नेपाली साहित्यमा परिचित व्यक्तित्व हुन् – शीतल गिरी । उनी नेपाली भाषा र साहित्यका साधक, संस्कार र संस्कृतिका साधक; इतिहास र भूगोलका साधक; तन्त्र र दर्शनका साधक, धर्म र अध्यात्मका साधकका रूपमा चिनिन्छन् । उनी मूलतः यही दीर्घ साधनाका सक्रिय भइरहेका छन् । उनको दार्शनिक निबन्ध लेखन निकै ओजिलो छ जसमा आफूले देखेको भोगेको जगतको समेत प्रदर्शन र खोजसमेत रहेको छ । जीवन र जगत्लाई हेर्ने पृथक् अनि गहन दृष्टि नै वास्तवमा दर्शन हो । निबन्ध साहित्य पनि लेखकीय विचार हो । जसमा स्रष्टाको मौलिक तथा शाश्वत विचार प्रदर्शित भएको पाइन्छ । तसर्थ साहित्य र दर्शनबीच वैचारिक सम्बन्ध देखिन्छ । साहित्यको गर्भगृहबाट निस्सृत दार्शनिक चिन्तनको परिशीलन बौद्धिक अभिव्यक्तिगत चातुर्यबाट अनुभूत गर्न सकिन्छ । समग्रमा साहित्य र दर्शन बीचको सम्बन्धलाई गिरीले …आरम्भ’ निबन्धमार्फत प्रस्तुत गरेका छन् ।
‘आरम्भֹ’मा २५ थान निबन्ध सङ्गृहीत छन् । जसका शीर्षकले इतिहासदेखि वर्तमानसम्मलाई प्रस्तुत गरेको छ । यस सङ्ग्रहमा अरनिको वृत्तान्त, द्रव्य शाह र समय, राम शाह र प्रतिभा, रणकुशल रणदुल्लभ, पृथ्वीनारायणको मूल्य, अवमूल्यनमा परेका अमरसिंह, अमर सहिद लखन थापा, फेरि भानुकै चर्चा, व्यक्ति र राष्ट्र, महान् सेनानी पुष्करनाथ उप्रेती, सम र साहित्य, एक अभिव्यक्ति सहिद गंगालाल, सन्तको मूल्य, केही थाहा छैन, पारिजात र साहित्य, बालकृष्ण पोखरेल र भाषा, फरासिला गोविन्द दाइ, महान् साहित्यकार हरिभक्त कटुवाल, मनु ब्राजाकी र समय, स्नेह, साहित्यिक पत्रकार अर्थात् नकुल सिलवाल, प्रश्रित र राष्ट्र, परशु प्रधान: अतियथार्थवादी शिल्पकार, गोपाल अश्क र हाँस खोई शीर्षकमा रहेका छन् ।
निबन्धसङ्ग्रहको पहिलो निबन्ध ‘अरनिकोको वृत्तान्त’मा अरनिकोको महान् कलाकारिताको चर्चा गर्दै उनले नेपाल र चीनमा प्रस्तुत गरेका कुशलता र प्राप्त गरेका सम्मानको चर्चा गरिएको छ । निबन्धमा अरनिकोको टोली तिब्बत जाँदाका घटनाप्रसङ्ग यात्रावर्णनको शैलीमा प्रस्तुत भएको छ । तिब्बतमा उनको कलाकौशलबाट प्रभावित वास्पाका (साक्या चैत्यका मालिक तथा बौद्धभिक्षु) को साथमा बादसाह कुबले खाँको दरबारमा पुगेको र चिनियाँ बादसाहले उनलाई श्वेत चैत्य निर्माण गर्न लगाएको कुरा वर्णन गर्दै उनको विश्वविख्यात कलाकारितालाई प्रस्तुत गरिएको छ ।
