शिक्षा, शिक्षण, लेखन, प्रवचन तथा आध्यात्मिक जागरणको उन्नयनमा अहोरात्र जुटिरहनु भएका लक्ष्मण भण्डारीद्वारा लिखित “असल अभिभावक” नामक पुस्तकले मात्र मन तृप्त हुन सकेन । र उहाँको “जति सरल उति आनन्द, हामी हाँसे संसार हाँस्छ, असल शिक्षक” जस्ता अन्य सामयिक र जीवनोपयोगी पुस्तकहरू समेत खोजी पढेँ । पढिसक्दा के बुझियो भने आफूले अनुभव गरेका, जानेर नजानेर एक किसिमको जबरजस्त  धारणा बनाएका कतिपय मूल्य मान्यतामा पुनर्विचार गर्नुपर्ने, आफैलाई नियाल्नुपर्ने साथै म भित्र रहेका अल्पज्ञता, अहंता, जिद्दी तर्क र अपूर्णताको समेतको पर्दाफास गर्नु पर्ने रहेछ ।

यी कुरा पछि गर्दै गराैँला अहिलेकाे लागि भने “असल अभिभावक”तिर लागाैँ ।

“असल अभिभावक” पुस्तकभित्रको “सुरुमै घर प्रथम पाठशाला” शीर्षकअन्तर्गत बोल्न नसक्नेलाई शब्द भाषा दिएर बोल्ने बनाउनु, बुझ्न नसक्नेलाई बुझ्ने बनाउनु, हिँड्न नसक्नेलाई हिँड्ने बनाउनु, के गर्नुपर्छ के गर्नुहुँदैन भन्ने केही थाहा थाहा नभएकालाई ठिक बेठीक छुट्याउने बनाउनु नै  शिक्षा हो र बुवाआमा नै प्रथम पाठशाला रहेको बारेमा चर्चा गरिएको छ । यसै गरी पुस्तकमा हामी अधिकांश अभिभावकहरूले आफ्ना नानी बाबुलाई उनीहरूको उमेर चेतना र मनोविज्ञानलाई नजाँची, नबुझी उनीहरूले थेग्नै नसक्ने गरी धेरै अर्ति उपदेश दिने, आफ्ना कुरा जबरजस्त लाद्न खोज्ने प्रवृत्तिको बारेमा पनि बोलिएको छ ।

अभिभावकहरूले आफ्ना नानी बाबुहरू भनेको मान्दैनन्, जिद्दी छन्, पढ्न-लेख्न मन गर्दैनन्, अटेरी छन्, के गर्ने कसो गर्ने होला ? भन्दै गुनासो पोख्दै हिँड्ने गर्छन् । यसको समाधान पुस्तकले भनेको छ – किन यस्तो भइरहेको छ, त्यसो हुनुमा हाम्रा व्यवहार, क्रियाकलापले नै हो कि ? उनीहरूलाई समय दिनमा कतै कन्जुस्याइँ त गरेनौँ ? भन्दै स्वयं अभिभावक गहिरो समीक्षामा जुट्नु आवश्यक छ ।

त्यसैगरी पुस्तकमा लेखकले बच्चाहरूको दैनिक जीवनमा, उनीहरूकाे रुचिमा, गुनासोमा, सुख-दुःखमा सहभागी भई उनीहरूलाई “म कमजोर छैन, मेरो साथमा मेरा परिवार छन्” भन्ने आत्मविश्वास जगाउनुपर्छ । घर घर जस्तो हुन दिइन् परिवारबिच आत्मीयता, हार्दिकता बढाउने, विशेष गरी छलफल गर्न र गल्ती सच्चाउन सक्ने वातावरण बनाइदिने, स्याबास जस्ता मिठा शब्दको प्रयोग गरिदिने र प्रोत्साहित बनाउने  प्रत्येक अभिभावकलाई आह्वान गरेका छन् ।

त्यसैगरी पुस्तकमा प्रत्येक अभिभावकले आफ्ना बच्चाहरूप्रति प्रेम गर्नु आशक्त नहुनु, उनीहरूका गुण दोषलाई उनीहरूकै सामुन्नेमा राखी दुवै महसुस गर्न लगाउने, सिर्जनहीन, निर्भर, होइन स्वतन्त्र, आत्मनिर्भर, बलियो भावना जागृत गर्न कुखुराको पोथी र गरुडको उदाहरण दिई लेखकले निकै मननीय र रोचक ढङ्गले प्रस्तुत गरेका छन् ।

