न्युयोर्क निवासी तारा भट्टराई साहित्यपोस्टका पाठकका लागि नौलो नाम होइन । केही समययता उहाँले लेख्नुभएका समसामायिक लेखहरुले उहाँका बारेमा चासो राख्नेहरूको संख्या बढाएको छ। उसो त अङ्ग्रेजी भाषी पाठकहरुका लागि उहाँ अपरिचित होइन । उहाँका केही लेख संसारका लाखौँ पाठकहरूले पढेका छन् । विशेष गरी मानव बेचविखनसँग सम्बन्धित उहाँले लेखेको एउटा लेख करिब एक करोड पाठकले पढेको विश्वास गरिएको छ।

नेपालको पूर्बी जिल्ला पाँचथरमा जन्मेको भट्टराई, २०७२ सालमा नेपालमा भूकम्प गएपछि, उहाँ पत्रकारिता छाडेर अन्य पेसामा लाग्नु भएको हो। यद्यपि, नेपालीमा लेख्न थालेपछि उहाँ पुनः नेपाली भाषी पाठकको नजरमा लोकप्रिय हुन पुग्नु भएको छ।

प्रस्तुत छ, साहित्यपोस्टका लागि अमेरिकामा बसेर प्राध्यापन र साहित्य दुबै क्षेत्रमा समय दिइरहेका विश्वराज अधिकारीले तारा भट्टराईसँग गरेको संवादकाे सम्पादित अंश;

पत्रकारिता छाड्नु भएछ, आजभोलि के गर्दै हुनुहुन्छ ?

पत्रकारिता छाडेर मैले केही वर्ष नर्सिङ पेशा सुरु गरेँ। नर्सिङ पेसामा पनि मैले पढेको विषय मानसिक रोग सम्बन्धी थियो। यहाँ विविध खालका गम्भीर मानसिक रोगीसँग काम गरेपछि मैले धेरै नौलो अनुभव प्राप्त गरेँ। एउटै पेसा गर्दा, केही समयपछि फरक अनुभव छोड्छ । यसले सिर्जनात्मक क्षमता कम हुनुपुग्छ । म त्योकम होस् भन्ने चाहन्न । त्यसैले भर्खरै मात्रै एउटा फाइनान्सियल इन्टिच्युसनमा काम गर्न थालेकी छु ।

फुर्सद भयो भने के गर्नुहुन्छ ?

अहिले न्युयोर्कमा समर महिना चलिराखेको छ । यो बेला फुर्सत भयो भने पार्कहरूमा घुम्ने , समुद्रमा र ब्रडवे अनि टाइम्सस्क्वाएर लगायत वरपर सकड-जीवन हेरेर बिताउँछु । मलाई घरमा भन्दा रेष्टुरेण्टमा खानसोख भएकाले प्राय: रेष्टुरेण्ट जान्छु। यो क्षेत्रमा झण्डै ३३ हजार रेष्टुरेण्टहरू छन् । संसारका १ सय ७० देशका मानिसहरूले रेष्टुरेण्ट खोलेर आफ्नो देशको परिकारहरू पस्कन्छन् । दैनिक एउटा देशको रेष्टुरेण्टमा जाने हो भने पनि सबै देशको स्वाद चाखिसक्न १ सय ७० दिन नै लाग्छ। सकेसम्म सबै देशको खाना चाख्नेयोजना बनाएकी छु।

तारा भट्टराई (अमेरिका)

साहित्यपोस्टमा तपाईँका लेख निकै मन पराइन्छन्। के कस्ता कुरा लेख्न रुचाउनुहुन्छ ?

मलाई काल्पनिक कथा बुन्न आउँदैन । तथ्यमा आधारित रहेर गैरआख्यान शैलीमा आफूले अनुभवगरेका तथ्य घटनाहरु समेटेर फिचर लेख्न रुचाउँछु। पाठकले मन पराउनुभएको कुरा सुन्दा खुसी लाग्छ।

परम्परागत साहित्यिक सामग्री नलेख्नुका केही कारण छन् ?

