शिक्षण पेशामा कुशल प्रधानाध्यापकको भूमिका निर्वाहपश्चात् सेवा निवृत्त जीवन व्यतित गरिरहनु भएकी नारी स्रष्टा किरण आचार्यको वर्तमान साहित्य गतिविधि निकै उर्वर र लोभलाग्दो छ । वि.सं २०६० मा अनुभूति ( कवितासङ्ग्रह ) र २०६२ मा अस्तित्व ( कवितासङ्ग्रह ) गरी दुई वटा साहित्यिक कृति प्रकाशनमा ल्याएपश्चात् झण्डै गुमनामजस्तै हुनुभएकी साहित्यकार किरण आचार्यले वि.सं २०७७ मा आएर सरपजुवा ( थारु भाषाको लोक कथासङ्ग्रह ) र क्यान्टोनमेन्ट (कथासङ्ग्रह ) तथा २०७८ मा सृष्टिचक्र ( लघुकथा सङ्ग्रह ) सार्वजनिक गर्नुभएको छ ।
साहित्यकार किरण आचार्यकै मौखिक जानकारीअनुसार एउटा उपन्यास र एउटा कथासङ्ग्रह प्रेसबाट टङ्कन भई प्रकाशनको संघारमा रहेकोले पनि आचार्यको वि.सं. २०७७ यताको साहित्यिक यात्रा थप फराकिलो बन्दै गएको प्रस्ट हुन्छ । पूर्वीय दर्शनको अध्ययनमा विशेष रुचि राख्ने आचार्यसँग नेपाली, अङ्ग्रेजी, हिन्दी, थारू र अवधी भाषाको राम्रो ज्ञान छ । अङ्ग्रेजी साहित्यमा स्नातक गरेपछि समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएकी आचार्यको सृष्टिचक्र पाँचौं साहित्यिक कृति हो ।
६७ वटा लघुकथाहरुको सङ्ग्रह गरिएको यस कृतिलाई शिखा प्रकाशनले प्रकाशित गरेको हो । सृष्टिचक्रको भेरी साहित्य समाज केन्द्रीय समितिको भव्य कार्यक्रमका बिच विमोचन गरेपश्चात् अन्तर्राष्ट्रिय नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेश शाखाले आयोजना गरेको कार्यक्रमका बिच बाँकेका तीन समालोचकहरुद्वारा समीक्षासमेत गरिएको थियो । अतः यस लेखमा यही कृति सृष्टिचक्रको परिचय र यसका प्राप्तिहरुको चर्चा गरिएको छ ।
सृष्टिचक्र लघुकथा सङ्ग्रहको आवरण पृष्ठको अग्रभागमा कृति र कृतिकारको नाम संकेत गरिएको छ भने पश्च भागमा कृतिकारको संक्षिप्त परिचय , प्रकाशक र मूल्य संकेत गरिएको छ । कृतिको परिधीय खण्डअन्तर्गतको दोस्रो , तेस्रो र चौथो पृष्ठ कृतिगत सूचना सम्प्रेषणका दृष्टिकोणले महत्त्वपूर्ण छन् । कृतिको पाँचौँ पृष्ठमा कृति भित्रका ६७ वटा कथाहरुको कथाक्रमलाई समेटिएको छ । यद्यपि यी कथा क्रमको पछाडि पृष्ठ संख्या उल्लेख नगरी दिँदा कतिपय लघुकथाहरु खोज्नका लागि बढी समय खर्चिनु पर्ने झन्झट सिर्जना भएको छ । आयामका दृष्टिले कतै एक पृष्ठ त कतै त्यो भन्दा बढी लमाइगत आयाम प्राप्त गरेका ६७ वटै सन्देशमूलक लघुकथाहरूको प्राप्तिहरुलाई निम्न बुँदामा प्रस्तुत गरिनु सान्दर्भिक हुन्छ :
क्षेत्रगत व्यापकता
