गोरखाको आँपपिपलमा जन्मेका ऋषि बस्ताकोटी हाल संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना स्थित केरी सहरमा बस्छन्। क्यानडा सरकारको प्रतिष्ठित भ्यानियर छात्रवृत्ति सहित क्यालगेरी विश्वविद्यालयबाट वातावरणीय नीति विषयमा विद्यावारिधि गरेका बस्ताकोटी पेसाले वातावरणीय नीति विज्ञ हुन्। प्रवासमा उनी साहित्यिक र सामाजिक गतिविधिहरूमा पनि क्रियाशील छन्। पचासको दशकदेखि नेपाली साहित्य लेखनमा सक्रिय बस्ताकोटी मूलतः कविता, गजल, मुक्तक, गीत र निबन्ध लेख्न रुचि राख्छन् ।
उनका ज्वालाका रापहरू ( गजल सङ्ग्रह-२०५४) र विसंगत बस्ती (मुक्तक सङ्ग्रह -२०७९) प्रकाशित छन्। उनले केही साहित्यिक विशेषाङ्कहरूमा अतिथि सम्पादकको जिम्मेवारी पनि पुरा गरेका छन्। उनी राष्ट्रिय कविता महोत्सव लगायत नेपाली साहित्यका केही प्रतिष्ठित प्रतियोगिताहरूमा पुरस्कृत पनि भएका छन्। बस्ताकोटीका करिब डेढ दर्जन जति गीत गजलहरू नेपालका चर्चित गायक गायिकाहरूका स्वरमा रेकर्ड पनि भएका छन्। प्रस्तुत छ साहित्य पोस्टका लागि विश्वराज अधिकारीले ऋषि बस्ताकोटीसँग गर्नु भएको कुराकानी।
0 0 0
अचेल के गर्दै हुनुहुन्छ ?
दिनचर्या सामान्य हिसाबले बितिरहेको छ। म अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा बस्छु र यहाँको वातावरण विभागमा वरिष्ठ वातावरण विज्ञको रूपमा कार्यरत छु। पेसागत व्यस्तताका अतिरिक्त घरपरिवार, सामाजिक र साहित्यिक जमघट, अध्ययन र आफ्नो रुचिको सिर्जनामा समय बितिरहेको छ। फित्कौली हास्यव्यङ्ग्य पत्रिकामा ‘बेलाको बोली’ स्तम्भमा व्यङ्ग्य प्रधान मुक्तक लेख्छु। कल्पतरु साहित्यिक द्वैमासिकमा पुस्तक-वार्ता गर्छु। बेलाबेला आफ्नो दक्षता र रुचिको विषयमा पछिल्लो पुस्तालाई आफ्नो ज्ञान बाँड्ने र ‘मेन्टोरिङ’ गर्ने काममा पनि समय बिताउन रमाइलो लाग्छ।
गजलहरू धेरै लेख्नु भएको छ। गजलका पुस्तक नै प्रकाशित गर्नु भएको रहेछ। गजल लेखनमा पुरस्कार र सम्मान पनि धेरै पाउनु भएको रहेछ। तर अहिले गीत लेखनमा बढी आकर्षित हुनु भएको छ। किन होला ?
मनको भित्री तहमा भावनाहरू उठेपछि सिर्जनाको माध्यमबाट आफूलाई अभिव्यक्त गर्ने हो। मैले कविता, गीत, गजल, मुक्तक, कथा, लघुकथा, निबन्ध लगायत प्रायः सबैजसो विधामा आफूलाई अभिव्यक्त गरेको छु। लेखनमा रुचि राखेको करिब ३० वर्ष भयो, यद्यपि म पूर्णकालीन लेखक भने होइन । मनमा लागेको बेला, खास विषय र परिस्थितिबाट प्रेरित भएको बेला लेख्ने लेखक हुँ। प्रकाशनको दृष्टिले मेरो पहिलो कृति २०५४ सालमा गजल सङ्ग्रह र २०७९ सालमा मुक्तक सङ्ग्रह प्रकाशित भयो। पछिल्लो समय केही गीत गजलहरू रेकर्ड भएका छन्। अघिल्लो हप्ता ‘एउटा प्रश्न’ भन्ने बोलको जीवन दर्शन बोकेको गीत स्वरूपराज आचार्यको स्वरमा सार्वजनिक भएको छ। अन्य विधामा भने एकल कृति प्रकाशित भएका छैनन्, तर पत्रपत्रिकाहरूमा फुटकर रूपमा छापिएका छन्। यो वा त्यो विधामा अहिले आकर्षित भएको होइन।
गीत र गजलमा के अन्तर छ ?
