१. काल विभाजनको लघुकथा – समय-सामग्र

 कणाद महर्षि

कणाद महर्षि

समय-सामग्री कतिबिघ्न थुप्रिएको मानिसहरूसँग ।

                       — तर टिप्ने को ?

                       — समय सदुपयोग गर्नेहरूले !

                       — फुर्सद भए पो !

                       — समयलाई बचत गर्ने नि !

                       — समय बचत हुन्छ र ?

                                     *

                       — मेरो त डुब्यो ।

                       — किन के भो र ?

                       — एकान्तमा समयलाई बचत गर्दै अँठ्याएर राख्न खोजेकी थिएँ ।

                       — अनि ?

                       — लुटी गो नि ! टिपिहाल्यो मेरो कौमार्य !!

  ###

नेपाली लघुकथाको ३० को दशकलाई स्वर्णकाल भनिनु पर्छ । यसैकालदेखि लघुकथामा उत्कृष्ट लघुकथाहरू लेखनको कार्य थालनी भयो । यसै समयदेखिका एक सक्रिय स्रष्टा हुन् कणाद महर्षि ।

कणाद महर्षि बौद्धिक र कल्पनाशील स्रष्टा हुन् । उनी काव्य र आख्यानमा बढी जमेका छन् । खदिलो, चोटिलो र सुत्रात्मक लेखन उनको विशेषता हो ।

प्रस्तुत “समय- सामग्र” लघुकथा कणाद महर्षिको सुत्रात्मक लघुकथा हो । शब्दहरूको ओजपूर्ण प्रस्तुतिसहित कणादले यस लघुकथामा समय र बैँसको सटिक चर्चा गरेका छन् । 

………..

२. पुस्तकभित्रको लघुकथा – मरूभूमिमा विष्फोट

नारायण कोइराला 

नारायणा कोइराला

आज अलि थाकेको थिएँ । दिनभरिको गर्मीले गलिसकेको अवस्था थियो । कोठामा पुग्नेबित्तिकै चिसो पानीले शरीर पखालेँ । कोठामा पुग्दा साथीभाइको रमाइलो सुरु भइसकेको थियो । मलाई भने त्यसको रत्ती पर्वाह थिएन ।

विस्तारमा गएर बसेँ । साथीभाइको ठूलो हाँसो फुट्यो । म भने आफ्नै धुनमा थिएँ । न त हाँसोले प्रभाव पारेको थियो, न त रमाइलोले नै ।

आफूले आफैँलाई प्रश्न गरेँ, किन म साथीभाइजस्तो बन्न सकिनँ ? दिनभर काम गर्दा सहकार्य हुन्छ, तर कोठामा किन बानी मिल्न सक्दैन ?

उनीहरूका बोतलका बोतल लडिरहेका थिए । मेरो मस्तिष्क । म अनौठो उपायको खोजीमा थिएँ । साथीभाइसँग पनि एक्लिन नपरोस् र सबैको रमाइलोमा दुःखी पनि हुन नपरोस् ।

उनीहरूको रमाइलो मलाई सताइरह्यो । सोचिरहेँ । सात समुन्द्रपारि अरबको मरूभूमिमा  साथीभाइसँग झगडा गर्ने हिम्मत थिएन । मेरो मनमा च्वास घोच्यो । न म उनीहरूलाई बदल्न सक्थेँ, न सामेल हुन ।

यो परिवेशले मस्तिष्कमा विष्फोट नै भयो । त्यही विष्फोट मरुभूमिमा अक्षरको रूपमा पड्किएर  छिरलिएको छ ।लघुकथाको रूपमा छताछुल्ल ।

###

नारायण कोइरालाको पछिल्लो कृतिको नाम हो “मरुभूमिमा विष्फोट” । यो लघुकथाकृति हो । यसमा समसामयिक विषयहरूमाथि स्वैरकल्पनामा बुनिएका लघुकथाहरू प्रस्तुत गरिएको छ । स्रष्टा नारायण कोइराला काव्य र आख्यानमा पछिल्लो समयमा सक्रिय छन् । नारायण समसामयिक घटना, दृष्य र परिवेशलाई स्वैरकल्पनाको माध्यमबाट लघुकथा लेख्न रुचाउँछन् ।