किरण आचार्यद्वारा रचित सृष्टिचक्र लघुकथामा विभिन्न क्षेत्रका कथावस्तुहरुलाई ग्रहण गरिएको छ । खासगरी शिक्षा, राजनीति , कानुन , समाज , मनोजगत , धर्म , रोग , स्वास्थ्य , प्रकृति , राष्ट्रियता , विश्वबन्धुत्व , मानवता , नारी , गृहस्थी जीवन , जनावर , बासस्थान , रोजगार , आर्थिक अवस्था र त्यसको प्रभाव सबै क्षेत्रहरू कथा सङ्ग्रहभित्र अटाएका कारणले गर्दा पनि प्रस्तुत कृतिको प्रमुख प्राप्ति क्षेत्रगत व्यापकता बन्न गएको हो ।
यी कृतिभित्र परेका रचनाहरूमा एकातिर विभिन्न क्षेत्रका विषयवस्तुहरू अटाएका छन् नै अर्कातिर एउटै विषयक्षेत्रका अनेकौं उपक्षेत्रहरूको प्राप्ति भएको छ । कथा सङ्ग्रहभित्र परेका रचनाहरुमा स्वयं शिक्षा क्षेत्रमै पनि शिक्षामन्त्री , क्याम्पस प्रमुख , प्रधानाध्यापक, प्राध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, आंशिक प्राध्यापक, पूर्णकालीन प्राध्यापक, विद्यालय, क्याम्पस, सबै क्षेत्रले प्रवेश पाउंदा कीर्ति विषयक्षेत्रगत व्यापकताका दृष्टिले सफल छ ।
खासगरी कृतिकार किरण आचार्य स्वयं शिक्षाक्षेत्रमा क्रियाशील रहेका कारण यस कृतिभित्र शिक्षा क्षेत्रमा केन्द्रित कथावस्तुहरूको बाहुल्यता देखिएको हो । कृतिभित्रका ६७ कथाहरु मध्ये कतै पूर्ण र कतै आंशिक रुपमा १९ वटा कथाको विषयक्षेत्र शिक्षा बनेको हुँदा कृतिको शीर्षकीकरण नै शिक्षा केन्द्रित कथावस्तुको प्रतिनिधित्व गर्ने प्रकृतिको भए बढी प्रभावकारी हुन्थ्यो ।
मनोविज्ञानगत विविधता
सृष्टि चक्र लघुकथा सङ्ग्रहमा यौन मनोविज्ञान र बाल मनोविज्ञानमा आधारित कथाहरुले मनोविज्ञानका विविधतालाई समेटेका छन् । खास गरी कुनै पनि कथाले अपराध मनोविज्ञान लगायत अन्य प्रकृतिका मनोविज्ञानलाई समेट्न नसकेको भए पनि यस लघुकथा संग्रह भित्र यौन मनोविज्ञान र बाल मनोविज्ञानका उदाहरण बनेका लघुकथाहरू भने पर्याप्त मात्रामा छन् ।
कृति भित्रको पहिलो कथाको पहिलो पृष्ठमा नै हेड म्याडम र विद्यार्थीबीचको हृदयविदारक संवादले उब्जाएको बालमनोविज्ञान प्रशंसनीय छ । त्यसै गरी साधुहरूको नारीप्रतिको आशक्तिमा केन्द्रित तृष्णा कथा , राजनैतिक व्यक्तित्वहरूको माध्यमद्वारा गरिएको यौन शोषणमा केन्द्रित सौदा कथा , प्रभुहरूद्वारा धर्मको आडमा बलात्कार गर्ने विषयवस्तुमा केन्द्रित समर्पण लगायतका कथाहरुमा यौन मनोविज्ञानको बाक्लो उपस्थिति छ ।
विकृति विसंगतिको तीव्र विरोध
सृष्टिचक्र कथा सङ्ग्रहभित्र समेटिएका कथाहरुमा वर्तमान समाजमा देखापरेका विकृति र विसंगतिहरुको तीव्र विरोध गर्दै सुधारको अपेक्षा समेत गरिएको छ । सङ्ग्रहभित्र संग्रृहित विरोध कथामा एनजिओ, आइएनजीओले देशलाई ऋणमा डुबाएको प्रवृत्तिप्रति तीव्र विरोध भेटिन्छ भने पृष्ठ १०४ को कपट कथामा बौद्धिक चोरी अथवा अरु कुनै साहित्यकारको साहित्यिक रचनाको चोरी गरी आफ्नो नाममा छपाएर पुरस्कार जित्ने जस्ता घृणित प्रवृत्तिको विरोध गरिएको छ ।
