परिचय

निरू शर्मा पराजुली (१५, अप्रिल १९६७ — २७ अगस्ट, २०२३) नेपाली कविता क्षेत्रका प्रतिभाशाली कवि हुन् । उनको ‘तिर्खाएको मन केही पल’ कविता अक्टोबर, २०२० मा प्रकाशित कवितासंग्रह हो । उनका अन्य कविता कृतिमा कविताइ मोर बुभूक्षा (असमीया कवितासङ्कलन, २००७), भोकमा कोरिएका शब्दहरू (नेपाली कवितासङ्कलन, २००८), माथो प्रेमर बाबे एमुठि अनुभव (असमीया कवितासङ्कलन, २००९), बगी बरमार बारी (असमीया बाल कवितासङ्कलन, २००९), स्पन्दन (अनुवाद कवितासङ्कलन, असमीयाबाट नेपालीमा, २०२०) र कोसेली (बाल कवितासङ्कलन, २०२०) रहेका छन् ।

निरू शर्मा पराजुली समसामयिक धाराका कविका रूपमा असमेली नेपाली साहित्यमा देखा परेकी हुन् । समसामयिक कविका रूपमा यिनले असमेली नेपाली संस्कृति, प्रकृतिको सुन्दर चित्रण र नारी मनको अनुपम वर्णन गरेकी छन् । उनका कवितामा असमेली नेपाली संस्कृति र प्रकृतिको महिमागान गाएको पाइन्छ । नेपाली जातीय एवम् सांस्कृतिक महत्त्व दर्शाउँदै आफू बाँचेको जीवनप्रति गौरवबोध गर्ने हुनाले यिनलाई जीवनवादी कवि मान्न सकिन्छ । दुःखी र असहायप्रति हार्दिक समवेदना व्यक्त गर्ने यिनका कवितामा मानवतावादी स्वर पनि गुञ्जिएको पाइन्छ । यिनका कवितामा मानवीय जिजीविषाको जीवन्त अभिव्यक्ति समेत गरिएको पाइन्छ । यसरी हेर्दा निरू शर्मा पराजुली मानवतावादी र समानता तथा स्वतन्त्रताप्रेमी कवि हुन् ।

त्यसैगरी यिनका कवितामा जीवनप्रतिको स्वरसमेत अभिव्यक्त भएको पाइन्छ । साथै यिनले आफ्ना कवितामा निम्नवर्गीय समाजको चित्रणसमेत गरेकी छन् । सरल, सहज र प्रभावोत्पादक भाषाशैलीमा कविता रच्ने उनी विशिष्ट शैलीकी कवि हुन् । विशिष्ट लयोत्पादक एवम् हृदयस्पर्शी गद्य कविता लेख्ने निरू आफ्नो समयकी लोकप्रिय कवि पनि हुन् ।

० ० ० ०

‘तिर्खाएको मन केही पल’ संग्रहको विषयवस्तु

साहित्यका विभिन्न विधाहरू मध्ये कविता एउटा विधा हो । शिल्प तथा संरचनाका दृष्टिले यसको आफ्नै स्थापत्य कला रहेको छ । साहित्यका अन्य विधाका सापेक्षतामा पद्यात्मकता यसको मौलिक विशिष्टता हो । कविताको संरचक तत्त्वहरूमा विषयवस्तु एक महत्त्वपूर्ण तत्त्व हो । पूर्वीय काव्यशास्त्रमा यसलाई वस्तुका रूपमा लिएको पाइन्छ । कविता रचनाका लागि चयन गरिएको वस्तु नै कविताको विषयवस्तु हो । विषयवस्तुले कविताको तह निर्धारण गर्दछ । विषयवस्तु कै आधारमा कविताको तारतम्य हुने गर्दछ र विषयवस्तु कै धरातलमा कविताको भावबोध हुने गर्दछ ।

