झट्ट सुन्दाखेरि को हुन् ‘आन्छन’ ? को द्वारा लेखिएका हुन् ‘आन्छनका कथाहरू’ ? कस्ता विशेषता ? कस्ता प्रकृतिका कथाहरू समेटिएका छन् त आन्छनका कथाहरूमा ? भन्ने दुबिधा पाठकहरूलाई पर्नसक्छ ।
तर “आन्छनका कथाहरू” भन्नाले आन्छन (स्वयं लेखक) द्वारा विभिन्न विषय समेटेर विभिन्न शीर्षकहरूमा लेखिएको जीवनजगतका यथार्थ भोगाइका दश वटा कथाहरूको संग्रह हो । राजधानीको पुरानो प्रकाशक – मञ्जरी पब्लिकेशन प्रा.ली.ले प्रकाशन गरिदिएको, जसको बजार मूल्य रु.३६५।-रहेको छ ।
वास्तवमा आन्छन साहित्य सृजनामा छप्पकै भिज्नुभएको कर्मठ सर्जक हुन् । हाम्रो परिचय हङकङमा रहँदा, विभिन्न साहित्यिक कार्यक्रममा भेट भएको थियो । हाम्रो भेट त्यतिमा मात्र सीमित भएन । हामीले हङकङको त्यो व्यस्त जीवनमा पनि नेपाली समाजमा केही साहित्यिक खुराकहरू पस्कन सकिन्छ कि भन्ने अभिप्रायले एउटा विशुद्ध साहित्यिक संस्था ‘नेपाली साहित्य प्रतिष्ठान हङकङ’ स्थापना गरी त्यहीं संस्था मार्फत ‘अविराम’ भन्ने द्वय मासिक पत्रिका चलाउन थाल्यौं ।
उहाँकै नेतृत्वमा “हङकङ साझा साहित्य श्रृंखला” ई. सं. २०१२ मा स्थापना भएको थियो । जुन अहिले पनि क्रियाशील भएर निरन्तर साहित्यको खेती गरिरहेछ । वास्तवमा उहाँको पूरा नाम ‘चन्द्र मादेन आन्छन’ हो ।
पछिल्लो कालमा म कहिले बेलायत, कहिले हङकङ, कहिले नेपालतिरै बस्न थालेपछि भने हाम्रो भेटघाट लामै पातलियो । तर केही दिन अघि मात्र नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा उहाँद्वारा लिखित ‘आन्छनका कथाहरू’ कथा संग्रहको बाक्लो सहभागी बीच भव्यताका साथ विमोचन भयो ।
त्यहिं समारोहमा हाम्रो पुनः भेटघाट भयो । कथासंग्रह नल्याउने कुरै भएन । मेरो एउटा विशेषता भनेको चाहिं कसैको सृजना बोकेर आएपछि त्यसलाई अध्ययन गरेर नसकुन्जेल सम्म अरूतिर मनै नडुलाउने, त्यसैले उहाँको कृतिलाई गमेरै पढिभ्याएँ । त्यही पढिएको आधारमा आज उहाँलाई सम्झिंदै उहाँको सो कृतिप्रति लागेको कुरा पोख्दैछु ।
कथाहरू पढ्दै जाँदा अन्याय, अत्याचार, विकृति र विसङ्गति विरुद्ध गर्जनु भएको छ भने, कति ठाउँ सारगर्भित कवितात्मक काव्य रस पस्कनु भएको छ । त्यस्तै कति ठाउँमा त आँखा रसाउने रहेछ । उहाँको यो कला देखेर म मन्त्रमुग्ध भै चकित भएँ । जतिवेला हामी साहित्यिक यात्रामा थियौं । उहाँलाई मैले लेख अनुसारै खरो स्वभावको मान्छ भनी लिएको थिएँ ।
तर हाल ‘आन्छनका कथाहरू’ पढिसकेर हेर्दा भने उहाँ प्रतिको मेरो सोच पूरै परिवर्तन भयो । शान्त नदीझैं एउटै रफ्तारमा सलललल बगेको, सुमधुर संगीतको धुनझैं श्रवणीय रागले भुतुक्कै भएँ । त्यहाँ भित्रका कुनै पनि कथाहरू शुरू गरेपछि रहस्यमय कौतूहलले गर्दा नसकुन्जेल छोड्न मनै नलाग्ने । वास्तवमा उहाँ त कुनै समय परिस्थिति र घट्नालाई मिहिन ढङ्गले अध्ययन गरेर केलाए आफ्नो सृजना मार्फत अति मार्मिकताका साथ उजागर गर्न खप्पिस माहिर साहित्यकार हुनुहुँदो रहेछ । त्यसैको असर होला मेरो नजरमा परेछ । उहाँ खरो स्वभावका नभै फूलझैँ कोमल र सुन्दर हृदयको हुनुहुँदो रहेछ ।
आधुनिक शहर हङकङ धनी राष्ट्रको सुविधा सम्पन्न विलासित शहर हो । एशियाकै धनाढ्य लिका सिं देखि बलिउडका नामुद कलाकार ज्याकीचाङ त्यही बस्छन्, हिजो विश्वविख्यात मार्सल आर्टका शक्तिशाली व्रुसली त्यही थिए भने आन्छनजीका कथाका पात्र गरीब, निरीह, वृद्धा आमा जस्ता दुर्बल र अबला नारीहरू पनि त्यही शहरमा बस्छन् । आन्छनजीले ती गरीब वृद्धा आमालाई आफ्नै आमा जस्तै ठानेर अति संवेदनशील मार्मिकताका साथ “आमा अलप भइन्” शीर्षक राखेर लेख्नुभएको छ ।