सङ्ग्रहमा संग्रृहित कथाहरुमा उमेद्वारहरुसित चुनाव खर्च गर्न भनेर करोडौंको चेक आउँथे तर उनीहरूले विद्यालय , अस्पताल र अनाथालयमा सय रुपियाँ पनि दिएका थिए कि थिएनन् कुन्नी भन्दै निर्वाचनमा देखिएको विकृति विरोध पृष्ठ ९० को निर्वाचन कथामा समेटिएको छ । यसैगरी उग्र राष्ट्रवाद शीर्षकको कथाले बाहिर-बाहिर राष्ट्रवाद भित्र राष्ट्रघात गर्ने प्रवृतिको विरोध गरिरहँदा पृष्ठ ९९ मा समेटिएको समर्पणको कथामा मानिसको खुट्टा तान्ने अथवा अरूको उन्नति देखी नसहने प्रवृत्तिको विरोध छ धर्मको आधारमा प्रभुले गर्ने बलत्कारको घटना र त्यसको विरोध केही कथाहरुमा पाइन्छ भने यथार्थ कथामा पैसा पाउँदा अख्तियारले समेत नखाएको विष लगाउने प्रवृत्ति प्रति विरोध गरिएको छ।
जीवनोपयोगी सन्देशात्मकता
अत्यन्त उपयोगी र जीवन मार्गप्रशस्त गर्ने प्रकृतिका सन्देश हरूको सम्प्रेषणका दृष्टिकोणले सृष्टिचक्रभित्रका कथाहरु सफल देखिन्छन् । कथा सङ्ग्रहभित्र संग्रृहित कथाहरुमध्ये पनि साँचो छोरा शीर्षकको कथामा छोराहरु जन्मले कम कर्मले अधिकतम साँचो छोरा हुने गर्छन् । जातीयता, भाषा, धर्म आदिको नाममा फुटेर हैन जुटेर अघि बढ्नुपर्दछ । प्रहरी प्रशासनले सोधखोज बिनै कसैलाई आरोपित गर्नु उसको चरित्रको हत्या गर्नु हो ।
साँचो मनले गरेको सेवा दण्डित होइन पुरस्कृत योग्य हुन्छ जस्ता सन्देशहरु एउटै कथामा पाइन्छन् । यद्यपि उपन्यास बगैंचा हो कथा गमला हो भने लघुकथा एउटै सुगन्धित फूलको थुङ्गोमात्र । यसर्थ एउटै लघुकथामा ३ वटा वा कहीं कतै सोभन्दा बढी उद्देश्य वा सन्देश सम्प्रेषण गर्नु कथाकारका लागि सुधारका पक्ष हुन सक्छन् । समीक्षकहरुको बुझाइमा हात्तीले बोक्ने सामग्री सानो खच्चडलाई लादिनुहुँदैन अर्थात् कथा वा उपन्यासले बोक्ने प्रकृतिका सन्देशहरु लघुकथामा ल्याइँदा सन्देशका दृष्टिले लघुकथा कमजोर पर्दछ ।
प्रेमगत विविधता
सृष्टिचक्रभित्र समेटिएका कथाहरुमा प्रेमगत विविधतालाई उपयोग गरिएको छ । प्रेमअन्तर्गत रहेर देशप्रेम , मातृप्रेम , विश्वप्रेम, जाति प्रेम, वात्सल्य प्रेम र रागात्मक प्रेमजस्ता प्रेमका विविध रुपहरु कथा सङ्ग्रहभित्र परेका छन् । यसै सन्दर्भमा पृष्ठ १०८ को मेरी झ्याउ कथाले “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भन्ने प्रसङ्गको सामिप्यतामा अरूको लाख आमाको काख भन्ने उखानलाई चरितार्थ गरेको छ ।
पृष्ठ ६१ को पाठ कथामा लैनसिंह बाङ्देलकोको लङ्गडाको साथी उपन्यासको सामीप्यता प्राप्त गर्नेगरी मानिस र कुकुर बिचको असाधारण प्रेमलाई उद्घाटन गरिएको छ । यसबाहेक पनि साधु र प्रभुहरूको नारीप्रतिको आशक्ति रागात्मक प्रेम बनेर आएको छ भने केही कथाहरुमा देशप्रेम, विश्वप्रेम, जातिप्रेम जस्ता विषयहरू कथावस्तु बनेर आउँदा सृष्टि चक्र कथासङ्ग्रहभित्रका कथाहरूले प्रेमगत विविधतालाई अंगालेको छ भन्ने आधार पुष्टि हुन्छ ।
