धेरै दिन भयो । साहित्यपोस्ट कार्यालयको मैले काम गर्ने टेबलमा असरल्ल पल्टिरहेको छ उपन्यास “जरत्कारु” । सम्पादकले आदेश दिएका छन्, यसका बारेमा सत्यतथ्य छानबिन होस् ।
अहो, यो कस्तो आदेश ? उपन्यासको पनि छानबिन हुन्छ र ? चित्त नबुझेर घरी पुस्तकलाई र घरी आफ्नै मनको बहावलाई हेरिबस्छु ।
जरत्कारुको आवरण अनौठो छ । नागको बदामी रङ, नागको काखमा नागकै माला, नागकै लाली, नागकै चुरा, नागकै झुम्का । आमरूपमा सर्प भनिने नागले शृङ्गार गरेकी एक नागिनी । हाँसो हराएको अनुहारमा नागिनीको कुमारीत्व हेराइ । आवरण अलि अनाकर्षक छ । नागकै कहानी होला कि भनी सोच्छु र लेखकका नाम पढ्छु, किरण आचार्य ।
किरण आचार्य, यो नामले भने कता कता पढौँ भन्ने लाग्यो । आचार्य थरको अर्थ नै विद्वान् भन्ने हुन्छ । प्राचीन कथा आचार्यले नै भन्ने हो । एकपल्ट पढौँ भन्ने भाव मनमा आउँछ । किरण आचार्य कुनै आधुनिक, हेण्डसम युवक होला भन्ने लाग्छ । किताब पढे पनि सम्पादकको आदेश मान्ने मुडमा भने म पटक्कै छैन ।
पढ्न सुरु गर्छु । लेखकलाई चिन्दिनँ । तर नचिनेको लेखकको आफूले थाहा नपाएको अर्थात् जरत्कारुको अर्थ पनि नबुझी म पुस्तकको पाना पल्टाउँछु । केही पेज पल्टाएपछि लेखकको अनुहार हेर्न मन लाग्छ । अहो, किरण त पुरुष होइन, महिला पो रहिछन् ।
एउटा कुरा खुलाउनै पर्छ । म नेपाल आएर नारी उपन्यासकारको खोजी गरिरहेकी छु । नारी भएको नातामा । तर यो नसम्झिनुस् म कट्टर नारीवादी हुँ । तर भन्छन् नि “गाईको बगाल फुटे बाघले खाला” । यसमा म चुकेकै हुँ । कहिलेकाहीँ जानीजानी पनि चुक्नै पर्छ सत्यतथ्यका लागि ।
पढ्दै जाँदा थाहा भयो, पौराणिक उपन्यास रहेछ, ‘जरत्कारु’ । नारी लेखिकाले प्राचीन नारी जरत्कारुलाई प्रकाश पारेकी रहिछन् । अध्ययन पनि विषद् रहेछ, लेखिकाको । यस्तो लाग्छ, आफूभित्र अटेसमटेस भएका ज्ञानलाई कसरी हुन्छ, पोख्न आतुर रहिछन् लेखिका ।
जरत्कारु नारीत्वको खोजीमा लागिपर्ने एक साहसिक नागकुमारीको कथा हो । पात्रप्रधान शीर्षकबाट लेखिएको यस उपन्यास जरत्कारुको जीवन त पक्कै हो, सँगसँगै यसभित्र जरत्कारुको आमाको पनि कथा छ ।
हामीले पुराणहरूमा सामान्य रूपमा सुन्दै आएका सानो कथालाई लेखकले अनेक खालका ग्रन्थ पढेर, पचाएर यसलाई औपन्यासिक रूप दिएकी छन् । जसमा नारी पात्रको अवस्था मज्जाले वर्णन भएको छ, र परिस्थिति राम्रोसँग खुलेको छ ।
कथाले भन्छ, राजा दक्ष प्रजापतिले आफ्ना छोरीहरूका खुसीबिना मरिची पुत्र काश्यपसँग विवाह गरिदिन्छन् । यसबाट नारी हुनुको पीडा सुरु हुन्छ, अदितिबाहेक अन्य १२ जनालाई । काश्यपले अदितिलाई मात्र प्रेम गर्नु, पत्नी मान्नु भनेको अन्य १२ जनालाई अपमानको पात्र बनाउनु हो । नारीत्वको हनन र ममत्वलाई वध गर्नु हो । नारीको कोमल हृदयका कोमल यौनइच्छालाई पुरुषत्वको ढुङ्गोले थिच्नु हो । यसलाई लेखिकाले सुन्दर तरिकाले प्रस्तुत गरेकी छिन् ।
