१६
हृदयको आग्नेय बोझ केही हटेपछि चान्द्र धरातलीय गुरुत्वाकर्षणमा केही हलुकाहलुका पाइलाहरू सारेझैँ गरी ऊ घर आइपुग्छ धेरै दिनपछि भोरकालीन उज्यालामा । घरको कोठाका झ्यालढोका सबै बन्द नगरीकन ऊ सुत्छ । चोर नलाग्ने सत्ययुग नभए पनि उसलाई कलियुगीन चिन्ता हुँदैन । निद्रा शान्तिपूर्ण हुन्छ । निद्रा सपनामय हुन्छ । यो सपनामय निद्रामा ऊ कान्छी खेतलाई कुनै अप्रिय भावले हेर्दैन । कुनै घृणाभावले हेर्दैन । कुनै विद्वेषभावले हेर्दैन । बिहानीको समाप्ति र दिन आरम्भको दोसाँध बेला जब ऊ बिपनामा पदार्पण गर्छ, उसका चान्द्र धरातलीय भारहीनताका अन्तर्तम स्थितिहरू गायब हुन्छन् अर्थात् आँखा खुलेपछि उसका केही आँखाहरू बन्द हुन्छन् । ऊ ठोस र गहँगो पृथ्वीमा उभिन पुग्छ । अकस्मात् एक आनन्दपूर्ण भारहीनताको स्थितिबाट भारैभारको स्थितिमा गुज्रनुपर्दा निश्चय पनि ऊ रमाउन सक्दैन । एकै पल्ट शरीर, मन र आत्माको तीन मोर्चा दबाव पर्दा ऊ नराम्ररी अतालिन्छ, तर अतालिएर मात्र यो त्रिवेणी पार गर्न सकिँदैन भन्ने ऊ बुझ्छ । यसर्थ ऊ आफ्नो शरीर, मन र आत्माको संयुक्त बोझलाई अवाञ्छित, अनिमन्त्रित पाहुनाहरूलाई झैँ सौजन्यवश स्वीकार गरिराख्न बाध्य हुन्छ । यो बाध्यात्मक स्थितिमा अबाध्यात्मक स्वप्नस्थितिको विपरीत ऊ कान्छी खेतलाई प्रिय भावले हेर्न पनि सक्दैन । ऊ प्रिय भाव, अप्रिय भाव, प्रेमभाव, घृणाभाव, अद्वेषभाव, विद्वेषभावभन्दा पर हुन्छ । ऊ पूर्णतया तटस्थजस्तो देखिन्छ । विपरीत भावहरूको बीचमा, यो अनुमानित तटस्थतामा ऊ बुझ्न सक्दैन- जीवन भनेको कोरा सोचाइहरूको समर्थता मात्रै हो वा गराइहरूको असमर्थता मात्रै हो । कताकता उसलाई कसैले भनेझैँ लाग्छ- यो कुरो नबुझ्दा पनि हुन्छ… नबुझ्दा पनि हुन्छ ।
तर जीवनमा बुझ्नुपर्ने कुरा उसलाई लाग्छ, उसले बुझिसकेको छ । जीवनमा बुझ्नुपर्ने कुरा बुझेपछि नबुझ्नुपर्ने कुरा नबुझे पनि हुन्छ । जीवनमा भोग्नुपर्ने कुरा भोगेपछि नभोग्नुपर्ने कुरा नभोगे पनि हुन्छ । उसलाई लाग्छ, जीवनमा अनुभूतिको महत्त्व सर्वोपरि छ । सत्यको महत्त्वभन्दा अनुभूतिको महत्त्व असत्य भए पनि दुई गुना भारी हुन्छ । अनुभूति सत्यभन्दा सत्य हुन्छ । सूक्ष्म र विशाल हुन्छ । अनुभूतिमा नआउने सत्यको छाला मात्र बाक्लो हुन्छ – उसलाई पक्का विश्वासको ज्ञान प्राप्त हुन्छ ।
‘कान्छी खेतलाई कुनै प्रच्छन्न पुरुषले भोगेको छैन… म स्वयम् प्रच्छन्न पुरुषको पौरुष र कान्छी खेतको उर्वरता भोग गरिरहेको छु ।’
ऊ अनुभूति सत्यको एक महान् निष्कर्षमा पुग्छ- ‘अब मैले व्यावसायिकताको यही स्वरूपमा शान्ति खोज्न जान्नुपर्छ, किनभने धर्मझैँ शान्ति पनि एक व्यावसायिक अवधारणा हो । यतिखेर म जीवनव्यवसायमा एकोहोरो होइन, दोहोरो भोग गरिरहेछु । दोहोरो भोग महाभोग… महाभोग !’