गीत र गजल दुवै काव्य सिर्जनाका उपविधा हुन्। सिर्जनशील अभिव्यक्तिका माध्यम हुन्। गीत र गजल दुवैका आफ्ना भिन्नै बनोट र बुनोटका शैली छन्। तिनका आ-आफ्नै संरचनाका आधारहरू छन्। यस विषयमा दृष्टान्तसहित लामो व्याख्या विश्लेषण गर्न सकिन्छ। यद्यपि मेरा लागि गीत र गजल शरीरका दुई हात जस्तो लाग्छ। कुनै बेला एउटा हातमा शब्द खेलाउँछु, कुनै बेला अर्को हातमा। मन मस्तिष्कभित्र भावना जन्मिँदा नै कहिले त्यो गजलको संरचना लिएर जन्मिन्छ त कहिले गीतको स्वरूप लिएर आउँछ। गीतहरू प्रायः सुललित शब्दहरू लिएर आउँछन्, गजलहरू चाहिँ अल्लि बढी गम्भीर भाव र दार्शनिक चिन्तन लिएर जन्मिन्छन्। स्रष्टा अनुसार यो कुरा फरक हुन सक्छ।
गीत किन लेखिन्छ ?
कुनै पनि विषयवस्तु, परिवेश या घटनाक्रमले भित्रै छोएपछि मन उद्वेलित हुन्छ। तिनै पीडा, खुसी या उकुसमुकुस सुललित तरिकाले कोमल शब्दहरूमा आफैँ आफैँ बुनिन्छन् अनि गीत बनेर बाहिर आउँछन्। गीत लेखनमा यो मेरो अनुभव हो। अरू लेखकको फरक अनुभव र फरक धारणा हुन सक्छन् ।
कुनै पनि गीत, गीतकारले आफ्नो मानसिक सन्तुष्टिको लागि लेख्ने हो वा श्रोताका सन्तुष्टिको लागि लेख्ने हो ?
पहिलो कुरा त लेखकले जे विधामा लेखे पनि आफूलाई हलुङ्गो पार्ने हो, आफ्नो आत्मसन्तुष्टिको लागि लेख्ने हो। लेखक युग सचेत र समाजको जिम्मेवार नागरिक पनि भएकोले समय र समाजलाई मेरो लेखनले के प्रभाव पार्छ भनेर सचेत त हुनै पर्छ। यसैले गीत लेखन पनि पहिलो कुरो त आफ्नै आत्मसन्तुष्टिका लागि हो। त्यसपछि पाठक, श्रोता र दर्शकको सन्तुष्टिको लागि पनि हो। अघि नै मैले उल्लेख गरे जस्तै म पूर्णकालीन लेखक होइन। पूर्णकालीन रूपमा लेखनलाई नै मुख्य पेसा बनाएका लेखकहरूको यसमा फरक अभिमत हुन सक्छ।
धेरै श्रोताले सुनेका गीतलाई बढी सफल मान्ने कि थोरैले सुने पनि सन्देशमूलक गीत छ भने सफल मान्ने? गीत सङ्गीतको सफलताको मानक केलाई मान्ने ?
