सुव्रतले भिडिओ कलमा सिड्नी–न्यूजिल्याण्डको क्रुज यात्रा गर्ने प्रस्ताव गरेपछि एक प्रकारले उत्सुकता जागेको थियो– ‘क्रुज यात्रा कस्तो होला ? न्यूजिल्याण्डको भौगोलिक अवस्था र जीवनशैली कस्तो होला ? विकास र समृद्धिको स्तर कस्तो होला ? माउरीहरूले हजार वर्षअघि मानव बस्ती बसाएको मुलुकमा माउरीहरू कुन रूपमा रहेका होलान् ?’
अस्ट्रेलियाका मेलवोर्न, सिड्नी र क्यानबेरा यसअघि नै घुमिसकेको थिएँ । अस्ट्रेलियाकै तास्मानिया र न्यूजिल्याण्डको जाने इच्छा पहिल्यैदेखि थियो, तर पूरा भएको थिएन । कमलाले भने अस्ट्रेलिया समेत घुमेकी थिइनन् । क्रुज यात्राका विषयमा मलाई भन्दा कमलालाई बढी उत्सुकता थियो ।
सुव्रतको प्रस्तावलाई मैले हुन्छ भनिसकेको थिइनँ । सुव्रत र दिक्षाको यात्रामा अभिभावक साथ रहँदा उनीहरूले गर्ने रमाइलोमा असहजता त आउँदैन भनी सोचेको थिएँ । कमलाले पनि यही कुरा भनेकी थिइन् । अर्को उनीहरू डेनेभरबाट आउने र हामी काठमाडौँबाट जाने, सिड्नीको होटेल तथा यातायात खर्च, न्यूजिल्याण्डसम्म दुई हप्ताको क्रुज भाडा र न्यूजिल्याण्डका प्रमुख शहरहरूमा एस्कर्सन खर्च पनि ठूलो थियो ।
भर्खरै जागिर लागेका बच्चाको कमाइ खर्च गराउनु उचित हुँदैन भन्ने लागिरहेको थियो । छोराछोरीलाई दिने हो, सकेसम्म उनीहरूबाट लिनु उचित होइन भन्ने सोचबाट पनि म आग्रही थिएँ । त्यसैले पटक पटक तिमीहरू मात्र जाऊ भनिरहेको थिएँ । तर दिक्षाको जोड थियो । र हुन्छ भन्न बाध्य भएँ ।
यस वर्ष भाद्रमा हाम्रो परिवारमा एकै हप्ता दुईजना भाउजूको स्वर्गारोहण भएकोले हाम्रो चाडबाड थिएन । त्यसैले दशैँ तिहारमा काठमाडौंमा नबस्ने योजनामा थिएँ । साँच्चै भन्दा दशैँ तिहार नमनाउने भनौँ अपरिचित ठाउँमा गएर चाडबाड भुल्ने चाहना थियो । उमेश दाजु, सुयोग, शुष्मा, कमला र म सिक्किम जाने कार्यक्रम लगभग तय भएको थियो । दशैँअघि सिक्किममा आएको बाडीपहिरोले त्यहाँको कार्यक्रम रोकिन पुग्यो ।
हामीले चार वर्षदेखि सुव्रतलाई भेटेको थिएनौं । उसले पढाइ सकेपछि सँगै बसेर कुराकानी पनि गर्न पाएका थिएनौं । दिक्षासँग त भौतिक रूपमा भेटेकै थिएनौ । भाउजूहरूको निधनपछि दुख बार्ने क्रममा म लगातार अस्वस्थ थिएँ, मलाई घुमाएर फ्रेस बनाउने सुव्रतको भित्री चाहना पनि रहेछ । उनीहरूको पटक पटकको आग्रहपछि यात्रालाई सहमति जनायौं । तर भिसा लगायतका औपचारिकताका कारण तिहार सकिएको दोस्रो दिनबाट मात्र यात्रा तय भयो ।
यात्रा तय भएपछि कमला निकै उत्साहित थिइन् । सानो (सुव्रतलाई हामी सानो र शुभमलाई ठूलो भन्छौं) लाई हप्तामा एकाध पटक गरेको भिडिओ कलबाट उनको निराश मर्दैनथ्यो । साँच्चै भन्ने हो भने कमलाको काखैबाट ठूलो, सानो अमेरिका पढ्न गएकाले बच्चालाई माया गर्ने, खेल्ने खेलाउने बालशुलभ झगडा गर्ने मातृव्यवहारबाट पनि उनी वञ्चित थिइन् । त्यसैले कमलाको एक्साइटमेन्ट स्वाभाविक थियो । भिडिओ कलमा बोल्नसम्म नसकेर कमला सानोको अनुहार हेरेर भावुक हुन्छिन्, सानो पनि उसको अम्मीलाई (कमला) पीर नमानिस्योस मात्र भन्छ । जिस्केर कमला भन्ने पनि गर्छ । नेपाल रहँदा कमलाको गाला चिमोटेर हैरान पाथ्र्यो । सुव्रत खासमा बोल्न पनि त्यति जान्दैन, गणितमा बोल्छ, आवश्यक मात्र बोल्छ । कुरा गर न भन्दा पनि के कुरा गर्ने भन्छ । पढाइ र परिवेशले पनि उसलाई यस रूपमा पुर्याएको होला ।
