बैंक लगायतका ठूला ठूला बोर्डहरू टाँगिएका छन् । सिटी सेन्टरको बीचमा काठमाडौँ ब्राण्डको स्टोर पनि आफ्नो अस्तित्व हिमाल जसरी नै फैलाइरहेको छ । काठमाडौँ ब्राण्ड र स्टोर नेपालीको होइन, नेपालीको प्रयास, प्रविधि, पुँजी केही पनि यसमा भएको जानकारी भएन तर नेपालको राजधानीको नामबाट उत्पादन ब्राण्डिङ गरे नेपाली पहिचानको विस्तृतीकरणमा यसले मनग्गे काम भने गरेको छ ।

हामी सिटी सेन्टरमा पुग्ने बित्तिकै पहिलो सगरमाथा आरोही एडमण्ड हिलारीको नाम गर्वका साथ लिइयो । एउटा व्यक्तिको नामसँग नेपालको नाम पनि जोडिएर आएपछि खुसी लाग्नु स्वाभाविक हो तर त्यो व्यक्त गर्ने परिस्थिति थिएन, म नेपालको मात्र भने तर त्यहाँभन्दा बढी भन्ने अवसर नै रहेन । राष्ट्रियता र पहिचान विदेशमा रहँदा बढी जागा हुने मनोविज्ञानमा रहन्छ । राष्ट्रियताको पहिचानबाट मानिस आफ्नै पहिचान र मौलिकता विस्तारमा रहन्छ ।

वास्तवमा राष्ट्रियता भनेको अरू केही नभएर सामूहिक पहिचानको विस्तार हो । बीस बाइस हजार नेपालीहरू डायस्पोराका रूपमा रहँदा उनीहरूले आआफ्नै तरिकाले नेपाली मन र मौलिकता विस्तार गरिरहेका होलान् । नेपालकै कर्मचारी, नेपालकै व्यापारी, नेपालकै कुक र सेफ, नेपालकै प्राध्यापक र अरू धेरै कुरा नेपाली भएपछि नेपाली मन बोकेकाहरू नेपाली माटो र मौलिकता पक्कै सम्झन्छन् । कर्मभूमि र मातृभूमि छुट्टिए पनि मातृ अनुराग कसले भुल्न सक्ला र ?

ओकल्याण्डको भ्रमणमा ओकल्याण्ड सङ्ग्रहालयमा अवलोकन गर्दा मुलुकको एक हजार वर्षको इतिहास जीवन्त जानकारी पाइन्छ । सङ्ग्रहालय बाहिरका मानिस, विद्यार्थी र खोजकर्ताहरूलाई कुनै पनि मुलुकको छिटो जानकारी पाउने जीवन्त पाठशाला हो । यस सङ्ग्रहालयमा तीन खण्ड छ । पहिलो प्राकृतिक र जैविक सम्पदा, दोस्रो युद्ध र न्यूजिल्याण्डको राष्ट्रियकरणको प्रयास (युद्ध संस्मरण) र तेसो, प्यासिफिक जीवनशैलीका बदलिँदो स्वरूप । वास्तवमा प्रत्येक शहरमा एउटा सङ्ग्रहालय भएपछि मानिसले आफ्नो इतिहास र पृष्ठभूमि आफै पढ्छ । हामीकहाँ न शहरपिच्छे सङ्ग्रहालय छ न सङ्ग्रहालय संस्कृति नै । इतिहास र संस्कृति बुझ्न किताबमा पस्नुपर्ने बाध्यता छ ।

न्यूजिल्याण्ड विशेषतः समुद्रको देश हो । पहाड त छन् तर ससाना आइल्याण्डका दम्स्याइलो थुम्काथुम्की । केवल शमर माउन्टेन मात्र हाम्रो फुलचोकीभन्दा अग्लो छ । तर एडमण्ड हिलारी पहिलो सगरमाथा आरोही हुनुमा त्यो मुलुक पक्कै उच्च हिमाल भएको मुलुक हो कि भन्ने मेरो बाल मनोविज्ञानको बुझाइ यही देशमा आएपछि सही सही साबित भएन । सफलताका लागि परिस्थिति उपलब्धता भन्दा प्रयास र समर्पण चाहिने रहेछ ।