प्रस्तुत लघुकथा “मरूभूमिमा विष्फोट” कौतुहलपूर्ण लघुकथा हो । पाठकहरू जति जति कथा पढ्दै जान्छन्, कस्तो विष्फोट भएछ र कस्तो क्षती भएछ जान्न हतारिन्छन्, तर लघुकथाकार नारायण कोइरालाले पूर्ण चलाखीका साथ लघुकथालाई “युट्रन” गरिदिन्छन् – विष्फोटले ध्वंस हैन सृजना गरेको छ । लघुकथाले पाठकको सोचको विपरीत पाठकलाई पुर्याइदिन्छ । लघुकथा अत्यन्तै सफल छ ।

=========

३. समूहभित्रको लघुकथा – एकहप्ते तालिम 

 गरिमा आचार्य 

गरिमा आचार्य

हाम्रो गाउँको नवल दाजु सधैं मकहाँ आएर एक डाेकाे गाली बर्साउँथे । उनकै गाली सुनेर मेरो बिहानी सिदिन्थ्याे । सुन्ने मान्छे रिसले मुर्मुरिन्थे । म भने हाँसेरै टारिदिन्थेँ ।

उनी आउनासाथ खुब मज्जा आउँथ्याे । उनी हरेक दिन बेग्लाबेग्लै घटनाकाे प्रसङ्ग निकालेर गाली बर्साउँथे ।

उनका विरुद्धमा गाउँलेहरू बाेल्न सक्तैनथे, किनभने उनी गाउँभरिकै एक मात्रै पढे-लेखेका र भर्खरै सरकारी हाकिम भएका व्यक्ति थिए ।

पहिले उनको मुखबाट कहिल्यै रुखाे र नराम्रो बाेली निस्कन्नथ्याे । सरकारी हाकिम बनेपछि मात्रै उनी यस्तो हर्कत देखाइरहेका थिए ।

सबै मानिसहरू उनकाे बदलिएको बानी देखेर एउटै निर्णयमा पुगेका थिए – “बिचरा नवल बढी पढेर बहुलाएछ । देशकाे मुहार सुन्दर पार्ला र गाउँकाे इज्जत सगरमाथा पुर्‍याउला भनेको आफैँ पाे धरापमा फँसेछ ।”

हप्ता दिन पुगेपछि मलाई साथ लिएर नवल दाजु हात जाेड्दै हिँड्न थाले । घर-घर पुगेर माफी माग्थे ।

जहाँ पुगे पनि उनी भन्थे; “हाकिम भएपछि सेवाग्राही निर्धाहरूसँग रुखाे र घाेचपेचकाे भाषा बाेल्ने अनि त्यस्तै व्यवहार  गर्ने चलन रहेछ । मैले  त्यो आदत बनाउन यिनै बहिनीकहाँ सिक्न खाेजेकाे मात्रै हुँ ।”

अन्त्यमा उनले भन्ने गरेका थिए, “मेराे बनावटी व्यवहारलाई सत्य ठानेर मलाई उतिर्ण गराउनुभएकाेमा आभारी छु । मनमा चाेट र खाेट लगाउन पुगेकोमा दुबै हात जाेडी क्षमा माग्दछु ।”

###

नेपाली लघुकथाको क्षेत्रमा “लघुकथा संसार” पुरानो तर बिस्तारै अघि बढ्दै रहेको एक लघुकथा समूह हो । स्रष्टा राजन सिलवाल यसको संस्थापक एडमिन सदश्य हुन् । यस समूहमा अन्य समूहको तुलनामा थोरै लघुकथाकारहरूको संलग्न भएको र थोरै लघुकथाकारहरूले मात्र लघुकथाहरू पोस्ट गरेको देखिन्छ ।

प्रस्तुत लघुकथा “एकहप्ते तालिम” गरिमा आचार्यले पोष्ट गरेकी हुन् । नेपाली लघुकथाको क्षेत्रमा गरिमा अत्यन्तै नयाँ नाम हो । उनी श्री जनता माबि, सिरहामा १० कक्षामा अध्ययनरत छिन् ।

प्रस्तुत लघुकथा “एकहप्ते तालिम” नवनियुक्त सरकारी अधिकृतको बारेमा लेखिएको लघुकथा हो । भाषा सरल र कथा श्रुतिमधूर छ ।  कथामा रोचक तरिकाबाट सरकारी कर्मचारीहरू रूखो र  घोचपेची शैलीबाट प्रस्तुत हुन्छन् भन्ने भाव देखाइएको छ  । गरिमा आचार्यलाई थप लघुकथा लेखनको लागि शुभकामना ।

=======

४. समसामयिक लघुकथा – प्रेषण 

डा. विदुर चालिसे

डा. विदुर चालिसे

–“सबैभन्दा धेरै खुट्टा काटिन्छ !”