म अहिले पनि सानोलाई काखको बच्चा जस्तै व्यवहार गर्छु । ठूलोभन्दा ऊ पुलपुलिन खोज्छ । मसँग खुलेर कुरा गर्छ, म भने ठट्टा गर्छु । मैले धेरै माया गरेको छु भन्ने उसको ठम्याई छ । म काममा धेरै खटेँ, दौडधुप गरेँ भने मलाई धम्की दिन्छ – ‘पापा पढाउन गए, धेरै दौडधुप गरे म भिडिओ कल नै गर्दिनँ’ । बच्चाले आमाबुबासँग केही काम पूरा गर्नु छ भने जिद्दीको रणनीति लिन्छन् । छोराछोरी ठूला भए पनि आमाबुबा बालक नै देख्छन्, छोराछोरी पनि आमाबुबासँग बालकै बन्न रुचाउँछन् ।
क्रुज यात्राको विस्तृत विवरण प्राप्त गरेपछि कमला र म छुट्टै संसारमा पुग्यौं । कल्पनाको आनन्दमा । केही सामान किनेर लान पनि उनीहरूले रोकेका छन् । तर अम्मीको मन किन मान्थ्यो ?
मङ्सिर १ गते सिड्नीका लागि जहाज चढेपछि प्रिन्स क्रुजको यात्रा तालिका हेर्दै अब यति घण्टापछि सानोलाई भेटिन्छ भन्ने काउण्टडाउन गर्न थाल्यौं । हामीहरू काठमाडौँ–क्वालालुम्पुर जाँदै छौं, हामी पुग्ने समयमै किङ्सफोर्ड विमानस्थलमा भेट्ने गरी सुव्रत दिक्षा डेनेभर–भ्यान्कोभर हुँदै सिड्नी आउँदैछन् । यात्रामा पढ्न नेल्सन मण्डेलाको आत्मकथा लगेको छु, पल्टाएको पनि छु । तर मन भने उतै सुव्रतलाई कतिखेर भेटिन्छ भन्नेमा भावातिरेक छ ।
बिहान नौ बजे हामी र तास्मानियामा रहेका दिक्षाका दाजु देवेश दश बजे किङ्ग्सफोर्डमा भेट्ने तय भएको छ । तर किङ्ग्सफोर्डमा अध्यागमनले कमलालाई केही मिनेट अलमल्यायो । नेपालको पासपार्ट भ्यालुका कारण हुनसक्छ । अमेरिकाले उनको भिसा रिजेक्ट गरेकाले पनि सामान्य जानकारी लिएको हुनसक्छ । हामी बाहिर निस्कँदा सुव्रत, दिक्षा र देवेश हाम्रो प्रतीक्षामा थिए । किङ्ग्सफोर्ड विमानस्थलको आवागमन कक्ष परिवार मिलनको स्थल बन्यो । सबै यसरी खुसी भयौं कि शब्दले त्यसलाई बोक्नै सक्तैनन् ।
आमोरा होटेलमा फ्रेस भएर सिड्नीमा सामान्य रूपमा घुमिने हार्बर ब्रिज, ओपेरा, हाइडे पार्क र बजार घुमेर बेलुकी नेपाली रेस्टुराँ गल्ली गल्लीमा नेपाली परिकारका स्वाद लियौं । नेपाली डायस्पोर विस्तारसँगै नेपाली परिकार पनि विश्वभरि फैलिरहेको छ । स्वाद र सन्तुष्टि पनि बहुराष्ट्रिय हुन पुगेको छ । यसले केही हदमा नेपाली पहिचानको विस्तार पनि गरेको छ । खाना त जुनसुकै भोजनालयमा पनि पाइन्छ, तर नेपालीपन, नेपाली हार्दिकता र नेपाली स्वादका साथ परिकार नेपाली रेस्टुराँमा मात्र पाइन्छ । नेपाली अचार, साँधेको चना, चाउचाउ, रोटी, समेबजी, बारा, पानीपुरीदेखि मलेखुको माछासम्म गल्ली गल्लीमा पाइन्छ । नेपाली मात्र होइन विदेशीहरू पनि नेपाली स्वादका निकै पारखी भैसकेका रहेछन् ।
खानासाथ नेपाली गीतहरूको प्रस्तुतिको आनन्द पनि लिन पाइँदो रहेछ । खुसी हुँदाहुँदै मलाई भने प्रश्न सोध्न मन लाग्यो, रेस्टुराँको भाइलाई भनिहालें– ‘यो माछा मलेखुकै हो त ?’ भाइ हाँस्यो मात्र, उत्तर दिएन ।
