राम अधिकारी स्वयं कविता जस्ता लाग्छन् । शान्त, गम्भीर र चिन्तनमा डुबिरहेका । आफूमा अनन्त जल समाहित गरेर मूल फुट्न कोमल ठाउँ खोजिरहेको धर्ती जस्तो । वर्षिन ठिक्क परेको बादल जस्तो, लटरम्म फलेर हाँगा नुहेको फलको वृक्ष जस्तो उनमा कविताको समृद्ध भण्डार छ ।

शब्द मिडिया प्रा. लि. (साहित्यपोस्ट) द्वारा २०८१ मा प्रकाशित ‘सपना र छायाहरू’ राम अधिकारीको प्रथम प्रकाशित कृति हो । यस संग्रहमा ३० वटा लामा-छोटा कविताहरू संगृहीत छन् । पहिलो कविता ‘खुशी’ नै यति सशक्त र मर्मस्पर्शी छ कि ! कृतिको सार, समग्र मानव जीवनको सार खिचिए झैं लाग्छ ।

 

खुशी

खुशी खोज्न 

उनीहरू संसार कुदिरहे । 

म आफैभित्र कुदिरहें ।

म आफैंभित्र 

खुशी भेट्याएर गदगद छु 

तर, 

सुनाउनलाई कोही छैनन् 

किनकि उनीहरू 

भागदौडबाट अझै फर्केका छैनन् ।

दोस्रो कविता ‘सपनाहरूको हत्या’ लामो छ । लामो भईकन पनि पढी नसकीकन छोड्न मन लाग्दैन । प्रथम पुरुषमा रचित यो कविताले जिन्दगीको समग्र पक्षको सुन्दर विवेचना गरेको छ ।

‘म महाकालीमा उभिएको छु’ मा कोभिड १९ ले विश्व नै आक्रान्त बनेको कहालीलाग्दो समयमा कृष्णबहादुर खड्काको साबित बयान गरेको छ । ऊ घर फर्कने आशामा महाकाली किनारमा उभिएको छ ।

चौथो कविता ‘जहाँ चोरहरू देश चलाउँछन्’ मा देशमा विद्यमान बेथितिप्रति कडा प्रहार गरिएको छ । ‘ठमेलमा एक हूल साँढेहरू’ शीर्षकको कविता देश चलाउने नेताहरूलाई साँढेको उपमा दिइएको छ ।

देश छोडेर आप्रवासी बनेका, वैदेशिक रोजगारीको सिलसिलामा मुग्लान पसेकाहरूको आत्मालाप मिश्रित लामो कविता हो ‘मुग्लानमा यस्तै भएको छु’ ।

कवि राम अधिकारी अमेरिकाको भर्जिनियामा सूचना प्रविधि क्षेत्रमा कार्यरत भएर पनि होला, उनका कवितामा स्वदेश प्रेमको प्रचुरता हुँदाहुँदै पनि राजनीतिक फोहोरी खेल, अनियमितता, भ्रष्टाचार र बेथितिप्रति चोटिलो प्रहार पाइन्छ ।

प्रकृति प्रेमको अलावा समाज, संस्कृति प्रतिको मोह पनि असरल्ल पाइन्छ । कवि कहिले सगरमाथाको आधार शिविरबाट वीरता, स्वाभिमान, स्वतन्त्रता र सार्वभौमिकताको धर्मयुद्धको सङ्कल्प गर्दछन् । कहिले बगैंचाको गुलाबको रातो फूल देखेर प्रेमको भीख माग्छन् । ‘यो जिन्दगी’ शीर्षकको कवितामा कवि हरिभक्त कटुवाललाई सम्झिन्छन् र यो लोकका लागि हर क्षण पागल बनेर बाँचिदिन्छन् ‘हो अर्को एउटा पागल’ मा ।

‘चेतना बाध्य छु’ छोटा मीठा पंक्तिमा रचिएको सुन्दर कविता हो जुन उनीद्वारा रचित प्रकाशित पहिलो कविता रहेछ । ‘बजारमा’ पुरुषहरू यौन तृष्णा सहजै नमेटिने युवतीका काँचा मासु चपाउँछन्, किनबेचको बजार छ बजारमा जहाँ कहिल्यै नसिद्धिने काँचो मासुको शरीर छ, अंगप्रत्यांग छन् । ‘निरन्तर’ मा देशको गौरव झल्किने राष्ट्रिय पहिचान स्मरण गर्दै असह्य पीडा र वेदनाहरू पोखिएको छ ।

मानव एक सचेत, बौद्धिक र अजीव प्राणी हो यो धराको । अस्तित्वबोध र समृद्धि प्राप्तिका लागि ऊ निरन्तर लडिरहेछ, उठिरहेछ । असन्तोषी छ र बेवकूफ पनि छ । उसका चाहना धेरै छन् त्योभन्दा बढ्ता बहाना छन् । त्यसैले त ऊ चक्रव्यूहबाट कहिल्यै उम्किन सकेको छैन । ‘एक चक्रव्यूह’ मा कवि राम अधिकारीले यस्ता यथेष्ट कुरा सुन्दर र सशक्त तरिकाले व्यक्त गरेका छन् ।

अन्तिम कविता ‘एक आम नेपाली’ पुर्खाको विरासतमा बाँचिरहेको, दौडधुपमा स्वको खोजी गर्न बिर्सेर भौंतारिरहेको नेपालीको कहानी हो ।

एक आम नेपाली 

देश छ, देशभित्र छैन

परदेशमन छ, परदेशभित्र पनि छैन 

बिरानो , एक्लो र निराश छ

सपना र छायाहरूका कवितामा विविधता छ । कुनै छोटा त कुनै लामा छन् । रहरले परदेशिएका करले विदेशिएकाहरूको कथाव्यथा छ । स्वदेशमा बसेर श्रम गरिरहेका कर्मशील र देशलाई ठगिरहेका भ्रष्टहरूको कहानी छ । कविता विशिष्ट शैलीमा अभिव्यक्त गर्ने साहित्यको प्रमुख र प्राचीन विधा हो ।

यो विशेषगरी मनमा उठेका विचार, अनुभूति, वा कल्पनाहरूलाई शब्दमा सजाएर पाठक वा श्रोताको हृदयलाई झंकृत हुनेगरी हृदयस्पर्शी तथा मर्मस्पर्शी हुन्छ । कविता लेख्दा गहन अर्थ, प्रतीक, र संक्षिप्त भाषाको प्रयोग गरिन्छ, जसले शब्दहरूमा गहिरो अनुभूति दिन्छ । राम अधिकारी यस अर्थमा सफल कवि हुन् ।