इतिहास प्रसिद्ध राजा द्रव्य शाहको जन्मदेखि उनका बहादुरीका अनेकौं सन्दर्भ ‘द्रव्य शाह र समय’ शीर्षकको दोस्रो निबन्धमा समेटिएको छ । द्रव्य शाह गोर्खाली शाहवंशको जग हाल्ने व्यक्ति थिए । लमजुङका राजा यशोब्रह्म शाहका कान्छा छोरा द्रव्य शाहको जन्म पत्रिका हेर्दा उनमा राजयोग परेकाले यिनी पनि राजा हुन्छन् भनी ज्योतिषी नारायणदास अर्ज्यालले भविष्यवाणी गरेका थिए रे भन्ने कुरालाई निबन्धमा प्रस्तुत गरेका छन् । गोरखाका मतवाली राजाबाट राज्यसत्ता हत्याउन सिद्ध ब्राह्मण नारायणदासले गोरखनाथ गुफामा पूजापाठ गरेको तथा गोरखनाथको आशीर्वाद प्राप्त गर्न २१ दिनसम्म तान्त्रिक पुनश्चरण गरेको जस्ता प्रसङ्ग निबन्धमा आएका छन् । पुनश्चरणकै प्रभावले गोरखनाथलाई जगाई द्रव्य शाहलाई गोरखाको राजा हुने वरदान दिलाएको र त्यही वरदानका प्रभावले द्रव्य शाहको बलबुद्धि बढ्दै गएको लगायतका थुप्रै किम्बदन्तीसमेत निबन्धले उठाएको छ । गोरखा दरबारका अन्य थुप्रै आन्तरिक व्यवस्थाको सूचना निबन्धमा आएको छ । आफ्नो समयप्रति इमानदार रहनु तथा निष्पक्ष भएर क्षमताका आधारमा उत्तराधिकारीमा जिम्मेवारी सुम्पनु जस्ता गुण उनीबाट वर्तमान पुस्ताका राजनेताले सिक्नुपर्ने धारणा निबन्धमा व्यक्त भएको छ ।
तेस्रो निबन्ध ‘न्याय नपाए गोरखा जानु’ न्यायप्रेमी गोरखाली राजा राम शाहप्रति लक्षित छ । प्रस्तुत निबन्ध उनै राम शाहको व्यक्तित्व र कृतित्वमाथि सङ्क्षिप्त तर सूक्ष्म समीक्षा गरिएको निबन्ध हो । यस निबन्धमा गोर्खाली राजाहरूको सङ्क्षिप्त वंश वर्णन गर्दै राजा राम शाहको दूरदर्शी तथा न्यायप्रेमी व्यक्तित्वको चित्रण गरिएको छ । त्यति बेलाका कतिपय प्रचलन अवशेषका रूपमा अहिले पनि नेपाल राज्यमा भएर नै वरपरका राज्यमा न्याय हराए रहेको हुन सक्ने तर्क निबन्धमा प्रस्तुत छ । राजा राम शाहको पालाको सामाजिक रहनसहन, कृषि व्यवस्था, पशुपालन, आर्थिक अवस्था, शिक्षा नीति, कूटनीति तथा राजनीति जस्ता विविध विषयमाथि निबन्धमा चित्रण गरिएको छ ।
‘रणकुशल रणदुल्लभ’ निबन्धमा रणदुल्लभको रणकौशलको गाथा आएको छ । मुगल सम्राट्ले मकवानपुरमाथि धावा बोल्न खोज्दा मकवानपुरको आग्रहमा रणदुल्लभले सहयोग गरेर बहादुरीपूर्वक मुगललाई परास्त गरे । अन्ततः रणदुल्लभले प्राण नै त्यागेपछि भने वीरभद्रलाई पश्चात्ताप भएको इतिहास प्रसिद्ध घटनालाई निबन्धले उठान गरेको छ ।