कवि निरू शर्माको यस कवितासंग्रहको विषयवस्तुका सम्बन्धमा दुःखद अनुभूति, पीडाबोध, उदासीनता, समाजको कुरूपताको चित्रणका साथै आफ्नो वैयक्तिक जीवनका सहजानुभूतिका साथै आफू बाँचिरहेको युग र स्थानमा व्याप्त सामाजिक, आर्थिक, शैक्षिक, वर्गीय, जातीय, लैङ्गिकलगायतका विभेदहरू र तिनबाट सृजित विषयवस्तुलाई मूल विषय बनाएको देखिन्छ । विषयवस्तु तथा भावका सम्बन्धमा पदलोलुपता, सामाजिक बाध्यता र पीडा, पूँजीवादबाट दुर्गन्धित जीवन आदि विषयहरू कविताका अन्तर्वस्तु भएर आएका छन् । साथै राजनीतिक, सामाजिक तथा सांस्कृतिक विसङ्गतिको विरोध र सुसंस्कृतिको निर्माणको चाहना आदि कवितामा विषयवस्तुको रूपमा आएको पाइन्छन् ।

कवि शर्मा पराजुलीको यस संग्रहमा ५० वटा कविताहरू रहेका छन् । जसमा बन्दी, जीवनदर्शन, समयचक्र, चर्तिकला, नवजन्म, वेदनाको आँच, निद्रा, तिमी, चमजुम्रो, गतानुतिक, परिणाम, तिर्खाएको मन केही पल, एउटा कथा माकुराकीको कवितामा कविले प्रथम र दोस्रो विश्वयुद्धको ध्वंशात्मक परिणतिले मानिसमा जन्माएको स्वार्थान्ध भावना, आधुनिकताको नाममा आएको विकृति आदि विषयलाई प्रस्तुत गरेका छन् ।

त्यसैगरी त्रास, अट्टहास, भौँतारिन्छ हृदय अमृतको आशामा, अमानवीय कवितामा सन्त्रासले थिलथिलिएको समय र मानव सभ्यतामा आएको परिवर्तनको तस्वीर पाइन्छ ।

पराजुलीका यस संग्रहका पारखी हृदय, पर्खाल, चेतना सृजनाको, रमिता, तगारो आदि कवितामा मानव सभ्यतामा समाजमा रहेको वर्गविभाजनका विषयवस्तु रहेका छन् । त्यसैगरी फर्किएर हेर्दा, चियाको बुटाले मासिदिँदा फूल र पुतलीका रहरहरू, बुझेउ साथी, कानेगुजी, चाहना, मनोकामना जस्ता कवितामा एक्काइसौँ शताब्दीको यान्त्रिकतामा रुमल्लिएको मान्छे, आज आफैंलाई नचिन्ने भएको छ, विश्वायनको परिणाम भोगवादी धारणामा रमेर कृतिम बन्न पुगेको विषय व्यक्त गरेकाछन् ।

त्यस्तै युद्ध एक उपलब्धि, यसबाजी बाढीमा, प्रतिकार, कवितामा विज्ञानको चरम उत्कर्ष र नयाँ आविष्कारले रनभुल्लमा परेको मानवतालाई चित्रण गरेका छन् भने विवशता, चिन्तन र मुखौटो लगायतका कविता अन्धविश्वासले जन्माएका बोक्सी, डाइनी वा परम्पारगत धारणामाथि रहेका छन् ।

कविताहरूले वर्तमान समय र सभ्यताका नाममा हुने गरेका विकृतिलाई देखाएका छन् । कुनै पनि कवितामा कविले कुनै खास कथ्य वा अर्थको प्रस्तुति गरेको हुन्छ । विषयवस्तुले कथ्यलाई सङ्केत गर्छ । यस विना कविताको कुनै तात्पर्य रहँदैन । यसैबाट कविताभित्र कविले व्यक्त गरेको भाव वा विचार छुट्याउन सकिन्छ । मानवीय जीवन र जगतका सम्पूर्ण अनुभव र मानवीय भावनालाई यसैद्वारा अभिव्यक्त गरिन्छ । कवितामा यसलाई अनिवार्य तत्त्व मानिन्छ ।

कविताका सबै संरचक घटकहरू नभई यहाँ प्रस्तुत कविताको विषयवस्तु र भाषशैलीय विन्यासको मात्र विश्लेषण गरिएको छ । विषयवस्तु कविताको आधारभूत संरचक घटक हो । कृतिमा बाह्य प्रकाशनको आधारभूत अंश वा सारवस्तु तथा आन्तरिक तत्त्वलाई विषयवस्तु भनिन्छ । कवितामा पाइने मूल कथ्य नै वस्तु हो र यो कविताको सारभूत अंशका रूपमा रहेको हुन्छ ।

