

परमाणु बमले ध्वस्त हिरोसिमा सहर
मानिसहरू अत्यन्तै पीडाले तड्पिँदै भागिरहेका देखिन्थे । कसैको आँखा बाहिर निस्केका थिए । कोही हातखुट्टा र शरीर जलेर पीडाले चिच्याइरहेका थिए । कसैको छाला आगोले पोलिएर झुन्डिएका थिए । कतिपय मानिसहरू तापको जलन सहन नसकेर पीडाले तड्पिँदै गहिरो पानीको इनारमा हाम फाल्दै गरेका देखिन्थे ।
यो भयावह हृदय विदारक दृश्य हामीले हिरोसिमाको पिस मेमोरियल म्युजियमभित्र रहेको प्रोजेक्टरमा श्रव्यदृश्यमार्फत हेर्दै थियौँ । एक जापानी महिला गाइडले हामीलाई त्यो भयङ्कर विध्वंस र इतिहासकै दर्दनाक घटना सविस्तार दृश्यहरू देखाउँदै बताउँदै थिइन् ।
“कस्तो दुर्भाग्यपूर्ण मानिसहरू मानिस जसरी मरेनन् ।”
अमेरिकाले ७७ वर्षअगाडि दुई जापानी सहर हिरोसिमा र नागासाकीमा अगस्ट ६ र ९ मा परमाणु बम खसालेको थियो । परमाणु बमले हिरोसिमामा करिब डेढ लाख र नागासाकीमा कम्तीमा चौहत्तर हजार मानिसको मृत्यु भएको थियो । लाखौँ नागरिकहरू घाइते भएका थिए। धेरै संरचनाहरू ध्वस्त भएका थिए । बमको विकिरणको असरका कारण हप्तौँ, महिनौँ र वर्षौँपछि पनि मानिसहरू विभिन्न रोगले मरेका थिए । युद्धमा परमाणु बम प्रयोग गरिएको यो पहिलो घटना थियो । जापानको सुन्दर सहर हिरोसिमामा खसालिएको ‘लिटल बोइ’ नामक बममा लगभग पन्ध्र हजार टन विस्फोटक पदार्थको शक्ति थियो र यसले १३ वर्ग किलोमिटर क्षेत्रलाई ध्वस्त पारेको थियो । बम विस्फोटपछि एसियामा युद्ध समाप्त भएको थियो र जापानले सन् १९४५ अगस्ट १४ मा आत्मसमर्पण गरेको थियो।
जापानको लामो बसाइँ क्रममा जापानको एउटा धार्मिक सामाजिक संस्था Johrei मार्फत हामीले हिरोसिमा र क्योटोको दुई दिने अवलोकन भ्रमण गर्ने अवसर पाएका थियौँ । हामी टोकियो नजिकैको सहर गुन्माकेनबाट बेलुकी हिरोसिमाको यात्रामा निस्केका थियौँ। हाम्रो साथमा संस्थाका केही जापानी र नेपाली साथीहरू हुनुहुन्थ्यो । जापानको अत्यन्तै सुरक्षित र फराकिलो बाटो हुँदै द्रुत गतिमा हामी टोयटा हायसमा पूरा रात लगभग आठ सय किलोमिटर पार गरेर भोलिपल्ट बिहानै सुन्दर हरियाली युक्त सहर हिरोसिमा प्रवेश गरिसकेका थियौँ । हामीलाई अचम्म लाग्यो त्यहाँको सुन्दरता र प्रगति देखेर । जापानिजहरूको इमानदारिता र लगनशीलताले नै आजको जापानको मुहार फेरिएको कुरामा कुनै दुई मत थिएन । हामीले जापानीहरूको इमानदारिताको खुलेर प्रशंसा गर्यौ । यस्तो आधुनिक,भव्य हरियाली युक्त सुन्दर सहरमा पनि कुनै समय परमाणु बम खसेर ध्वस्त भएको थियो होला र ? हामीलाई विश्वास गर्न गाह्रो थियो ।
तर क्रूर युद्धको इतिहास वीभत्स र दर्दनाक थियो सन् १९४५ अगस्ट ६ बिहान ८ बजे आजकै दिन त्यहाँका बासिन्दाले कहिल्यै कल्पना नै नगरेको विनाशकारी मानवताको पराजित भएको कालो दिन थियो ।
आज पनि त्यहाँ अवस्थित शान्ति सङ्ग्रहालयभित्रको श्रव्य दृश्यहरू मेरो मानसपटलमा दौडिरहेको छ युद्धबाट हुने मानवीय विनाश सम्झिँदा कहिलेकाहीँ मन विक्षिप्त हुन्छ । आजको विश्वमा आणविक होडबाजी र युद्धको त्रास कायम नै देखिन्छ । यो युद्धको विभीषिकाबाट हामीले कहिले उन्मुक्ति पाउने हो थाहा छैन ।
विश्वमा शान्ति कायम होस् र यस्तो मानवीय विध्वंस कहिल्यै देख्न नपरोस्, अनाहकमा मृत्यु वरण गर्ने सम्पूर्ण आत्मालाई शान्ति मिलोस् भन्दै हामी प्रार्थना सभामा सहभागी हुँदै गर्दा धेरैका आँखा रसाइरहेका देखिन्थे ।
हिरोसिमाको अवलोकन भ्रमणपछि हामी दिउँसोको लन्च (बेन्तो) खाएर क्योटो पिस कन्फिरेन्समा सहभागी हुन र त्यहाँ रहेको टोयटा कम्पनी अवलोकन भ्रमणको लागि धार्मिक तथा औद्योगिक सहर क्योटोतर्फ प्रस्थान गर्यौ । हामीले लगभग अझै चार सय किलोमिटर यात्रा तय गर्न बाँकी नै थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