पृथ्वीनारायण शाहलाई एक युगपुरुष मान्दै दिग्विजयको गाथा पृथ्वीनारायणको मूल्य निबन्धमा प्रस्तुत गरिएको छ । वास्तवमै पृथ्वीनारायण जस्ता ओजस्वी र महत्वाकाङ्क्षी युगपुरुषका रूपमा चित्रण गर्दै प्राचीन भारत वर्षको सभ्यता तथा समकालीन अन्य नागर सभ्यताहरूको तथ्यपरक तार्किक वर्णन पनि निबन्धमा प्रस्तुत गरिएको छ । त्यस्तै नेपालका राष्ट्रिय विभूति तथा क्रान्तिका अमर नायक अमरसिंह थापाको जन्म विसं १८०८ मा भएको थियो । पिताले युद्धमा वीरगति प्राप्त गरेपछि उनी १२ वर्षकै उमेरमा पृथ्वीनारायण शाहको सेनामा भर्ती भएका थिए । उनकै शिक्षादीक्षामा हुर्किएका अमरसिंहले नेपालको एकीकरण अभियानलाई महत्त्वपूर्ण टेवा दिए। जै अमरसिंहको मूल्याङ्कन अवमूल्यनमा परेका अमरसिंह निबन्धमा गरिएको छ । बडाकाजीको उपाधिले विभूषित अमरसिंह थापाले पनि सुगौली सन्धिपछि भोग्नुपरेको परिस्थिति र सामना गरेका कुरालाई सम्झँदै अमरसिंह जस्ता महान् सपुतको इतिहासबाट अहिलेको पुस्ताले पनि प्रेरणा लिनुपर्नेमा योगदानकै अवमूल्यन भएकोप्रति निबन्धकारले चिन्ता प्रकट गरेका छन् ।
यस निबन्धसङ्ग्रहको सातौं निबन्ध ‘क्रूर तथा निरङ्कुश शासक’ जङ्गबहादुरका विरुद्धमा विद्रोहको उद्घोष गरेका लखन थापाका बारेमा लेखिएको छ । उनै प्रथम सहिद लखन थापाको सामाजिक योगदानको मूल्याङ्कन गरिएको निबन्ध हो, अमर सहिद लखन थापा । यस निबन्धमा गिरीले लखन थापाको बाल्यकालीन अभिप्रेरणा, युवाकालको चेतना र प्रौढ चिन्तनको चर्चा गर्दै म्लेक्ष्य जातिको चाटुकारिता गरेरै आफ्नो शासन सत्ता टिकाउन लागिपरेका जङ्गबहादुरको दुष्कृतिको पर्दाफास गरेका छन् ।
अर्को निबन्ध ‘आदिकवि भानुभक्त’का बारेमा लेखिएको छ । भानु नेपालीका जातीय कवि हुन् । जहाँ नेपाली जाति छन् त्यहाँ भानु पनि छन् निबन्धकार गिरीले घाँसी र भानुभक्तको सन्दर्भ जोडेका छन् । मोतीरामले बनारसमा देखेको घाँसीलाई भानुभक्तको कीर्तिसित जोडे भन्ने गिरीको तर्क छ । दासप्रथा अस्तित्वमा रहेको नेपाली समाजमा कतै दासी घाँसीको कीर्ति पो हो कि घाँसीकुवा ? यता पनि अनुसन्धान हुनु जरुरी छ ।
त्यस्तै अभारतीय लोकसाहित्यको सङ्कलन र संवर्द्धनमा जीवन उत्सर्ग गरेका साधक देवेन्द्र सत्यार्थीको योगदानको मूल्याङ्कन गरिएको निबन्ध हो – व्यक्ति र राष्ट्र । लोकभाकाको सङ्कलन र प्रवर्द्धन कार्यमा यायावर जीवन व्यतीत गरेका सत्यार्थी वास्तवमा व्यक्ति होइनन् राष्ट्र हुन् । किनभने, राष्ट्रको परिभाषा केवल भूगोल र राजनीति मात्रै होइन । हुँदै होइन । राष्ट्र त जनताको भावनाद्वारा निस्सृत अलौकिक अनुभूति हो । अतः लोकगीतको सङ्कलनका क्रममा सत्यार्थीले भोगेका यस्तै अनेकौँ सङ्घर्षका कथा गिरीले यस निबन्धमा उल्लेख गरेका छन् ।