न्यूजिल्याण्डका तीन चार शहर गाउँ हेरेपछि के लाग्यो भने जहाँ जे छ त्यसैको व्यवस्थापन र उपयोगबाट विकास प्राप्त गरिने हो । समुद्र, बन र प्राणी वनस्पतिहरूको व्यवस्थित उपयोग गरेर नै यो मुलुक विकास र समृद्धिमा पुग्न सकेको हो । हिजोको प्रविधिमा चराचुरुङ्गी र बन वनस्पति उपयोग गरे, अहिले समुद्री मार्ग र बन पदमार्गबाट पर्यटक तानिरहेको छ ।

हिजो श्रम खर्च गर्थे, अव प्रविधि श्रमको साथी बनेको छ । हिजो माछा र मासु व्यापार गर्थे अहिले दृश्य, हावापानी, हरियाली बनबाटिका र सेवा क्षेत्र व्यवसायका आधार बनेका छन् । त्यसैले प्रकृतिले जे दिएको छ त्यो नै उपयोग गरेर मानवीय आवश्यकता र आकाङ्क्षा पूरा गर्ने हो, त्यही विकास हो । कुनै मुलुकले विकासका लागि स्रोत छैन भन्यो भने सोच नभएको मात्र देखिन्छ । न्यूजिल्याण्डसँग मानिस कम छन् तर पनि २,६८०२१ वर्ग किमी क्षेत्रफल भएको यति ठूलो देश, कहाँका मानिस आएर बनाए त ? सोच, संस्कार, श्रम र अनुशासनले नै बाटो, बन्दरगाह, बन, शहर, मैदान, जहाज आदि बनाएको हो ।

जापान, सिङ्गापुरसँग प्राकृतिक स्रोत निकै सीमित छन् तर मानव स्रोत व्यवस्थापन उच्च छ, त्यसैले सीमित स्रोतलाई महत्तम उपयोग गर्दै सेवा र ज्ञानको उत्पादन गर्न लागे । सबै कुरा प्रकृतिले एकसाथ दिँदैन, दिएन भनेर विकास हुँदैन भन्नु हुँदैन । जे छ त्यसैको व्यवस्थापनले विकास प्राप्त गर्न सकिन्छ ।

बेलुका प्रिन्सेसमा फर्केपछि उद्घोषण भैरहेको रहेछ–खाना खान होराइजन कोर्टमा प्रवेश अघि अनिवार्य रूपमा साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्नु पर्नेछ । किन यसो भनियो, थाहा भएन । सबैजसो यात्रुहरू भोजनालयमा प्रवेश अघि हात धुने अनिवार्य आचार संहिता पहिला नै थियो । हामीलाई लाग्यो, कसैले केही गर्यो । केही व्यक्तिको स्वास्थ्य असावधानीको प्रभावले महामारी फैलिएर प्रिन्सेसको स्वास्थ्य टोलीले हेर्न नभ्याउने हुन सक्छ भनेर प्रिन्सेस व्यवस्थापनले हाउसकिपिङमा विशेष सावधानी अपनाएको हुनसक्छ ।

त्यस दिनदेखि होराइजन फुटकोर्टका सेफहरू केही उदास देखिए, टेबुलहरूमा चिनी, काँटाचम्चा, रुमाल र कफी चिया पनि हटाइएछ, हामी आफैले काउन्टरबाट ल्याउनुपर्ने भयो । भोजनालय सावधानी प्रणाली अझै कठोर बनाइयो । करिब चारहजार मानिसहरूमा कसैले स्वास्थ्य सावधानी मापदण्ड पालन नगरेको हुनसक्छ तर सबैलाई किन यसरी व्यवहार गरिएको होला ? सबै सिसिटिभी निगरानीमा थिँदै थिए । केही वर्षअघि जापानको जाइका सेन्टरमा केही विद्यार्थीले बिहान ब्रेकफास्टमा नै लन्च र डिनरसम्मलाई पुग्ने गरी परिकार उठाएछन्, केहीले धेरै खाएर बिमारी नै भएछन् ।

त्यस वर्षदेखि उनीहरूले खर्च र खानाको नियम नै बदलेका थिए । यहाँ त हामी सबै पैसा तिरेर गएका हौ, तर स्वास्थ्य सावधानी त आफैले अपनाउनुु पर्ने हो नि । क्रुजमा आउन सक्ने मानिस पनि खानपान र स्वास्थ्य सफाइमा ध्यान नदिने हुँदा रहेछन् भन्ने सन्देश व्यवस्थापनको पटक पटकको एनाउन्समेन्टले देखाइदियो । कता कता सङ्कोच लाग्ने कुरा ।

