केही दिनअघि साथी लेखनाथ भण्डारीको ‘उत्तर आधुनिक त्रासदी’ नामक किताब माथिको रिभ्यू पढेपछि किताब नै किन नपढ्ने भनेर पुस्तकका श्रष्ठा साहित्यकार विश्वराज अधिकारीज्यूसँग अनुरोध गरें । वहाँले तुरुन्तै पिडिएफ कपी पठाइदिनु भयो ।

पुस्तकभित्र समेटिएका लेखहरू पढ्दैजाँदा साहित्यकार विश्वराज अधिकारी नामले मात्र विश्व नभएर कामले पनि विश्व घुम्नसक्ने क्षमता भएको ठहर गरें मैले, जसले संसारमा धेरै पहिलेदेखि घटेका घटना र आज घटेका घटनाको आधारमा भविष्यमा घट्नसक्ने घटनाको सम्भावनाको भविष्यवाणी गरेका छन् । अर्थात् उनी एक कुशल वेत्ता हुन् जसले पहिलाको हाम्रो समाज, त्यसका रहनसहन र त्यसले पारेको प्रभावलाई अहिलेको बदलिंदो समाजले कति अवलम्बन गरेको छ, त्यसका आधारमा भविष्यमा बन्नसक्ने समाजको चित्रण गरेका छन्  जुन साह्रै एकलकाँटे र व्यक्तिवादी बन्न सक्नेछ ।

‘उत्तर आधुनिक त्रासदी’ पुस्तकभित्र जम्मा ३१ वटा लेखहरू छन्, प्रविधिको विकासको वरिपरि नै लखिएका छन् । उक्त लेखहरू मार्फत अहिलेको बदलिंदो समाजले गर्ने काम कारबाहीहरूमा प्रविधिको प्रचुर प्रयोगले मान्छे व्यक्तिवादी मात्र भएर भविष्यमा समाज भन्ने कुरा नै नरहला र मान्छे फेरी हिंस्रक भएर निस्केला कि भन्ने चिन्ता व्यक्त गरिएको छ ।

श्रष्टाको आफ्नै भनाइमा उत्तर आधुनिक युगमा

पृथ्वीको अस्तित्वमाथि दुई कुराहरूले संकट आउने देखिन्छ । पहिलो हो, जीव–अवशेष ऊर्जाको अत्यधिक प्रयोग र दोस्रो अनेक किसिमका घातक हतियारहरूको विकास । यी दुई कुराहरू पृथ्वीको शिरमाथि तरबार बनेर झुन्डिएका छन् । र कुनै पनि बेला खस्न सक्छन् ।(पृथ्वीको अस्तित्व संकटमा)’

यस्तै अर्को लेखमा

टुक्रा टुक्रा भएर पुनः सिलाइ गर्न नसकिने स्थितिमा कुनै कपडा च्यतिए जस्तो उत्तरआधुनिक युगमा सामाजिक सद्भाव टुक्रिएर जोड्न नसकिने स्थितिमा पुग्नेछ ।’

‘उत्तर आधुनिक त्रासदी’ भित्र सबै लेखहरू वर्तमानको सेरोफेरोमा नै लेखिएका छन् :

१. अहिले व्यापारीहरूमा आफ्नो नैतिकताबाट तल झरेर मुनाफा कमाउने चाहनाले खाद्यान्नमा मिसावट बढ्नु, सही कुरालाई गलत तरीकाले बुझ्नु-बुझाउनु, गलत कुरा नै दोहोरिरहँदा त्यही कुरा नै सही रहेछ भन्ने निर्क्योलमा मान्छेहरूलाई पुर्‍याउनु, देशको विकासभन्दा बढी आणविक हात हतियारको विकास हुनु, गृहयुद्ध हुनु तथा ठूला देशको सानो देशमाथिको आक्रमणले मान्छेहरूको अन्तर्राष्ट्रिय बसाइसराइ तीव्र गतिमा हुनु जस्ता कुराले भविष्यमा युद्ध र विसङ्गती मात्र हात लाग्ने हुन् कि भन्ने आशंका यी लेखहरू मार्फत गरिएको छ । जसले गर्दा एकातिर जुन देशबाट मान्छे हिंडेका छन् त्यहाँ क्रमशः जनसंख्या घट्दै गएर युवा जनशक्तिमा ह्रास आएको छ भने अर्कातिर आफ्नो घर छोडेर हिंडेका मान्छे जुन देश पुगेका छन् त्यहाँ जनसंख्या धेरै भएर धान्न नसक्ने अवस्था दिन प्रतिदिन बढिरहेको छ ।