१९ नोभेम्वरबाट प्रिन्सेस क्रुजको यात्रा सुरु हुने भएकोले बिहान बोन्डी बीचमा केहीबेर खेलेर होटेल चेक आउट गर्नतिर लाग्यौं । बोन्डी बीचबाट उक्लेर केही समय बीच र समुद्र हेर्दै पदयात्रा पनि गर्यौं । तलतिर निलो पानी, निलो पानीमा सर्फिङ गरिरहेका युवाहरू, बीचमा हरियाली पहाड र माथितिर निलो आकाश । यसले मनलाई निकै रमोञ्चित गरिरहेछ । जन्मदिन, विवाहोत्सवका शुभकामना, प्रेम प्रस्ताव वा कसैलाई केही डेडिकेशन गर्दा बीचमाथिको आकाशमा हवाई जहाजले धुवामार्फत त्यस्ता शब्दहरू लेख्ने गरिँदो रहेछ ।
एउटा सानो प्लेनले आकाशमा प्रेमका सन्देशहरू लेख्दै थियो । यसले पनि अचम्मको अनुभूति दियो । त्यसो त समुद्र किनारको बालुवामा प्रेम चिन्ह लेख्ने चलन पूरा नै हो, ढुङ्गा, मन्दिरका सत्तल, बाटो, पार्क र रुखहरूमा पनि प्रेम, शुभकामनाका शब्दहरू लेखिने गरिएकै हो । प्रविधिले प्रस्ताव, शुभकामना र सन्देश दिने शैली पनि बदल्दै लगेको छ । कसले भन्न सक्छ प्रविधिले पुस्तालाई कहाँसम्म पुर्याउँछ ।
बिहानको खाजादेखि बोन्डी बीचसम्मको यात्रामा विकल्प र लक्ष्मीको जोडीले हामीलाई साथ दिएको छ, क्रुज चेक इनसम्म देवेशले ।
प्रिन्सेस क्रुजको चेक इन औपचारिकता पनि लामो छ । यात्रुहरू नै तीनहजार दुईसय भएकोले अध्यागमन औपचारिकताले लामै समय लिएको छ । न्यूजिल्याण्डको भिसामा मेरो नाम पूरा उल्लेख गर्न छुट भएकोले प्रश्न उठाउलान् कि भन्ने लागेको थियो तर पासपोर्ट नम्बरका आधारमा पूरा नाम नभए पनि खासै असजिलो भएन । क्रुज प्रवेशपछि प्रत्येक तलाको छुट्टा छुट्टै मास्टर स्टेसनमा हामी पुग्नु पर्ने रहेछ । मास्टर स्टेसनमा सोधपुछ पछि हामी प्रिन्सेसभित्र हाम्रा कोठा र लाउन्जहरू खोज्न लाग्यौं । हाम्रा ब्यागहरू खोज्न थाल्यौं ।
सुव्रतले उसका लागि दशौं तलाको सामान्य कोठा र हाम्रा लागि पन्ध्रौँ तला (मरिना डेक) मा डिलक्स कोठा बुकिङ गरेको रहेछ । हामी कोठामा पुग्नुअघि नै हाम्रा ब्यागहरू र आवश्यक जानकारीका कागजहरू पुगिसकेका थिए । हामी प्रत्येकलाई पहिचान र सुरक्षाका लागि प्रिन्सेस डिजिटल लकेट दिइएको छ । यो नै दुई हप्ताका लागि हामी सबैको एकअर्कालाई चिनाउने पहिचान, सूचना व्यवस्थापनको माध्यम र कोठा खोल्ने साँचो पनि हो । हाम्रा विवरणहरू यही लकेटमा राखिएको छ । क्रुजभित्र बजार गर्न र रेस्टुराँमा खाजा, खाना र चिया, कफी सबैका लागि यही नै चाहिन्छ । हाम्रा कोठाको ढोका, कोठाभित्रको टेलिभिजन सबै स्थानमा हाम्रा नाम डिजिटल अक्षरमा अङ्कित गरिएको छ, मानौं यी कोठा र त्यहाँका सबै सामग्री हाम्रा हुन् ।
प्रिन्सेस यात्राको पहिलो दिन निकै उत्साहित र कौतूहलपूर्ण हुनु स्वाभाविक थियो । हामी चारै जनाका लागि क्रुज यात्रा पहिलो थियो । उन्नाइस तले प्रिन्सेसका सबै तला र कार्यक्रमहरू अवलोकन गर्न मन लाग्यो । पाँचौँ तलाबाट कार्यक्रमहरू सुरु हुने कक्षहरू छन् । पस्ने पाँचौँ तलामा पियाजा कक्ष छ । छैठौँमा प्रिन्सेस क्यासिनो छ । सातौं तलामा ड्युटी फ्री कक्ष, लोटस स्पा (मसाज कक्ष), दुई हजार जति