एघारौं दिन वे अफ आइल्याण्डको बीच भागमा नै प्रिन्सेस रोकिएकी छ । सधैँ झैँ बन्दरगाहमा रोकिएर अध्यागमन निगरानी लगायत औपचारिकता पूरा गर्ने काम पनि सम्भव भएन । किनकि समुद्रबाट नै फेरीमा चढी एस्कर्सनमा जानुपर्ने भयो ।

मेरो बुझाइमा बन्दरगाहमा मात्र जहाज रोकिन्छ, समुद्रमा यसलाई त्यत्तिकै रोक्न सकिँदैन, बताससँगै आउने समुद्रको छालले जहाजलाई अडिइरहन बाधा पुर्याउछ भन्ने थियो । तर समुद्रको ठूलो उछाल नभएको स्थानमा यो रोकिंदो रहेछ । त्यहाँबाट हामी वेइटाङ्गी पुग्न ससाना फेरी मगाइन्छ भन्ने लागको थियो । तर यो अनुमान पनि सही ठहरिएन । घाम झुल्कंदा नै प्रिन्सेसका उपहलो तलमा दुवैतिर राखिएका १६ लाइफबोटहरूमध्ये केहीलाई समुद्रमा झारियो । एउटा लाइफबोटमा ९० देखि १०० जति यात्रुहरू सजिलै रहन सक्थे । म, कमला लगायत तेस्रो बोटमा वेइटाङ्गी बीच गयौं । नयाँ र सुरक्षित लाइफबोट भएकोले बीस मिनेटको यात्रा निकै रोमाञ्चक र सुरक्षित थियो । हाम्रो समूह फुकेटी बनको ट्रेकिङ र त्यहाँको काउरी संरक्षण अवलोकन गर्न जाँदै छ । सुव्रत, दिक्षाहरू लगायत धेरै यात्रुहरू आआफ्ना रुचिमा बाँडिएका छन् ।

लाइटेलटन जस्तै ससाना बस्ती छेउछाउ ठूला ठूला चक्लाबन्दीमा कृषि फर्महरू छन् । जै घाँसको फाँट, किवी फर्म र कताकति मकै खेती एवम् तरकारी उब्जाउँदै गरेको देखिन्छ । धेरैजसो फाँट र घाँसे मैदानमा भेडा, गाई र घोडाका बथानहरू अलग अलग चरिरहेका देखिन्छन् । एउटा फाँटमा एउटा पशुको मात्र बथान छ, अर्कोमा अर्को थरी । नेपालमा चरण क्षेत्रमा चौरी, भेडा, बाख्रा, खच्चर सरोवरी चराइन्छ । अर्को विशेषता यहाँ चाहिँ मौरी पालन पनि प्रशस्तै रहेछ ।

गाईहरूको कल्चौडा पनि ठूलठूला छन् । अगिल्ला शहरहरूमा देखिएका गाईहरू मासुका लागि थिए तर यहाँ भने दुग्ध व्यवसायका लागि हरेछन् । दम्स्याइलो बलौटै पहाडको माथिल्लो भागमा घना जङ्गल छ । जङ्गल यति बाक्लो छ कि त्यहाँभित्र घामको किरण पनि कहिले पस्न सकेको छैन होला । मानिसहरू त्यहाँभित्र प्रवेश गर्न पनि निकै सङ्घर्ष गर्नुपर्छ होला । यी जङ्गलमा हरिण लगायत जङ्गली जनावरहरू र जटायु लगायत ठूला चराहरू रहेको हुनुपर्छ । फ्याउरा, लोखर्केहरू परैबाट देखिन्छन् ।

वे अफ आइल्यण्डको बस्ती भने निकै पातलो छ । वेइटाङ्गीबाट हिँडेपछि भेटिएको ठूलो बस्ती भनेको कावाकावा हो जसको जनसंख्या ६ हजारको हाराहारीमा छ । जङ्गलको वरिपरिका घरहरू काठका नभै फेव्रिकेटेड छन्, शायद लागत र वातावरणीय दृष्टिकोण राखिएको होला । बनैबन भएको स्थानमा पनि काठ प्रयोग नगरीकनै घरहरू बनाइएका छन् । यो बस्तीमा धेरै त आदिवासी माउरी बसोबास गर्दछन् । यहाँ पनि सेवा निवृत्त व्यक्तिहरूको सानो बस्ती छ । आवश्यक आधारभूत सुविधाहरू कावकावामा उपलब्ध छन् । गाडी नभएको घर पनि छैन, तर कुनै घरमा मानिस देखिएको छैन । सबै बस्ती शान्त र सुन्दर छन् ।