–“कतिका काटिन्छन् ?”

–“अल्प प्रयाेग जति सबैका !”

सबैजना गल्ल हाँसे । उनीहरूकाे हँसाइकाे लयमा व्यङ्ग्यकाे चाप थियाे । हेर्दाहेर्दै सबैकाे मुहार राताे भयाे । एकछिनपछि कालाे भयाे । धेरैबेरपछि घुराघुर गर्न लागे । समय घर्किदै गएपछि मुक्कामुक्की गर्न लागे । मुक्कामुक्की गर्दागर्दै पीडितले बमन गर्याे ।

–“आफ्नै सहाेदर मित्रकाे खुट्टा काट्ने ?”

—“राजनीति भनेकै खुट्टा काट्ने त हाे !”

खुट्टा काटिने र काट्नेबिच रस्साकस्सी चलि नै रह्याे । हाेहल्ला भयाे । स्वार्थी र निस्वार्थीकाे चक्मा चलिरह्याे । निस्वार्थी निकै बेहाेस भएर बर्बरायाे ।

–“हाे रेछ, सबैभन्दा धेरै खुट्टा मेरै काट्दा रैछन् ।”

स्वार्थीकाे जवाफ थिएन । उसले विद्धतापूर्ण जवाफ कनीकनी दिन अहङ्कारकाे बारूद पड्कायाे ।

–“व्याकरणमा पनि खुट्टा काटिन्छ, धेरै !”

कम्प्युटरकाे कि-बाेर्डमा कथाहरू टिपाेट गरिरहेका लेखककाे चेतना खल्बलियाे । उसले राजनीतिजस्तै व्याकरण वाणीकाे खुट्टा काट्ने अपवित्र गठबन्धन केलाउन थाल्याे । तर वर्णहरू सग्लैसग्ला टाइप हुन थाले । उसलाई झाेँक चल्याे । आफैँले बर्बराए ।

–“बकबक वाणी ।”

जब बकबक वाणीका कारणले सम्मेलनमा खुट्टाहरू काट्ने र काटिनेकाे चर्चा सिथिल हुन थाल्याे । लेखकलाई कसैले प्रेमपूर्वक काेट्यायाे । लेखक चुपचाप लागिरहे । नेपथ्यबाट कुनै शाब्दिक लय मडारिंदै आयाे ।

–“उहाँ काे हाे ?”

उत्तरदाता अलमल्ल पर्याे । एकछिन चुपचाप लाग्याे । केही समयपछि शालीन भएर जवाफ दियाे ।

–“उहाँ खुट्टा मिलाउने मान्छे !”

त्यसपछि काटिएका खुट्टाहरू सग्लिएर चल्मलाउँदै लेखककाे नजिक पुगे । सग्लाे खुट्टाेले लेखकलाई काेट्याउँदै प्रेषण दिन थाल्याे । प्रेषणका कारण यति ठुलाे दबाब सिर्जना भयाे कि काटिएका खुट्टाहरू सबै सग्लाे हुँदै गए । लेखक छट्पटाउन थाले । उनले सहायताका लागि मानसिक तनाव बटुल्दै भने,

–“प्रस्ताव लेखन !”

प्रस्तावकाे वरिपरि मानसिक ज्वार घुमिरहेकाे थियाे । छुसछुस छाेइएका मानसिक ज्वारकाे प्रस्तावसँगै सम्मेलनमा अनाैठाे एक घाेषणा भयाे,

–“इच्छुक मनका पराकम्पन !”

###

समाजमा खुट्टा काटिनु वा काट्ने प्रयासहरू गर्नु समसामयिक काम भएको छ । कोहीभन्दा अघि बढ्न वा कोहीलाई रोक्न खुट्टै काटिदिनुपर्ने विकास समाजमा मौलाउँदै गएको छ । यही समाजको यही कुरोलाई लघुकथाकार डा. विदुर चालिसेले समसामयिक पाराबाट लघुकथा “प्रेषण”मा प्रस्तुत गरेका छन् ।

स्रष्टा/द्रष्टा डा. विदुर चालिसे नेपाली साहित्यमा काव्य, आख्यान, समालोचना र भाषिक अन्वेषणमा सक्रिय छन् । पछिल्लो समय अनवरत लघुकथा लेख्ने उनी त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक पनि हुन् ।