ऊ फुरुङ्ग पर्छ । कताकता ऊभित्र एक प्रसन्न, प्रशान्त, प्रदीप्त महापुरुष जन्मेजस्तो हुन्छ । एक भोगी पुरुष समाजमा उसलाई आफ्नो आयतन थाम्न गाह्रो पर्छ, तर ऊ आफूलाई महापुरुष भन्ने गल्ती गर्दैन । ऊ मात्र तटस्थ स्थितप्रज्ञभावले बोटबिरुवाहरू हुर्काउने मूलभूत कर्तव्यकर्ममा प्रवृत्त भइरहन्छ । कर्तव्यकर्म गर्दा उसलाई न पीडा हुन्छ न आनन्द । उसलाई कर्तव्यकर्म भनेको एक विशुद्ध यान्त्रिक क्रियाजस्तो लाग्न थाल्छ, तर ऊ आफूलाई यन्त्र सोच्न मन पराउँदैन । उसका नियन्त्रित तर अपरिचित अनुभूतिहरूमा लागिरहन्छ – ऊ बिरुवाहरू हुकाईरहेको छैन, बिरुवाहरू आफैं हुर्किरहेका छन् । शायद सृष्टिको सत्य यही हो । जन्मनेहरू जन्मिरहन्छन्, मर्नेहरू मरिरहन्छन्, बीचमा कसैको उमेर हुँदैन, यात्रा मात्र हुन्छ । यहाँ हामी अधिकार र कर्तव्यको साले जाल बुनेर अरूलाई होइन, आफैलाई अल्झाइरहेका हुन्छौँ ।
उसलाई यो अल्झाइ मन पर्दैन । ऊ जालबाट बाहिर निस्कन्छ । बाहिर मुक्ताकाशमा केही मुक्त भावहरू आउँछन्, केही मुक्त विचारहरू आउँछन् । यहाँ उसलाई रोमाञ्च हुन्छ, तर क्षणिक रोमाञ्चभन्दा बढी केही हुँदैन । रोमाञ्चको रोटे पिङमा मच्चिँदामच्चिँदै ऊ सोच्न थाल्छ- मुक्ताकाश मान्छेको आकाशभन्दा बढी पाताल हो, त्यहाँ मान्छे कम्तीमा पनि मान्छे भएर बाँच्न सक्दैन र म कुनै मूल्यमा पनि मान्छे नभई बाँच्न चाहन्नँ । यस मामिलामा ऊ पूर्ण रूपले अनुदारवादी भई सोच्छ । सोचाइको परिणामस्वरूप ऊ फेरि जालमा फर्किन्छ । यस पालि उसलाई जालमा अल्झाइको कुनै अपसोजनक पीडा हुँदैन ।
तटस्थतामा अल्पकालीन बाटोबिराइपछि गन्तव्यपथमा यात्रा शुरू हुन्छ । अधिकारदेखि कर्तव्यसम्म, कर्तव्यदेखि अधिकारसम्मको यो परम्परापूजित यात्रा चक्रीय हुन्छ । ऊ चक्रको धारैधार हिँड्छ । यसरी हिँड्दा फेरि पनि अनुभूति हुन्छ उसका कारण बोटबिरुवाहरू हुर्किरहेका छैनन् । ती आफैँ हुर्किरहेका छन्… आफैं… आफैं…!