दर्शक अट्ने प्रिन्सेस थिएटर, आर्ट ग्यालरी छन्, आठौंबाट पन्ध्रौंसम्म आगन्तुक क्याविनहरु, सोह्रौँमा होराइजन कोर्ट (दुई हजार जतिले एकै चोटि बुफे खान सक्ने कक्ष), सत्रौँमा फिटनेस सेन्टर र बाहिर दृश्यावलोकन कक्ष, धूम्रपान कक्ष, अठारौंमा ब्याडमिन्टन, भलिबल, टेबल टेनिस खेल्ने कक्ष एकातिर र अर्कोतिर ओपेन सिनेमा कक्ष, स्विमिङ पुल र सबैभन्दा माथि उन्नाइसौं तलामा सन डेक छ, त्यही गल्फ कोट पनि छ ।
सातौंमा भिष्टा लाउन्ज, एक्जुकेटिभ लाउन्ज, पाँचौंमा सिम्फोनी डाइनिङ कक्ष र छैठौको मिडसिप कक्ष छन् । पाँचौँ, छैंठौ र सातौ तलामा जताततै रेष्टुराँ र बारहरू छन् भने स्विमिङ पुल र चलचित्र कक्षमा पनि बारहरू छन् । सातौं तलामा आर्ट ग्यालरी र पुस्तकालय छ । अरू धेरै कुराहरूका कारण प्रिन्सेस विश्व समाजको मिनिएचर बनेको रहेछ भन्ने भान दिइरहेको छ । धेरै भाषा, संस्कृति, भूगोल, भेषभूषाका मानिस, उनीहरूकै स्वाद सन्तुष्टिका परिकार र कार्यक्रमहरूले विविधता व्यवस्थापनको राम्रो उदाहरण पनि दिएको छ ।
करिब एक हजार जति प्रिन्सेसका कर्मचारीहरू दिनरात सेवा व्यवस्थापनमा जुटिरहेका छन् । यो सेवा व्यवस्थापनको पनि सटिक उदाहरण बनेको छ । यात्रुलाई मनोरञ्जन दिन पाँच दर्जन जति कलाकार छन् । उनीहरू आधुनिक देखि शास्त्रीय–रैथाने बाजाका साथ छन्, कलाकारहरू बहुसीपयुक्त छन् । बिहान रिफ्रेसिङ् मर्निङका डेढ दर्जन जति, दिउसो रिल्याक्सिङ् आफ्टरनूनका दर्जन बढी र साँझपछि इन्च्यान्टिङ इभनिङका तीन दर्जन जति कार्यक्रम दैनिक हुने कार्यतालिका छ । विशेषतः कलाकारहरू नै आफ्नो सीप र कलाकारिता प्रस्तुत गरेर सबैलाई मनोरञ्जन दिने भूमिकामा छन् । त्यति मात्र होइन, क्रुजभित्रका आन्तरिक व्यवस्थापनका धेरै काममा पनि उनीहरू सक्रिय छन् ।
उपचारका लागि स्वास्थ्य कक्ष छ । करमुक्त पसलहरू छन् । पहिलो दिन जिज्ञासा र बुझाइमा छ । एकतिर गएर समुद्रको अवलोकन गर्यो, अर्को कार्यक्रम छुट्छ, कार्यक्रमतिर गर्यो मनमोहक दृश्यहरू छुट्छन् । दुवै भ्याउन खोज्दा दुवै छुट्छन् ।
आश्चर्यको कुरा उन्नाइस तले क्रुज गन्दा अठार तला मात्र हुन्छ । क्रुजमा १३ नं तला रहेनछ । यो सङ्ख्या कुन्नि किन हो अपशकुन मानिँदो रहेछ । त्यसैले १२ बाट एकै चोटि १४ तला उल्लेख छ । अन्धविश्वास कुनै न कुनै रूपमा जुनसुकै समाजमा छिपेको हुँदो रहेछ ।
अर्को आश्चर्यको कुरा , प्रिन्सेसले १४ दिनका लागि चार हजार मानिसका लागि चाहिने माछा, मासु, दूध, फलफूल, अन्न, पानी लगायत सबै कुरा साथै ल्याएको छ । यात्रुले खोजेको कुरा क्रुजभित्रै उपलब्ध हुन्छ । जतिखेर जुन कक्षमा जाँदा पनि प्रिन्सेसका यात्रुहरू खाएको खाए छन् । खान पनि धित मारेर खान सक्ने मानिसहरू, यी सबैलाई यतिका दिनका लागि चाहिने खाद्यवस्तु, पानी र अरू बस्तुहरूको जोहो गर्नु भनेको पनि ठूलै कुरा हो । चौध दिन सम्मका फोहरमैला, शौचालयबाट निष्पादन भएका कुराहरू कहाँ राखिएको होला ? पौडी पोखरीदेखि भान्छा, चारहजार वास रुम, दर्जनौं वासिङ् मेशिनका लागि चाहिने सफा पानीको व्यवस्थापन कसरी गरिएको होला ?
