
पुस्तक पढ्नु मेरो रुचि भित्र पर्दछ । म नियमित किसिमले पुस्तक पढ्ने गर्दछु । कथा, लघुकथा पुस्तकहरूको हुने जूम परिचर्चामा म स्वयं सहजकर्ता भएकोले मैले धेरै साहित्यकारका अनेक कृति पढ्नु स्वाभाविक हुन आउँछ ।
कहिलेकाहीं म स्वयं लेखक समक्ष पुग्छु र उहाँहरूले लेखेका पुस्तक मागेर पढ्छु । कुनै लेखकका पुस्तक खरिद गरेर पढ्छु । त्यसो त मलाई उपहार स्वरूप वर्षभरिमा दर्जनौं पुस्तक प्राप्त हुन्छन् । म क्रमश: ती पुस्तक पढ्दै जान्छु ।
यस पटक (सन् २०२५ जुन) म काठमाडौं पुगेको बेला मलाई एल बी क्षेत्री लिखित ‘अमेरिकामा ४३ दिन’ पढ्ने इच्छा जागृत भयो तर उक्त पुस्तक कहाँ पाइन्छ भन्नेमा म निश्चित थिन । मैले एल बी सरलाई फेसबुकको मेसेन्जरमा काठमाडौंबाट नारायणघाट सम्पर्क गरें । उक्त पुस्तक ‘पेज टर्नर’ बागबजारबाट खरिद गर्न सकिने उहाँबाट जानकारी पाएँ ।
‘अमेरिकामा ४३ दिन’ पुस्तक मैले खरिद गरें । पढ्न पनि आरम्भ गरें । तर, नेपालमा हुँदा अस्वस्थता र अति व्यस्तताको कारणले गर्दा नेपालमा नै उक्त पुस्तक सम्पूर्ण रूपमा पढ्ने औसर जुरेन । हुन त यी कुराहरू भन्नु आवश्यक त थिएन ।
अब पुस्तकको समीक्षातिर लागौं । जसरी कुनै तरकारीको एउटा सानो अंश चाखेर सम्पूर्ण तरकारीको स्वाद थाहा हुन्छ, त्यो तरकारी मीठो भएको थाहा हुन्छ, र त्यो तरकारी अघाउन्जेल खान मन लाग्छ त्यसैगरी अमेरिकामा ४३ दिन अति रोचक पुस्तक (आरम्भमा नै) हुनुपर्छ भन्ने मलाई अनुभूत भयो । र मनले जति सक्यो छिटोछिटो यो पुस्तक पढ्न मेरा आँखालाई आदेश दियो ।
यो पुस्तकको समीक्षा लेख्नुपूर्व एउटा कुरा के खुलस्त पार्न चाहन्छु भने मलाई एल बी सरले यो पुस्तकको समीक्षा गर्न भन्नु भएको पनि होइन । आजसम्म मैले एल बी सरलाई प्रत्यक्ष रूपमा भेटेको पनि छैन । पहिले चोटि उहाँसँग मेसेन्जरमा (सन् २०२५ मा ) कुरा भएको हो त्यो पनि उक्त पुस्तक कहाँ पाइन्छ भन्ने जानकारीका लिन । मेरो एक पुस्तक ‘मेघदूतमा के छ’ मा उहाँले उक्त पुस्तकको लागि भूमिका लेखिदिनु भएको थियो, राम अविकास मार्फत । त्यो बेला पनि उहाँसँग भेट भएको होइन ।
मैले ताना शर्मा लिखित पुस्तक – नियात्रासङ्ग्रह ‘बेलाइततिर बरालिँदा’ आफ्नो युवा कालमा पढेको थिएँ । अहिले प्रौढ अवस्थामा छु । यस अवस्थामा यात्रा संस्मरण- ‘अमेरिकामा ४३ दिन’ पढ्दा, बेलाइततिर बरालिँदा २०, र अमेरिकामा ४३ दिन, १९ लागेन । दुवै पुस्तक, २० नै लाग्यो । बेलाइततिर बरालिँदा र अमेरिकामा ४३ दिन मलाई उस्तै उस्तै लाग्यो । ‘अमेरिकामा ४३’ दिन ज्यादै उपयोगी, जानकारीमूलक र रोचक पुस्तक लाग्यो । पढ्नै पर्ने पुस्तक लाग्यो ।
