साहित्यकार महानन्द ढकालकृत कृति बुह्रान खोतल्ने अवसर मिल्यो । खोतल्दै जाँदा बाँके, बर्दिया, कैलाली अनि कञ्चनपुरतिरको कथा र व्यथालाई मिहिन तरिकाले उधिनेर शब्दमा उतारेपछि उनिएको सुन्दर शब्दमाला बुह्रान तयार भएको महसुस भयो । पहाडबाट मधेस बसाइँ झर्दाको दृस्यले पूर्वतिर पनि पहाडी जिल्लाबाट तराईतिर बसाइँ झर्नेको लर्को लागेको झल्को दिलायो ।
कृतिभित्र थारु समुदायको मात्र नभएर पहाडीयाहरुको पनि कथा व्यथा अटाइएको छ । एकातिर तत्कालीन समयको बालविवाह तथा अनमेल विवाहको संकेतात्मक चित्र उतारिएको छ भने अर्कातिर पहाडीयाहरु तराई बसाइँ सर्नुको दर्दानक अवस्थाको पनि चित्रण गरिएको छ । हुर्के बढेका सन्तान अनि सँगै बाँच्ने कसम खाएका जीवनसाथीसमेत मृत्यूले निल्दा पनि बाँकी सन्तानका लागि अभिभावक चाहिन्छ भनेर एक्लै त्यो साहस गर्ने तत्कालीन आमाहरुको कथा उतारिएको छ ।
चोखो प्रेमका अगाडि सत्ता, शक्ति र सम्पत्ति ओझेल परेको प्रसङ्गले प्रेमको बलियो पाटो उभ्याएको छ । कन्द्रा आन्दोलन, थरुहट आन्दोलन तथा अन्य थुप्रै जनमुक्तिका नाममा गरिएका आन्दोलनले निमूखाहरुलाई भर्याङ्ग बनाएर टाठाबाठाहरु सत्ता र शक्तिमा पुग्ने खेल मात्र भएको र ती पटक पटक गरिएका आन्दोलनले गरिबको जीवनस्तर उकासिन नसकेको तितो सत्यलाई बेजोड उठाइएको छ ।
जसले परिश्रम गर्छ र आफ्नो पसिनाले मोती फलाउँछ तर त्यो मोती किन उसको हुन पाउँदैन ? जसले आजीवन भूमि जोत्छ र अन्न उत्पादन गर्छ त्यो भूमि र अन्नविहीन उहीँ किन हुन्छ ? गाँस र कपासभन्दा माथि किन उठ्न सक्दैनन् कर्मजीवीहरु ? उठ्न सक्दैनन् कि उठ्न दिइँदैन ? जस्ता गम्भीर सवाल उठाइएको छ बुहान कृतिभित्र ।
शिक्षाबाट वञ्चित भएका कारण थारुहरुको चेतनाको स्तर उठ्न नपाएको अनि चेतनाको स्तर नउठेको हुनाले आत्मनिणर्य गर्न नसक्ने र स्वाभिमान अनि आत्मसम्मान जस्ता कुरा ओझेल परेको प्रसङ्ग बेजोड छ । जस्तो कि चेतनास्तर राम्रो भइदिएको भए सोमलालले भूमि सुधार आयोगको सदस्य जस्तो गरिमामय पदको नियुक्ति पाउँदा च्यातेर फाल्ने थिएन । बरु त्यसैलाई हतियार बनाएर कानुनी लडाइँ लड्न सक्थ्यो । चेतना अभावका कारण उसले त्यसको महत्व नै बुझ्न सकेन भन्ने गहिरो सन्देश छ । यहाँ जङ्गल फाँडेर जमिन बनाउने सोझा थारुहरु तर लालपुर्जा चाहिँ चतुर पहाडीयाहरुको नाममा बनेको प्रसङ्गले जमिन्दारहरुको सामन्ती प्रवृत्ति झल्किन्छ ।
जिजु पुस्तादेखि खनाती पुस्तासम्म शोषण र दमनकै सिलौटोमा सामन्तीको लोहोरोले पिसेर उत्पीडनको अचार बनिरहनु पर्दाको थारुहरुको कहाली लाग्दो नियति कृतिभित्र पढ्दै गर्दा शरिरभरी काँडा पलाउँछ । हजाराैँ नामका आन्दोलन भए, दर्जनौँ नामका क्रान्ति भए तर यी आन्दोलनका नाम फेरियो, थारुहरुको जीवनशैली फेरिन सकेन अथवा गरिबीको रेखाभन्दा माथि उठ्न सकेन भन्ने सन्देश थारुहरुकै कहाली लाग्दा भोगाइहरुबाट चित्रण गरिएको छ ।
थारु सँस्कति, भाषा, जीवनशैली, रहनसहन, वातावरण जस्ता विषय उठान बेजोड छ । थारु भएकै कारण पहाडीया ब्राम्हणले ज्वाइँ स्वीकार नगरेको प्रसङ्गले जातीय विभेदको आवाज बोलिरहेको छ । पार्वती आमा र माइला थारुको व्यवहारले भने आत्मीयता त मानवता पक्षको वकालत गर्ने साहस गरेको देखिन्छ । निङ्माको लगनशीलता, अठोट, उदेश्य उन्मूख यात्रा, धैर्यता, सक्रियता जस्ता कुराले गर्ववोध गराएको छ ।
समग्रमा भन्दा बुह्रान जाति, धर्म, लिङ्ग, वर्ग, क्षेत्रजस्ता विविध पक्षमा गरिने विभेदको कथा उधिनेर समानता र मानवताका पक्षमा उभिन आग्रह गरिएको सशक्त आवाज हो । सबै मान्छेहरुलाई मान्छेको परिभाषाभित्र समेटिनुपर्छ भन्ने गहिरो आग्रह पनि हो । यति निर्भीक आवाज ओकल्न साहस गर्ने प्रिय लेखकको हातले समाएको कलमलाई नमन । प्राज्ञिक मानिएकादेखि भुइँमान्छे ठानिएका सबै तह र तप्काका पाठकले सहजै पढ्न अनि मर्मवोध र अर्थवोध गर्न सक्ने सरल, सहजताका साथ मीठो भाषाशैलीमा यती सुन्दर कृति पस्कनु भएकोमा महानन्द ढकालज्यूलाई हार्दिक बधाई एवम् कृति सफलताको अनेकौँ शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।