सफल या असफल भन्नलाई आ-आफ्नै मापदण्ड हुन्छन्। गीतलाई केका आधारमा सफल र असफल भन्ने ? त्यसलाई आ-आफ्नै मान्यता र अपेक्षाअनुसार हेर्नु जरुरी होला। मैले गीत किन लेखेँ, कसका लागि लेखेँ, सोचे अनुसार आफूलाई अभिव्यक्त गर्न सकेँ कि सकिनँ ? गीतमा शिल्प पक्ष कस्तो रह्यो ? वोधगम्य भयो कि भएन ? पाठक र श्रोताले त्यसमा आफूलाई भेटे कि भेटेनन्। त्यो कुरा गीतकारको हिसाबले मलाई प्रधान लाग्छन् । सङ्गीतकार र गायकको अपेक्षा र मापदण्ड उहाँहरूको कलात्मक विशिष्टताअनुसार फरक होला। गीत कति जनाले सुने या हेरे भन्दा पनि सुनेपछि त्यो गीतले श्रोता, दर्शकको मन मस्तिष्क छोयो कि छोएन भन्ने कुराले मेरो लागि गीत कति सफल भयो भन्ने सूचित गर्छ। भ्यूज र भाइरलको बजारमा व्यावसायिक गीतको सफलताको मापन भने फरक हुन सक्छन्।
गीत मनोरञ्जनका लागि लेखिने हो वा कुनै विशेष सन्देश दिनका लागि लेखिने हो ?
गीतहरू खास सन्देशका लागि लेखिन्छन्, मनोरञ्जनका लागि पनि लेखिन्छन्। तर मैले चाहिँ खास पृष्ठभूमि र सन्देश बिना मनोरञ्जनको लागि मात्रै गीत लेख्ने गरेको छैन। यसमा पनि गीतकारअनुसार आ-आफ्नै अभिमत हुन सक्छन्।
आजभोलि गीतहरूमा गायक (महिला एवं पुरुष)हरूको चर्चा बढी र गीतकारको चर्चा कम हुँदै गएको छ। दृश्य-गीतहरूमा त दर्शकहरूले केवल अभिनय गर्ने कलाकारहरूको मात्र नाम याद गर्ने स्थिति छ। यसरी गीतमा गीतकारहरूको भूमिका कमजोर हुँदै जानु राम्रो कुरा हो र ?
यो अहिलेको सन्दर्भमा निकै गम्भीर प्रश्न हो। गीतलाई एउटा कलात्मक सिर्जना मान्ने हो भने त्यसमा अनेक अवयव मिलेपछि मात्र सिङ्गो गीत बन्छ। गीतकारले उपयुक्त शब्द सिर्जना गर्नुपर्यो, सङ्गीतकारले त्यसमा उपयुक्त धुनको सिर्जना गर्नुपर्यो, गायक/ गायिकाले शब्द र सङ्गीतलाई न्याय दिने गरी स्वर दिनुपर्यो। पछिल्लो समय गीत श्रव्यबाट श्रव्य दृश्य विधा हुँदै छ। यसैले गीतको अर्थलाई उजिल्याउने गरी त्यसमा अभिनय गर्ने कलाकारहरूले कला मिसाउनु पर्यो।
यो सबै मिलिसकेपछि गीतले पूर्णता पाउँछ। यसरी हेर्दा गीतको शब्द त गीतको जग हो, अन्य अवयवहरू जगमाथि थपिँदै जाने हुन्। देखिने बेलामा जगमाथिका संरचना देखिन्छन्। सबैभन्दा बढी छानो टल्केला तर त्यसको मतलब घरको अन्य भाग कम महत्त्वका भन्न त मिलेन। तर दुनियाँले नदेखिएका पर्दा भित्रका कुराभन्दा अग्र भागमा दृश्य रूपमा देखिएका कुरामा बढी ध्यान पुर्याउने अहिलेको जमानामा अस्वाभाविक होइन।
कुनै पनि गीतमा गीताकारको भूमिका ज्यादै महत्त्वपूर्ण छ भनी बोध गराउन के गर्नुपर्ला ?