“यो विवाह हो कि सजाय ?.. मधुमासमा दैहिक चरमोत्कर्षले नसताएको पनि होइन ।”
पुरुषले चाहे भने नारीविरुद्ध कसरी उभिन्छन् र त्यसलाई मर्दको नाम दिन्छन्, यसमा स्पष्ट हुन्छ । यता नारीको इच्छा लेखिइन्न । उनीहरू केवल समाजको परिवारको पृष्ठभूमिमा मात्र देखिन्छन् । अझ कामुकको नामले चिनिनु पर्छ नारी । बहुविवाह सामान्य लाग्ने समयको कथा भए पनि केही वर्ष अघिसम्मको अवस्था चियाउन मद्दत गर्छ उपन्यासले ।
अदितिको रजस्वला भएको एकान्त बासको फाइदा उठाउँदै अन्य १२ जना गर्भिणी हुन्छन् । गर्भिणी हुनेमा कद्रुका नागवंशीय पुत्रीहरू वासुकीलगायत जरत्कारु नामका अत्यन्त सुन्दर र मेधावी कन्या हुन्छन् ।
जरत्कारु शास्त्रार्थ, तर्कशास्त्र, दर्शन, कला र युद्धविद्यामा निपुण हुन्छिन् । बुद्धिमती जगत्कारु आफ्नो दक्षताबाट पिताको मायाको आस गर्छिन् । अदितिका छोराछोरीलाई मात्र माया गर्ने आफ्ना पिताबाट उनी अपहेलित हुन्छिन् । पिताको न्यानो काखबाट टाढिएकी जरत्कारुको मन दुखित हुन्छ । ऊ रुन्छे । रुनु स्वाभाविक पनि हो । आफ्नो उपलब्धिमा जुन पनि छोरीले पिताबाट स्याबासी खोज्छन् नै । गौरवान्वित खोज्छन् नै । पिताको मायाबाट नै नारीको जिन्दगीको बिरुवा अङ्कुराउँछ । आफ्ना मातालाई गरेको पिताको अन्यायलाई समेत ऊ स्वीकार गर्न सक्दिनँ । माताहरूले पितालाई गलत बुझेका छन् कि भन्ने भावले पिताप्रति माया र सत्कार देखाउँछिन् । यसरी लेखिकाले नारीको पहिलो पाइलाले नै पुरुषको आड, भरोसा र माया खोजेको हुन्छ भनी नारीको मनस्थितिलाई दर्साउन खोजेकी छिन् ।
जगत्कारुको प्रेम र विवाह पनि कम रोचक छैन ।
पतिको मायाबाट वञ्चित भएकी आफ्नी आमाको पीडा अनुभूत गरेकी जरत्कारुले आफ्नो विवाह यस्तो पुरुषसँग गर्न चाहन्छिन्, त्यो पुरुष राजा, सम्राट् हुनै पर्दैन, स्वाभिमानका साथ परिवारप्रति माया गर्ने, जिम्मेवार बहन गर्न सक्ने सरल पुरुष होस् । जरत्कारुको यस विचारमा पनि सम्पूर्ण नारीको मनोकाङ्क्षा व्यक्त भएको अनुभव हुन्छ मलाई । यसरी लेखिकाले नारीको भित्री मनलाई सरल ढङ्गले प्रस्तुत गरेकी छिन् ।
यता जरत्कारु नागकन्या विवाहप्रतिको आफ्नो दृष्टिकोणमा अडिग रहेर बसेकी छन् भने उता अनाथ बालकको जीवनसङ्घर्ष भोगेका यायावर वंशका जरत्कारु ऋषि पितृ ऋणबाट मुक्त हुन र पिता बन्नका लागि विवाह गर्न आफ्नै नामकी केटी खोजिरहेका हुन्छन् ।