संग्रह भित्रका अनगन्ती कविताहरूले विविधता बोकेर हिंडेका छन् । मूलतः विविध समय, परिवेश परिस्थितिभित्र जीवनको विसङ्गति केलाएर हेर्ने जमर्को गरेका छन् कविताहरूले । यहाँ पर्यावरणको विनाश, प्रकृतिको प्रकोप, सन्त्राससंवादले सञ्चालित यन्त्ररत परिवेशबाट उब्जिएको भयबोध र मानसिक व्यथा, दुर्नीति, दुराचार, मानवीय हननभित्र जीवन हिलोमा भासि|दै गएको अनुभव हुन्छ, तर लेखिका हताश भएकी छैनन् । उनलाई विश्वास छ कण्टकपूर्ण परिस्थितिको सामना कर्म गर्दै जाँदा जीवन ज्योतिर्मय अवश्य बन्छ (पृ. छ) । ‘रमिता’ कवितामा विभिन्न वर्गमा विभाजित समाज व्यवस्थामा स्वार्थका कारण मानिसले दया र ममतालाई बिर्संदै गरेको छ यथार्थ प्रसङ्ग कवितामा निम्न साक्ष्यबाट प्रष्ट पार्न सकिन्छ :

लोभी आँखा टल्काउँदै

स्वादे जिब्रो पड्काउँदै

बुन्दै जान्छ षड्यन्त्रका जालहरू

अझ अरू धेरै निरीहलाई पार्न पाशोमा ।

(रमिता, पृ.१६)

आजको भोगवादी समाजव्यवस्थामा बाँच्नुपर्ने बाध्यता र बाँच्नको लागि आइलाग्ने कठिनता, सांसारिक जटिलताको उपलब्धि, समाज व्यवस्थाको कठाङ्ग्रिएको मानवता, वैज्ञानिक उन्नतिसँगै सहज उपलब्धि मरणास्त्रहरूको सन्त्रास, सामाजिक विभाजन तथा विसङ्गति आदि विषयहरू नै यस संग्रहमा सङ्ग्रहित पाइन्छ । मानव सभ्यताको विकाससँग जीवनधारणाका आधारहरूमा परिवर्तन आयो, मानिसको जिज्ञासु प्रवृत्ति बढ्दै गयो, अरूलाई लखेटेर आफैँ अघि बढौँ आदि भावनाहरू विकसित भए मानवमा, आफैँलाई जीवश्रेष्ठ सम्झिने मानिस परस्परमा घमासान मच्चाउन थालो, ‘म खाऊँ मै लाऊँ’ को भावनामा चुर्लुम्म डुब्यो तर जीवन के हो ? यसको चरम उत्कर्ष कहाँ छ, कसलाई जीवन भन्नु आदि जीवनसम्बन्धी यी रहस्यहरू प्रहेलिकामय बनिरहे । यस्तै यस्तै कठाङ्ग्रिएको स्थितिमा जीवनको अर्थ खोज्न पुग्दछिन् निरू आफ्ना कवितामा (पृ. ञ) ।

जीवन मरीचिका हो

कहिलै नमेटिने एउटा तृष्णा

खोजी हिँड्छ मानिस

जीवन

कहिल्यै नमेटिने एउटा तृष्णा

अर्थपूर्ण हुँदाहुँदै

गर्न सकिँदैन कहिल्यै

जीवनको सठीक व्याख्या ।

(असीम तृष्णा, पृ. २)

कविले बयान गरेको असीम तृष्णा कवितामा मानिस उदास र निराश रहेको छ । किनकि यहाँ जीवनका तृष्णालाई राजनीतिक तथा सामाजिक अवस्थाले आक्रान्त बनाएको छ भने हर्ष खोजेर पनि नपाइने अवस्थामा छ । यसमा वर्णित नकारात्मक कुराको व्याप्ति र सकारात्मक कुराको अभाव हुन् ले यस देशको दयनीय अवस्थालाई जनाउँछ । समग्रमा जीवन के हो ? रहस्यमय रहेको अवस्थामा समकालीन समाजले निम्त्याएका व्यतिथिहरूले गर्दा मानिस तृष्णाले ग्रसित बन्दै गइरहेको यथार्थ प्रष्ट पारेकी छन् ।