केही वर्षअघि नेपालका वरिष्ठ सङ्गीतकार राजु सिंहले गीत सङ्गीतको कुरा हुँदा एक पटक ‘गीत खासका लागि बनाउने कि मासका लागि बनाउने’ भन्ने सन्दर्भ उठाउनु भएको थियो। यो सन्दर्भ बेलाबेला चर्चा हुने गर्छ। ‘खास’का लागि बनेका गीतहरूमा गम्भीर श्रोता-दर्शकले गीत सङ्गीतका सबै पक्ष पर्गेल्नुहुन्छ। तर आजभोलिका बजारु गीतहरूमा भने जो अगाडि देखिन्छ उसैको अक्सर चर्चा हुन्छ। पर्दा पछाडिकाहरू को हुन्, तिनको भूमिका के हो अक्सर ख्याल गरिएको जस्तो लाग्दैन। सिर्जनामा सबैको भूमिकाको यथोचित रूपमा कदर गरिनु चाहिँ जरुरी हो।
तीन तत्त्वहरू- स्वर, सङ्गीत, शब्द मध्ये कुन तत्त्वले गीतलाई ज्यादै प्रख्यात पार्नमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ ?
एउटा जीवन्त गीत बन्नको लागि शब्द, सङ्गीत र स्वर तीन वटै पक्षको सन्तुलन मिल्नुपर्छ। यो वा त्यो पक्ष मात्र बलियो भएर हुँदैन। यो त गीतकार, सङ्गीतकार र गायक/गायिकाको संयुक्त सिर्जना हो। गीति सिर्जना गायक/गायिका मार्फत श्रोतासामु पुग्ने हुँदा जनसमक्ष पुर्याउन चाहिँ गायक-गायिकाको अल्लि बढी भूमिका रहनुपर्ने हुन्छ। साझा सिर्जनामा सबैले बराबर अपनत्व लिन सके राम्रो। तर गीतको मुटु गीतका शब्दहरू नै हुन भनी विश्वास गर्नेहरू धेरै छन्।
के कुनै खास युग वा तत्कालीन मनोविज्ञानले कुनै सामान्य गीतलाई सफल पार्नमा योगदान पुर्याएको हुँदैन ?
हो, कुनै समय सन्दर्भ या मनोविज्ञानले गीतलाई चर्चित र लोकप्रिय बनाउन भूमिका खेलेको हुन्छ। पछिल्लो समय त सामाजिक सञ्जाल र बजारका अनेक उपकरणको पनि ठुलो भूमिका रहने गरेको छ। यद्यपि यसरी ‘चर्चित’ भएका गीतहरू कति बिकाऊ र कति टिकाउ होलान्, त्यो चाहिँ भिन्नै कुरा हो।
तपाईं गीत केका लागि लेख्नु हुन्छ ? समाजलाई सही दिशामा डोर्याउन वा आफ्नो भाव जनसमक्ष पुर्याउन ?
कलिलै उमेरदेखि केही न केही लेख्ने बानी पर्यो। लेखन भनेको मेरो लागि खानु, हिँड्नु, काम गर्नु, सुत्नु जस्तै जीवनको नियमित प्रक्रियाको रूपमा विकास हुँदै आयो। यसैले लेख्छु। खुसीले मन फुरुङ्ग हुँदा पनि लेख्छु, पीडाले भारी हुँदा पनि लेख्छु । विकृति र विसङ्गतिले भतभती पोल्दा पनि लेख्छु। मेरो लेखनको ध्येय भनेको आफू आफैँमा रमाउनको लागि मात्रै होइन, सकेसम्म आफूले देखेको सत्य लेखेर, बोल्न र लेख्न नसक्नेको आवाज बनेर सामाजिक न्यायको लागि केही योगदान पनि पुर्याऊँ भन्ने हो। जुन विधामा लेखे पनि समाज र समयप्रति इमानदारीपूर्वक लेख्नु मेरो प्राथमिकता हो।
लेखिएको कुनै पनि गीत वर्तमान वातावरणको उपज हो वा विशुद्ध रूपमा गीतकारको कल्पना हो ?