२. साना राष्ट्रहरूले आफ्नो राष्ट्र जोगाउन ठूला राष्ट्रहरूको शरणमा जानुपर्ने अवस्थाको सृजना हुनु, मान्छेलाई नभए पनि हुने वस्तुहरू जस्तो धूम्रपान, मद्यपान बढी उपभोग गर्ने लत बसाउनु, पारिवारिक सद्भाव र माया केवल लेनदेनमा मात्र सीमित भएर परिवार टुक्रिनु, दैनिक उपयोगका सामानहरूमा प्राविधिक ग्याजेटहरू प्रयोग धेरै हुनुले मान्छेको दिनचर्या नै बदलिएर भविष्य मान्छे प्रविधिमय मात्र नभएर विचार शून्य पनि हुने हो कि भनी चिन्ता व्यक्त गरिएको छ ।

३. खानेकुरामा भएको अनुवांशिक सुधार (Genetic Modified) ले मकै, भटमास, कपास, टमाटर, आलु, अल्फाल्फा, कनोला, मेवा, फर्सी, स्याउ आदिमा मानिसलाई चाहिने पोषक तत्त्व कति होला भन्ने चिन्ता व्यक्त गरिएको छ ।

आजको प्रविधिको विकासले सबैभन्दा धेरै परिवर्तन बालबालिकामा आएको सहजै देख्न सकिन्छ । उनीहरूको भौतिक खेलहरू खेल्ने उमेर आज डिजिटल खेलहरूमा खर्च भइरहेको छ । अभिभावकहरूले त्यस्ता खाले खेलहरू चाहेर वा नचाहेर किनिदिइरहेकै हुन्छन् । नकिनिदिने अभिभावक लोभी वा पुरातनवाद ठहर्छन् साथीभाइ र समाजका अगाडि । तर यी डिजिटल खेलहरूले उनीहरूको दैनिक क्रियाकलापहरूमा हेरफेर आएको हेर्न जरूरी छ । यस्ता खेलहरूले उनीहरूका साथीसँग मिलेर खेलिने भौतिक खेलहरू माथि बन्देज लाएको त छैन ? उनीहरूको एउटा सुन्दर बाल्यवस्था कतै खोसिरहेको त छैन ? यसरी खेलिने खेलहरूमा बच्चाहरू आफू युवा उमेरमा पुग्नुअघि नै युवाहरूको चेतनाको स्तरमा पुगेर भोली बालविकासमा नकारात्मक असर त पुग्दैन भन्ने दिकदारी यी लेखहरूमा पढ्न पाइन्छन् । वास्तवमा हरेक अभिभावकले आफ्ना बच्चाहरूको डिजिटल ग्याजेटमै झुन्डिने लतलाई कम गर्न उनीहरूलाई के हेर्न दिने के नदिने ठहर गर्न सक्नुपर्छ । बच्चाहरूले आफूखुशी जे पायो त्यही हेर्न थाले भने भोलि उनीहरूको दैनिकी कस्तो बन्ला भन्ने सोचनीय कुरा हुन् ।