कथा, कविता र निबन्धजस्ता रचना पुराना शैलीका लेखन हुन् । फिचर स्टोरी समसामयिक विषयमा तथ्यगत रुपले गहिराइमा गएर, पात्रहरुलाई तथ्यगत आधारमा उनीहरुकै संवाद पस्केर लेखिने गरिन्छ। पत्रकारितामा फिचर लेखनले समाजका सबै अङ्ग समेट्ने अनि कथा र निबन्ध दुवैको स्वाद दिने भएकाले पढुन्जेल पाठकहरुको ध्यान अन्त जाँदैन भन्ने मान्यता छ । मेरो सोच पनि पाठकलाई पढून्जेल रमाइलो पनि होस् र एउटा सन्देश पनि जाओस् भन्ने लाग्छ। कथा र निबन्धले दिने स्वाद मेरो एउटै लेखले दिन्छ कि भन्ने लाग्छ। त्यसैले पनि म फिचर स्टोरीमै रमाउँछु।

तपाईँ आफ्ना आलेखहरुमा कस्ता कस्ता मुद्दाहरु उठाउन चाहनुहुन्छ ?

मैले महिलासँग सम्बन्धित मुद्दाहरुलाई प्राथमिकतामा राख्ने गरेकी छु। महिला सशक्तिकरण, लैंगिकसमानता, मानि बेचबिखन, घरेलुहिंसा, आप्रवासन, सरसफाई, प्रजनन अधिकारजस्ता मुद्दाहरु नै मेरा लेखनका विषय हुन्। अमेरिकामा समेत माथिल्ला पदहरुमा पुग्न महिलालाई समस्या छ। महिलामाथि हुने हिंसाको अन्त्य, सामाजिक सुरक्षाको संरक्षण र अभिवृद्धि, महिलाको स्वास्थ्य र प्रजनन अधिकार संरक्षण जस्ता मुद्दाहरुमा कलम चलाउनु आवश्यक छ। नर्स, मिडवाईफ, सामुदायिक स्वास्थ्य क्षेत्रमा काम गर्ने महिलाहरु निक्कै मारमा छन्। । हामी महिलाका अधिकारहरु पूर्णरुपले सुनिश्चित नहुन्जेल आवाज उठाइराख्नु लेखनीको धर्म पनि हो जस्तो लाग्छ।

अन्तर्वार्ताकार- विश्वराज अधिकारी

खोज पत्रकारिता क्षेत्रमा तपाईको लामो अनुभव छ। धेरैपल्ट तपाईँ विभिन्न रुपमा पुरस्कृत वा सम्मानित हुनुभएको कुरा पनि थाहा हुन आएको छ । तपाईँ आफैँले ती काम र त्यसबाट प्राप्त अनुभव सम्झँदा कस्तो अनुभूत गर्नुहुन्छ ?

नेपालमा छँदा, २०५३ सालदेखि पत्र पत्रिकामा स्तम्भ लेख्ने गर्थेँ । २०५५ सालमा चुनौती साप्ताहिकको सहसम्पादक भएर काम गरेँ । फिचर स्टोरी लेख्ने चाहिँ मैले औपचारिक तालिम पाएपछि सन् २००७ मार्चदेखि २०१५ जुलाईसम्म ग्लोबल प्रेस इन्स्टिच्यूट भन्ने अमेरिकी मिडियामा काम गरे । सुरुवाती दिनमा रिपोर्टर भएर काम गरेँ । २०१२ देखि नेपाल न्युज डेस्कको सम्पादक भएर काम गरेँ ।