अहिलेको अस्तव्यस्त युगमा पनि यस्ता कथाहरू छरपष्टिएकै छन् । प्रेमको लागि नभएर एउटा कर्तव्यको नाममा, धर्मको नाममा विवाहको स्वच्छ र सुन्दर पोखरीमा पौडी खेल्न खोज्ने पुरुष समाज । जब जब आफ्नो स्वार्थ पूरा हुन्छ, त्यस पोखरीमा आफ्ना वैचारिक फोहोर थुपारेर पोखरीलाई दूषित बनाउँछ । आफू निर्दोष छु भन्ने भावनाले त्यस जीर्ण पोखरीबाट भाग्छन् पलायन भएर ।
आचार्यको सहज र स्वाभाविक वाक्य गठनले मलाई पानाहरू पल्टाउन अह्राए पनि वस्तु गठनले छेकिदिन्छ । मेरो सोचाइको विन्दु तोडिन्छ ।
ऋषि जगत्कारुको कठोर सर्तहरू सुनेर पनि नागकन्या कसरी विवाहको लागि तयार हुन्छिन् ? यसमा नारीको कमजोरी स्पष्ट देखाइन्छ । नारीहरू प्रेम नै सर्वस्व हो भनी आफूलाई र आफ्नो अस्तित्वलाई समर्पण गर्न किन दुई चोटि सोच्दैनन्, विश्लेषण गर्दैनन् । किन निर्णय लिइहाल्छन् यस अर्थमा नारीहरू मनका भोगी हुन् ।
पढ्दै जाँदा पाठकलाई थाहा हुन्छ, अब नागकन्या जरत्कारु एक न एक दिन पतिबाट त्यागिन्छिन्, भनौँ एकल महिला हुन्छिन् । कथानकले खोजेको पनि यही हो र यसबाट नै नारीको विशेषता पहिल्याउने साहस जरत्कारुले गरेकी छिन् र यसमा आचार्यले आफ्नो कलात्मकबाट साथ दिएकी छिन् ।
जरत्कारुको दूर दुख थाहा हुँदाहुँदै पनि दुई जगत्कारुको एकार्काको प्रेम फल्दै जान्छ, आकार लिँदै जान्छ र यसमा पाठक मुग्ध हुँदै जान्छन् . ऋषि जरत्कारुले आफ्नो सर्त, स्वार्थ, कर्तव्य, ऋषित्व बिर्सियोस् । त्यो त सोचाइमा मात्र सीमित रहन्छ र वास्तविकता सरर अगाडि आइछाड्छ ।
ऋषि जरत्कारु माया र ऋषित्वबिचको द्वन्द्वमा फस्छ । त्यही निहुँ बनाएर क्रोधको सहारा लिई गर्भिणी पत्नीलाई कुराले मात्र नभई लात्तीले समेत मर्माहत बनाउँछ । सुरुमा नागकन्या जरत्कारु पनि आफ्नो गर्भिणी अवस्थालाई दर्साउँदै मायाको विष माग्दै चरण स्पर्श गर्न पुग्छिन् । जब कि ऋषिले सम्पूर्ण नारी जगतलाई नै अमर्यादित अपहेलना गर्न थाल्छ तब नागकन्याको आफ्नो अस्तित्वमा चोट लाग्छ । सन्तानको लागि विष मागिरहने जरत्कारु श्रीमतीले ऋषिको अहङ्कारलाई टुक्रा टुक्रा बनाउने गरी बोलिदिन्छिन्, “तिमी अहङ्कारी पुरुषका जन्मदाता र तिम्रो कुलको उद्धारकर्ता हामी स्त्री नै हौँ ।” यसले ऋषिको अहम्मा गहिरो चोट पर्छ ।
मान्छे कहिलेकाहीँ त्यही जरत्कारु ऋषिजस्तै आफ्नो दायित्व के हो ? लहैलहै विचारको पर्खालले आफ्नो मनको कुरा सुन्न बिर्सन्छन् । कर्म के हो भन्नेमा अस्पष्ट भइरहन्छन् । यसमा आत्मा र परमात्माको तत्त्व पहिल्याउन सक्दैनन् र मान्छे कर्म र भाग्य दोसाँधमा अल्झिन्छन् ।