विषयको विविधता र कलात्मक निखार भएन भने कविता युगान्तकारी बन्दैनन् । कवि निरूका कविता जीवनको विशालता, विविध पक्ष, चौतर्फी कोणबाट आयामिक विश्लेषणको पक्षमा चाहिं छन् । तर विषयवस्तु चयनको सवालमा कविता जति बलिया छन्, कलात्मक पक्षको उचाइमा कमजोर देखिन्छन् ।

० ० ० ०

भाषाशैली

कविता प्रकटीकरणको माध्यम भाषा भएकाले कवितात्मक भाषाको विशिष्ट स्थान रहेको हुन्छ । जुनसुकै साहित्यिक विधाका लागि पनि भाषाशैली अनिवार्य तत्त्व हुन्छ । भाषिक परिष्कार विम्बालङ्कारको प्रयोग, व्यञ्जनात्मक अभिव्यक्ति आदिका माध्यमबाट व्यक्त कवितात्मक अभिव्यक्तिमा उच्च काव्य शिल्प पाइन्छ । यसले कथ्य अर्थलाई रोचक, प्रभावकारी र तीव्र रूपमा प्रस्तुत गर्दछ । शीर्षक केन्द्रीय भावबिचको घनिष्ठताबाट पनि शैल्पिक विशेषता स्पष्ट हुन्छ । भाषामा सरलता सहजता र स्पष्टता भएमा कवित्व शक्ति अझ प्रभावकारी बन्दछ । गद्य वा पद्य भाषाको प्रयोग पनि कवितामा पाइन्छ । कतै वर्ण, पद, पदावलीको क्रमलाई पनि सुव्यवस्थित बनाएर भाषिक सम्यता थप्न सकिन्छ । कवितालाई उत्कृष्ट बनाउने अभिव्यक्तिको माध्यम नै भाषाशैली हो ।

‘तिर्खाएको मन केही पल’ संग्रहका कविता सरल सहज र स्वाभाविक शब्दको प्रयोग गरी मुक्त छन्दमा रचिएका छन् । यस कवितामा सरल, सहज, प्राञ्जल भाषाशैलीको प्रयोगका साथै केही व्याकरणिक र आर्थी विचलनको सहजतापूर्वक प्रयोग गरिएको पाइन्छ । यस संग्रहका कवितामा सरल, सहज, बोधगम्य र आम बोलीचालीको भाषाको प्रयोग गरिएको छ । प्रस्तुत संग्रहका कविता परम्परित गद्य शैलीमा लेखिएका छन् । जसमा सरल भाषाशैलीको प्रयोगका साथै व्याकरणिक र आर्थी विचलनको सहजता पाइन्छ ।

मुक्त छन्दमा संरचित प्रस्तुत कवितामा नियोजित व्यवस्थापनबाट नभई अनियोजित व्यवस्थापनबाटै काव्यात्मक र लयात्मकता तुल्याइएको छ । कवितामा संसार–हाहाकार (बन्दी, पृ. ६), सुगन्ध– उमङ्ग (समयचक्र, पृ. ११), टल्काउँदै– पड्काउँदै (रमिता, पृ. १६), रानी– पानी, दाँई– बिजाई (चमजम्रो, पृ. ३०), गीत–प्रीत (परिणाम, पृ. ३३), मन–सुमन (बुझेउ साथी, पृ. ४८), चर्किएको– थर्किएको (नारी जाग तिमी, पृ. ६९) जस्ता छोटा समध्वन्यात्मक शब्दको प्रयोग गरिएको छ । त्यसै गरी भुइँमा न भाँडा कोकलाका गाँडा (चर्तिकाला, पृ. १७), मियो बिनाको दाइँ, तैँ रानी मै रानी, कसले भर्ने इनारको पानी (चमजम्रो, पृ. ३०), छोरीमरि गालै टारी (एउटा कथा माकुरीको, आफ्नै घुँडामा बन्चरो (पृ. ३७), आफ्नै गालो आफ्नै लपेटो (युद्ध एक उपलब्धि, पृ. ४४), हरबर हरबर तोरी फूल्यो (बुझेउ साथी, पृ. ४८), सेरोफेरो सबै मेरो (कानेगुजी, पृ. ५०) जस्ता उखान समेत प्रयोग गरिएको छ । यस्ता शब्द र पदावलीहरूको प्रयोगबाट अन्त्यानुप्रास सृजना भई कविता आंशिक लयात्मक बन्न पुगेका छन् ।