७५–८० माइल पर पुगेपछि फुकेटी बनको काउरी संरक्षण क्षेत्र आइपुग्छ । दुईजना बन कर्मचारी महिलाहरू हातमा उन्यूजस्तै देखिने रुखका पातहरू लिएर हाम्रो स्वागतका लागि मौजुद छन् । दुवैसँग माइक छ, साथै प्राथमिक उपचारको किट बक्स पनि । हामीहरू सवारी साधनबाट झर्ने बित्तिकै दुवै बन कर्मचारीहरूले सानो अभिमुखीकरण प्रस्तुति गरे । दुई घण्टाजति लगातार ओरालो उकालो जङ्गल हिँड्न नसक्ने भए पदयात्रामा नजान आग्रह गरे । कमलाले जाने आँट गरिनन्, यहाँको अनुभव पनि लिनुपर्छ भन्ने मेरो आग्रहपछि मात्र उनी तयार भइन ।

हामीहरू फुकेटी पदयात्रा र काउरी संरक्षण अवलोकनमा सामेल भायौं । बनलाई जोगाउन बन कर्मचारीहरू कति संवेदनशील रहेछन् भने प्रवेशमा नै हाम्रा जुत्ता र शरीर स्वतः स्यानिटाइज्ड हुने बाटोबाट लगियो । त्यसपछि एकजना बन अधिकृत अगि लागिन र अर्की पछि, बीचमा हामीहरू एक एक गरी लामबद्ध । अलिकति हिँड्ने बित्तिकै कुनै रुखको विषयमा जानकारी दिइएको छ । पाँच सय वर्ष अघिका ठूला रुखहरू धेरै रहेछन् । कतिपय रुखमाथि परजीवी रुख र लहराहरू रहेछन्, नेपालको सुनगाभा र लहरे भोर्लोजस्तै । उन्यू, कटुस, बेलपत्र, खजुर, ताडी र वेत वास प्रजातिका रुखबुट्यानहरू बाक्लै छन् । घामका किरण हामीसम्म आइपुग्दैनन्, केही अँध्यारो छ । रुखबाट मसिनो पानी जसरी शीतका थोपाहरू हामीमाथि बर्सिएका छन् । ठूला रुखहरूमा बोटानिकल नाम, संख्या जनाउने ट्याग पनि छ ।

अग्निरेखाहरू निर्धारण छन् । ससाना पाइपहरू पानी पटाउन जतासुकै बिछ्याइएको छ, पानी काढ्न ठाउँ ठाउँमा कुलेसा छन् । पदमार्गको धेरैजसो क्षेत्र काठका फल्याकहरू तारले बाँधेर बिछ्याइएको छ, काठकै सिँढीहरू छन् । लडापडा रुखहरू जैविक विविधता संरक्षणलाई होला त्यत्तिकै छाडिएको छ । यसले बनभित्रको इकोसिस्टम संरक्षण गरिरहेको छ । केही वृक्षहरू भाले र पोथी हुँदा रहेछन् । फुकेटीको काउरी संरक्षण अवलोकन र बन पदयात्राले अर्को अनुभव दिलायो । जैविक विविधता र वातावरण संरक्षणमा समुदाय र सरकारको संवेदनशीलता उदाहरणीय थियो । हामीले एस्कर्सनमा फुकेटी पदयात्रा छानेकोमा बन कर्मचारी निकै खुसी छन् ।

तीन दशक जति अघि नेपालमा पनि अस्ट्रेलियन सरकारको सहयोगमा काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लामा नेपाल अस्ट्रेलियन बन विकास परियोजना सञ्चालित थियो । यसले बन सम्बन्धी जनचेतना जगाए पनि यसले संस्थागत रूप लिन सकेन, परियोजनासँगै प्रयास पनि समाप्त भयो । अन्य क्षेत्रमा पनि यस्ता उदाहरणहरू छन् । प्रयासहरू संस्थागत नहुँदा सम्भावनाहरू हामीले गुमाउँदै गयौं र प्रत्येक समय प्रयोग र परीक्षणमा बिताउँदै आयौं । पहिला काम नगर्ने अनि प्रायश्चितमा थकथकिएर के गर्ने ? खै कसलाई के भन्ने ? सार्वजनिक जिम्मेवारीमा रहने हामी सबै नै दोषी, अझ भनौं नैतिक अपराधी पनि । अर्को पुस्तालाई राम्रो प्रकृति, राम्रो प्रणाली, राम्रो शहर र राम्रो शासन दिन नसके त्यो पुस्ता नैतिक रूपमा दोषी हुँदैन र ?