आज प्राय: हरेक मान्छेको हातमा मोबाइल छ र त्यो मोबाइललाई नभै नहुने कुरा इन्टरनेट हो । इन्टरनेट जोडेपछि संसारमा को कहाँ छ, के गरिरहेछ भन्ने कुरा मान्छेले सजिलै थाहा पाउन सकिन्छ । घरै बसीबसी एकैछिनमा संसार विचरण गर्न सकिन्छ । यसले मान्छेका दैनिक काम कुरा सजिलो बनाइदिएको त छ नै तर आफ्ना सबै कुरा छोडेर घण्टौं यसमा नै झुन्डिरहे मान्छेको काम, दाम र माम सबै यसले खाइदेला भन्ने डर पनि छ ।

लेखकले भने जस्तै जोसँग धन छ, उसका पछि लागेका छन् केही मान्छेका झुण्डहरू । समाजका र देशका लागि जति अनैतिक र व्यभिचारी भए नि त्यसैको राष्ट्रवादको नारा चर्को हुने हुनाले भोलि धेरै देशका शासनसत्तामा नैतिकवान् मान्छेहरूको खडेरी परेर देश दुर्गतितिर त जाँदैन भन्ने आशंका यी लेखहरूमा चर्को देखिन्छ ।

कम्प्युटर मान्छेको अभिन्न अङ्ग भैसक्यो । दैनिक कामकाज सजिलो भयो तर लेखकले भने जस्तै ह्याकरको जगजगी त्यति नै बढेकाले धेरै कम्पनीहरूले आफ्ना वेबसाइटहरू ह्याक भएपछि करोडौं मूल्य बराबरको धन र गोप्य कुराहरू गुमाउनु परेको कुरा बारम्बार बजारमा आएकाले लेखकले असुरक्षा व्यक्त गर्नु स्वाभाविक हो । किनकि संसारका अधिकांश मान्छेका व्यक्तिगत विवरण इन्टरनेटमा कतै न कतै भेटिन्छन् ।

भविष्यमा आउनसक्ने यति धेरै नकारात्मक कुरा पढिसकेर के कुरा भन्न मन लाग्यो भने हरेक कुराका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । ‍औषधी पनि ठीक्क खायो भने रोग निको पार्छ तर धेरै खायो भने मान्छेको ज्यान जान सक्छ । सकारात्मक कुरालाई लिने हो भने कोसौं हिंडेर बल्लबल्ल पुग्ने दुर्गम ठाउँहरू बाटो र हवाई सेवाले सुगम बनेका छन् । यी सबै प्रविधिकै उपलब्धी हुन् भन्दा फरक पर्दैन । स्वास्थ्य क्षेत्रमा प्रविधिकै प्रयोगले ठूलाठूला अपरेशनहरू सहज तरीकाले भएका छन् । कार्यालयहरूका महीनौं लगाएर गरिने काम एउटा कम्प्यूटरको प्रोग्राममा एक पाना कोड लेखेको भरमा उत्तिखेरै नतीजा देख्न पाइने भएको छ । यस्ता सकारात्मक कुराले कार्यालयहरूको अर्थोपार्जनमा क्रमिक सुधार ल्याउन थालेको छ ।

इन्टरनेटको आविष्कारले संसारमा क्रान्ति नै ल्याएको छ । पुस्तकका श्रष्टाले भने जस्तै वस्तुहरू अनलाइन किनबेच गर्न सकिन्छ । सम्पर्कमा देशले देश जोडेको छ, व्यक्तिले व्यक्ति जोडेको छ । त्यो बाहेक अहिले च्याटजिपिटीको विकासले अर्को तहल्का मच्चाएको छ । केही अघिसम्म केही कुरा सोध्नपरे गूगल र युट्युबलाई गुरु मानिन्थ्यो भने अहिले त्यो ठाउँ च्याटजिपिटीले लिंदै छ भन्नुमा दुई मत नहोला जसले जे जस्ता समस्याको पनि उपाय खोजिदिने भएको छ ।