यो कस्तो अनुभूति हो, ऊ ठ्याम्मै बुझ्दैन ।
‘होइन, यो के भएको हो ?’ दिक्क भई ऊ दाइ भनिने छिमेकीप्रति सम्बोधित हुन्छ ।
‘कहाँ के भयो ?’
‘कर्तव्यकर्महरू गर्छु, कर्तव्यकर्मको अनुभूति हुँदैन । बोटबिरुवाहरू हुर्काउँछु, हुर्काउनुको कुनै अनुभूति हुँदैन ।’
‘जेठीकान्छी खेतमा स्वामित्वको अनुभूति हुन्छ कि हुँदैन ?’
‘पहिलेपहिले हुन्थ्यो, अहिले हुँदैन । कुनै पनि अनुभूतिमा अनुभूतिको अनुभूति हुँदैन ।’
‘हा… हा… हा… हा… हा… हा…!’ दाइ भनिने छिमेकी ठूलै पहिरो गएझैँ गरी हाँस्छ पूरा १२० डिग्री मुख च्यातेर । यो अट्टहासदेखि ऊ वाल्ल पर्छ र अट्टहासकर्ताको अर्द्धफोहोरी मुखभित्रका कसिँगरहरू अवलोकन गर्न थाल्छ । ऊ केही दुर्गन्धले पीडित पनि हुन्छ ।
‘किन हाँसेको त्यसरी ? ठट्टा गरेको त थिइनँ ।’
‘उल्लूले ठट्टा गर्नेपर्दैन, करायो कि ठट्टा बन्छ ।’ दाइ भनिने छिमेकी फेरि पनि अट्टहास गर्छ ज्यानदार पारामा । ऊ विरक्त भई मुन्टो बटार्छ । मुन्टो बटारिएपछि अट्टहास पनि बटारिन्छ र चुइँकिएर रोकिन्छ ।
‘रिसायौ ?’
‘के रिसाउनु !’
‘केराको बोक्रामा मान्छे चिप्लेको देखेका छौ?’
‘हात्ती चिप्लेको देख्या छैन !’
‘चिप्लेको देखेपछि हाँसिन्छ कि हाँसिन्न?’
‘टाउको फुटेको देखी हाँस्ने गऱ्या छैन !’
‘बाङ्गो कुरा नगर । लमतन्न परी मर्ने, टाउको फुट्ने अर्कै हो यहाँ त !’
‘के यहाँ ?’
‘लिरिक्क चिप्लेर जुरुक्क उठेको देखियो लाच पचाउँदै । यस्तोमा नहाँसे कस्तोमा हाँस्ने ?’
‘के भन्ने अब ! कुरो गरेर साध्य छैन ।’
जवाफमा दाइ भनिने छिमेकी पुनः अट्टहास गर्छ । अलिकति हाँसिदिनुपर्ने आवश्यकता महसूस गरी ऊ पनि दाँत देखाइदिन्छ ।
‘हाँसोको कुरा छोडौँ अब । के अरे, अनुभूतिमा अनुभूति नभएको कुरा…’
‘दिल्लगी नगर । म समस्यामा छु ।’
‘चिनीमा मुख गाडिराखेपछि समस्या पर्दैन त !’
‘के नचाहिने कुरा !’
‘म सबभन्दा बढी चाहिने कुरो गर्दै छु, धैर्य गरेर सुन ।’
‘सुन्दिनँ म ।’
‘सतोसत !’
‘के खालका मान्छे हुन् !’
‘मान्छे के खालको भए पनि कुरो सफा छ । अनुभूतिमा अनुभूति नहुनुको कारण भन्दिऊँ ?’
‘भन ।’
‘एकोहोरो भोग हो ।’
‘कस्तो भोग हो ?’
‘सुखको भोग । दुःखको कुनै भोग हुँदैन, रोग मात्र हुन्छ ।’
‘खोइ… कुरो बुझिएन ।’
‘सिधा छ कुरो । तिमी दायाँबायाँ, अघिपछि कतै नहेरी एकोहोरो गृहस्थी सुखभोग गरिरहेछौ । पहिले जेठीकान्छी खेतको सुख भोग गर्यौ, अहिले बोटबिरुवा हुर्काउने सुख भोग गरिरहेछौ, हो कि होइन ?’