नवीन र यथार्थपरक कथावस्तु
सृष्टि चक्र कथासङ्ग्रह भित्रका कथाहरुमा नवीन र यथार्थपरक कथावस्तुलाई पर्याप्त मात्रामा स्थान दिइएको छ । पृष्ठ ९७ को डेलिभरी ब्वाय कथामा नेपालगञ्जमा प्रचलित पुगिन्छ र काठमाडौंमा प्रचलित पठाओ संस्कृतिले उत्पादन गरेका नवीन विषय क्षेत्रको क्षितिज उघ्रिएको छ भने अधिकांश कथामा यथार्थपरक कथावस्तुको प्रयोग गरिएको छ ।
कृतिभित्र प्रस्तुत निर्वाचन कथामा जनताका समस्या भन्दा भोटको राजनीति गर्न पल्केका हरूले जनताको घाउमा मलम लगाउनुको साटो झन बढी पीडा दिएको कथावस्तु आएको छ भने पृष्ठ ९१ को सेवा कथामा दुर्बेसनी हरुको जीवन निकै कारुणिक हुन्छ भन्ने यथार्थलाई प्रकटीकरण गरिएको छ ।
यसैगरी पृष्ठ ८७ मा समेटिएको महिला अधिकार शीर्षकको कथाले सधैंभरी पुरुष मात्र दोषी हुँदैनन् कहिलेकाहीँ महिलाहरु पनि पीडितको भेषमा पीडक बन्ने भएकाले प्रशासन र न्यायलय थप चनाखो हुनुपर्छ भन्ने यथार्थलाई समेटेको छ । यस्तै प्रकृतिका यथार्थपरक कथा वस्तुहरु धेरैजसो कथामा पाइने भएकाले पनि सृष्टि चक्र भित्रका कथाहरुमा नवीन र यथार्थपरक कथावस्तुको प्राप्ति हुन्छ ।
पौराणिक मिथहरूको सुन्दर प्रयोग
सृष्टिचक्र कथासङ्ग्रहका केही कथामा पौराणिक मिथहरूको सुन्दर प्रयोग गरिएको छ । पृष्ठ ७७ को श्रीकृष्णको यात्रा कथा दर्शन, ज्ञान, भाषा, आयाम र प्रयुक्त कथावस्तुका दृष्टिले निकै पठनीय बनेको छ यद्यपि शीर्षकको तहदेखि नै पौराणिक पात्र श्रीकृष्णलाई प्राथमिकतामा राखिएको यस कथामा कथावस्तुका तहमा समेत पौराणिक मिथहरूको सुन्दर उपयोग गरिएको छ ।
यता पृष्ठ ७७ को बहसले कतै हाम्रा कृष्ण र गोपिनी सम्बन्धी अतिरञ्जनात्मक वर्णनले भगवान् कृष्ण अन्यायमा त परेनन् सोच्न बाध्य बनाउँछ ।
पृष्ठ ५१ को कैकेयीको विद्वता कथाले राम , दशरथ , कैकेयी आदि पात्र र कथामा प्रयुक्त कथावस्तुका तहमा पनि मिथहरूको प्रयोग हुनुले पौराणिक मिथ प्रयोगका दृष्टिले समेत कथाहरु सफल भएका छन् ।
प्रतीकात्मकता एवं कुतूहलता
साहित्यमा प्रयोग हुने सोझो भाषा साहित्य कम र कुराकानी बढी हुने गर्छ तथापि प्रतीकात्मक शैलीको भाषाले साहित्यलाई साहित्यका रुपमा स्थापित गर्छ । यही मूल मर्ममा एकिकार भएर सृष्टि चक्र भित्रका कतिपय कथाहरुमा प्रतीकात्मक शैलीको अत्यन्त सुन्दर प्रयोग भएको छ ।
खासगरी पृष्ठ ८९ को बासस्थान शीर्षकको कथामा कुकुर र स्यालको प्रसङ्गका माध्यमबाट सहरिया मानिसका सभ्यताहरु प्रति व्यङ्ग्य गर्दा प्रतीकात्मकताको अत्यन्त सुन्दर उपयोग गरिएको छ ।