लेखकले बच्चाहरूको मनोविश्लेषण यसरी बुझाएका छन् जस्तै उनीहरूलाई संस्कारी, शिष्टता र ज्ञानी राख्नु छ भने परिवारका सदस्यहरू पनि एकापसमा मिल्ने, शिष्ट बेल्ने, प्रेमिल हुने जस्ता राम्रा गुण प्रकाश पार्न सक्नु पर्छ । असल खराब उनीहरू हुँदैनन् देखेर, अनुभव गरेर सिकेका हुन्छन् भनी बालमनोविज्ञान पनि प्रस्तुत गरेका छन् ।

त्यसैगरी पुस्तकमा प्रत्येक अभिभावकले आफ्ना बच्चालाई अनुशासन सिकाउने नाममा होस् वा सन्तति आफू अनुकूल हिँडोस् भन्ने नाममा किन नहोस् “मैले कमाउँछु । मद्वारा तँ पालित पोषित र हुर्काइएको होस्, म हरेक कुरामा अब्बल छु । तैँले जानेर पनि जानेको छु भन्न पाउँदैनस् । मैले जे भन्छु बिना प्रश्न त्यसै मुताबिक गर्नुपर्छ । तँ अनुशासनमा बस्नुपर्छ …” यस प्रवृत्तिलाई बढवा दिई कठोर, र निरङ्कुश स्वभावका अभिभावकहरू असल अभिभावक होइनन् भन्दै लेखकले त्यस सोचमा लम्पट हुने अभिभावकका मनोदशाका बारेमा समेत गहिरो विवेचना गरेका छन् ।

पुस्तकमा प्रायः अभिभावकहरू आफ्ना नानीबाबुहरूको परीक्षाको नतिजा प्रकाशित हुने बेला बच्चाको पढाइ प्रतिको रुचिभाव, लगनशीलता, मिहिनेत ,क्षमताको सही मूल्याङ्कन नगरी नानी बाबुलाई विशिष्ट श्रेणी तथा उच्च अङ्क ल्याउनै पर्ने दबाब दिने, भनेअनुसार नभएमा उसको स्वाभिमान र बाल मनोविज्ञानमा चोट पुग्ने गरी होच्याउने, समकक्षी अन्य विद्यार्थीहरूसँग तुलना गर्ने, प्रवृत्ति रहेकोले त्यसले बाल मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने, जसले गर्दा बच्चाहरूले आफ्ना अभिभावकप्रति भरोसा र सम्मान प्रकट गर्नुको अलवा आग्रही र पूर्वाग्रही बन्न सक्ने अवस्थाबारे पनि प्रकाश पारिएको छ ।

त्यसैगरी पुस्तकमा इटालियन नागरिक डा.मारियाको परिकल्पनाअनुसार बालबालिकालाई प्राकृतिक तवरमा अवरोधबिना प्रेमपूर्ण, सिर्जनात्मक र रमाइलो वातावरणमा उनीहरूकै रुचिका विधिको प्रयोग गरी समूहगत र व्यक्तिगत रूपमा पठन-लेखनलाई मन्टेश्वरी मेथडको सिको हामीकहाँ पनि खोलिएका छन् । तर त्यस शिक्षण पद्धति सिकाइ विधिलाई प्राथमिकताका साथ लागु गर्नुभन्दा पनि शिशु स्याहार केन्द्रमा सीमित पारिनु, कलिला नानी बाबुहरू बुवा आमाको काखमा रमाइ रमाइ खेल्ने, हुर्कने, बढ्ने वातावरण तयार गर्नु पर्नेमा देखासिकी र मिथ्याभिमानको लागि खुदै अभिभावकले उमेरै नपुगी नानीबाबुलाई मुन्ट्याउँदै र धकेल्दै मन्टेश्वरि स्कुलमा पढ्न पठाउने र भर्ना गर्ने संवेदनहीन र रुखो मिजासका अभिभावकको रवैयाप्रति लेखकले आपत्ति प्रकट गरेका छन् ।

त्यसैगरी पुस्तकमा बच्चा बच्चीलाई खाजा नास्ताको लागि बजारमा तयार पारिएका चाउचाउ, बिस्कुट, चाउमिनको लागि पैसा छुट्याउनु भन्दा घरमा आमाको ममता, प्यार, अडकलबाजीका साथ बनाएको सुख्खा रोटी, मकै भटमास र आलु पराठा स्वास्थ्यको दृष्टिले उत्तम र मनोवैज्ञानिक हिसाबले समेत दीर्घकालीन महत्त्व राख्ने गर्दछ भन्दै लेखकले त्यसतर्फ सम्पूर्ण अभिभावकलाई ध्यान खबर राख्न सुझाएका छन् ।