प्रिन्ससले सिड्नीबाट यात्रा सुरु गरेको तीन चार घण्टापछि बस्ती, पहाड, बन केही देखिन छाडिहाले । समुद्रमा अरू जहाज पनि देखिँदैनन् । कताकति कौवा र बकुल्ला जस्ता चराहरू पानीको छालसँग डाइभ हान्दै खेल्दै उडेको देखिन्छ । ती चराहरू पनि पानीमा बस्छन् कि कता अनुमान नै गर्न सकिएन । भूधरातल धेरै टाढा भएको अवस्थामा त्यहाँ पुग्न त चराहरूलाई लगातार घण्टौँ घण्टा उड्नु पर्छ, पानीमा नै गुड त्यति ठूलो र गहिरो समुद्रमा कसरी सम्भव होला ? उडेर जमिन भेट्न निकै लामो यात्रा कसरी सम्भव होला ? यी चराहरूले कहाँ ओथारा बसेर बचेर काढ्छन् होला ? बचेरा कसरी वयस्क बन्छ होला ? मनमनै सोचेँ, उत्तर भेटिएन । यी कुरा किन सोचेँ, त्यसको पनि उत्तर छैन । जिज्ञासु मन उत्तरभन्दा प्रश्नतिर दौडिरहन्छ । सबैको जीवन साना ठूला प्रश्नै प्रश्नमा ठोकिएकै हुन्छन्, प्रश्नहरूको उत्तर पाए पनि उपयोगिता छैन तर किन प्रश्नमा मन दौडिरहन्छ ? त्यसको उत्तर छैन ।
निर्धारित तालिका अनुरूप तलै पिच्छे नाचगान, चलचित्र, प्रदर्शनी, प्रस्तुति र खेलहरू भइरहेका छन् । समुद्र लाग्नेका लागि स्वास्थ्य उपचार पनि सुरु भएको छ । मलाई भने चाहिने जति औषधि लगायतका कुराहरू सुव्रतले नै ल्याइदिएको छ । यात्रामा धेरै कुराको सावधानी चाहिन्छ, क्रुज यात्रा पहिलो भएकाले विशेष सावधानी चाहिने नै भयो । रेस्टुराँ र बारहरू खचाखच छन् । कोही जिममा व्यायाम गर्न थालिसके । डेक सातको भिष्टा लाउन्जमा मदिराका साथ किताब पढ्ने, कला स्केच गर्ने, तास खेल्ने, चित्र कोर्नेहरू पनि पचास बढी छन् । क्रुजमा आएर पनि के किताब, कला र रक्सीमा रमाएका होलान् ? बच्चाहरू पजल र लुडो खेलिरहेका छन्, आमा बुबा क्याफे, बारमा मस्त छन् । विशेष यात्रामा विशेष अनुभव नै लिनुपर्ने हो नि । कतिपय साथीहरू खानपिन, पढाइ, खेलमा किन व्यस्त भएका होलान् ? मनले फेरि प्रश्न गरिहाल्यो ।
डेक पाँचको पिएजामा जुम्बा नाच सुरु भयो । भोकाएकाहरू डेक सोह्रको होराइजन कोर्टमा मनमौजी बुफेट खाँदैछन् । कोही पिएजाकै रेस्टुराँबाट खाजा र पेय मगाएर जुम्बाको तालमा स्वाद लिइरहेका छन् । हामी चार सुव्रत, दिक्षा, कमला र म पिएजा समीपको रेस्टुराँमा खाजा मगाएर खान थाल्यौं । पोर्क, विफ पर्लाकि भन्ने डरले कमला र मेरा लागि भेज वर्गर मगाएँ । साकाना वर्गर (माछाको वर्गर) भनेको रहेनछ । रेस्टुराँका खाजाहरू चिसा छन्, सबैले चिसै मन पराएका छन् ।
आइसक्रिम बारमा महिलाहरूको भीड छ । मलाई मन पर्ने पेय कफीमा मानिसहरूको कमै ध्यान छ । जो कफीमा छन्, ती पनि आइस कफीमा । ह्वील चियर घचेट्दै, लट्ठी टेक्दै, पतिले पत्नीलाई पत्नीले पतिलाई डोर्याउँदै आएका दृश्यहरू विदारक पनि छन्, आश्चर्यपूर्ण पनि । त्यो उमेर र अशक्ततामा पनि मानिस किन यति लामो क्रुज यात्रा गर्छन् ? यो अवस्था र उमेर यति लामो क्रुज यात्राको हो र ? जे होस् एउटा सानो विश्व बोकेर प्रिन्सेस प्रशान्त शैलीमा प्रशान्त महासगारको तासमान समुद्रबाट अगि बढिरहेकी छ ।