पत्रकारिताले मलाई मेरा विचारहरु सबैसम्म पुर्याउने अवसर र स्वतन्त्रता दियो । मानिसको जीवनपद्धति, रीतिरिवाज, संस्कार, परम्परा र सोचविचार बुझ्ने अवसर दियो। अरुलाई प्रश्न गर्नु, सही हो कि गलत हो भनेर छुट्याउने पद्धति विकास गर्ने ज्ञान पनि दियो। त्यसबाहेक संसारभरिका मानिससँग पुग्न सक्ने नेटवर्क पनि दियो। प्रशंसा र आलोचना दुबैसँग निडर रहन पत्रकारिताले सिकायो। मलाई एउटा राम्रो लेखक, पत्रकार र जिम्मेवार नागरिक बनेर अर्थपूर्ण जीवन जिउन सिकायो। यी कुराहरुलाई मैले पत्रकारिता गर्दाका उपलब्धि मानेको छु । म सन्तुष्ट पनि छु ।

पत्रकारिता गर्दा तपाईँले मानव ओसारपसार र विप्रेशणका बारेमा निकै राम्रो ज्ञान हासिल गर्नु भएको छ। तपाईँको तीप्रतिको अनुभव के कस्तो छ ?

मानव ओसारपसार भन्ने शब्दले न्युन सामाजिक आर्थिक अवस्थाका मानिसहरुलाई विभिन्न प्रलोभनमा झुक्याएर एक ठाउँबाट अर्को ठाउमा लगेर बेचबिखन गर्ने भन्ने बुझिन्छ। मैले मानव बेचबिखनमा केही रिपोर्टिङ् गर्दा धेरै पाठकहरु छक्क परेका थिए । मेरो चेलिबेटी बेचबिखनसम्बन्धी एउटा रिपोर्टिंगलाई संसारभरका दश लाख अनलाइन खबरहरुले साभार गरेर करोडौँ त्यसलाई पाठकसम्म पुर्याएका थिए। त्यही रिपोर्टिङले मलाई संसारभर चिनायो पनि । मेरा हाकिमहरुले त्यो बेला भन्थे, यो विश्वको पत्रकारिता इतिहासमै राम्रो र सर्वाधिक पाठकहरुले पढेको र रुचाएको लेख हो। अहिले पनि गुगलले त्यो रिपोर्टिंगलाई सुरक्षित राखेको छ।

उक्त रिपोर्टिंगको लिङ्क यस प्रकार छ:

An Open Secret: Sex Trafficking in Nepal

जहाँसम्म तपाईँको मानव बेचबिखनसम्बन्धी प्रश्न छ, जुन बेला मैले यससम्बन्धी काम गरेँ। त्यो डेढ दशकअगाडि र अहिले मानव ओसारपसार तथा बेचबिखनलाई हेर्दा यसको प्रवृत्तिर यसका कारणहरु पनि परिवर्तन भइरहेका छन्। पहिला नेपालबाट भारतका विभिन्न सहरहरूमा महिला मात्रै वेश्यावृत्तिमा प्रयोग गर्न बेचिन्थे । अहिले मानव शरीरका मृगौला, आँखाका नानी जस्ता अङ्गका लागि पुरुष र बालकहरू पनि बेचिने गरेका छन् । प्रविधिको प्रयोगले अनलाइन डेटिङ्ग, नक्कली विवाह, रोजगारीको प्रलोभन देखाउने र यात्रासम्बन्धी नक्कली कागजात बनाएर मुलुक कटाउने भैरहेको अवस्था छ । बाल गृहका नाममा अबैध सम्बन्धबाट हुर्किएका ससाना बालबालिकाहरुलाई हुर्काउने र बेच्ने गरिन्छ । विकसित देशहरुमै स्थायीबसोबास अनुमतिपत्र पाउने नाममा विभिन्न शोषण र अत्याचार खप्नु परेको छ।

तपाईँ महिला लेखकका रुपमा प्रख्यात हुनुभएको छ। महिला लेखकहरुले पुरुष लेखकहरुको तुलनामा अहिले पनि खुलेर लेख्न सक्ने अवस्था छैन। महिलाहरुमाथि अहिले पनि दृष्य एवं अदृश्यका नियन्त्रण छ। साथै परिवार एवं समाजले पनि महालहरूलाई हतोत्साहित पार्छ। तपाईंलाई यी भनाइहरु कस्तो लाग्छ ?