यस सङ्ग्रहको अर्को निबन्ध निस्वार्थ भावले देश र जनताको सेवा गर्ने व्यक्ति नै वास्तवमा महान् सेनानी पुष्करनाथ उप्रेतीको मूल्याङ्कन गरिएको निबन्ध हो । पुष्करनाथको योगदान केलाउने क्रममा गिरीले वर्तमानको राजनीति र राजनेताको चरित्रमाथि सटिक समीक्षासमेत गरेका छन् । महान् सेनानी पुष्करनाथ उप्रेतीका विषयमा अर्का प्रजातन्त्रका सेनानी धर्मदेव पन्तद्वारा लिखित महान् सेनानी पुष्करनाथ उप्रेती पुस्तकको समीक्षा गर्दै पुष्करनाथको योगदानको कदर गर्न सक्नु यस निबन्धको प्राप्ति हो ।
नेपाली नाट्य साहित्यका शीर्ष पुरुष बालकृष्ण सम नेपालका नाट्य सम्राट् हुन् । उनी नेपाली सेक्सपियरका रूपमा पनि परिचित छन् । उनै साहित्यका साधक बालकृष्ण समको साहित्यिक मूल्याङ्कन गरिएको निबन्ध हो, सम र साहित्य । सम साहित्यमा कोमलता र मानवताका प्रतीक हुन् । तर, समालोचकहरूले उनको लेखनलाई दुरूह, कठोर रसविहीन भनी पाठकको मनबाट विमुख पार्न खोजेको अनुभूति गिरीको रहेको छ । त्यसैले उनले समग्रमा समको साहित्यले न्याय नपाएको मूल्याङ्कन गरेका छन् । नेपालको इतिहासलाई हेर्ने हो भने जंगबहादुरले आरम्भ गरेको जहानियाँ क्रूर शासनव्यवस्था १०४ वर्षसम्म चलेको देखिन्छ । तथापि यस शासन व्यवस्थाका विरुद्धमा प्रारम्भिक चरणदेखि नै विभिन्न गतिविधि देखिएकै हुन् । गिरीले भने जस्तै ती गतिविधि कि सत्ता प्राप्तिका लागि कि कुशासनका विरुद्ध सुशासन प्राप्तिका लागि नै गरिएका थिए । उनै निष्ठाका प्रतीक सहिद गंगालालप्रतिको अभिव्यक्ति एक अभिव्यक्ति सहिद गंगालाल शीर्षक निबन्धमा व्यक्त भएको छ । गिरीले गंगालाललाई आफ्नो युगको प्रतिनिधित्व गर्ने नेपाल आमाका संयुतका रूपमा चित्रण गरेका छन् । नरशमशेर गंगालालप्रति सहानुभूतिशील थिए तसर्थ माफी मागेमा उनलाई नमारी कारावास तोक्ने निर्णयसमेत रहेको विषय निबन्धमा उल्लेख गरिएको छ ।
कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिका आदर्श पुरुष हुन् । सङ्क्रमणकालीन नेपाली राजनीतिलाई सही दिशामा मार्गदर्शन गर्न भनाइले खेलेको भूमिका उल्लेखनीय मानिन्छ । नेपाली राजनीतिमा त्यागी राजनेता भएकाले उनी सन्तका रूपमा चिनिन्छन् । प्रधानमन्त्री निवासबाट फर्कंदा सानो टिनको बाकस, हातमा माटाको सुराइ र पुरानो छाता लिएर बाहिरिएका भट्टराईको विम्बचित्र नेपाली राजनीतिमा एउटा अनुपम आदर्श बनेर अङ्कित भएको छ । ‘सन्तको मूल्य’ उनै शालीन सन्त राजनेता कृष्णप्रसाद भट्टराईको मूल्याङ्कन गरिएको निबन्ध हो ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका पिता हुन्, मंगलकुमार नेपाल । वास्तवमा मंगलकुमार नेपालको परिचय यति मात्र भने होइन । हुँदै होइन । उनी हुन्, रौतहट गौर निवासी आदरणीय पण्डित, उदाहरणीय समाजसेवी, एक कुशल शिक्षक, तथा पौरस्त्य दर्शनका साहित्य शिल्पी । उनै पण्डित मंगलकुमार नेपालको बहुविध व्यक्तित्वमाथि चर्चा गरिएको निबन्ध हो, केही थाहा छैन । पूर्वप्रधानमन्त्रीका पिता भएकै कारणले उनका कतिपय व्यक्तित्व ओझेल परे । दुनियाँले उनलाई शीर्ष नेता जन्माउने पिताका रूपमा मात्र चिन्न पायो । वास्तवमा उनको साहित्यिक व्यक्तित्वको विमर्श साहित्यिक वृत्तमा चल्नै पाएन, राजनीतिको केन्द्रीयतामा सीमित भयो । कारण, यही विमर्शका माध्यमबाट माधवकुमार नेपालमा चाकरी पुर्याउने र आफ्नो पहुँच विस्तार गर्नेहरूको होडबाजी पनि हुन सक्छ । मंगलकुमार नेपालको स्मृतिग्रन्थ प्रकाशनका सन्दर्भमा पनि यस्तै भएको छ । स्मृतिग्रन्थमा उनको वास्तविक व्यक्तित्व मुखरित हुन पाएको छैन ।
केवल राजनीतिक नेताकार्यकर्ताहरूले केवल रीत पुर्याउन मात्र स्मृतिलेख तयार पारेको देखिन्छ भन्ने जस्ता निष्कर्ष यस निबन्धमा शीतल गिरीले निकालेका छन् । अतः मंगलकुमार नेपालका नाममा प्रकाशित भएको स्मृतिग्रन्थ नै अपुष्ट र अपुरो रहेको चर्चा निबन्धमा गरिएको छ । यस्तै स्मृतिग्रन्थको सार्वजनिकीकरण समारोहमा पनि साहित्यिक व्यक्तित्वको उपस्थितिभन्दा राजनीतिक नेतृत्वको झुन्ड बाक्लो रहेको तथ्य निबन्धमा सार्वजनिक भएको छ । अन्ततः व्यक्तित्वअनुरूप स्मृतिग्रन्थमा मंगलकुमार नेपालको समग्र व्यक्तिचित्र चित्रित हुन नसकेको यथार्थ नै निबन्धको सार हो ।
निबन्धकार गिरीले पारिजातलाई पनि समावेश गरेका छन् उनको निबन्धसङ्ग्रहमा । पारिजात नेपाली साहित्याकाशकी सर्वोत्कृष्ट नारी प्रतिभा हुन् । साहित्यका बहुविध विधामा कलम चलाए पनि उनको ख्याति आख्यानमा नै रहेको तथ्य गिरीले पनि सार्वजनिक गरेका छन् । प्रारम्भिक कालमा स्वच्छन्दतावादी प्रवृत्ति अनुसरण गरेकी पारिजात अस्तित्ववादी हुँदै प्रगतिवादी धारमा गएर समाहित भएकै हुन् । पारिजात समन्वयवादी लेखिका होइनन्, बरु उनले पृथक् धुरी निर्माण गरेको चर्चा गर्दै उनको व्यक्तिगत जीवनभन्दा साहित्यिक र सामाजिक जीवन बढी सबल देखिएको छ भन्ने निष्कर्ष निबन्धमा प्रस्तुत भएको छ ।
बालकृष्ण पोखरेल र नेपाली भाषा एक अर्काका पर्याय हुन् भन्ने सन्दर्भ र शीर्षकमा पोखरेलको बहुविध आयामको उल्लेख गर्दै व्यक्तित्वका विविध पाटाका बारेमा चर्चा गरिएको छ ।