माया प्रेम के हो ? माया प्रेम कस्तो हुनुपर्दछ ? सत्य मायाको विशेषता के हो भनेर “तिमीलाई माया मार्नै सकिनँ” भन्ने शीर्षकमा पढ्न पाइन्छ । तर यस कथाका पात्र स्वयं आन्छन नै पो हुन् कि भन्ने चाहिं पाठकहरूलाई लाग्दो हो । त्यो भित्रको विशेष वाक्य – ‘तँ कता जान्छेस् भनेको त जाबो गोक्ते लिम्बु नाठो सँग पो रोमान्समा सधैं !’ उहाँले सत्य र समर्पित चोखो मायाको उदाहरण यो कथा मार्फत दिनु भएको छ ।
आफ्नो देश नेपालमा बस्ने हामीलाई जहिले पनि एउटा भ्रम के छ भने, जो कोही पनि धनी राष्ट्र हङकङ, बेलायत, अमेरिका, क्यानडा आदिमा छन् भने तिनीहरूलाई ऐसआराम र मोजमस्ती छ । तर त्यसको विपरीत धनी देशभित्र पनि कति विकृति र विसङ्गति व्यापक छन् र त्यसको ज्वलन्त उदाहरण असर एउटा नेपाली परिवार र नेपाली समाजमा पनि असर परेको छ भन्ने यथार्थ चित्रण “फक्रिन नपाई झरेको कोपिला” शीर्षकको कथामार्फत प्रस्तुत गरेका छन् ।
उनले हाम्रो देशको राजनीतिक विचलनलाई पनि छोडेका छैनन् । देशमा धेरै परिवर्तन भयो – पटकपटक प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र पनि आयो । तर निमुखा र विपन्न जनतालाई भने ती सबै तन्त्रहरू अफाप सिद्ध भएको घटनाहरू कथाकारले “नेताजी र माइली”, “गणतन्त्रमा बलीको बोका” र “जनमुक्ति योद्धाको बिलौना” जस्ता शीर्षकमा मज्जैले उदाहरण सहित छर्लङ्ग पारिदिनुभएको छ । यो उहाँको सबल पक्ष मान्नुपर्छ ।
उनले शत्रु खोज्न टाढा जानुपर्दैन, आफन्तहरू नै पर्याप्त छन्, अनि बैगुनीलाई गुणले मार्न सक्नुपर्छ, कर्मको फल भोग्नै पर्छ तथा पाप धुरीबाट कराउँछ । त्यसैले सत्कर्म गर्न सक्नुपर्छ, जीवन स्वतः सकारात्मक बन्छ भन्ने सोच र शिक्षाप्रदान गर्ने “खलनायक मामा र महानायक भान्जा” शीर्षकमा प्रष्टै पार्नु भएको छ । अर्कोतिर प्रकृतिका सृष्टि चराचुरुङ्गीमा पनि एउटा सुन्दर परिवार माया, मोह, पीडादेखि चलखेल र दुःखदर्दका मार्मिक कथाहरू हुन्छन् भन्ने कुरा “भँगेरीको पीडा” शीर्षकमा कथाकार आफूसँगै पाठकलाई पनि भावुक बनाउँछन् ।
मैले माथि नै आन्छनजीको बारेमा भनिसकेको छु । उनी माया प्रेमको पक्षमा एकदमै सकारात्मक सोच भएका व्यक्ति हुन् । त्यसैले मायामा त्याग र समर्पणका कुराहरू गर्छन् । “एकै रातमा नयाँ जिन्दगी” शीर्षक राखेर माया प्रेमको अति नै मार्मिक रहस्यमय कथा प्रस्तुत गरेका छन् । धन सम्पत्तिको प्राप्तिले मात्र जिन्दगी सम्भव हुँदैन, जिन्दगी सुखमय हुनलाई त पारिवारिक सुख हुनुपर्छ भन्ने सन्देश दिनुहुन्छ उहाँ ।
त्यस्तै, हाम्रो नेपाली गाउँघरमा उहिले देखि नै विकृतिको रूपमै जरा गाडेको एउटा रोग हो – सामन्तवाद र एकाधिकारवादको दबदबा । देशमा जस्तोसुकै तन्त्र आएता पनि यो सोझा, सिधा र निरीह माथि टाठा-बाठा चतुरेहरूको दबदबा कहिल्यै हटेन । तुष अझै बाँकी नै छ । यसैको उजागर हो ‘क्याप्टेनको तक्मा पण्डितको खल्तीमा’ भन्ने शीर्षकको कथा ।
मलाई लाग्छ, शायद यी १० वटा पठनीय कथाहरूले सबै पाठकहरूको मन मस्तिष्कमा बस्न पक्कै पनि सफल हुनेछ । मलाई एउटा कुरा खड्केको उहाँले प्रत्येक कथाको शीर्षकनुसारा चित्र पनि राख्नुभएको छ । किनकि, बालकथा पो हुन् की भन्ने भ्रम पैदा गरे जस्तो लाग्यो । त्यो नगरिदिनु भएको भए हुन्थ्यो । शायद यो मेरो सुझाव मात्र हो ।
पुनश्च, यस कथाहरूमा उहाँले चलनचल्तीको ठेट शब्द र वाक्यहरू पनि जोड्नु भएको छ । जस्तै – चारपाई, घुर्ता, पुन्तेरा, टुकटुके, टोपा, उडुम आदि जस्ता शब्दहरूले पाठकलाई बिछट्टै आनन्द दिनेछ मलाई जस्तै ।
आन्छनजीलाई धेरै धेरै बधाई अनि कृति सफलताको निम्ति हार्दिक शुभकामाना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।