मेरो विचारमा महिलाहरुको लेखनको सन्दर्भमा भन्ने हो भने दास युगको अझै अन्त्य भएकै छैन । एक महिला कसैकी स्वास्नी बनिरहँदा, बालबच्चा हुर्काइरहँदा वा कसैकी प्रेमिका भैरहँदा उसको लेखनको स्वतन्त्रता पनि पुरुष र पितृसत्ताको अधिनमा रहेको देखिन्छ । हामी त्यो सीमारेखा कटेर आफ्नो विचार प्रकट गर्न र मत राख्नै सक्दैनौँ । समाजले नपचाउने मत राख्दा घर परिवार बिग्रने डर हुन्छ । अर्को कुरा, समाजले पनि राम्रो नमान्ला भन्ने भय हुन्छ। हामी शिक्षित भएर आफ्नै खुट्टामा उभिएका जस्ता पनि देखिन्छौ, निर्वाध रुपमा हामीले कलम चलाइरहेको हो कि जस्तो ठान्छौँ तर पनि मन लागेको कुरा लेख्न भने सकेका छैनौ । स्वतन्त्र भने पटक्कै छैनौँ ।

अर्को कुरा, नेपाली समाजमा, महिलाले पनि लेख्न सक्छन् ? यो प्रश्न समाजले गरेकै हुन्छ । कुनै लेख छापियो वा पुस्तक प्रकाशित भयो भने, उसको पछाडि कुनै पुरुषको हात होला भन्ने पाठक अझै छन् । तर विज्ञानले पनि के प्रमाणित गरिसकेको छ भने, पुरुष लेखकभन्दा महिला लेखक नै संख्यामा धेरै हुन्छन् । शसक्त हुन्छन्। शसक्त यो मानेमा हुन्छन् कि उनीहरु अरुको भावना बुझ्न र त्यसलाई कागजमा उतार्न सक्षम हुन्छन् ।
उदाहरण अरुन्धती रोय हुन् । उनले “द गड अफ स्मलथिङ्स” मा पाठकलाई एउटै पानामा रुवाउन, हँसाउन, आशा जगाउन कसरी सक्थिन् होला र ? महिला लेखकहरूले आफ्ना पीडा, प्रेम , विवाह, धोका, समस्या, आर्थिक कठिनाइ, सङ्घर्ष, क्षमता, घरभित्रका कुरा, सम्बन्धहरू राम्रो ढङ्गले प्रस्तुत गर्छन् । तर पुरुष लेखकले सक्दै सक्दैनन।

अहिले ट्राभल क्षेत्रका वेवसाइट र ब्लग राइटरहरु नै हेर्यो भने पनि महिलाहरुनै बढी देखिन्छन् । ठूला र नाम चलेका कम्पनीहरुले ब्लगरका रुपमा महिलालाई नै नियुक्ति दिएको देखिन्छ । सेल्स गर्ल पनि महिला नै बढी छन् । किनभने महिलाको तुलनामा पुरुषहरुले सुन्दर शब्दमा कुनै स्थानको बारेमा गहिरो गरी वर्णन गर्न सक्दैनन् । अध्ययनबाट के देखिन्छ भने झन्डै ८४ प्रतिशत महिलाहरु शब्द चयन, ग्रामर र पात्रका लागि पुरुषको तुलनामा बढी समय खर्चिने गर्छन् । कपी राइटर, कन्भर्सन्कपी राइटर, इमेल मार्केटिंग कपीराइटर, घोष्ट राइटर, लिगल राइटर, मेडिकल राइटर लगायत थुप्रै विधामा महिलाले सफलता हातपारिरहेका छन् । अमेरिकामा किताब पढ्नमा पनि महिलाहरु नै अग्रस्थानमा छन् ।

महिला लेखकहरूले समाजको सोचमा ‘कहिले परिवर्तन आउला अनि हामीले खुलेर लेखौँला भन्ने’ हो वा स्वयंले आँट गेर लेख्ने हो ?