‘फरासिला गोविन्द दाइ’ निबन्धमा समालोचक गोविन्द भट्टका बारेमा लेखिएको छ । भट्ट प्रख्यात मार्क्सवादी चिन्तक तथा सौन्दर्यशास्त्री हुन् । चीन विशेषज्ञका रूपमा चिनिएका निडर तथा यथार्थवादी साहित्यकार समालोचक भट्टको मृत्युपश्चात् उनलाई गुमाउनुपर्दाको अनुभूति फरासिला गोविन्द दाइ निबन्धमा आएको छ । निबन्धमा उनलाई पहिलो पटक भेटेदेखि जीवनका अन्तिम अन्तिम क्षणसम्मका प्रत्यक्ष तथा परोक्ष साहचर्यको स्मरण गरिएको छ ।
‘महान् साहित्यकार हरिभक्त कटुवाल’ निबन्धमा साहित्यकार कटुवालका अमर गीतको सम्झना गर्दै नेपाली साहित्यमा उनको योगदानको चर्चा गरिएको छ । निबन्धकार शीतल गिरीले हरिभक्तको खराब आदतप्रति निबन्धमा निर्मम प्रहार गरेका छन् ।
त्यस्तै ‘मनु ब्राजाकी र समय’ निबन्धमा सदैव सिर्जना कर्ममा निष्ठापूर्वक समर्पित भएका कुरालाई प्रस्तुत गरेका छन् । निबन्धकारले मनु ब्राजाकीको साहित्यिक समर्पित मूल्य निर्धारण र ब्राजाकीको बाह्य व्यक्तित्वदेखि लिएर अन्तः चेतन समेतको चर्चापरिचर्चा गरेका छन् । साहित्य साधनामा लागेर कमाउने होइन, समाजका लागि त्याग गर्ने हो भन्दै सरल शैली र रोचक प्रस्तुति ब्राजाकीका पर्याय हुन् भन्ने भाव व्यक्त गरेका छन् ।
यस सङ्ग्रहको बिसौं निबन्ध – स्नेहले जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी । वास्तवमा आफ्नो जन्मभूमि र व्यक्तिलाई स्वर्गभन्दा पनि प्रिय लाग्छ भन्ने स्नेह व्यक्त गरेका छन् । यस निबन्धमा निबन्धकारले पूर्वस्मृतिको झलक प्रस्तुत गरेका छन् । आफ्नो बाल्यकाल, बाल्यकालीन समय व्यतीत गरेको जन्मस्थल र त्यहाँ रहँदा दिदीबाट पाएको आत्मीय स्नेह आदिको भावनात्मक अभिव्यक्ति निबन्धमा पाइन्छ । दिदीकै स्नेहले पढ्न लेख्न सिकेको दिदीकै आत्मीयताले बिरामीबाट छिट्टै सन्चो भएको तथा परिवारमा आर्थिक सङ्कट आउँदा आफन्तसमेत पराइ बनेका जस्ता अनगिन्ती बाल्यकालीन घटना संस्मरणात्मक शैलीमा अभिव्यक्त भएका छन् ।
त्यस्तै अर्को निबन्ध साहित्यिक पत्रकार नकुल सिलवाल माथि लेखिएको छ । प्रस्तुत निबन्ध संवत् २०३९ सालदेखि त्रैमासिक बगरबाट साहित्यिक पत्रकारिता सुरु गरेका सिलवालको समीक्षा गरिएको निबन्ध हो । समग्रमा यस निबन्धले साहित्यिक पत्रकार सिलवालको विचार, व्यवहार र साधनाको वस्तुनिष्ठ मूल्याङ्कन गरेको छ ।
‘आरम्भ’ निबन्धसङ्ग्रह भित्रको ‘प्रश्रित र राष्ट्र’ निबन्धमा मोदनाथ प्रश्रितले जेलनेल भोग्दै देश र समाजप्रति पुर्याएको योगदानको मूल्याङ्कन गरिएको छ । मोदनाथ प्रश्रित जनवर्गीय कवि हुन् । पञ्चायतकालीन एकदलीय राज्यव्यवस्थाका विरुद्धमा जनाधिकारको लागि आवाज बुलन्द बनाएका थिए । मोदनाथ प्रश्रित यी र यस्ता अनेकौँ आयामलाई निबन्धकारले प्रसङ्ग समेट्दै चित्रण गरेका छन् ।