‘हो भनूँ अब… कसको बाउको के जान्छ ।’
‘यही एकोहोरो सुखैसुखले सुखको अनुभूति लुप्त भएको हो । कतिलाई एकरस सुख बहुरस दुःखजस्तो लाग्छ, तिमीलाई त्यस्तो लागेन ?’
‘खोइ अब… के भन्ने…!’
‘कहिलेकाहीँ खाइने चिनी गुलियो हुन्छ, सधैंभरि खाइने चिनी करेलोभन्दा तीतो हुन्छ ।’
‘गर्ने के त?’
‘चिनीखानीमा मुख गाड्न छोड्ने । दायाँबायाँ हेर्ने । अघिपछि हेर्ने । घरबाहिर समाज छ । पूरै दुनियाँ छ । जीवनमा गृहस्थीभोग मूल भोग हो, तर पूर्ण भोग होइन । घरबाहिर समाजमा प्रतिष्ठाको भोग हुन्छ । पुरुष भएर यो प्रतिष्ठा भोग गर्न किन छोड्ने ? आफ्नो वंशपरम्पराले मागेसम्म गृहस्थीसुख भोग गर, आफ्नो बुद्धिविवेकले भ्याएसम्म प्रतिष्ठासुख भोग गर ।’
एउटा गतिलो व्याख्यान दिएर दाइ भनिने छिमेकी हिँड्छ । ऊ विचारमग्न हुन्छ । कताकता एउटा नयाँ क्षितिज उम्रेको जस्तो, कताकता पुरानो घैँटामा नयाँ घाम लागेजस्तो अनुभूतिले ऊ आँगनभरि छटपटिन्छ ।
छटपटीमा केही विश्वासहरू मर्छन् । केही विश्वासहरू जन्मन्छन् । अन्ततः ऊ कायाकल्पित हुन्छ । दाइ भनिने छिमेकीले प्रदान गरेको मन्त्र जप्दै ऊ सोच्न थाल्छ- जीवनमा घर नभई समाज हुँदैन, समाज नभई घर हुँदैन । यसैले घरका लागि समाज बिर्सन हुँदैन, समाजका लागि घर बिर्सन हुँदैन । दुवै पुरुषभोगका आवश्यक स्थल हुन्, दुवै पुरुषभोगका विषयवस्तु हुन् । विश्वमा जति पनि पुरुषक्रियाहरू हुन्छन्, भोग गर्नकै लागि हुन्छन् । विश्वमा जति पनि पुरुषसेवाहरू हुन्छन्, भोग गर्नकै लागि हुन्छन् । क्रिया भनेकै भोग हो । सेवा भनेकै भोग हो । महान् क्रिया भनेको महान् भोग, तुच्छ सेवा भनेको तुच्छ भोग । महान् सेवा भनेको महान् भोग, तुच्छ क्रिया भनेको तुच्छ भोग । राष्ट्रपिता पुरुषहरू राष्ट्र भोग्छन् । विश्वधर्मपुरुषहरू विश्व भोग्छन् । नेताहरू कुर्सी भोग्छन् । सुधारकहरू चेतना भोग्छन् । विज्ञानीहरू प्रयोगधर्मिता भोग्छन् । कविलेखकहरू सृजना भोग्छन् । दार्शनिकहरू विचार भोग्छन् । सबै आआफ्नो अहङ्कार भोग्छन् । तब म किन घर, खेत, बोटबिरुबाहेक अन्य कुराहरू नभोगूँ ? के मजस्तो पुरुषको अहङ्कार पोथ्रापोथ्रीमा, बुट्यानमा अड्किराख्नु राम्रो हुन्छ ? शोभनीय हुन्छ ?