डा. विदुर चालिसे एक बौद्धिक लघुकथाकार हुन् । लघुकथामा परिवेश र विषय उही हुँदाहुँदै पनि उनीले प्रयोग गर्ने भाषा शैली र भेदका कारण डा. चालिसेका लघुकथाहरू माथिल्लो श्रेणीमा पुगेको देखिन्छ । कतिपय उनका लघुकथाहरू त क्लिष्ट पनि बन्ने गरेका छन् ।

प्रस्तुत लघुकथा “प्रेषण” अत्यन्तै समसामयिक विषयमा लेखिएको लघुकथा हो । भाषा र प्रवृत्तिको सूक्ष्म व्याख्या गर्दै लघुकथाकारले समाजको एक चरित्र देखाएका छन् । कथा कतै प्रष्ट र सरल छ भने कतै क्लिष्ट र बौद्धिक  पनि बनेको छ । यो नै डा. विदुर चालिसेको लघुकथामा आफ्नो पहिचान हो ।

======

५. मलाई मन परेको लघुकथा – इन्द्रिय सुख 

किशन पौडेल 

किशन पौडेल

मन साह्रै लोभी थियो । आफ्ना पाँचै इन्द्रियहरूलाई नियन्त्रणमा राखेर धनसङ्ग्रहतिर आशक्त भयो ।

सारै पीडित भएपछि एकदिन सबै शरीरका इन्द्रियहरू मिलेर उसलाई अनुरोध गरे–

“हेर्नुस् मन –  तपाई साह्रै कन्जुस्याइँ गर्नुहुन्छ । यो जवानीमा पनि हामीले न मिठो खान पायौँ न राम्रो लगाउन पायौँ न कहीँ  घुम्न जान पायौँ ।

हामी तपाईँको दास भएर अब कति समय यसरी कुण्ठित भई बाच्न सक्छौ र ?”

लोभी मनले भन्यो-

“हेर इन्द्रियहरू ! यो सब मैले तिमीहरूकै लागि कमाएर जोहो गरेको हो । अहिले भोक-प्यास सहेर बस, कुनै दिन मस्तसँग खान दिउँला ।”

इन्द्रियहरू हरेश खाएर आफ्नो काममा व्यस्त भए ।

कालान्तरमा मनले सोच्यो – मैले यति धेरै सम्पत्ति जोडिसकेँ । मलाई मस्तसँग खान लगाउन र घुम्न पुग्ने भैसकेको छ । यो सङ्ग्रह गरेर राखेको अकुत सम्पत्ति के गर्नु ? कसले लिएर जाला ?

अनेकौँ चिन्ताले मन त्रसित हुन थाल्यो ।

मन अझै तन्नेरी नै थियो । उसलाई लाग्दै थियो, अब रमाइलो गर्नुपर्छ।  नयाँ ठाउँहरूमा घुम्नुपर्छ । मोजमस्ती गर्नुपर्छ ।

एकदिन आफ्ना सबै इन्द्रियहरूलाई बोलाएर भन्यो, “सुन, इन्द्रियहरू हो ! म अब तिमीहरूको इच्छा पूरा गर्नेछु ।”

कानले केही सुनिरहेको थिएन । दृश्यमा आशक्ति हुने आँखामा आँसु बरर… झदै  थिए । स्वादमा आशक्त जिब्रो मौन थियो । विषय सुखमा लालायित शरीर निष्क्रिय र अल्छी भैसकेको थियो  ।

###

किशन पौडेल मोफसलमा रही काव्य र आख्यानमा साधनारत् स्रष्टा हुन् । पछिल्लो समय लघुकथामा उत्कृष्ट सृजनात्मक क्षमता किशनमा देखिएको छ । उनी यथार्थ कुरालाई  स्वैरकल्पनाको माध्यमबाट लघुकथामा प्रस्तुत गरी विषयलाई अनन्त उचाइमा पुर्याउन क्षमतावान् छन् ।

किशन पौडेल शब्दलाई तौलिएर लघुकथामा प्रयोग गर्ने एक कुशल शब्दशील्पी हुन् । उनीका प्रायः लघुकथाहरू मलाई बोन्साई जस्तै सानो, सुन्दर तर वयस्क लाग्छन् ।

प्रस्तुत लघुकथा “इन्द्रिय सुख” इन्द्रियहरूमाथि लेखिएको जीवनवादी लघुकथा हो । सम्वदात्मक शैलीमा लेखिएको यो लघुकथा एक कालजयी लघुकथा हो ।