यो नियात्रा लेख्दा लेखकले इमानदारी र सत्य प्रस्तुति अब्बल दर्जाको प्रयोग गर्नु भएको छ । अमेरिकाका विभिन्न शहरमा जे देख्नु भएको छ त्यो लेख्नु भएको छ । अमेरिकामा रहेका नेपालीहरूलाई भेट्दा जे जस्ता तीतामीठा अनुभवहरू सँगाल्नु भएको छ, ती कुराहरू, ती अनुभवहरू निडर भएर लेख्नुभएको छ । सत्य र तथ्य लेख्नुभएको छ । जस्तै, अमेरिकाले अन्य राष्ट्रहरूलाई थिचोमिचो गर्ने र अन्तर्राष्ट्रिय हबलदार बन्ने कार्य मात्र गर्दैन विश्व भर मानव अधिकारको रक्षा गर्ने कार्य पनि गर्छ । जनहित र लोकहितको कार्य पनि गर्दछ भन्ने कुरा अमेरिकामा ४३ दिन पुस्तक पढे पछि थाहा हुन्छ । यो कुरा लेखकले निडर भएर लेख्नुभएको छ ।
एल बी क्षेत्रीले अमेरिकामा ४३ दिनमा केवल आफ्ना यात्रा विवरणहरू, मात्र समाविष्ट गर्नु भएको छैन, साथै यो पुस्तकको मार्फत अमेरिकासँग सम्बन्धित अनेक किसिमका महत्त्वपूर्ण राजनैतिक, ऐतिहासिक, सामाजिक, मनोवैज्ञानिक, आर्थिक जानकारी पनि पाठकलाई गराउनु भएको छ । उक्त पुस्तक पढ्दा पाठकलाई आफू पनि अमेरिकाको भ्रमणमा रहेको आभास हुन्छ । पाठकलाई त्यस्तो गराउन सक्नु लेखकमा प्रस्तुति कला उच्च रहेको मान्नु पर्छ ।
यो पुस्तक पढिरहँदा मलाई लाग्यो – म पनि एल बी सर र मीन म्याम (एल बी सरको पत्नी) सँग अमेरिका घुमिरहेको छु । हुन त म पनि अमेरिका बस्छु र अमेरिकाका अनेक राज्य र शहरहरू घुमेको छु । पुस्तकले मलाई एल बी सरको आँखाले अमेरिका हेराएको छ । यहाँ प्रश्न उठ्छ – एल बी सरले जुन ठाउँ देख्नुभयो, जुन ठाउँ बारे महत्त्वपूर्ण एवं रोचक जानकारी पाउनु भयो, ती ठाउँहरू घुम्न र अनेक जानकारी पाउन मैले कसरी छुटाएछु ? एल बी सरको वर्णन गर्ने शैलीले उहाँमा विषयवस्तुको अध्ययन र अवलोकन गर्ने क्षमता बेजोड रहेको मैले अनुभूत गरें ।
गम्भीर पाठकका लागि ‘अमेरिकामा ४३’ दिन भित्र धेरै विषय छन् । अर्थ, मनोविज्ञान, राजनीति, कूटनीति, राष्ट्रवाद, यौन आदि आदि । र ती विषयहरूलाई लेखकले सूक्ष्म किसिमले अवलोकन, विश्लेषण र प्रस्तुत गर्नुभएको छ ।
यस पुस्तकभित्र नेपाल र अमेरिका बस्ने नेपालीको सामाजिक परिवेशका अनेक वर्णन छन् । अमेरिकी नेपालीको मनोविज्ञानका अनेक विश्लेषणहरू छन् । ती जानकारीमूलक छन् । ज्ञानवर्धक छन् ।
यस पुस्तकमा मानव मनोविज्ञान र यौन बीचको सम्बन्धलाई अति गम्भीरतापूर्वक अध्ययन र त्यस उपर चिन्तन एवं मनन गरेको पाइन्छ ।