पृष्ठ ७५ को छिमेकी कथामा तल्लाघरेले पूरै जमिनदारी हडप्यो फेरि एकपटक हस्तिनापुर लुटियो फेरि द्रौपदीको चिरहरण भयो तर दुर्भाग्य श्रीकृष्ण आएनन् भन्ने प्रसङ्गमा हस्तिनापुरले छिमेकीलाई बुझाएको छ । द्रौपदीले पीडितलाई बुझाएको छ र श्रीकृष्णले उद्धारकर्तालाई बुझाएको छ । यसरी मिथको साहारा लिएर प्रतीकात्मक भाषाको प्रयोग गरिनाले पनि कथाहरु रोचक र पठनीय बनेका छन् ।
त्यसैगरी पृष्ठ ११५ को शिवा सिस्टर कथाको अन्त्यतिर छोटोछोटो सास फेर्दा फेर्दै श्रीमान् ले एकैपल्ट गहिरो लामो सास ताने भन्ने प्रसङ्ग आएको छ । सोझो पाराले मृत्यु भयो नभनेर लामो सास ताने भन्दै गरिएको सङ्केतले प्रतीकात्मकतालाई स्थान दिएको छ । यस्तै प्रकृतिका प्रसंगहरु कथाका अन्य स्थानहरुमा पाइने भएकाले पनि प्रतीकात्मकताका दृष्टिले कथाहरू सफल भएका छन् ।
लघुकथामा आवश्यक पर्ने महत्वपूर्ण तत्त्व कुतूहलता हो । सृष्टि चक्र कथासङ्ग्रहभित्र संग्रृहित नियत, दशैंको टीका, कहाँ जाने लगायतका धेरैजसो कथाहरुमा कतै आंशिकरुपमा त कतै सघन रुपमा कुतूहलताले स्थान पाएका छन् ।
सुक्तिमय भाषा
कथा अभिव्यक्त गर्ने माध्यम भाषा हो । यस किसिमको भाषा सामान्यभन्दा बढी सुक्तिमय हुन सक्यो भने कथाको प्रभावकारिता अझ बढ्न जान्छ । कथाकार आचार्यको सृष्टि चक्र लघुकथासङ्ग्रहभित्रका कतिपय कथाहरुमा परेका सुक्तिमय भाषाले सिंगो कथासङ्ग्रहकै गरिमा बढाएको छ ।
खासगरी महिला अधिकार , प्रविधि , अतिथि लगायतका कथाहरुमा प्राप्त भएका अतिथि देवो भव (पृ.९६ )विद्वान सर्वत्र पूज्यते (पृ.९६) मखमलमा टालो हाल्दिन भनेको बिर्सनुभयो ? (पृ.८७) मलाई त के खोज्छस् कानो आँखो भैहाल्यो जस्ता संवादहरुले कथाका कतिपय प्रसङ्गलाई शूक्तिमय बनाएका छन् ।
सृष्टि चक्र साहित्यकार किरण आचार्यको पहिलो लघुकथा सङ्ग्रह भएकाले पनि सर्वगुण सम्पन्न र सुधाररहित कृति बनेको छ भन्नु अतिसयोक्तिपूर्ण हुन्छ। यस सङ्ग्रहभित्र सङ्गृहीत केही कथाहरु लघुकथाले अपेक्षा गरेको भन्दा धेरै लामा छन् । दशैंको टीका लगायतका केही कथाहरुमा अनावश्यक वर्णनात्मक शैलीका कारण औपन्यासिक धारको शैली भित्रिएको छ ।
केही कथाहरुमा आदि मध्य र अन्त्यको श्रृंखला नमिल्नु अथवा पूर्वदिप्ती शैलीलाई अपनाउनु, केही कथाहरूले परिवेशगत व्यापकतालाई आवश्यकताभन्दा बढी वहन गर्नु र केही कथाको कथावस्तु अत्यन्त सामान्य प्रकृतिको पाइनुजस्ता सुधार गर्नुपर्ने विविध पक्षहरु सुरक्षित हुँदाहुँदै पनि विषय क्षेत्रको व्यापकता, मनोविज्ञानगत विविधता, विकृति विसंगतिको तीव्र विरोध, जीवन उपयोगी सन्देश, यथार्थपरक कथावस्तु,पौराणिक मिथहरूको प्रयोग आदि कोणबाट निकै सफल भएको प्रस्तुत सृष्टि चक्र कृति हरेक पाठकहरुका लागि एकपटक पढ्नै पर्ने कृति बनेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।