जवाफ उल्टो हुन्छ, यसैले ऊ उत्साह अनुप्रेरित हुन्छ । यही अनुप्रेरणाले भकभक्ती उम्लिँदै पोखिइने डर बिर्सेर ऊ घरबाट बाहिर निस्कन्छ । घरको मध्यमवर्गीय आँगन छिचोल्दानछिचोल्दै समाजसित उसको जम्काभेट हुन्छ ।
‘कतातिर हो ?’ कुनै छिमेकी समाजले सोध्छ ।
‘यतैतिर ।’ ऊ उच्चवर्गीय मनस्थितिमा जवाफ फर्काइदिन्छ ।
‘यतातिर भनेको ठ्याक्क कतातिर ?’ अर्को कुनै मित्र समाज खनिन्छ उसमाथि ।
‘यतातिर भनेको ठ्याक्क यतैतिर ।’ ऊ त्यस समाजको बोझलाई राम्ररी थाम्छ । समाजहरू हाँस्छन् । ऊ पनि हाँस्छ । बाटामा अरू धेरै समाजहरू भेटिन्छन् । चिनेका समाजहरू, पटक्कै नचिनेका समाजहरू, चिनेर पनि बोलीचाली नभएका समाजहरू, अलिअलि चिनेका समाजहरू, त्यस्तो झ्वाम कुराले हुँदैन ।’
‘जीवनमा चुनाव जेको लडे पनि हुन्छ ।’ बीचबचाउ गर्दै एक जना उपबुज्जुक समाज आफ्नो राय प्रस्तुत गर्छ- ‘पृथ्वी भोग गर्ने हो भने जेको चुनाव लडे पनि हार्न हुँदैन, मैले जानेको कुरा यत्ति हो ।’
‘खाँटी कुरा जानेका रहेछौ ।’ कुनै समाजले समर्थन गरिदिन्छ । अन्य केही समाजहरूले समर्थनमाथि समर्थन व्यक्त गरिदिन्छन् ।
‘जेको भए पनि चुनाव लडिदिऊँ त ?’
‘लड् !’
‘लडिदिऊँ त ?’
‘लड् !’
‘लडिदिऊँ त ?’
‘लड् !’
प्रायः सबै समाज एकमत हुन्छन् । फेरि बम बनेर पड्कन तत्पर छिमेकी समाजको फ्युज उड्छ । ऊ घर फर्कंदासम्ममा पूर्ण रूपले सार्वजनिक महत्त्वको चेतनामा रूपान्तरित भइसकेको हुन्छ र रात्रिकालीन सुनसानमा हिँड्दा जब उसलाई नचिन्ने भुस्याहा कुकुरहरू भुक्दै पछि लाग्छन्, ऊ तिनीहरूमाथि सार्वजनिक दृष्टि फ्याँक्न बिर्संदैन । मध्यरातमा छाती थिचेर हिकहिकाउँदै बान्ता गरेपछि ऊ बल्ल व्यक्तिगत हुन पुग्छ । शेष रातभर नपरेको निद्रा पनि व्यक्तिगत हुन्छ । बिसन्चो बिहानभर पनि ऊ नितान्त व्यक्तिगत हुन्छ । जब आफ्नो वृद्धिको नृत्य गर्दै हुर्किरहेका बोटबिरुवाहरूप्रति कुनै प्रत्यक्ष कर्तव्यकर्म देखा नपरेर उसको समय उब्रिन्छ तब ऊ फेरि सार्वजनिक महत्त्वका भोगहरूबारे सोच्न थाल्छ । यसरी उसका उब्रेका समयहरू कट्न थाल्छन्, तर समय काट्न मात्र ऊ यसो गर्दैन । कुनै चुनाव नलडे पनि ऊ घरबाहिरका थुप्रै घटना र क्रियाकलापहरूमा रुचि लिन थाल्छ ।