मान्छेमा प्रविधिको लत यति बसिसक्यो कि, आजभोलि कसैलाई भेट्न जाँदा हार्दिकता आदान प्रदान गरिसकेपछि पहिलो चाहना नै इन्टरनेटको पासवर्डको हुन्छ । सामाजिक सञ्जालहरू फेसबूक, इन्स्टाग्राम, ट्विटर, टिकटक आदिले मान्छेलाई यति व्यस्त बनाइदियो कि त्यो हेर्न थालेपछि उसले के गरिरहेको थियो त्यो बिर्सिन्छ । यतिसम्म कि उसले केही खाँदै थियो भने भुइँमा खसिसकेको हुन्छ अथवा कसैले खाइदिइ सकेको हुन्छ, केही पकाउँदै थियो भने डढिसकेको हुन्छ । यस्ता बिग्रेका कुराहरूको भिडियोहरू सामाजिक सञ्जालमा प्रशस्तै भेटिन्छन् । यस्तो हुनु भनेको प्रविधिको दुरुपयोग हुनु हो भन्ने लाग्छ मलाई । यिनीहरूमाथि लेखकले चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमा आएका सबै कुरा उपयोगी हुँदैनन् तर सञ्जाल चलाउने कम्पनीहरूका आयस्रोत बढाउने दह्रो माध्यम भएकाले उनीहरूले त्यस्तैलाई बढावा दिएको कुरा उल्लेख गरेका छन् ।

सबै कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष  हुन्छन् । बदलिंदो आधुनिक युगमा धेरै कुरा मेशिनले गर्ने भएपछि मान्छेको काम हुँदैन भनेर सोच्नुभन्दा लेखकले समयअनुसार मान्छेले पनि नयाँ प्रविधिलाई सिकेर त्यो अनुसार चल्दै जानुपर्छ भनेको भए केही आशा जाग्थ्यो कि ? हलोको ठाउँमा सजिलो र छिटोको लागि ट्रयाक्टर आयो । गोरुगाडी, रिक्सा र साइकलको ठाउँमा मोटरसाइकल, गाडी र ट्रकहरू आए र असम्भव कुरा सम्भव हुँदै गए । घण्टौं लाएर एक गाग्रो पानी ल्याउने आमाहरूको लागि घरको आँगनमा धारो आउनु भनेको सानो फड्को थियो होला र ? बिजुली आएपछि दैनिक मट्टितेल जोहो गर्नुपर्ने समस्या हल भएर गएको हैन र ? समय अनुसार मान्छेमा पनि परिवर्तन आउनु पर्दैन र ? यो कुरामा लेखकले ध्यान दिएको भए पुस्तक अझै राम्रो हुन्थ्यो कि ?

‘उत्तर आधुनिक त्रासदी’ पुस्तकमा रहेका लेखहरू पढ्दैजाँदा आङ सिरिङ्ग हुन्छ । पाखुराका रौं ठाडाठाडा हुन्छन् । ला… लेखहरूले भने जस्तै के अब सबै कुरा सकिन लाग्यो भनेझैं लाग्छ तर हामीले समस्या मात्र तेर्स्याएर पक्कै पनि हुँदैन, समय अनुसार चल्न सिक्नुपर्छ । सिकेर प्रयोग गर्न जान्यो भने आजको प्रविधिमय परिवर्तनले सबै कुरा अप्ठ्यारो र डरलाग्दो मात्र हुँदैन । प्रविधिलाई कति र कसरी प्रयोग गर्ने, त्यसमा निर्भर हुन्छ अबको समय ।

यस पुस्ताका श्रष्टाले जे लेखेका छन्, संसारमा विकास भएका सामाजिक, आर्थिक, प्राविधिक कुराहरूले पारेको सांस्कृतिक परिवर्तनहरूको यथार्थमा टेकेर लेखेका छन् । त्यसमाथि आफ्ना विचार खन्याएका छन् । समग्रमा यो पुस्तक सत्य तथ्यको ठेली बोकेको पुस्तक हो । उत्तर आधुनिक समयका फाइदा र बेफाइदा खोज्ने मान्छेहरूका लागि यसले एउटा गतिलो पाठ्यपुस्तकको अथवा डिक्शनेरीको  काम गर्न सक्छ ।

साहित्यकार विश्वराज अधिकारीलाई हार्दिक बधाई !!

अमेरिका