पदयात्रा सकिएपछि मोटरबाटै केही परको क्याम्प फायर स्थलको निरिक्षण गर्यौं । टाढाटाढाबाट सवारी साधन लिएर परिवारहरू पालभित्र रात बिताउन र जङ्गली जनावर उपयोग गर्न आएका छन् । क्याम्प फायर भनेको प्राकृतिक पर्यटन पो रहेछ ।

फर्किने क्रममा हाम्रो बस केरीकेरी रैथाने बजारतर्फ मोडियो । यो जिरी जस्तै सानो तर तलाउ, सानो नदी, बगैंचा र मौलिक पहिचानका बस्तुहरू बजार गर्ने ठाउँ निकै रमाइलो र सुन्दर छ । प्रकृतिका काखहरू सुन्दरतामा छोपिएको, मानव पदचाप कमै परेको, त्यसैले त यो आफ्नै मौलिकतामा छ । क्राइस्ट चर्च पछि दोस्रो पटक नदी देखियो । नमोबद्धको जस्तै त्यही मात्र उत्पादन भएका मह र फलफूलबाट बनेका केक लगायतको परिकार मात्र भएको हनी रेष्टुराँमा हामीहरू बेस्सरी रमायौं । प्रकृतिले लुकाएर राखेको ठाउँहरू त्यत्तिकै राम्रा हुन्छन् तर तिनीहरूलाई राम्रा भन्नेहरूको भने खाँचो हुन्छ । नेपालको तिलिचो, फोक्सुण्डो ताल, शे, साल्दाङ गाउँहरू यसका उदाहरणहरू हुन् ।

बाह्रौं दिनबाट प्रिन्सेसले सिड्नी फर्किने क्रम सुरु गरेकी छ । बीच बाटोमा कुनै भूभाग नभएकाले उसको यात्रा लगातार फर्किनु मात्र हो । त्यसैले जहाजभित्रका कार्यक्रमहरू झनै जोसिला र जीवन्त छन् । व्यवस्थापन समूह राम्रा राम्रा र नयाँ स्वादका कार्यक्रमहरू आयोजना गर्दै छ । बिहानको कार्यक्रम (रिफ्रेसिङ मर्निङ) सवा आठबाटै सुरु छ । कार्यक्रमहरू समानान्तर र समय खप्टिने गरी आयोजना गरिएकाले यात्रुहरूले रुचि र प्राथमिकता अनुरूप समय विनियोजन गरिरहेका छन् । सवाआठ बजे डेक सातमा चिनिया योग अभ्यास ताइँ चीले कार्यक्रमको शुभारम्भ गर्दै छ ।

नौ बजे डेक चौधमा बाइबलको अध्ययन, नौ बजे नै डेक सता पियाजामा स्पीडी सोडोकु, यही समय डेक पाँच मिडसीपमा नृत्य कक्षा, सिम्फोनीमा गेट टुगेदर, डेक सात भिष्टा लाउन्जमा गेट क्वाइजीकल आयोजना भैरहेको छ । साथै चलचित्र प्रदर्शनी, पकेट ट्रिटमेन्ट, कुल्नियरी प्रदर्शन, स्नोवल ज्याकपट बिङ्गो, वाटर पोङ, सेक्रेट टु फ्लाटर आदि आयोजना भैरहेका छन् ।

कतिपय साथीहरू एक कार्यक्रम नसकी अर्कोमा गएका छन् । किताब पढ्ने र जुम्बामा रमाउनेहरू त्यतै मख्ख छन् । सन डेकबाट समुद्र दृश्यावलोकन गर्नेहरू कम छन् तर त्यही धूम्रपान कक्षमा चिया र चुरोटमा रमाउने चालिस पचास जनाको समूह पनि समुद्र हेर्दै धुवाँपानमा मख्ख छ । टेबल टेनिस, ब्याडमिन्टन, गल्फ र भलिबलमा चिनिया साथीहरू भिडेका छन् । प्राय गरी चिनिया साथीहरू यही खेलमा रमाएका देखिन्छन् । बिहान भएकोले दुवै पौडी पोखरी खाली छन् । मदिरा बार र आइस बार पनि सुनसान छ ।