सरल र सहज भाषामा लेखिएकाे यस  पुस्तकमा हाम्रा नानी बाबु जुन विद्यालयमा अध्ययनरत छन् समय समयमा त्यहाँ पुगी उनीहरूको पढाइ, चालढाल, सर सङ्गतको अवस्थाबारे जानकारी लिने, शिक्षक शिक्षिकासँग भलाकुसारी गर्ने, विद्यालय परिसरमा प्रवेश गर्दा औपचारिक पोसाक लगाउन नभुल्ने ,बच्चा बच्ची विद्यालय रहुन्जेल त्यस स्कुल र शिक्षक शिक्षिकाबारे बाहिरफेर नकारात्मक टिप्पणी नगर्ने बरु कमजोरी रहे भएमा सम्बन्धित प्राचार्यसँग सुझाव पेस गर्ने जस्ता कार्य गर्नु एक सचेत अभिभावकको दायित्वभित्र पर्ने विषय प्रसङ्ग बारे पनि चर्चा गरिएको छ ।

आफूहरू व्यस्त हुनुपरेको नाममा अभिभावकले आफ्ना बच्चाहरू होस्टेलमा भर्ना गरेर राख्ने तर त्यहाँको शैक्षिक वातावरण, खानपिन, सर सङ्गत र दैनिक गतिविधिको प्रबन्धबारे जानकारी लिन लापरबाही तथा कन्जुस्याइँ गर्दा बच्चाहरूले आफूलाई एक्लो बनाएको, कम वास्ता राखेको  बुवाआमा हुँदाहुँदै मातृत्व र पितृत्वको सान्निध्यबाट वञ्चित तथा टाढा रहँदा टुहुराटुहुरीको जस्तो अवस्था बेहोर्नु परेको भन्दै बुवा आमाप्रति आग्रही बन्ने र सम्मानमा कटौती गर्ने भएकोले अभिभावकले हमेसा  त्यसतर्फ ख्याल खबर राख्नमा लेखकले सचेत गराएका छन् ।

त्यसैगरी पुस्तकमा बच्चाहरूको चोरी, चकारी, बदमासी र ढांटगिरिमा देखेको नदेखेझैँ गर्ने गैह्र जिम्मेवार अभिभावकको हर्कतले गर्दा समय क्रममा एक बच्चा कसरी कुख्यात खुनी र डाँकामा परिणत भएको, उसका आफ्ना आपराधिक क्रियाकलापले गर्दा फाँसीमा झुन्डिँदै गर्दा त्यस अवस्थामा आमालाई भेट गर्ने बहानामा आमाको कान टोकिदिएको र आफू यस सजायको भागिदार हुनुमा जन्म दिने आमा नै  मुख्य दोषी रहेको दुनियाँ सामु बोल्न बाध्य भएको जस्ता रोचक प्रसङ्ग विवरणबारे पनि चर्चा गरिएको छ ।

लेखकले समयानुकूल  आजको चरम भौतिकी दुनियाँमा फस्दा मान्छे कसरी दिनानुदिन असामाजिक, संवेदनहीन ,अमानवीय, अराजक र स्वार्थी हुँदै गइरहेको छ ? हिजो मिलेका मन र सुसम्बन्धहरूमा किन टुक्रिँदै,  फुट्दै, विचलित र विभाजित हुँदै गइरहेका छन् ? शङ्का उपशङ्काले किन अनावश्यक घर गर्ने गरेको छ ? भनी गम्भीर चिन्ता प्रकट गरेका छन् ।

समग्रमा कुनै पनि छोराछोरी बिग्रनु, भत्कनु, दुर्जन र सज्जन हुनुमा बच्चाहरू एक्लैको दोष नभै हामी, हाम्रो घर परिवार, हाम्रा आचरण र व्यवहारमा तादात्म्य, उसलाई हुर्काउँदा र बढाउँदाको उचित संस्कार र वातावरण के कस्तो रह्यो, भयो ? यसले नै महत्त्व र अर्थ राख्ने भन्ने मनसाय सहित “असल अभिभावक” नामक यति गुनिलो पुस्तक तयार पारी सचेत नागरिक र सम्पूर्ण अभिभावक वर्गमा पस्कनु भएकोमा भण्डारी प्रति सादर सम्मान र सलाम छ।

आउँदा दिनहरूमा यहाँको मस्तिष्क मन्थनको गर्भबाट समाजको लागि यस्तै सकारात्मक सन्देश सहितको जीवनोपयोगी पुस्तकको जन्म हुने छ, अग्रिम बधाई तथा निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । अन्त्यमा एक सचेत पाठकको हैसियतले ठोकुवा साथ भन्नै पर्ने हुन्छ- पुस्तक पठनीय, मननीय र सङ्ग्रहनीय यसै छ । धन्यवाद ।