कुनै पनि लेखकको लागि आफ्नो ‘सोसल कन्स्ट्रक्ट’ महत्त्वपूर्ण कुरा हो। लेखक जुन समाज,समय र परिवेशमा जन्म्यो, हुर्क्यो, जीवन भोग्यो उसको लेखनमा त्यसको केही न केही प्रतिबिम्ब त देखिन्छ नि। लेखन सिर्जनशील कर्म हो। यसको ‘क्राफ्टिङ’मा कल्पनाशीलताको भूमिका त हुन्छ नै। यद्यपि लेखकले गीत, कविता या आख्यान जे नै लेखे पनि उक्त लेखाइ उसको ‘सोसल कन्स्ट्रक्ट’ भन्दा धेरै पर जान सक्दैन ।
गीतकारको सन्दर्भमा, कुनै गीत ज्यादै प्रख्यात भएमा त्यसको श्रेय त्यो गीतको गीतकारलाई दिने वा कुनै घटनाबाट प्रभावित भएर सो गीत लेखिएको रहेछ भने त्यो घटनालाई श्रेय दिने ? कसले जस पाउनुपर्ने हो ?
गीति सिर्जना जस्तो बन्छ, त्यसको श्रेय त सम्पूर्ण सर्जकलाई जानुपर्छ भन्ने मलाई लाग्छ। अघि नै मैले भने सिर्जनामा सर्जकको ‘सोसल कन्स्ट्रक्ट’को महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसैले मन छुने सिर्जना बन्नको लागि कुनै घटना, परिवेश या उत्प्रेरणाको प्रभाव रहन सक्छ। ती कुराहरू उल्लेख्य रूपमा महत्त्वपूर्ण छन् भने तिनलाई ‘एक्नलेज’ गर्नु राम्रै हो। प्राज्ञिक लेखाइमा यो काम महत्त्वका साथ गरिन्छ। तर साहित्यमा कतिपय प्रभावहरू सोझो रूपमा पर्दैनन्। साहित्य सोझो अर्थमा भन्दा पनि अविधा, लक्षणा र व्यञ्जनाको तहमा लेखिन्छन् ।
यसैले कतिपय सन्दर्भमा घटनाका स्रोत खोल्नुभन्दा नखोल्नु नै सुन्दर हुन्छ कि? धरै अर्थमा साहित्य लेखन (अझ प्रश्नको सन्दर्भमा कुरा गर्दा गीत लेखन) विज्ञान र अनुसन्धान जस्तो पनि त होइन नि ! हाम्रो वरपरका घटना, परिघटनाहरू त सबैले देख्छन्, तर अनुभूतिको गहिराइमा पुगेर नवीन चेत र दृष्टिकोणसहित लेख्ने काम एउटा कुशल लेखकले मात्र गर्न सक्छ । यसको जस त लेखकमा जानुपर्छ भन्नेमा कुनै द्विविधा छैन।
गीतको पनि आयु हुन्छ। कुनै गीत एक वर्षसम्म पनि बाँच्न सक्तैन। कुनै गीत लामो समयसम्म बाँच्छ। तर केही गीत कालजयी पनि हुने गर्दछन्। गीतको आयु के कुराले निर्धारण गर्छ ?
अहिलेको सन्दर्भमा यो अति महत्त्वपूर्ण प्रश्न हो। आयु त यो संसारमा जीवन, सिर्जना र भौतिक वस्तु जेको पनि हुन्छ। यस हिसाबले गीतको पनि आयु हुन्छ नै। तर कुन गीतको आयु कति हुन्छ, त्यो धेरै कुरामा निर्भर हुन्छ। जनमनमा बस्नु र आजभोलिको परिभाषामा गीत ‘चल्नु’ बिच ठुलो अन्तर छ। आज भ्यूज-संख्याका आधारमा भाइरल भनिएका गीतहरू भोलि दुनियाँको दिमागबाट हराइसकेका हुन सक्छन्, तर कतिपय गीतहरू भाइरल छैनन् र पनि सुनेपछि मन मस्तिष्कमा बसिरहन्छन् । जीवन दर्शन बोकेका गीतहरू, गम्भीर भाव बोकेका सुललित गीतहरू, पीडा, खुसी या जीवनका र समाजका कथा बोकेका र मनोविज्ञान बोकेका गीतहरू रचनाको हिसाबले अलि लामो आयुका हुन्छन् कि झैँ लाग्छ।
लेखन महत्त्वपूर्ण त हो, गीत सदाबहार हुन सङ्गीत र स्वरको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ। राम्रो वस्तु आफ्नो भित्री चमकले चिनिन्छ नै, यद्यपि उपयुक्त वातावरण भयो भने यो चमक अझ प्रभावकारी हुन्छ। प्रचारप्रसार र बजारीकरणले राम्रो वस्तुलाई राम्रो प्रमाणित गर्न मद्दत गर्छ। तर विडम्बना! बजारले आजकाल टिकाउ माल भन्दा पनि रङ्ग रोकन गरेर कमसल माललाई बिकाऊ बनाउने गरेको छ। यो फर्मुला गीत सङ्गीतमा पनि डरलाग्दो गरी लागु भएको छ।
संस्कृतको निम्न श्लोकलाई पूर्वीय (पौरश्य) सभ्यताको प्रथम गीत मान्ने धेरै छन् । तपाईंलाई कस्तो लाग्छ ?