सवा बाह्रबाट रमाइलो मध्यान्ह (रिल्याक्सिङ आफ्टरनुन) सुरु भयो । दिउँसो कला, संस्कृति र गीतसङ्गीतका कार्यक्रमहरू धेरै छन् । प्रिन्सेसकै कलाकारहरू लाइफ सो गरिरहेका छन् । औपचारिक रूपमा प्रिन्सेसले आयोजना गरेका दी लव बोट, भीआइपी सपिङ्, पर्ल हार्वर लगायत ३२ कार्यक्रम बाहेक खेलकुद, चलचित्र, पौडी, एरोबिक, जुवा, खानपिन, बजारका कार्यक्रमहरू पनि चालू छन् । मेरो रोजाइ सङ्गीततिर छ ।

घाम लागेको दिन भए पनि बादलको च्यादरले समुद्र र सूर्यको सम्बन्धलाई छेक्छ । फेरि धुवाका पहाडको बादलको हूल भाग्छ र सूर्य समुद्रभरि पोखिन्छ, पानीका धारहरूमा सूर्य टल्किएर सङ्ख्य सूर्य बन्छ, निलो पत्ता सेतो चाँदी झैँ टल्किन्छ । टल्किएको परावर्तन दृश्यावलोकी हाम्रा आँखासम्म ठक्कर दिन्छ । फेरि एकछिन पछि हुलका हुल धुवाका पहाड आएर आकाश ढाकिदिन्छ र सूर्य कता हो कता विलीन हुन्छ । एक क्षणमा फेरि बादल हराएर सूर्य निलो समुद्रभरि छताछुल्ल हुन्छ । यो लुकामारीको क्रम चलिरहन्छ । लाग्छ, क्रुजभित्र मात्र होइन, प्रकृतिले पनि नाटक मञ्चन गरिरहेको छ ।

बेलुकी मनोरञ्जन (इनच्यान्टेड इभिनिङ) पाँच बजेदेखि छ । तर हामीहरू डिनर पछि मात्र कार्यक्रममा समावेश भयौं । आज औपचारिक साँझ भएकाले पहिला हामी चारजना गाला डिनरमा सामेल भयौं । सधैंभरि होराइजन कोर्टको बुफेटको स्वादलाई गाला डिनरले विस्थापन गर्न मन लाग्यो । त्यसपछि क्रिमसन डुओको सङ्गीत र पियानो वादन श्रवणपछि फोटो सेसनमा समावेश भयौ । समानान्तर रूपमा कार्यक्रमहरू भएकाले कतिपय राम्रा कार्यक्रमहरू छुटेका छन् । कसरी कार्यक्रमहरू प्रभावकारी बनाउने भन्नेमा व्यवस्थापन समूह तल्लीन छ ।

तेह्रौं दिन प्रिन्सेस समुद्रमा लगातार अगि बढिरहेकी छ । आजको मौसमले पनि धेरै साथ दिएको छैन । भोलि बिहान सिड्नी पुगेर विश्राम लिनुपर्ने भएर होला प्रिन्सेसको गति तीव्र छ, सबै कोठा र कक्षहरू भूकम्प आए जसरी हल्लाएको छ । केही डर पनि महसुस भयो तर सबै कार्यक्रमस्थलहरू सँधा झैँ आआफ्ना कार्यक्रममा छन् । घाम नलागे पनि सन डेकमा केही साथीहरू दृश्यावलोकन र धूम्रपानका लागि उक्लिएका छन् । प्रिन्सेसभरि सन डेकमा मात्र निर्धारित धूम्रपान कक्ष छ । त्यहाँ चिया र कफी पनि राखिएको छ तर चिसो भैसको छ । वेगवान् हवाले आफै पनि धूम्रपान गरिरहेको छ ।