ऋषि जरत्कारु जस्तै किंकर्तव्यविमूढ भई पलायनवादीहरू भेटिन्छन् अझैसम्म । र नै जरत्कारु जस्तै नारीहरूले आफ्नो आँसु लुकाई कर्मठ हुन्छन् । काँचको ऐना जस्तो जिन्दगीलाई सुरक्षित राख्न आफू चौघेरा हुन्छन् । आफ्नो खुसी र सन्तानको कर्तव्यमा सक्रिय हुन्छन् । सरासर लाचारी लोग्नेलाई सजिलै परित्याग गर्न सक्छन् । जसरी जरत्कारुले विवाहको लागि निर्णय गरेकी थिइन् परित्यागको लागि पनि दुई पटक सोचिनन् र ऋषिले क्षमा याचना गर्दा पनि स्वीकार गरिनन् । यसमा नारी हठको अगि न त परिवारको न त समाजको न त बन्धनको जोड चल्छ । जति कोमलताले राम्री देखिएका हुन्छन् नारी त्यति भित्र मौन भई बसिरहेको कठोरताले उसको अवस्थित सौन्दर्य एकाएक झल्किन्छ ।
जस्तै जरत्कारुले पतिको छल र धोकाबाट आफू निर्बल हुनुको साटो जीवनको असल योद्धा हुन्छिन् । सन्तानको लागि जोधाहा आमा बन्छिन् । आफ्नो बल र ज्ञानले आफू आमा हुनुको कुरा समाजमा लडी बाबुबिना पुत्रको नामकरण गराउँछिन् । हनन भएको नारी अधिकारलाई सृष्टिकर्ता ब्रह्मबाट नारीत्वको पुनः जन्म गराएर लेखिकाले समाजलाई एउटा मीठो उपदेशात्मक सन्देश छाड्न सफल भएकी छिन् ।
पतिबाट टाढिए पनि जरत्कारु छोराको नाममा बाँचिरहेकी हुन्छिन् । छोराको हाँसोमा हाँसिरहेकी हुन्छिन् । छोरा आस्तिकको ज्ञानार्जनको लागि गुरुकुल पठाउँदा ऊ आफू आफैलाई एक्लोको महसुस गर्छिन् । रोएर मनको पीडा त कम हुन्छ तर वास्तविकता त जीवित नै रहन्छ । जति जे भए पनि जीवन त आफ्नै हो । बाँच्ने त आफैले नै हो । समाजले अझैसम्म बुझ्दै आएको पिता, पति, छोराको भरोसामा नारी बाँच्छे भन्ने अज्ञानतालाई जरत्कारु तोड्न खोज्छिन् । तर कसरी ऊ अनभिज्ञ हुन्छिन् । मन भए बाटो आफ्नै भनेजस्तै कर्म र आत्माको ज्ञान पाउँछिन् ब्रह्मबाट । प्रेरणा पाउँछिन् । ब्रह्म र जरत्कारुको संवाद त त्यही प्रेम, विवाह, कर्म र जीवन सम्बन्धी हुन्छ । यसमा आचार्यको विचारमूलक, सन्देशमूलक, प्रेरणामूलक शैलीले पाठक वर्गलाई एक नयाँ ऊर्जा अवश्य दिन सफल भएको छ ।
पतिबाट फुल्न नसकेको आफ्नो जीवनलाई आफै फुलाउन अनेक प्रयास गर्छिन् । यसको लागि उनी कैलाश गई तपस्या गर्छिन् । कैलाश यात्रामा बुझेका, सिकेका उनका अनुभवले नारीहरूलाई उत्प्रेरित गराउँछ ।
यात्राभरि नारीलाई अपमान गरेका दृश्यहरूले त्यस बेलाको पुरुषवादी समाज झल्किन्छ ।
पितावियोग कम हुन्छ पतिवियोग भन्दा, पतिवियोग कम हुन्छ छोरावियोग भन्दा छोरावियोग कम हुन्छ अस्वित्वहनन भन्दा । यहाँ आएर नारीहरूको वास्तविक भोगाइ स्पष्ट हुन्छ । कहिले पिताको परिचयबाट चिनिनु, कहिले पतिको परिचयबाट चिनिनु, कहिले छोराको परिचयबाट चिनिनु । जब जरत्कारु शिवसँग भेट्ने क्रममा नन्दी-भृङ्गीबाट “तपाईं को हुनुहुन्छ ? तपाईंको अनुरोध महादेव समक्ष कसको अनुरोध भनेर प्रस्तुत गर्ने ?” सोधिएका प्रश्नहरूले ऊ झस्किन्छे । ऊ आफ्नो परिचयविहीन जरत्कारुबाट अस्तित्व खोज्छिन् तर शून्य । यो जरत्कारुको मात्र कथा हैन । सम्पूर्ण नारी जगतको कथा हो । यो पौराणिक कथा मात्र हैन । आधुनिक व्यथा पनि हो । पितृसत्तात्मकको स्वरूप फेरिएला । रङ फेरिएला । आकार फेरिएला । पितृसत्तात्मकको मुख्य विषयवस्तु कायमै रहेको छ ।