आकाश पूरै निलो छ, प्रशान्त झनै गाढा निलो । प्रिन्सेसलाई न कुनै हतारो छ न कुनै थकावट । उ प्रशान्त शैलीमा अगि बढिरहेकी छ । बेलाबेलामा क्याप्टनेहरू उद्घोषण गरिरहेका छन् । हवाई जहाजमा हल्लाउन सुरु भएपछि हुने गरेजस्तै उद्घोषण बेलाबेलामा भैरहेको छ । उद्घोषणका शब्दहरूले मेरा कान स्पर्श गर्दा डर पनि साथै ल्याएको छ, यो विशाल महासागर जहाज केही भयो भने ? फेरि अर्को मन भन्छ–सितिमिति जहाज कहाँ डुब्छ ? अर्को मनले सोच्छ, यति धेरै मानिस, आफ्ना परिवारसाथ मृत्युमा पुग्न पाए त्योभन्दा ठूलो भाग्य के हुन्छ र ? होइन मैले त्यस्तो सोच्नु हुँदैन, भर्खरै जवानी सुरु गरेका सुव्रत, दिक्षाहरूको लामो भविष्य छ । मन न हो कल्पनामा पनि सीमाहीन छ ।
आठ बजेर ४२ मिनेट गएपछि घाम अस्ताउँछ भन्ने कार्यक्रम तालिकाको सिरानमा लेखिएको छ । मलाई समुद्रमा घाम कसरी डुब्दो रहेछ हेर्न औधी इच्छा छ । हिमालमा घाम उदाए, अस्ताएको दृश्य कति मनमोहक हुन्छ, धेरै पटक क्यामेरामा कैद गरेको छु । तर समुद्रमा घाम डुबेको देखेको छैन । प्रशान्त महासागर र हिमालका घामसँगको दृश्य सादृश्यतामा विवेचना गर्ने रहरले मनलाई चञ्चल बनाइरहेको छ । बल्कोनीको कुर्सीमा कमला र म घाम डुबेको दृश्य हेर्दै क्यामेरामा कैद गर्न हातमा मोबाइल लिएर बसिरहेका छौं । चिसोले हात कठ्याङ्ग्रिएको छ, कतै मोबाइल खस्यो भने समुद्रमा कता पुग्छ कता । सचेत मन सतर्क पनि छ । जाडोमा कफीको घुट्कोको साथ लिन पाए कत्ति मजा, लिन जाऊँ त समुद्र र सूर्यको लुकामारी छुट्छ ।
सूर्य ठूलो हुँदै तलतिर ओर्लिने क्रमसँगै घाम मधुरो बन्दैछ । मधुरो घामका किरण समुद्रको छालमा पोखिँदा पूरै समुद्र लालिमामय भयो । समुद्र र सूर्य किरणले इन्द्रेणी रङ्ग बनाउँदै महासागरभरि लालिमा छर्दै बाटुलो सूर्य बिस्तारै महासागरमा विलीन भयो । समुद्रले जितेको हो कि सूर्यले ? समुद्रको घुम्टोमा घाम लपेटिएको चाहिँ पक्का हो । भोलि बिहान अर्को दिशाबाट ताजा सूर्य फुर्तिला तेजमा टुपुल्किने छ । यात्रामा सूर्य थाक्छ र समुद्रमा विलीन हुन्छ तर समुद्र थाक्दैन, प्रशान्त मुद्रामा शालीन छ । प्रिन्सेसको न दिन छ न रात, न थकावट नै, ऊ लगातार अघि बढिरहेछे । हामी सुत्छौं तर प्रिन्सेस अगाडि बढिरहेकी छ ।
दुई हप्ताका लागि प्रिन्सेस नै हाम्रो विश्व । इन्टरनेट सुविधा नलिएकाले दुई हप्ताका लागि बाह्य विश्वसँग दुईतर्फ सम्बन्ध काटिएको छ । इन्टरनेट प्रणाली विश्वबाट हराए के होला भन्ने कल्पना गर्थें, अब दुई हप्ता आफैमा प्रयोग गरी त्यसैको अनुभव लिँदै छु । कोठामा राखिएका टिभीहरूले बिबिसी, एबीसी अस्ट्रेलिया, स्काइ र स्पोर्ट टिभीमार्फत समाचार, चलचित्र, डकुमेन्ट्री, किताबहरू हेर्न पाइन्छ ।