पिएजामा जुम्बा, भिष्टा लाउन्जमा ताइँ ची, मिडसीपमा क्वीजिकल, क्यासिनोमा पोकर टुर्नामेन्ट, सिम्फोनीमा कला, सङ्गीत कार्यक्रमहरू चलिरहेका छन् । व्हील्सहाउसमा सधैजसो यौनिक अल्पसंख्यक (एलजीवीटीक्यू) को गेट टुुगेदर हुन्छ, आज पनि चालू छ । पूरै यात्रामा धेरै हामीहरू व्हील्सहाउसमा गएका छैनौं । प्रिन्सेसले यात्रालाई समावेशी बनाएको छ, उ विविधता व्यवस्थापनप्रति निकै संवेदनशील छ ।

भोलि बिहान सिड्नीबाट हाम्रो यात्राले फन्को मारिसक्ने भएकाले व्यवस्थापन समूहले आजै भव्य बिदाइ कार्यक्रम राखेको छ । प्रिन्सेस थिएटर खचाखच छ । कतिपय साथीहरू कार्यक्रम सुरु हुनुअघि नै आफ्नो स्थान सुरक्षित गर्न थिएटर प्रवेश गरिसका छन् । हामी पनि आधा घण्टा अघि नै थिएटर प्रवेश गर्यौं । ३२०० यात्रु र हजार जति कर्मचारी छन् तर थिएटरको क्षमता २००० जति होला । त्यसमा पनि सय जति सिट वृद्ध र फरक क्षमता भएकाहरूका लागि आरक्षित छन् ।

साढे सात बजे प्रिन्सेस थिएटरको पर्दा खुल्यो । आजको विशेष कार्यक्रममा कलाकारको प्रस्तुति पनि विशेष छ । शुरुमा कलाकार समूहको नेतृत्वकर्ताले छोटो बिदाइ भाषण सहित बिदाइ गीत गाए । त्यसपछि क्रमशः सबै कलाकारहरू करिब पाँच दर्जनले आआफ्नो परिचय साथ बिदाइ गीत नृत्य प्रस्तुत गरे । कलाकारहरू थिएटरका सबै भागमा आएर पूरै थिएटर हललाई मञ्चमा र सबै दर्शकलाई कलाकारमा बनाइ स्थितिलाई यसरी रोमाञ्चक बनाए कि सबै दर्शकहरू आआफ्नो स्थानबाट उठेर आआफ्नै पारामा नाच्न थाले । कलाकार समूहमा अर्केष्ट्रा समूहले पनि बजाउन छाडेपछि बिदाइ लिए ।

अन्तमा प्रिन्सेसका क्याप्टेन र उनको समूहका तीन दर्जन क्रुहरूले भावुक भएर बिदाइ भाषण गरे । दिन रात परिवार र आफन्तबाट टाढा रहेर प्रिन्सेसलाई नै सर्वस्व र यसका यात्रीलाई आफन्त ठानी जीवन बिताइरहेको मर्मस्पर्शी विचारहरू राखेपछि पूरै हल भावुक बन्यो । त्यसपछि क्याप्टेन र अरू चालकहरू मञ्चको अग्रपङ्क्तिमा बेस्सरी नाचे, आफैलाई भुलेर नाचे । क्याप्टेन र क्रुहरु पनि राम्रो नाच्दा रहेछन् । यो नाचमा सबै चालक तथा क्रु मेम्बरहरू समावेश हुन सकेको थिएनन्, किनकि प्रिन्सेस लगातार समुद्रयात्रा गरिरहेकी छ । सबै क्रु मेम्बरले जहाजको ककपिट छाड्न पनि त भएन ।

अन्तमा हाउस किपिङ् र व्यवस्थापन समूहका आधा जसो कर्मचारी पनि मञ्चमा हात हल्लाउँदै नाच्न थाले । मञ्च काम अनुरूपको पोसाक, विभिन्न संस्कृति र राष्ट्रियता, उमेर समूहका २०० भन्दा बढी व्यक्तिहरूले खचाखच रूपमा समावेशी स्वरूप देखाइरहेको थियो । र अन्तमा उद्घोषकले बिदा भन्दा नभन्दै पर्दा बन्द भयो । बिदाइ कार्यक्रमबाट भावुक बनेका यात्रुहरू आआफ्नो कोठामा पुगें । चौधौं दिन घाम नलाग्दै प्रिन्सेसले आफ्नो यात्रा पूरा गरी सिड्नी बन्दरगाहमा थकाइ मारिरहेकी थिई । हतार हतारमा यात्रुहरू आआफ्नो गन्तव्यमा जान आतुर थिए ।

प्रशान्त महासागर ।