एक प्रसङ्गमा लेखक भन्नुहुन्छ ‘मसँग धेरैले फोटो लिए । कुरा भयो । धेरैले अमेरिकामा बसेर दुःख पाएको कुरा गरे । कसैकसैले गर्वका साथ जानकारी दिए, हाम्रो त नेपालमा प्रशस्त जग्गा छ । कसैले भने – म त प्रहरीको इन्स्पेक्टर थिएँ, म यसपी थिएँ, म लेक्चरर थिएँ, मेरो ठूलो व्यवसाय थियो । तर मैले कसैलाई पनि किन आउनुभयो त नि देशको सुख छोडेर विदेशमा दुःख पाउन ? भनेर सोधिनँ । कहाँ के सोध्ने वा नसोध्ने, कहाँ गुनासो गर्ने वा नगर्ने, कहाँ मन नलाई-नलाई फिस्स हाँसिदिने कलाबारे परिस्थितिले धेरै सिकाएको थियो मलाई ।’
यो मैले पनि भोगेको कुरा हो । म स्वयंले पनि अमेरिका र क्यानाडाका विभिन्न शहर पुगेर विभिन्न व्यक्तिसँग भेट्दा त्यस्तो अनुभव गरेको छु । फुर्ती लाउने हाम्रो एक किसिमको चलन जस्तो छ । देशभित्र होइन देश बाहिर पुगे पनि हामी फुर्ती लगाउन औसरको खोजी गरिरहेका हुन्छौं । अरूको कम सुन्छौ, आफ्नै बढी सुनाउने उद्देश्य राख्छौं । यो हाम्रो सामाजिक मनोविज्ञान हो जुन धेरै व्यक्तिमा लागू हुन्छ ।
अर्को प्रसङ्गमा लेखक भन्नुहुन्छ ‘सामाजिक दिग्गज र साहित्यिक प्रतिभाहरूसँग, त्यति लामो बहस हुँदा पनि अनेसासले २५ वर्षमा गरेको उपलब्धि र मनाउँदै गरेको रजतजयन्तीको विशेषता र औचित्य बारे दुईचार शब्द बोल्ने कसैले चासो देखाए जस्तो लागेन । त्यस रमाइलो भेलामा प्राज्ञिकताको अनुपस्थिति मलाई खड्केकै हो ।’
अर्को प्रसङ्गमा लेखक पुन: भन्नुहुन्छ, ‘डालसबाट सान फ्रान्सिसकोका लागि ७ जुलाईको प्लेनको टिकट काटिसकेका थियौँ । जुलाई २ बाट नै मिराको बाहेक अन्यसँग सम्पर्क गर्न थालेँ । एकजना, दुईजना, तीनजना, चारजना । एक पटक, दुई पटक, तीन पटक, चार पटक मेसेज गरेको गर्यै गरेँ । कसैको जवाफ आएन । फोन गरेँ जवाफ आएन । ७ जुलाई नजिकिन थाल्यो । म अलिक सोचमा परें । म्याडमलाई पनि भनें । कति छ पैसा हेर त ।’
यस्ता कुराहरूले नै किताबले पाठकलाई तानिरहन्छ ।
यस पुस्तक मार्फत लेखकले उपयोगी कुरा पनि पाठकहरूसँग साझा गर्नु भएको छ । जस्तै लेखक भन्नुहुन्छ, ‘जसले यात्रा गर्दैन उसले सही मानेमा जिन्दगीको मूल्य ठम्याउन्न ।’
लेखकको यो भनाई अति सही र उपयोगी पनि हो । एक पटक मैलै मेक्सिकोका दुई शहर केजुमेल र कोष्टामायाको भ्रमण पानी जहाज (क्रुज) मार्फत गर्ने औसर पाएको थिएँ । त्यो औसरले मलाई ‘क्रुज डायरी’ भन्ने एक पुस्तक लेख्ने सामाग्री, सोच र विचार पनि दियो । ‘क्रुज डायरी’ नामक पुस्तक मैले लेखेँ पनि ।