अबको संसार भनेको महिला लेखकहरुको हो । सुन्दा अप्रिय लाग्ला, पुरुषप्रधान लेख र लेखकको पालो पुगिसक्यो । अब उनीहरुको बजार खुम्चिँदै गएको छ। लेखन र साहित्यका धेरै विधामा महिलाहरूले सफलता हात पारिरहेको र उनीहरुको क्रेजबाटै यो थाहा हुन्छ। नेपालमा पनि पुरुषहरुसँग समानान्तर रुपमाअगाडि बढ्न नसके पनि केही हदसम्म लेख्ने काम चाहिँ भैराखेको नै छ ।

३० वर्षअघिको कुरा, मेरो गाउँमा धेरै महिला पुरै निरक्षर थिए। तर उनीहरु मेलापात जाँदा लोक गीत, दोहोरी, झ्याउरे, रत्यौली, तीज गीत, भजन आदिमार्फत उनीहरु आफ्ना मनका भावनाहरु अभिव्यक्त गर्थे। रत्यौली अलिक बढी नै यौनसँग गँसिएको हुन्थ्यो र गाउँभरिका सबै महिलाहरुको उत्साहपूर्ण सहभागिता हुन्थ्यो। महिलाहरुले दोहोरी गाएको , भजन गाएको सुन्दा त मलार्इ साहित्य सिर्जना गर्न खासै बौद्धिक चेतना पनि आवश्यक पर्छ जस्तो लाग्दैन। तर पुरुष अहंले महिलाहरुलाई दबाएका कारण सिर्जना बाहिरआउन नपाएको हो । अहिले साहित्यिक अभिव्यक्ति गर्ने माध्यमहरु अनेक छन् र दायरा फराकिलो हुँदै गइरहेको छ र क्रमश: आइरहेका छन् पनि ।

यौन मनोविज्ञानमा लेख्न अहिले पनि महिला लेखकहरुलाई एक किसिमको छेको छ । त्यस्तो हो ?

खै, लेखकलाई जुनसुकै विषमा पनि लेख्ने स्वतन्त्रता हुनुपर्ने हो। तर यौन साहित्य लेख्दा महिलाहरूले नकारात्मक टिक्का टिप्पणी सुन्नु पर्छ। महेन्द्र राजमार्गमा बसबाट यात्रा गर्दा पुरुषहरू बसबाटबाहिर निस्केर, बाटामा खुलेआम, आफ्नो लिङ्ग समातेर पिसाब फेर्छन्, त्यहीँ फोहोरी हातले छेउकै सिटमा कोही महिला छ भने छुन खोज्छ्न्। हामी महिलाहरु झाडी खोज्दै लुकेर पिसाब फेर्छौं। यो यथार्थ सामान्य कुरा हो र ? साहित्यमा महिला लेखकले यो लेख्ने कि नलेख्ने ? अनि पुरुषहरूले हामी महिलाको शरीरको विषयमा अनेक कुरा लेख्ने स्वतन्त्रता छ तर महिलाले मलाई त्यो पुरुषको घोप्टो परेको जुँगा, चौडा छाती बलिष्ठ हात  मन पर्छ, ऊ मैले कल्पेको एउटा पुरुष हो, उसलाई सम्झँदा मात्रै ममा खुसीको मादकता चढ्छ र उसको मीठो मायालु हाँसोले मलाई त्यसै तृप्त पारेको जस्तो महसुस हुन्छ भन्न पाउने कि नपाउने ? तर हामी सक्दैनौँ ।