मा निषाद प्रतिष्ठां त्वमगम: शाश्वती समा:।
यत्क्रौंचमिथुनादेकम् अवधी: काममोहितम्।।
मेरो आफ्नो अध्ययनको सीमितताले गर्दा मलाई यस विषयमा जानकारी भएन। यद्यपि हाम्रा धेरै जसो काव्य रचनाहरू गाइए गीत, नगाइए कविता हुनको लागि तागत राख्दछन्। यो संस्कृतको श्लोक पनि त्यही कोटीमा पर्छ भन्ने मलाई लाग्दछ।
गीत-साहित्य र गीत-बजारको विकास गर्न एवं गीतकारहरूलाई गीत लेखे बापत उचित प्रतिफल दिन के गर्नुपर्ला ?
बजारमा नयाँ नयाँ गीतकारहरू आउनु जहिले पनि स्वागतयोग्य कुरा हो। यद्यपि पछिल्लो समय नेपाली गीति बजारमा गीत लेख्नेहरू भन्दा पनि गीत लेख्न रहर गर्नेहरू र गीतका लागि ‘आवश्यक’ लगानी गर्न सक्ने र लगानी गर्न तत्पर हुनेहरू हाबी हुन थालेको र तिनैले बजार धानेको चर्चा सुनिन्छ। यस प्रसङ्गमा वरिष्ठ कवि तुलसी दिवसको एउटा भनाइ याद आइरहन्छ। नयाँ पुस्तालाई उहाँ बारम्बार भन्नुहुन्छ, ‘लेखनमा गम्भीर बन्नु, कवितासँग कहिल्यै ठट्टा नगर्नु ।’ रहर र लहडका भरमा मात्रै भन्दा पनि अभ्यास र साधनाबाट खारिएर गीति क्षेत्रमा आउने परिपाटी बढाउन सकियो भने गीतकारहरूको गरिमा आफैँ बढ्दै जान्छ। गीत लेखनका विविध पक्षमा प्राज्ञिक छलफल पनि अलि बढी हुन जरुरी छ।
आजको यो नवउदारवादी बजार अर्थतन्त्रमा राम्रो वस्तु राम्रो भएर मात्र पुग्दैन। बजारले राम्रो भनिदिनुपर्छ। कमसल वस्तुसँग बजारमा प्रतिस्पर्धा गरेर आफूलाई बिकाउ र टिकाउ दुवै प्रमाणित गर्नुपर्छ। गीतको सन्दर्भमा पनि यो परिस्थिति बनेको छ जुन एक हिसाबले विकराल स्थिति पनि हो। एकै क्लिकमा गीत अहिले विश्वबजारमा पुग्छ। विभिन्न प्ल्याटफर्म उपलब्ध छन्। पहिले जस्तो रेडियो नेपालमा मात्र भर पर्न पर्दैन। यो सकारात्मक कुरा हो यद्यपि अनेक कमसल गीतका थुप्रामा च्यापिएर राम्रा गीत श्रोता दर्शकसामु आइपुग्न नै गाह्रो हुने स्थिति पनि उत्तिकै छ। यसैले वर्तमान गीति बजारमा गीतको लागि चुनौती र अवसर दुवै छन्। यो नवउदारवादी बजारलाई नकार्न पनि सकिन्नँ, प्रयोग गर्न जानिएन भने यसले हित भन्दा हानी पो धरै पुर्याउने स्थिति छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।