अमेरिकी यात्राको क्रममा एल बी सर आफ्नो एल बी अन्दाज यसरी प्रस्तुत गर्नुहुन्छ, ‘ह्यारीको कुराबाट म प्रभावित भएँ । उसको ट्याक्सीको भाडा २० डलर थियो । मैले २० डलरको नोट दिएँ । मेरो प्यान्टको खल्तीमा एक मुठ्ठी जति छुट्टा डलर पैसा थिए, मैले खल्तीबाट निकालेर उसको हातमा राखिदिएँ । साथै म्याम (आफ्नी पत्नी, मीना म्याम) सँग ५० डलरको नोट मागेँ, उसको हातमा राख्दै भने- सेन्ड योर फादर ।’
वाह एल बी सर ! वाह एल बी अन्दाज ! अमेरिका आउँदा धनी व्यक्तिहरू पनि पैसा पैसा जोगाएर खर्च गर्छन् । कुनै सामान खरिद गर्दा वा खर्च गर्नु पर्दा भुक्तान गर्नुपर्ने डलर रकमलाई नेपाली मुद्रामा रूपान्तरण गरेर गणना गर्छन् । यस्तो स्थितिमा एल बी सरले टेक्सी चालकलाई डलर दिएर उदारता देखाउनु आफैमा उहाँ कोमल हृदय भएको भन्ने कुराको पुष्टि हुन्छ । एल बी सरको त्यो एल बी शैली मलाई अति मन पर्यो । यात्राको क्रममा म पनि त्यस्तो गर्छु । स्थानीय साना व्यापारलाई सहयोग होस् भन्ने हेतुले र मेरो खल्तीमा भएको पैसा गरीब व्यापारीको हातमा पनि परोस् भन्ने उद्देश्यले यात्राको क्रममा, विभिन्न बजारमा, आफूलाई आवश्यक नभएको सामान पनि खरिद गर्छु ।
यस पुस्तकमा लेखकले अमेरिकी शहरहरूको नाम लेख्दा अन्यथा हुन पुगेको छ । जस्तै ह्युस्टन हुनु पर्नेमा हाउसटन हुन पुगेको छ । यस्तो हुनुलाई म स्वाभाविक नै मान्छु किनभने अमेरिकाका शहरका नाम यस्ता छन् जुन स्पेलिङ अनुसार उच्चारण हुँदैनन्, जसरी बोलिन्छ, त्यसरी लेखिन्छ । जस्तै अमेरिकाको लुजियाना राज्यमा रहेको एक सहर Lafayette को उच्चारण लाफियाती हुनुपर्ने हो तर उच्चारण हुन्छ लाफियत । यस्तो क्यानडामा पनि हुन्छ जस्तै टोरन्टोलाई टोरानो भन्नेहरूको संख्या पनि उल्लेखनीय छ ।
यस पुस्तकमा लेखक आफू अति नेपालवादी वा राष्ट्रवादी भएको अनेक प्रसङ्गमा उल्लेख गर्नुभएको छ । लेखक त्यसरी प्रस्तुत हुनु स्वभाविक हो । तर अहिलेको यो ‘ग्लोबल सिटिजन’ को युगमा व्यक्तिको राष्ट्रियता कुनै एक देशमा मात्र सीमित रहँदैन । अर्को शब्दमा भन्ने हो भने अहिले करोडौं मानिस ‘ग्लोबल सिटिजन’ हुन पुगेका छन् । राष्ट्रियता कुनै एक देशमा मात्र सीमित हुन स्थिति छैन । वर्तमान विश्वको, राष्ट्रियताको, यो एक अर्को पाटो हो । दुई वा तीन देशको नागरिकता (पासपोर्ट) लिनेहरूको संख्या वर्तमान विश्वमा करोडौंमा छ । यस विषयमा चिन्तन गर्ने जिम्ममा मैले लेखकमा नै छाडें । एल बी सरमा छाडें । लेखक स्वतन्त्र हुन्छ, सारभौम हुन्छ । यो तथ्य मलाई राम्ररी थाहा छ । लेखकले आफ्नो मनमा लागेको कुरा लेख्न पाउनु पर्छ । अन्यले अवरोध पनि पुर्याउनु हुँदैन ।