मुक्तछन्दका कवितामा वर्तमानकालिक क्रियाको प्रयोग गरिएको छ । कवितामा भइदिएको छ, गरेको छ (परिणाम, पृ. ३३), पारेको छ, थाहा छ (यसबाजी बाढीमा, पृ. ५१), छटपछिएको छ (विवशता, पृ. ६०),  थर्किएको छ, खण्डन गर्नु छ (नारी जाग तिमी, पृ. ६९), खियाउँदै छ, ढाकिदै छ  (सृजना, पृ. ७३) जस्ता अस्तित्ववाची ‘छ’ क्रियाको अत्यधिक प्रयोग गरिएको पाइन्छ । यसमा प्रयुक्त क्रियाहरू निश्चयार्थ भावका छन् र यहाँ अत्यधिक निश्चयात्मक कथन व्यक्त गरिएको छ । अर्थात् छ वा छैन भनी तोकेर भनिएको छ ।

यहाँ निश्चयार्थ भाव र अस्तित्ववाची क्रियाको प्रयोगबाट कथनमा अत्यधिक बल प्रदान गरिएको छ । यस अस्तित्ववाची क्रियाको प्रयोगबाट कथनमा अत्यधिक बल प्रदान गरिएको छ । यस संग्रहका कवितामा निगुरो, कुइरो, सूर्य, दानव, चील, काग, गौँथली, भमरा, मौरी, रानीचरी, हात्तीका दाँत, दुर्योधन, बोक्सी, कानेगुजी, पुतली, इन्द्रेणी, जून, तारा, नदी, माधुरी, ऐश्वर्या, इन्दिरा, सोनीया, भीष्म, मरिचीका, मृग, कस्तुरी, युक्लिप्टस आदि नवीन प्रतीकका रूपमा आएका छन् । यसरी हेर्दा कथ्य र शिल्पको उपयुक्त संयोजनले यस कवितामा उत्कृष्टता थपेको छ । विम्ब प्रतीकहरूको प्रयोगले कविताको भावसमेत खारिएको छ । यसरी हेर्दा कविताहरू काव्य सौन्दर्य एवम् भाव प्रयोगका दृष्टिले पनि उत्कृष्ट बन्न पुगेका छन् ।

० ० ० ०

निष्कर्ष

कवि निरू शर्मा पराजुलीद्वारा रचित ‘तिर्खाएको मन केही पल’ संग्रहका कविता पितृसत्तात्मक समाज व्यवस्थाले गर्दा नारी र पुरुषको बीचमा समसामयिक व्यवधान बढेको भारतीय सामाजिक परिवेशमा रहेर गद्यशैलीको प्रयोग गरी रचिएका कविता छन् । संग्रहका कवितामा समकालीन समाज र देशको यथार्थ रूपलाई सरल र सहज भाषामा नवीन प्रतीकहरूको प्रयोग गरी वर्णन गरिएको छ । कविता गद्य शैलीमा लेखिएका भए पनि केही कवितामा समध्वन्यात्मक शब्दहरूको प्रयोग र अन्त्यानुप्रासिक प्रयोगले कवितालाई लयात्मक बनाएको छ ।

युगीन जनजीवनका व्याप्त नकारात्मक पक्षको बहुलता र सकारात्मक पक्षको शून्यतालाई कविताहरूमा प्रस्तुत गरिएको छ । प्रत्येक समाज, राष्ट्र र विश्वको समुन्नतिका लागि सबैका बीचमा सदाचार, भ्रातृत्व जस्ता प्रवृत्तिको विकास हुनपर्छ भन्ने सन्देश कविताहरूले दिएका छन् । कविताको कलात्मक पक्षको उचाइमा कमजोर भए पनि समग्र विषयवस्तु र भाषाशैली समसामयिक बन्न पुगेको निष्कर्ष यहाँ निकालिएको छ ।