अब ऊ छिमेकका कुराहरूमा रुचि लिन थाल्छ, वडाका कुराहरूमा रुचि लिन थाल्छ । अब ऊ नगरका कुराहरूमा रुचि लिन, गाउँका कुराहरूमा रुचि लिन थाल्छ । अब ऊ देशका कुराहरूमा रुचि लिन थाल्छ, विदेशका कुराहरूमा रुचि लिन थाल्छ । अब ऊ धर्मका कुराहरूमा रुचि लिन थाल्छ, भाषाका कुराहरूमा रुचि लिन थाल्छ, जातिका कुराहरूमा रुचि लिन थाल्छ । अब ऊ राष्ट्रिय अर्थतन्त्रका कुराहरूमा रुचि लिन थाल्छ, अन्तर्राष्ट्रिय अर्थतन्त्रका कुराहरूमा रुचि लिन थाल्छ । अब ऊ दुर्भिक्षहरूमा रुचि लिन थाल्छ, रोगव्याधिहरूमा रुचि लिन थाल्छ । अब ऊ युद्धहरूमा रुचि लिन थाल्छ, गृहयुद्धहरूमा रुचि लिन थाल्छ । अब ऊ कट्टरतावादहरूमा रुचि लिन थाल्छ, आतङ्कवादहरूमा रुचि लिन थाल्छ । अब ऊ मूल्यसङ्गठनहरूमा रुचि लिन थाल्छ, मूल्यविघटनहरूमा रुचि लिन थाल्छ । अब ऊ समसामयिकताहरूमा रुचि लिन थाल्छ, शाश्वतताहरूमा रुचि लिन थाल्छ ।
अभिरुचिका अपार भण्डार फेला परेपछि ऊ केही दिनसम्म पुलकित भइरहन्छ । ऊ प्रत्येक मित्र समाज, छिमेकी समाज, कुटुम्ब समाज र अन्य परिचित-अपरिचित समाजसित अभिरुचिका असङ्ख्य प्रश्नहरू गरेर भाले भइबस्छ । उसलाई लाग्छ, समाजमा इच्छित प्रतिष्ठा भोग गर्ने हो भने पुरुषले आफ्नो पुरुषत्वको घोषणा गर्नैपर्छ । घरभित्र पुरुषत्व लुकाई बस्नेहरूले मरेपछि स्वर्ग भोग गर्न सक्छन्, तर नमरेसम्म नरक भोग गरिरहन्छन् । के पृथ्वीभोग नरकभोग हो ?
ऊ पूरापूरा असहमत हुन्छ । यही असहमतिमा ऊ अभिरुचिव्यस्त भइरहन्छ । यो व्यस्तताले भन्न सकिन्न, कति महानताका शिखरहरू चुम्छन्, तर एक दिन उसलाई आभास भई नै हाल्छ कि यसरी समय काटेर समयलाई उब्रनबाट रोक्न सकिँदैन । हृदयमा उब्रने समयलाई बुद्धिले नास्त्र सकिँदैन ।
समयसम्बन्धी यो आविष्कार सत्य हुन्छ । सत्य दुःखपूर्ण हुन्छ ।
‘जति काटे पनि नकट्ने, जति मारे पनि नमर्ने समयलाई म के गरूँ ! के गरूँ !! के गरूँ !!!’ केही गर्नै नसकेपछि ऊ निरीहतापूर्ण विरक्ति र असहायतापूर्ण विक्षिप्तिले रन्थनिन्छ ।
अन्ततः समय काट्ने चेष्टा नगरीकन समय काट्ने नयाँ जीवनशैलीले जन्म लिन्छ । ऊभित्र यो जीवनशैली त्यसरी नै जन्मन्छ जसरी वर्षायाममा कीराफट्याङ्ग्राहरू जन्मन्छन्, तर कीराफट्याङ्ग्राहरूझैँ ऊभित्रको ऊ यामसँगसँगै मर्दैन । अझ सत्य भन्दा जीवनमा ऊ यामपरिवर्तनको अनुभूति नै गर्दैन । बिना कुनै आकर्षण, बिना कुनै विकर्षण, बिना कुनै सङ्घटना, बिना कुनै दुर्घटना नयाँ जीवनशैलीमा जीवन बित्छ । अब उसका अभिरुचिहरू सबै अरुचि बन्छन्, अरुचिहरू सबै अभिरुचि बन्छन् ।
सङ्क्रान्ति – न उसको जीवनमा हुन्छ न उसको समाजमा हुन्छ ।
(सरुभक्तको उपन्यास ‘तरुनी खेती’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 