यस्तो भएको भए अझै राम्रो हुने थियो भन्ने हिसाबले भन्ने हो भने लेखकले यस पुस्तक मार्फत वा आफ्नो यात्रावृत्तान्त मार्फत अमेरिका, अमेरकामा रहेका नेपालीहरूको बारेमा अझै बढी जानकारी दिएको भए अति सुन्दर हुने थियो ।
यस पुस्तकभित्र रहेका रोचक घटना र तथ्यहरूको संख्या ठूलो छ । यो सानो समीक्षामा ती सबै लेख्न सम्भव पनि छैन ।
स्वदेश (नेपाल) को लागि, नेपालको पर्यटन विकासको लागि, अमेरिकामा लेखकले गर्नुभएको प्रयासबारे चर्चा नगर्ने हो भने यो समीक्षा अधुरो रहनेछ । अमेरिकाका विभिन्न शहरहरूको भ्रमण गर्ने क्रममा उहाँले नेपाल लेखिएको अनेक टिसर्ट उपहारको रूपमा नेपालीलाई वितरण गरेका घटनाहरू उल्लेख गर्नुभएको छ । त्यति मात्र होइन, अमेरिकाका रैथाने, यहाँका नागरिकहरूलाई पनि नेपाल लेखिएको टिसर्ट उपहारको रूपमा वितरण गरेको कुरा पाइन्छ ।
एल बी क्षेत्री भन्नु हुन्छ, “पेन्साकोला समुद्री किनारमा आनन्द लिन आएकाहरूमा केही गोरेहरूसँग परिचय भयो र मायाको चिनो स्वरूपम नेपालबाट लगेको टिसर्ट बाँडियो र फोटो भिडियो गरियो । मैले ती मित्रहरूलाई भनेँ- नेपाल प्राकृतिक सुन्दरता बोकेको अनुपम देश हो । धेरै सुन्दर छ । त्यहाँ गैँडा छन्, बाघ छन्, चितुवा छन्, हात्तीमा चढेर जङ्गलभित्रै पसेर हेर्न पाइन्छ । जिप सफारी पनि उपलब्ध छ । तपाईँहरू एकपटक अवश्य आउनुहोला हाम्रो देशको सुन्दरता हेर्न ! उनीहरूले खुशी हुँदै भने -अवश्य आउनेछौं जीवनमा एकपटक तपाईँको देश हेर्न । उनीहरूले यसो भनिरहँदा म गौरवान्वित भएको थिएँ । मेरो देशको पर्यटन विकासमा एलबीको सूक्ष्म भूमिकाले प्रवेश गरेजस्तो लाग्यो ।’
यो वैष्य युगमा व्यक्तिहरूले केवल आफ्नो लागि मात्र सोचेको मैले देखेको छु । देशको लागि सोचेको देखेको छैन । आफ्नो खर्चमा, नेपालको पर्यटन विकासमा लगानी गर्ने एल बी क्षेत्री जस्ता मनकारीहरू औंलामा गन्न सकिने संख्यामा छन् । देश विकासप्रति एल बी सरको यो चिन्ता, चासो र माया स्तुत्य छ । उहाँको यस्तो कामको प्रशंसा गर्नमा मलाई भने कञ्जुस्याइ गर्न मन लागेन । खुलेर प्रशंसा गरेँ ।
अन्त्यमा, ‘अमेरिकामा ४३ दिन’ पढे पछि- धेरै पछि एक असल पुस्तक पढ्न पाएको मलाई अनुभूत भयो । अमेरिका र अमेरिकामा रहेका नेपालीहरूको बारेमा जान्न उत्सुकहरूलाई यो पुस्तक अध्ययन गर्न म अनुरोध गर्दछु ।
लेखनमा ‘हरफनमौला’ एल बी क्षेत्रीलाई प्रत्यक्ष रूपमा भेट्ने इच्छा जागृत भएको छ । भेट गराउने जिम्मा समयलाई दिँदै अहिले भने बिट मार्ने अनुमति चाहन्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