सुव्रतलाई केही किताब ल्याउन भनेको थिएँ, झुम्पा लेहरीको नेमसेक, थोमस पिकेटीको एक्काइसौं शताब्दीको पूँजीवाद र अकेमेग्लु र रबिन्सनको ह्वाइ नेशन फेल्स समेत लोड गरेर किन्डल ल्याइदिएछ । कति किताब पढ्ने ? तर दुर्ई हप्ता नयाँ कुरा पनि नपढ्ने निधो गरेको छु । नयाँ कुरा हेर्नु, नयाँ ठाउँसँग साक्षात्कार हुनु, अवलोकन गर्नु, नयाँ मानिससँग परिचय हुनु पनि त पढाइ हुन् नि । अक्षरको पढाइभन्दा जीवन्त पढाइ र प्रकृतिको अवलोकन मेरा प्राथमिकतामा छन् । जीवनमा कहिलेकाँही प्राथमिकता बदलेर आफैसँग अनुभव साट्नुको मज्जा नै अर्कै ।
होराइजन कोर्टमा इण्डियन, चाइनिज, कन्टिनेन्टल लगायत सबै महादेशका परिकारहरू छन् । हप्ताको एक एक दिन इण्डियन नाइट, चाइनिज नाइट भनेर विशेष परिकारहरू बन्ने र यस बाहेक सामान्य परिकारका धेरै विकल्प उपलब्ध छन् । नोभेम्बर २१ भारतीय परिकारको रात्री (इन्डियन नाइट) हुने सूचना छ । ग्राहकको सन्तुष्टिका लागि प्रिन्सेस हाउसकिपिङका कर्मचारीहरू विशेष संवेदनशील छन् । प्रत्येक टेबुलमा खाना कस्तो छ भनी सोध्नका लागि कर्मचारीहरू आइहाल्छन् । खानाको स्टलमा के खाने भनी अवलोकन गर्दै थिएँ, एकजना भारतीय वेटरले सोधिहाल्यो – ‘तपाई भारतीय हो ?’
आफू नेपालको भनेपछि एकपटक काठमाडौंमा आएर पशुपति दर्शन गर्ने इच्छा छ, छिटै समय मिलाउँछु भन्यो । उ चेन्नाईको रहेछ । राष्ट्रियता, संस्कृति र सम्बन्धहरू स्वदेशमा भन्दा विदेशमा जागा हुन्छन् । हामी नेपालीलाई जुन मुलुक गए पनि भारतीय हो, पाकिस्तानी हो, बङ्गलादेशी हो भन्ने प्रश्नको सामना गर्नुपर्ने । वर्ण, चेहरा र लवजले शायद त्यस्तो भान पारेको होला ।
तेस्रो दिन मध्यान्हदेखि मौसमले खुबै साथ दिएको छ । जताततै समुद्र देखेर नअघाएका साथीहरू घाम कतिखेर लाग्ला र स्विमिङ पुलमा पौडौँला भनी प्रतीक्षामा छन् । दुवै स्विमिङ पुल र सन डेक खचाखच छ, दुवैतिरका बार र आइसबारमा पनि मानिसहरूको भीड छ । कर्मचारीहरू रुमाल, कुर्सी र बार व्यवस्थापनमा व्यस्त छन् । ठाउँठाउँमा सुख्खा फलफूल र पपकोर्नका पाकेटहरू राखिएका छन् । भित्री वस्त्र मात्र लगाएका महिला पुरुषहरू घामतिर फर्केर लमतन्न हुँदै स्वर्गीय आनन्द लिइरहेका छन् ।
बेलुका पौने नौ बजे घाम डुब्नै लाग्दा भने स्पोर्ट एरियाभरि डुब्दो सूर्यलाई कैद गर्न मोबाइल र क्यामरा लिएर उभिएका छन् । त्यसो त कोही सोलोमा, कोही व्यालेडमा, कोही जुम्बामा, कोही भाइओलिनमा, कोही स्पामा, कोही थिएटर, क्यासिनोमा पनि नभएका होइनन् । धेरैचाहिँ बारमा नै झुम्मिएमा छन् । जुम्बा नाचको गर्मागर्मी भीड छुट्टै छ । बुढाबुढी, तरुणा–तन्नेरी, अधबैँसे सबै जुम्बामा मच्चिएका छन् । नब्बे वर्षतिरका दम्पती पनि स्वस्फूर्त नाचेर जीवनको मजा लिइरहेका छन् । एकजना साथी त लट्ठी टेकेर जुम्बामा श्रीमती सहित नाचिरहेका छन् । लट्ठीको ताल मिलेन भने ?