हामी सक्तैनौ, किनकि हामीलाई एक त घर बिग्रने डर हुन्छ र अर्को लेखेरै जीविका चलाउन पनि अलिक मुस्किल नै हुन्छ । हरेक पुरुष आफ्नै अहम र दम्भमा बाँचेको हुन्छ र महिलालाई पनि आफूअनुरूप नै बाँच्न र हाँस्न सिकाउँछ । हामी महिलाहरु पुरुषकै इच्छा र इशारामा नाचिरहन्छौँ । यसो गर्नु भनेको सम्झौता गर्नु हो र सम्झौता गरेर बाँचेको जिन्दगी भनेको आधा जिन्दगी मात्रै हो । हामी महिला आधा जिन्दगी मात्रै बँचेका छौँ । पूरा जिउन पूर्ण रुपमा स्वतन्त्र हुनुपर्छ। कसैकी श्रीमती भएर उसका बच्चा बच्चीहरुको लालनपालन गरुन्जेल र उसको घरको छानोमुनि बसुन्जेल स्वतन्त्र भएर कलम चलाउन पनि सकिन्न । यौन साहित्य लेखिहाले पनि पहिलो सेन्सरसिप श्रीमानको हुन्छ अनि नाता गोता र समाज आफ्ना अगाडि ठिङ्ग उभिन्छ र लेख आफै सेन्सरभएर असली साहित्य नै आँउदैन र मनमनै भावनाहरू जागृत हुन्छन् र आफैं मर्छन् । महिलाहरुलाई निर्धक्क यौन साहित्य लेख्न र वैचारिक क्रियाकलाप गर्न त्यति सजिलो छैन।

खास क्षेत्रमा महिला मनोविज्ञान र पुरुष मनोविज्ञान भिन्नभिन्न हुन्छ । यस्तो भन्नेहरुको यो भनाइ सही हो ?

निश्चित प्रजनन अङ्ग र शारीरिक बनोटका कारण महिलालाई कमजोर मनोविज्ञान ठान्न मिल्दैन। लेख्ने योग्यता, क्षमता, रुची , मनोरञ्जन गर्ने शैली , समस्या समाधान गर्ने तरिका हरेक मानिसको फरक हुन्छ, एक व्यक्तिमा भएको क्षमता अर्कोमा हुन्न । यदि लेखन क्षमताको कुरा गर्ने हो भने पुरुषभन्दा महिला नै अब्बल हुन्छन् । साहित्य सिर्जना गर्ने मामिलामा पनि महिलाहरू नै उत्कृष्ट छन् । सामाजिक संरचनागत मनोविज्ञानले महिलाको चेतना र विचारलाई ओझेलमा पारिएले सिर्जनात्मक क्षमतामा ह्रास आएको जस्तो देखिएको मात्रै हो । महिलाहरु त्यत्रो शारीरिक परिश्रम गर्न सक्छन्, बच्चा पाउन सक्छन् भने मानसिक परिश्रम गरेर सहित्य सिर्जना गर्न नसक्ने भन्ने हुन्न।

आफ्ना अनेक अनुभवहरु संगालेर कुनै पुस्तक प्रकाशित गर्ने तपाईंको कुनै योजना छ ?

अहिले तत्काललाई चाहिँ Women’s Untold Stories Corner भनेर एउटा वेब डिजाइनको तयारीमा छु । जसमा महिलाहरुलाई मात्रै केन्द्रबिन्दु बनाएर अहिलेसम्म संसारमा कसैले पनि नभनेका कथाहरु प्रकाशित गर्ने लक्ष्य हो। अर्को वर्षको अन्त्यसम्ममा चाहिँ अहिलेसम्म विभिन्न पत्रपत्रिकामा छापिएका आलेखहरुको संगालो प्रकाशित गर्ने योजना बनाउँदैछु ।