त्यस्तै समीक्षकको पूर्वाग्रहकै कारण अतियथार्थवादी शिल्पी प्रधानको योगदानको वस्तुनिष्ठ उत्खनन हुन नसकेको तथ्य ‘परशु प्रधान : अतियवार्यवादी शिल्पकार’ निबन्धमा प्रस्तुत गरिएको छ । परशु प्रधानको शिल्पचेतना तथा उक्ति वैचित्र्यपूर्ण अभिव्यक्तिबाट आजको पुस्ता विमुख भएको प्रसङ्ग प्रस्तुत गर्दै नयाँ सोच नयाँ विचार, नयाँ शैली र नयाँ जोस तथा जागरणका साथ नवसर्जकलाई प्रोत्साहन गर्ने सहृदयी व्यक्तिका रूपमा गिरीले उनको मूल्याङ्कन गरेका छन् । प्रस्तुत निबन्धमा मूलतः प्रधानको भूमिकालेखक व्यक्तित्वको प्रशंसा गरिएको छ । नयाँ पुस्ताका सशक्त लेखकका कृतिमाथि शक्तिशाली भूमिकालेखनलाई प्रधानको समालोचकीय शिल्पका रूपमा स्विकारिएको देखिन्छ । निबन्धकार गिरीले प्रधानको साहित्यिक मूल्य निर्धारण गर्ने क्रममा वर्तमान पुस्तामा देखा परेको शिल्प र मूल्यको तीव्रतर स्खलनप्रति खेद प्रकट समेत गरेका छन् ।
त्यस्तै यस सङ्ग्रहको चौबिसौं निबन्ध गोपाल अश्कको बारेमा लेखिएको छ । बहुमुखी प्रतिभा सम्पन्न साहित्यसाधक अब्कको नेपाली, भोजपुरी तथा हिन्दी साहित्यमा पनि उसको राम्रो पकड रहेको कुरालाई प्रस्तुत गर्दै निबन्धकारले उनीसितको आफ्नो साहचर्यका अनेकौँ सन्दर्भहरूको रहस्योद्घाटन गरेका छन् । निबन्धमा अश्कको व्यक्ति र व्यक्तित दुवैको मूल्याङ्कन गरिएको छ । उनलाई भोजपुरी भाषाको मोतीरामका रूपमा चिनाउन खोजिएको छ । यस सङ्ग्रहको अन्तिम निबन्ध ‘हाँस खोई’मा वर्तमान समयमा मानिस यान्त्रिक जीवन बाँचिरहेको छ, मानवीय संवेदना तथा सहानुभूति बिस्तारै शुष्क बन्दै गएको छ भन्ने सन्दर्भलाई प्रस्तुत गर्दै हराउँदै गएको संवेदनालाई खोजी गरिएको छ । मानिसमा निस्वार्थ सहयोग र सेवाभाव परको कुरा सम्बन्धसमेत स्वार्थले मात्र गाँसिएको देखिन्छ भन्दै विगतका पात्र र परिवेशमा गिरीले तत्कालीन समाजको यथार्थ चित्रण गर्न खोजेका छन् । हाँस हराएको र हाँसको खोजी गरेका प्रसङ्ग रोचक छन् ।
यसरी विभिन्न विषय र परिवेशलाई आफ्नो चिन्तन र मननद्वारा निबन्धात्मक बनाएका निबन्धकार गिरीले इतिहासका पक्षको समेत उद्घाटन गर्न सफल भएका छन् । यस सङ्ग्रहका समालोचकीय निबन्धमा गिरीले अनुसन्धानका र इतिहासका विषय समेत प्रस्तुत गरेको पाइन्छ ।
मूल्य रु. ३५० रहेको १९२ पृष्ठमा संरचित यस आरम्भ निबन्धसङ्ग्रहलाई ओरिएन्टल प्रकाशनले बजारमा ल्याएको छ । कृति पठनीय तथा सङ्ग्रहनीय रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।