धेरैजसो पचहत्तर–असी काटेका दम्पतीहरू अमूल्य जीवनको प्रत्येक क्षणको मज्जा लिइरहेका छन् । युवाहरूको भिड प्रिन्सेस थिएटरको लाइभ म्युजिकमा छ । चिनिया साथीहरू टेबल टेनिस र ब्याडमिन्टनमा सट हान्दै छन् । पाकाहरू गल्फमा पनि छन् । बुफेटहरू खुला छन् तर बारमा जाने विकल्प पनि खुला छ । पपकोर्नदेखि आइसबार पनि खुला छन् । समुद्री बतासको चिसोमा पनि आइस क्रिम र चिसो पेयमा साथीहरू रमाइ रहेका छन् । चिसोलाई चिसोले काट्छ भन्ने नेपाली कहावत ठिकै रहेछ । चाहना प्राथमिकता र स्वाद सन्तुष्टिको विविधता नमुना प्रिन्सेसले देखाएको छ । रमाउने आआफ्नै तरिका छन् ।
वास्तवमा जुन अवस्थामा छौ त्यही अवस्थामा जीवनलाई मज्जाले भोग्नुपर्छ भन्ने सन्देश प्रिन्सेसका लबी, थिएटर र मनोरञ्जन स्थलहरूले दिइरहेका छन् । आफूभित्र के भइरहेको छ कत्ति पर्बाह नगरी तासमान समुद्रमा एउटा विश्व बोकेर प्रिन्सेस भने लगातार रफ्तारमा न्यूजिल्याण्डतर्फ दौडिरहेकी छ । समुद्रमा ऊ एक्लै छ, ऊ एक्लो यात्रा गरिरहेकी छ । एक्लो यात्रा दिक्दार लागेको पक्कै छैन, किनकि उसले बोकेको विश्वमा चारहजार यात्रीहरू जीवनको स्वाद लिइरहेका छन् ।
एक पटक क्रुजभित्रको समाजलाई शासकीय पाटोबाट हेर्ने प्रयास गरेँ । सबै समान छन्, उमेर, रूप, रुचि, धर्म, सम्प्रदाय, प्राथमिकता र अरू कतिपय वैयक्तिक कुरामा यात्रुहरू फरक छन् । तर सबै आआफ्नै आस्वादमा डुबिरहेका छन्, स्वतन्त्रताको उच्चतम उपयोग गरिरहेका, निजत्वमा उन्मुक्त छन् । मनोरञ्जन र आनन्दका लागि स्वतन्त्र छन् ।
कोही पढाइमा, कोही खेलाइमा, कोही दृश्यावलोकनमा, कोही सङ्गीत सुन्नमा त कोही सङ्गीत गर्नमा, नृत्य–गायनमा, योग उपासनामा, किनबेचमा, जुवा क्यासिनोमा, प्रहसन प्रतियोगितामा, रकर्यापमा । लाग्छ शासनाहीन समाजको उत्कृष्ट नमुना, स्वतन्त्रताको उच्चतम सीमाको अभ्यास, तर सबै स्व अनुशासित । त्यसैले सबै खुसी छन् ।
कोही कसैप्रति आग्रही छैन, ईर्ष्यालु छैन । ईर्ष्या र आरिस भए पो खुम्चिएको अनुहार देखिने हो, सबै फक्रक्क फक्रेका र फूल जस्तै उज्याला । उज्यालिन उमेर र अवस्थाले छेक्दैन, ईर्ष्या र लोभले छेक्दो रहेछ । आआफ्ना चाहनालाई स्वनिर्धारित, स्वनियमत सीमाले उपयोग गरिरहेका छन् । त्यसैले स्वतन्त्रता र खुसीको उच्चतम स्वरूप देखिएको छ । स्वतन्त्रता भन्नु निजत्वको खुसी हो भन्ने देखिएको छ । स्वतन्त्रता र मानव अधिकारको दुहाइ दिने शासकले सिक्नु पर्ने शासकीय विधि ।
(क्रमशः)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।