जरत्कारुको कथा यसैमा सकिँदैन । लाग्छ पाठकलाई यो नै अन्त्य हो । तर पानाहरू पल्टाउँदै जाँदा एक गोप्यता बाहिरी आउँछ । सङ्केत नै नगरेको विषयलाई यसरी एकै चोटि ल्याउन सक्नु नै लेखिकाको विशेषता हो ।
“कुमारी पूजा ।” कुमारी पूजा किन गरिन्छ ? कुमारी भनी कसलाई भनिन्छ ? एक जना विवाहित नारी, एक जना आमालाई कुमारी नाम दिइन्छ ? जगत्कारुलाई कृष्णले भन्छन्, “तिमी सदासर्वदा कुमारीको रूपमा पूजित हुनेछौ ।” यसमा मलाई लाग्छ शरीर र मनको फरक तत्त्व आएको छ ।
अहिले चलनचल्तीमा सोधिने प्रश्न छ नारीमाथि, “तिमी कुमारी हौ ?” नारीलाई यस्ता अनौपचारिक प्रश्नबाट बलात्कार गरिरहेकै हुन्छ समाजले ।
यतिमै कथा सकिएको छैन । ‘जरत्कारु’ उपन्यासले अन्य उपन्यासको ढोका खुलाएको छ ।
नारीवादको ओतप्रोतमा रहेको यस उपन्यासको सुरुवात एक जना शिष्यले एक जना महिलालाई जगत्कारुको कथा बताउँछिन् । यसले पाठकको ध्यानलाई खिच्छ नै । तृतीय दृष्टिविन्दुलाई अङ्गालेर लेखिएको यस उपन्यासले पाठकलाई जरत्कारु आफ्नै दिदी, बहिनी, छोरी हो भन्ने बनाउँछ । किनभने परिवारमा, समाजमा, देशमा, विश्वमा जरत्कारुको कथा जस्ताको तस्तै नदोहोरे पनि जरत्कारुको कथानक चाहिँ छरपस्टिएकै छ । नारी हुनुमा नारीहरूलाई पीडा थिएन, छैन र रहनेछैन तर युगौँदेखिको नारी किचिनु, थिचिनु, सिँचिनु परेको पुरुषवादी समाजबाट चाहिँ नारीहरू नारीत्वको सुरक्षित गर्न तत्पर भइरहन्छन् ।
समग्रमा जरत्कारुको मनोविज्ञानबाट बुझिन्छ – नारी नाैनी भएर आफ्नो जीवन पूर्ण रूपमा पुरषलाई चिल्लोचम्किलो बनाउँछिन्, तर पुरुषवादले सीमा नाघ्यो भने नारीको कठोरता आकासिन्छ ।
मलाई लाग्छ यस्ता पौराणिक कथाहरू धेरै भन्दा धेरै लेखिनुपर्छ । जरत्कारु जस्ता नारीहरूको कथा लेखिनुपर्छ ।
नलेख्ने भन्दा भन्दै यति लेखियो । छाप्ने नछाप्ने सम्पादकको हातमा ।
बिट मार्नुअघि लेखिकालाई भन्न मन लाग्यो, ‘ तपाईंले अध्ययन निकै गर्नु भयो, अब कथालाई औपन्यासिक सिपमा ढाल्न अलि मेहनत गर्ने हो भने तपाईंलाई ‘महिला मदनमणि’ भन्नेछन् र माधवीजस्तो कृतिको अपेक्षा तपाईंबाट गर्नेछन् ।
(समीक्षक धिताल बर्माबाट नेपाली साहित्य अध्ययन गर्न नेपाल आएकी हुन् । पद्मकन्या क्याम्पसमा नेपाली भाषा-साहित्य र पत्रकारिता अध्ययन गरिरहेकी धिताल साहित्यपोस्टसँग पनि आबद्ध छिन् ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।